logo
२०८१ जेष्ठ १ मंगलवार



किन रोकिँदैन रगत ?

शनिवार |


किन रोकिँदैन रगत ?


 गणेशकुमार लाल

सबै मानिस स्वस्थ रहन चाहन्छन् । शरीर स्वस्थ भयो भने मानिस राम्रोसँग काम गर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरू भन्छन्– हामीले खाद्य पदार्थलाई विस्तारै चपाएर खानुपर्छ । यस प्रक्रियाबाट खाद्य पदार्थले राम्रोसँग शरीरमा काम गर्दछ र हार्माेनको गतिलाई नियन्त्रित गर्दछ । रेसायुक्त फलफूल, तरकारी खाएमा शरीरमा राम्रो पोषक आहारको प्राप्ति हुन्छ ।
शारीरिक विकासका लागि भिटामिन, प्रोटिन र खनिज तत्वको आवश्यकता पर्दछ । भिटामिन शरीरका लागि निकै महŒवपूर्ण हुन्छ । शरीरमा यसको कमीले विभिन्न किसिमको रोग लाग्ने खतरा बढ्न जान्छ । भिटामिनहरू हाम्रो शरीरको विकास र अङ्ग–प्रत्यङ्गले सुचारु रूपमा काम गर्नका लागि अत्यावश्यक हुन्छ । शरीरमा नयाँ कोषको निर्माणका लागि भिटामिन ‘ए’ को आवश्यकता पर्दछ । रातो रगतका सेल्सको निर्माणका लागि भिटामिन ‘ई’ चाहिन्छ । मानव शरीरका हड्डीलाई र दाँतलाई स्वस्थ राख्नका लागि भिटामिन ‘डी’ आवश्यक छ । हाम्रो शरीरमा क्याल्सियम र म्याग्नेसियमलाई अवशोषित गर्न पनि भिटामिन ‘डी’ले सहयोग गर्दछ ।
हाम्रो शरीरका लागि भिटामिन ‘के’ पनि उत्तिकै आवश्यक पर्दछ । शरीरमा कुनै चोटपटक लागेर रगत बग्यो भने रोकथाम (ब्लड क्लाटिङ)को लागि यसले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । शरीरमा चोट लागेमा रगत निस्किन्छ र त्यो निस्किने क्रम बन्द भएन अथवा रगत जमेन भने ठूलै आपत् आइपर्छ । यो अवस्था मानिसको शरीरमा नआओस् भनेरै प्रकृतिले भिटामिन ‘के’को निर्माण गरेको हो । हाम्रो पेट तथा आन्द्रामा भएका जीवाणुले पनि भिटामिन ‘के’को निर्माण गर्दछन् । तर सल्फा मेडिसिनको अति उपयोग गरियो भने भिटामिन ‘के’ निर्माण गर्ने जीवाणु नाश हुन जान्छ ।

भिटामिन ‘के’ कमी हुनुका लक्षण
नाक तथा दाँतबाट बिना कारण रगत बगेमा शरीरमा भिटामिन ‘के’को कमी भएको सङ्केत हो । भिटामिन ‘के’को अभावमा अन्य रोग पनि लाग्न सक्छ । महिलालाई मासिक धर्म भएको बेलामा बढी मात्रामा रगत बग्नु र शरीर कमजोर हुने अवस्था उत्पन्न हुनु पनि यसकै कमीको कारणले हो । यस्तो अवस्थामा जतिसक्दो छिटो डाक्टरसँग सम्पर्क राख्नुपर्छ र भिटामिन ‘के’ बढी मात्रामा भएका खाद्य पदार्थ खानुपर्छ ।

रगत नजम्नु
कुनै किसिमले चोटपटक लागेमा केही समयपछि रगत बाक्लिँदै गएर जम्दछ र रगतको बहाव बन्द हुन जान्छ तर यस्तो अवस्थामा शरीरबाट रगत बग्ने क्रम नरोकिएमा शरीरमा भिटामिन ‘के’को कमी भएको हुनसक्छ ।
पिसाब र मलद्वारबाट रगत आउनु पनि भिटामिन ‘के’को कमीले गर्दा हुनसक्छ । यस्तो अवस्थामा दिसाको रङ गहिरो कालो अथवा गहिरो रातो हुनसक्छ । वास्तवमा भिटामिन ‘के’को कमीले गर्दा रगत पातलिन्छ । कुनै कारणवश शरीरमा चोटपटक लागेर वा आफैँ पनि रगत बगेमा रोकिन गाह्रो हुन्छ ।

भिटामिन ‘के’ पाइने खाद्य पदार्थ
भिटामिन ‘के’को कमीलाई पूरा गर्नका लागि हरियो सागसब्जी जस्तै– पालुङ्गोको साग, तोरीको साग, शलगम, रायो, मेथी, ब्रोकाउली, परबल खानु लाभदायक हुनुका साथै भिटामिन ‘के’ प्राप्त हुन्छ । अण्डा पनि भिटामिन ‘के’को राम्रो स्रोत हो । अङ्गुर, स्ट्रबेरी, काउली, गोलभेँडा, अकबरे खुर्सानीमा पनि भिटामिन ‘के’ पाइन्छ ।
अङ्गुरमा पोटासियम क्लोराइड र पानी बढी मात्रामा पाइन्छ । यसका लागि गोलभेँडा पनि अति उपयोगी खाद्य पदार्थ हो । गोलभेँडा नियमित खाने गरेमा यसले सानासाना प्वाल बन्द गर्नुका साथै आन्तरिक तापमानलाई नियन्त्रित गर्दछ । यसले मानिसको शरीरबाट निस्कने पसिनामा कमी आउँछ । प्रतिदिन एक गिलास गोलभेँडाको रस पिउने गरेमा लाभ प्राप्त हुन्छ ।
चुकन्दर पनि भिटामिन ‘के’को राम्रो स्रोत हो । एक कप चुकन्दरमा दुई हजार ६९७ माइक्रोग्राम भिटामिन ‘के’ प्राप्त हुन्छ भने त्यति नै ब्रोकाउलीमा दुई सय २० माइक्रोग्राम भिटामिन ‘के’ पाइन्छ । बन्दाकोपी भिटामिन ‘ए’, ‘सी’ र भिटामिन ‘के’को राम्रो स्रोत भएकोले यो सहजरूपमा उपलब्ध हुनसक्छ । एक कप बन्दाकोपीमा ५३.२ माइक्रोग्राम भिटामिन ‘के’ प्राप्त हुन्छ । पालुङ्गोको साग पनि सहजरूपमा उपलब्ध हुने खाद्य पदार्थ हो । यसमा फलाम, भिटामिन ‘के’ प्रशस्त पाइन्छ । त्यस्तै सय ग्राम शलगममा आठ सय ५१ माइक्रोग्राम भिटामिन ‘के’ पाइन्छ ।
वास्तवमा मानिसको स्वास्थ्य एउटा बहुघटकीय र बहुआयामी हुन्छ । यो अनुवांशिक, रहनसहन, वातावरण, सामाजिक, आर्थिक स्तर र धेरै अन्य कुराले प्रभावित भइरहेको हुन्छ । दाँतबाट रगत बग्नु, दुर्गन्ध आउनु, गिजामा रगत जम्नुजस्तो समस्यालाई धेरैजसोले सामान्यरूपमा लिन्छन् ।
दाँतबाट रगत बग्न थालेमा दुख्नुका साथै टाउको दुख्ने पनि समस्या उत्पन्न हुनसक्छ । यस्तोमा भिटामिन ‘के’ पाइने खाद्य पदार्थ आफ्नो नियमित भोजनमा ग्रहण गर्नु आवश्यक हुनजान्छ । मानिसको शरीरका कोशिका स्वस्थ राख्न र रगतको प्रक्रियालाई सक्रिय राख्नका लागि आवश्यक मात्रामा भिटामिन ‘के’ परिपूर्ति हुनैपर्दछ ।

भूपूकेमिस्ट नेपाल गुणस्तर तथा नापतौल विभाग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?