logo
२०८१ मंसिर ८ शनिवार



संस्मरण : जन्मस्थल पुग्नै पाइनँ

शनिवार |


संस्मरण : जन्मस्थल पुग्नै पाइनँ


 शीतल गिरी

मैले बिर्सेको छैन आफ्नो जन्मस्थल
मेरो पनि मुटुमा बेलौरी बसेको छ
पराई नसम्झ ।

कथा बेलौरीको बिर्सेको छैन
इतिहास भुलेको छैन
सिद्धबाबा सम्झिएर
बाल्यकालमा घुमेको, खेलेको बगैँचा
बिर्सियो भनेर नसम्झ ।

प्रस्तुत पङ्क्तिहरू मैले ओठओठमा गुनगुनाएथेँ जब वि.सं. २०७० कात्तिक ६ गते धनगढीमा भएको ‘नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठी’को समापनपछि बेलुकीपख हाम्रो बस महेन्द्रनगरतर्फ लागेथ्यो र मोहना नदी तर्नेबित्तिकै बाल्यकालीन स्मृतिहरू चलचित्रझैँ सम्झनामा आउन थालेथे । त्यहाँ बेलौरीको शिवालयको आँपको बगैँचामा बसेर गर्मीयाममा मेरो कलिलो र दुब्लो शरीरले शीतलता लिएको स्पष्ट सम्झना भयो । राणाजीको भत्किएको बेवारिसे महलभित्र पसेर गुच्चा, खोपी खेलेको, कलिला हातले रातीगेडी टिपेको र खेतमा कुटुलीकोशा खोजेर खाएको छर्लङ्ग सम्झिएँ । त्यहाँ जेलमा देखेँ ‘नथ्थु’ नाम गरेको हेर्दा डरलाग्दो तर व्यवहारमा सोझो कैदी । आफ्नै पिता कमलबहादुरलाई जेलरको रूपमा देखेँ । विगतका एकएक पन्ना पल्टिएको बाल्यकालको आफ्नै अपनत्वका ती अविस्मरणीय घटनाहरूको कसरी वर्णन गरूँ ।
बेलौरीको रानाथारू गाउँ । हरियो, नीलो, पहेँलो, गुलाफी, कालो नानाथरीका लुगा लगाएका युवतीहरू आ–आफ्ना घरआँगन बढारिरहेको देखेँ । बोटगाउँ देखियो, झिलदेखि दक्षिणतर्फ । शिवालय नजिकको झिलमा पटेर काटिरहेका थरुनीहरू देखिए । हातेमालो गरेर विवाहको अवसरमा गाएको गीत र नाचेको ताल देखियो ।
अहिले त्यो गहिरो भङ्गीखोलाको सम्झना गाढा भएर आयो । केही सामान किन्न प¥यो कि भारतको पलिया गएको सम्झना भयो । रामलीला मैदान, रावण दहन र अस्पताल बिर्सिन चाहेर पनि बिर्सन सक्तिनँ । बेलौरीको पश्चिममा नदीपारि कलकत्तामा मिल थियो त्यो क्षेत्रको एक मात्र मिल । धान कुटाउन बयलगाडामा चढेर गएको ताजै छ । सम्झनामा मेरो बाल्यकालको बेलौरी देखियो । आफ्ना साना पाइलाले धूलाम्मे हिँडेको भूमि देखियो तर आफू हुर्केको जन्मस्थलमा भने पुग्न पाइनँ ।
बस गुड्दै थियो । नाट्य÷सङ्गीतका प्राज्ञ यज्ञराज उपाध्याय बहुचर्चित गीत “राइझूमा झूमा क्या मस्क्याकी राइझूमा” गाउन थाल्नुभयो ठेट सुदूरपश्चिमेली लयमा । उहाँको सुरिलो आवाज, ओठमा मन्द मुस्कान । थेगो बदलियो बन्यो– “राइझूमा झूमा क्याम्पस गयाकी राइझूमा !” अनि गीतका भाका बरालिएर फुँदो जोडिँदै ‘किरेमिरे ध्रुव घिमिरे’सम्म पनि बनेथे ।
यज्ञराज, तुलसीमान, ध्रुव घिमिरे, बुँद राना लगायतले गाएका गीतमा समूहमा नाचियो । नाचमा विशुद्ध नेपालीपन थियो । चौधर नदी काटियो । राइझूमा र किरेमिरेको भाकामा सुदूर–पश्चिमाञ्चलसँग पिरती लगाइयो । निकै अबेरगरी महेन्द्रनगर पुगेर होटेलमा आराम गरियो । भोलिपल्ट बिहान कोठामा सँगै सुतेका के.बी. सिम्पल र गोपाल तामाङलाई लिएर आफूले बाल्यकाल बिताएको महेन्द्रनगर घुम्न निस्कियौँ ।
वि.सं.२०२६ माघमा छोडेको महेन्द्रनगर निकै बदलिएको रहेछ । नेपाली मूलका बर्माबाट खेदिएका बर्मेलीहरू थिए मेरो बाल्यकालका साथी– श्री वैद्यनाथ हाई स्कुलमा कक्षा सातसम्म पढ्दा । महेन्द्रनगरले भरखरै बजारको स्वरूप लिँदै गरेको, विस्थापित बर्मेलीहरूले आफ्नो कुम्लोकुटुरो सम्हालेर खेती, पशुपालन र व्यापारको तर्खर गर्न थालेको त्यो बेलाको दृश्य झलझली आँखामा नाच्न थाल्यो । तर पनि बाल्यकालमा खेलेको बर्मेलीटोल पुग्न पाइएन । हाटबजार लाग्ने ठाउँ र अस्पताल अगाडिको बाटोमा पाइला चालिएन । साविकको बजारदेखि उत्तर–पश्चिमतर्फ बसालिएको थियो हामीलाई ।
प्रहरीहरूले विभिन्न उत्सवमा सांस्कृतिक कार्यक्रम गर्ने गर्थे । म पनि आमासँगै हेर्न जान्थेँे । भासीमा जेल बनेपछि हाम्रो परिवार पनि महेन्द्रनगरको बर्मेलीटोलबाट भासी सरेथ्यो । म भासीबाट पढ्न आउन थालेको थिएँ । घुम्दाघुम्दै आफूले पढेको श्री वैद्यनाथ हाइस्कुल परिसरमा पो पुगिएछ । आफूले २०२६ सालको माघसम्म पढेको स्कुल देखेँ । सो समयका प्रधानाध्यपक शालीन व्यक्तित्व श्रीधर पन्तज्यूलाई धनगढीमै तीन दिनअघि भेटेर ढोगभेट गरेको थिएँ । सात कक्षासम्म अध्ययन गर्ने अवसर जुरेको महेन्द्रनगरको स्कुल र पन्तसरलाई मुटुमा राखेको छु । भासीमा कारागारको उत्तरमा हाम्रो घरबारी र खेत थियो । सानो जङ्गल काटेर साथीहरूसँग खेल्दै महेन्द्रनगर पढ्न जानेगरेको सम्झना ताजै छ । सुढाँ मेरो मामाघर हो । मामाघरमा कसैलाई केही नभनेर ठुल्दाजु दलबहादुरको साइकल सुटुक्क लिएर आउने गरेको हिजोझैँ लाग्छ । त्यस समयमा भासीबाट सुढाँ जाँदा बाक्लो जङ्गल थियो बीचमा । साइकल चढ्ने चाहनाले स्कुल बिदा हुनेबित्तिकै घरबाट भागेर सुढाँ मामाघरमा जान्थेँ । कलश होटेलबाट कार्यक्रमस्थल उद्योग वाणिज्य सङ्घको हलसम्मको बजार हेरियो र बाटोमा पर्ने यावत् कुरामा विगत खोजेको थिएँ । ती हरेक कुरा विगतको चिहान हो । कार्यक्रममा मेरा श्रद्धेय गुरु श्रीधर पन्त र मदन पुरस्कार विजेता वरिष्ठ कृषि विशेषज्ञ नरबहादुर साउदको अभिनन्दन गरियो । महाकाली साहित्य सङ्गमका अध्यक्ष वीरबहादुर चन्दको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
स्थानीयहरूको सहभागिता निकै राम्रो थियो । बिर्केटोपी ढल्काएर कर्के आँखा लाउँदै अतिथिहरूलाई आफ्नो क्षेत्रको लोकसंस्कृतिबारे जानकारी गराएर सुदूर पश्चिमप्रति आकर्षित गर्न खोजिएको जस्तो अनुभव हुन्थ्यो । अभिनन्दित वरिष्ठ कृषिविशेषज्ञ नरबहादुर साउदले गोष्ठीपत्रको रूपमा ‘सुदूरपश्चिमाञ्चल क्षेत्रमा परम्परागत कृषि प्रविधि र भावी स्वावलम्बी प्राङ्गारिक कृषि’ सरल शब्दमा सबैले बुझ्नेगरी प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूले उहाँको साधना र आफ्नो माटोप्रतिको निष्ठालाई हृदयदेखि स्वागत गरेथ्यौँ । कृषि पेसालाई भरपर्दो व्यवसायका रूपमा विकास र स्थापित गर्न उन्नत प्राङ्गारिक खेती अपनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । हरित क्रान्तिको नकारात्मक पक्षबारे पनि बोल्नुभएथ्यो । खेतीलाई दिगो र स्वावलम्बी बनाउन आवश्यक उपायहरूको जानकारी गराउनुभयो । यसैगरी वासुदेव भाइसाबले आफ्नो गोष्ठीपत्र ‘डोटी प्रदेशमा वीरगाथा (भडा) गायनको ऐतिहासिक सन्दर्भ र वर्तमान अवस्था’को सारसङ्क्षेप प्रस्तुत गर्नुभएथ्यो । यथार्थमा लोकगाथा लोकका सामूहिक सम्पत्ति हुनुका साथै मौलिक रचना हुन्, अनुपम सिर्जना हुन् र लोकजीवनका अलिखित इतिहास पनि हुन् ।
सुदूरपश्चिम नेपालको काली, कर्णाली भू–खण्डको भाषा, साहित्य, कला एवं संस्कृतिका क्षेत्रमा महाकाली साहित्य सङ्गमले अग्रणी भूमिका निर्वाह गर्दै आएको थाहा भयो । सुदूरपश्चिम क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास एवं पुरातत्वका विषयवस्तुको खोज, अनुसन्धान, संरक्षण, संवद्र्धन, प्रचार–प्रसार एवं पुनरूत्थानका क्षेत्रमा समेत यसले काम गर्ने गरेको रहेछ । संस्कृति, सभ्यता र इतिहास भूगोलसँग सम्बन्धित विषयवस्तु हुन् । सुदूरपश्चिमका मौलिक कला, सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल, पुरातात्विक विषयवस्तु, अभिलेख, पर्यटकीय मनोरम स्थल, प्राकृतिक सम्पदासमेत राज्यपक्षको उपेक्षा तथा स्थानीयवासीको चेतनाको अभावका कारण दिनानुदिन लुप्त हुँदै गइरहेको यथार्थलाई बुझेर नै संरक्षण र संवद्र्धन गर्न अग्रसर छ महाकाली साहित्य सङ्गम । साहित्यले सामाजिक यथार्थलाई शाब्दिक चित्रमा उतार्ने प्रयास गर्दछ । संस्कृतिको सुन्दर सिर्जनात्मक स्वरूप साहित्यमा प्रतिविम्बित हुने गर्दछ । सामाजिक प्रतिविम्बको प्रस्तुतिमा यथार्थता र कल्पनाको संयोजनबाट एक मूर्त स्वरूप सिर्जिन्छ । भाषा, साहित्य, कला र संस्कृतिप्रति सचेत तथा सिर्जनधर्मीहरूको साँच्चैको सङ्गम रहेछ महाकाली साहित्य सङ्गम ।
लोकसम्पत्ति बचाउन सकेमा देश बन्छ । भाषा, लोकसंस्कृति, लोककला बचाउनुपर्छ, संरक्षण गरिनुपर्छ भन्दै हिँडेका हामीले न्यानो माया पायौंँ महेन्द्रनगरमा । नेपाल र भारतका साठी जनाभन्दा बढी लोकवार्ताकारलाई महेन्द्रनगरले आत्मैदेखि न्यानो स्वागत गरेको थियो । स्थानीय पहिरनमा स्थानीय कलाकारले लोककला प्रस्तुत गरेका थिए । विभिन्न वाद्यधून सुनाएका थिए । लोकगीत र लोकबाजाको धूनमा नेपाल–भारतका सहभागीहरूलाई नचाएका थिए । गोष्ठी समापनपछि हामी सबैको कलश होटेलमा सह–भोजनको व्यवस्था थियो । भोजनपछि दिनको तीन बजेतिर हामी डडेलधुरा भ्रमणका लागि प्रस्थान गरेथ्यौँ । चार दिनदेखि हाम्रो साथमै रहेका भारतीय पाहुना प्रा.डा. गिरिजा पाण्डे, प्रा.डा. शेखर पाठक र प्रा. देवसिंह पोखरिया बनवासातर्फ लाग्नुभयो । भारतीय मित्र छुट्टिनुभए पनि हाम्रो यात्रालाई रोचक बनाउन महाकाली साहित्य सङ्गमका मित्रहरू वीरबहादुर चन्द, हरिशप्रसाद जोशी, उत्तम विष्ट, पञ्चमराज भट्ट, रामचन्द्र नेपाल, राजेन्द्रसिंह रावल आदि डडेलधुरा, अछाम, डोटी र बैतडीको भ्रमणमा साथै रहनुभएको थियो । उहाँहरूको साथ सहयोगले नै हाम्रो यात्रा थप रोमाञ्चक र फलदायी बनेको थियो । यस्तो यात्राबाट सहभागीहरूलाई मात्रै नभई सिङ्गो देशकै लागि, देशको कला र संस्कृतिका लागि केही टेवा पुग्ने काम भइरहेको हुँदा आफूलाई पनि मनैदेखि सन्तोष लाग्ने रहेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?