logo
२०८१ मंसिर ६ बिहीवार



क्रोधकलाका शिरोमणि

शनिवार |


क्रोधकलाका शिरोमणि



 केशव खनाल

चिन्नेजान्नेहरूलाई समेत अचम्म लाग्छ, उहाँ कहिल्यै रिसाउनुहुन्न । सधैँ शान्त, शालीन र मृदुभाषी । बोलाइमा त्यही स्वभाव झल्किन्छ । यस्तो स्वभाव भएका कलाकारको कला सिर्जनामा भने क्रोध, रूप समेटिएको हुन्छ । अझ उहाँ यही रौद्ररसका ज्ञाता हुनुहुन्छ । जनस्तरबाटै उहाँलाई क्रोधकला शिरोमणिको उपाधि मिलेको छ । चर्खाबाट निस्किएको माटोमा परम्परागत कलाशैलीमा महाँकाल, वज्रपाणी, गरुणजस्ता रौद्र स्वरूप उतार्दै आफ्नो जीवनको आठ दशक यही कलामा बिताउनुभएका कलाकार हुनुहुन्छ– कालु कुमाले ।
उहाँको बाल्यकाल आजका बालबालिकाको जस्तो अवश्य थिएन । उहाँको माटोसँगको सङ्गत ६÷७ वर्षको उमेरदेखि नै हो । माटाका सानासाना जनावर र चराचुरुङ्गीका मूर्ति बनाउँदै गर्दा केही व्यापारीले उहाँको कलाशिल्प देखेर उहाँसँग मूर्ति किनेर लैजान्थे । बिस्तारै उहाँको कलाले बजार लिन थाल्यो र मागअनुरूप मूर्ति बनाउन उहाँलाई भ्याइनभ्याई हुन थाल्यो ।
सधैँ माटोमा खेलिरहेको, घन्टौँ माटोको भाँडा पाउने पसलमा धोत्लिएको देखेर पिता सानु कुमालेले उहाँलाई केही देवदेवीका आकृति बनाउन भन्नुहुन्थ्यो । उहाँले पनि वाराहीको मूर्ति बनाउनुभयो । कहीँ–कतै कलाकारिता नसिकेको भए पनि उहाँको मूर्तिले राम्रो आकार लियो । तर पनि बुवाले त्यही मूर्तिलाई धेरैपटक बनाउन लगाउनुहुन्थ्यो । यो क्रमले निरन्तरता लिँदै आठ÷नौ वर्षकै उमेरमा उहाँले अष्टमात्रिकाका मूर्ति पनि बनाउनुभएको थियो ।
उहाँको कलाशिल्प देखेर उहाँका साथीले अझ राम्रो गर्न मन भए सिक्न जानु भनेकाले उहाँ कलाकारिता सिक्न कलाकार चिरीकाजी शाक्यकहाँ पुग्नुभयो । तर, लामो समयसम्म गइरहँदा पनि तमाखु बनाउने, रसदपानी ल्याइदिनेजस्ता घरेलु काममा सहयोगी बनाउनेबाहेक उहाँले माटो छुने खासै अवसर पाउनुभएन । उहाँलाई जसरी पनि कला सिर्जना गर्नु थियो । त्यहाँ देखेका कलालाई स्मरण गर्दै उहाँको स्व–कलायात्राले निरन्तरता पाउँदै गयो । उहाँको कलायात्रामा यसप्रकारका रोकावट पनि नआएका होइनन् तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ उहाँको निरन्तरको कला साधनाले कालु कुमालेलाई आज ‘क्रोधकला शिरोमणि’को उपाधि दिलाएको छ ।
विक्रम संवत् १९९० जेठमा ललितपुर (हाल ः ललितपुर महानगरपालिका वडा नं. ६) मा सानु कुमाले र ज्ञानी थकूको कोखबाट जन्मिनुभएका कालु कुमालेमा एकपटक कुनै फोटो वा चित्र देखेकै भरमा मूर्ति बनाउन सक्ने अद्भुत गुण छ । कुमालेको कलामा रौद्ररूप, त्यसको भाव, शारीरिक लचकता अनि प्रतिमा लक्षण विशिष्ट रूपमा रहेको हुन्छ । स्वभावले उहाँ शान्त हुनुहुन्छ तर उहाँका भैरव कालचक्र, श्वेत महाँकाल, मेघसंवरजस्ता रौद्ररूपी मूर्तिहरूमा आश्चर्यजनक रूपमा क्रोधको स्पष्ट झलक पाउन सकिन्छ । मूर्तिको स्वरूपले नै देवीदेवताको प्रतिमा लक्षण स्पष्ट हुन्छ ।
सानैमा उहाँले बनाउने गरेका चराचुरुङ्गी, जनावर आदि एक व्यापारी (सङ्घरत्न शाक्य) ले देखेर आफ्ना लागि पनि बनाइदिन अनुरोध गरेछन् । यसपछि उहाँले मैनमा काम गर्न थाल्नुभएछ । शाक्यकहाँ बेलाबेलामा तिब्बती लामाहरूले काम दिने गर्थे । लामाहरूसँग रहेका मूर्ति बेलाबेलामा ‘रिपेयर’ गर्नुपर्ने हुन्थ्यो । लामाहरूले ल्याउने ती मूर्तिहरू कुमालेलाई नै आउन थाल्यो । ती मूर्तिमा बढीजसो चक्रसम्भर, जोगिनी, भैरव आदि सबैजसो रौद्ररूपकै हुन्थे । तिनै बिग्रिएका मूर्तिहरू बनाउँदाबनाउँदै उहाँमा क्रोधकलामा विशेष रुचि बढ्दै गयो । त्यसपछि त सङ्घरत्नले कुमालेलाई नयाँ मूर्तिहरू पनि बनाउने काम दिन थालेछन्, जुन रौद्ररसका थिए । यसरी चराचुरुङ्गी हुँदै उहाँको निपूर्णता क्रोधकलामा बढ्दै गयो ।एकपटक पाल्देन ल्हामु (छ्वास्का) को मूर्ति बनाउन कलाकारको निकै खोजी भयो । सही भावभङ्गीमा र अनुपात मिलाउन सक्ने कलाकारको खोजी हुँदा धेरै कलाकारले कालु कुमालेले मात्र यसप्रकारको मूर्ति बनाउन सक्ने बताएपछि सो मूर्ति उहाँले नै बनाउनुभएछ । उक्त मूर्तिको चारैतिर प्रशंसा भयो । मूर्ति हेरेर दलाई लामाद्वारा उहाँलाई ठोः सोवा (क्रोध झल्काउन सफल कलाकार) को उपाधि दिइएपछि उहाँको ख्याति बढ्दै गयो ।
उहाँका मूर्तिहरू विदेशी र विशेष गरी गुम्बाका लागि खोजीको विषय हुन थाल्यो । उहाँले बनाएका मूर्तिहरू भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा समेत रहेको धेरै पछि मात्र थाहा भयो । ती मूर्तिका बारेमा तिब्बत जर्नलमा प्रकाशित भएपछि मात्र नेपाली कलाकार कुमालेले बनाएको हो भन्ने पत्ता लागेको रहेछ । कुमालेका मूर्तिहरू विशेषगरी तन्त्र साधनाका लागि प्रयोग गरिने भएकाले सर्वसाधारणले देख्न नपाउने तर दीक्षित लामाहरूले देख्न पाउनेगरी विशेष धार्मिक अनुष्ठान स्थलमा राखिएका छन् । तन्त्र साधनाका लागि बनाइने भएकाले उहाँलाई पनि तान्त्रिक र विधिबारे ज्ञान हुन जरुरी थियो । यसर्थ, कुमालेले पनि विभिन्न समयमा लामाहरूबाट प्रशिक्षण लिनुभएको छ । उहाँमा पनि तन्त्र विधाबारे ज्ञान छ, जसकारण उहाँका कलामा ध्यान र तान्त्रिक गुण प्रविष्ठ हुन्छन् भनिन्छ । उहाँका मूर्तिहरू हेर्दा क्रोधको स्वरूप त आउँछ नै, देवताको तेज र ओज पनि ल्याउन उहाँ सक्षम हुनुहुन्छ । यसैकारण उहाँलाई ‘क्रोधकला शिरोमणि’द्वारा विभूषित गरिएको छ । उहाँले हालसम्म सानाठूला गरी पाँच सयभन्दा बढी मूर्तिहरू बनाइसक्नुभएको छ । राज्य र जनस्तरबाट समेत यस्ता मूर्धन्य कलाकारको योगदानको उचित कदर र कला सिर्जनाको संरक्षण गर्न ढिला गर्नुहुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?