logo
२०८१ मंसिर ८ शनिवार



अविस्मरणीय रारा यात्रा

शनिवार |


अविस्मरणीय रारा यात्रा


 गङ्गाबहादुर पन्थी


कर्णाली प्रदेश सरकारले मनाइरहेको ‘रारा–कर्णाली पर्यटन वर्ष, २०७५’ को अन्तिम दिन चैत ३० गते राराको भ्रमणका लागि प्रदेश राजधानी सुर्खेत पुग्ने गरी हाम्रो समूहले काठमाडौँबाट रात्रिबसको यात्रा प्रारम्भ गरेथ्यो । यो टोलीका सदस्य हामी गोरखापत्रमा कार्यरत भएकाले यात्रा अवधिमा सम्बन्धित जिल्लाका समाचारदाताको सरसल्लाह लिने र सोही बमोजिम यात्रा तय गर्ने गरेथ्यौँ । रारा जानका लागि हवाईयात्रा र सडकयात्रामध्ये कुनै माध्यम अपनाउन सकिन्थ्यो । हामीले केवल राराको भ्रमण मात्र नभएर सम्भव भएसम्म पूरै कर्णालीको वातावरण र जनजीवनको अध्ययन गर्ने उद्देश्यले सडक मार्गबाट यात्रा गर्ने तय गरेका थियौँ । सुर्खेतका समाचारदाता ललित बसेल र जुम्ला समाचारदाता नेत्रबहादुर शाहीसँग छोटो भेटघाट गरी खाजा खाएर हामी राराको लािग उकालो लाग्यौँ । हामीले कपासे, छेडा हुँदै गुराँस गाउँपालिकाको गुराँसे पुग्दा प्रकृतिको मनोरम उपहार लालीगुराँसले हामीलाई स्वागत गरिरहेको थियो । गुराँसेबाट हामी क्रमशः ओरालो लाग्यौँ । डुङ्गेश्वरमा पुग्दा कर्णाली राजमार्ग भेटियो । अबको हाम्रो यात्रा कर्णाली नदीको किनारै किनारको थियो । कर्णाली राजमार्ग हुँदै अगाडि बढ्दा घरिघरि आङ जिरिङ्ग गथ्र्यो । अझ काठमाडौँका रैथाने साथीहरु त यस्तो अप्ठ्यारो बाटोको यात्रामा बेस्सरी आत्तिनुभएको थियोे । राकम कर्णालीजस्ता रमाइला बजारहरु पार गर्दै तीलानदी र कर्णाली नदीको सङ्गमस्थल पुगियो । अबको बाटो तिलानदीको किनारैकिनार थियो ।
हामी ५ बजे बेलुकी कालीकोट जिल्लाको सदरमुकाम मान्म पुग्यौँ । सदरमुकाम भिरालो डाँडाको अप्ठ्यारो ठाउँमा रहेछ । आजको हाम्रो गन्तव्य जुम्ला जिल्लाको सदरमुकाम खलङ्गाबजार भएकाले मान्ममा नभुली अगाडि बढ्यौँ । कालीकोटबाट जुम्लातर्फको बाटो त झनै कठिन र भीरैभीरको रहेछ । हामी बिहानीबजार, तेस्रोबजार, पिलीबजार हुँदै अगाडि बढ्यौँ । नाग्मा नपुग्दै केही तल काठमाडौँकै जस्तो जाममा पो प¥यौँ । कतै आजको रात यही जाममा नै बिताउनुपर्ने हो कि भन्ने डर पनि लाग्यो तर छिटै जाम खुल्यो । जाम खुलेलगत्तै नाग्माबजार पुगेपछि हिमानदीको पुल तरेर तिलानदीको किनारैकिनार जुम्लाको खलङ्गातर्फ लाग्यौँ । खलङ्गाबजार पुग्दा राति ९ः३० बजिसकेको थियो । लामो बाटो हिँडेको भएर साह्रै थकाइ लागेको थियो । खाना र बासको राम्रै व्यवस्था भएकोले आराम गर्न पाइयो ।
भोलिपल्ट बिहान खलङ्गाबजार घुम्यौँ । जुम्लाको बिहानी चिसोको मज्जा राम्रैसित अनुभव गरियो । दुर्गम जिल्ला भए तापनि सदरमुकाम चाहिँ सुगमजस्तै लाग्यो । कर्णाली प्रदेशका अन्य विकट जिल्लाभन्दा जुम्ला भौगोलिक रूपमा सुगम नै रहेछ । चन्दननाथ मन्दिर, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान, कर्णाली प्राविधिक शिक्षालय, एअरपोर्ट लगायतका विभिन्न सरकारी कार्यालयको अवलोकन गरियो । खलङ्गाबाट फर्किंदा अनुभूति भयो, तिलानदी किनारका फाँटहरुले जुम्लालाई वास्तवमै रमणीय र सुन्दर बनाएका रहेछन् । बाटोमा पर्ने तातोपानी गाउँपालिकाको तातोपानीमा तातोपानीका धारा र एउटा कुण्डलाई पर्यटकीय र व्यावसायिक दृष्टिकोणले प्रयोग गरिएको रहेछ । तातोपानी पर्यटन विकास केन्द्रको नामबाट सञ्चालित केन्द्रले कुण्डमा स्नान गरेवापत केही शुल्क लिएर व्यावसायिकता प्रदान गरेको केन्द्रका सञ्चालक छक्कबहादुर बुढाले जानकारी दिनुभयो । रातको समयमा देख्न नसकिएको तिलानदीको किनारै किनारको बाटोमा पर्ने फाँटहरु वास्तवमै रमणीय मात्र रहेनछन्, कृषि उत्पादनका लागि पनि राम्रो सम्भावना रहेछ यहाँ । तिलानदीबाट विद्युत् उत्पादन गर्ने अपार सम्भावनालाई पनि उपयोग गर्न सकिएको रहेनछ ।
कालीकोट र जुम्ला जिल्लाको सङ्गमस्थल नाग्माबजारमा खाजा खाएर हामी रारातर्फ लाग्यौँ । नाग्माबाट सिँजातर्फको बाटो हिमानदीको किनारैकिनार असाध्यै रमणीय रहेछ । खस भाषाको उद्गमस्थल र सिँजा सभ्यताको विकासमा ऐतिहासिक महŒव राख्ने यो ठाउँ असाध्यै रमाइलो रहेछ । सिँजा उपत्यकामा हिमानदीको छेउछाउमा रहेका सुन्दर फाँटहरुले सिँजाको सौन्दर्यलाई थप रोमाञ्चक बनाइरहेका थिए । गोठीजिउला सिँजा पुगेर खाना खाएपछि २ः३० बजे राराताल पुगियो ।
यति उचाइमा रहेर पनि प्रकृतिको देन सुन्दर राराताल वास्तवमा स्वर्गको टुक्राजस्तै भनेर उपमा दिन सुहाउने रहेछ । त्यस्तो अनुपम स्थलमा पाइला टेक्न पाउँदा मन हर्षित नहुने कुरै भएन । हुन त रारामा एक रात बिताउने गरी जानु राम्रो भनिँदोरहेछ । रारातालको पारिपट्टिबाट अवलोकन गर्नुको मज्जा नै छुट्टै हुन्छ भन्ने भनाइ धेरैको मुखबाट सुनियो तर यसलाई सिद्ध गर्न भने हामी चुक्यौँ । हाम्रा गन्तव्यहरु धेरै भएकाले सो दिनको बसाइ मुगुको सदरमुकाम गमगढीमा गर्ने योजनासहित ओरालो लाग्यौँ ।
भौगोलिक हिसाबले विकट भएर पनि धार्मिक र पर्यटकीय हिसाबले मुगु महŒवपूर्ण रहेछ । नेपालको सबैभन्दा ठूलो ताल रारा र सतीदेवीको अङ्ग पतन भएको क्षेत्र छायाक्षेत्रको नामबाट नै नगरपालिकाको नामकरण गरिएको रहेछ । यात्राक्रममा हामीले देखेको उठाउनैपर्ने विषय भनेको नेपालको एउटा महŒवपूर्ण पर्यटकीय गन्तव्यको आसपासको बाटो कच्ची र असाध्यै अप्ठ्यारो हुनाले पिरोलिरहेथ्यो । पानी परेको बेलामा हिँड्न पनि कठिन हुने, ताल वरिपरिको क्षेत्रमा बसोवास गर्नका लागि होटल पनि पर्याप्त नभएको (दुई वटा होटल सिन्डिकेटकै रुपमा रहेका), मनोमानी शुल्कले गर्दा पर्यटकहरु ठगिने अवस्था एवं पर्यटकलाई घुमाउने घोडाको व्यवस्थाबाहेक रेस्टुरेन्ट र उपहार खरिद गर्नका लागि आवश्यक पसलको व्यवस्था नभएको देख्दा भने मन खिन्न भयो । सङ्घीय सरकारले आ.व. ०७६÷७७ को बजेटमा रारालाई राष्ट्रिय पर्यटन गन्तव्यका रूपका विकास गर्ने घोषणा गरिसकेको छ । प्रदेश सरकारले पनि महŒव दिएको सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा राराको विकासमा विशेष ध्यान दिई पर्यटनको अपार सम्भावनालाई वास्तविकतामा बदल्न जरुरी छ ।
गमगढीमा बास बसेका हामी भोलिपल्ट वैशाख २ गते बिहान चियाखाजापछि गमगढीबजार घुमेर मित्र नृपेन्द्रबहादुर मल्लसँग बिदा भई सिँजातर्फको बाटो लाग्यौँ । बीचमा अक्करे भीरको अप्ठ्यारो बाटोले शरीर सिरिङ्ग गथ्र्यो । सिँजा पुगेर खाना खाएर नाग्मा बजारतर्फ लाग्यौँ । कालीकोट सदरमुकाम मान्माबजार पुगेपछि मित्र विष्णुप्रसाद न्यौपाने र पुष्पराज जोशीसँग भेट ग¥यौँ । उहाँहरुसँगको मान्माबजारको छोटो घुमाइ पनि वास्तवमै स्मरणीय रह्यो । डाँडैडाँडाको जिल्ला कालीकोट वास्तवमै विकट नै रहेछ । वि.सं. २०३२ मा नै जुम्लाबाट छुट्टिएर बनेको कालीकोट जिल्लामा ३३ वर्ष पहिले निर्माण सुरु भएको सुन्थराली विमानस्थल हालसम्म पनि सम्पन्न नभएको सुन्दा हाम्रो विकासको गति कति सुस्त रहेछ भन्ने छर्लङ्ग भयो । ०३२÷३३ सालमा सदरमुकाम नजिकै एउटा नयाँ गाउँ पत्ता लागेको सुन्दा पनि अचम्म लाग्यो । केहीबेरको मान्माबजार घुमघामपछि हामी दैलेखको सदरमुकाममा बास बस्नेगरी अगाडि बढ्यौंँ । छोटो समयमा अधिक स्थानको अवलोकन गर्ने हुटहुटीले गर्दा १० बजे मात्रै हामी दैलेख सदरमुकाम आइपुग्यौँ । भोलिपल्ट वैशाख ३ गते बिहान दैलेख सदरमुकाम र आसपासका ठाउँको भ्रमण गरियो । ऐतिहासिक एवं पुरातात्विक महŒवको पञ्चदेवल, बेलासपुर मन्दिर र कोतगढी सदरमुकाम आसपासका महŒवपूर्ण ठाउँहरु रहेछन् । पञ्चदेवल पुरातात्विक महŒवको छ तर यसको निर्माण कहिले भएको हो भन्ने जानकारीसम्म छैन । बेलासपुर मन्दिर पनि पर्यटकीय र धार्मिक रुपमा महŒवपूर्ण रहेको पाइयो । सदरमुकामको पुरानो बजारमा अवस्थित कोतगढी पनि ऐतिहासिक स्थल रहेछ । पर्यटकीय महŒव बोकेको कोतगढी घुम्नका लागि हामीले झण्डै एक घण्टा कुर्नुप¥यो । गढीको ताल्चा नगरपालिकामा रहेको र आगन्तुहरु त्यहाँ पुगी स्थानीयमार्फत बोलाएपछि मात्रै नगरपालिकाका कर्मचारीहरु चाबी लिएर खोल्न आइपुग्दारहेछन् ! जब कि यस्तो ठाउँमा आगन्तुकलाई कुराउँदा पर्यटकीय दृष्टिकोणले राम्रो सन्देश जाँदैन । पर्यटकीय महŒवको यो ठाउँको सहज अवलोकनको व्यवस्था नारायण नगरपालिकाले गर्नुपर्ने हो ।
कोतगढी अवलोकनपछि हामी सुर्खेततर्फ लाग्यौँ । आजको यात्राको क्रममा थाहा भयो कि नारायण नगरपालिकामा पुग्ने बाटो कति उकालो रहेछ भनेर । हामी चुप्राबजार, माथिल्लो डुङ्गेश्वर हुँदै घोडावास आइपुग्यौँ । गोठीजिउलामा पुगेर खाना खाई गुराँसेतर्फ अगाडि बढ्यौँ । जङ्गलभरि यसरी गुराँस ढकमक्क थिए, मानौँ ती हामीलाई नै स्वागत गरिरहेका छन् । गुराँसेबाट ओरालो लाग्दै गर्दा वीरेन्द्रनगरको दृश्य तुवाँलोले गर्दा धमिलो देखिन्थ्यो । सुर्खेत पुगेपछि त्यहाँको महŒवपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको पनि अवलोकन गर्ने हाम्रो योजना थियो । सोहीबमोजिम छोटो समयमै देउतीबज्यै, बुलबुले ताल र काँक्रेविहार घुम्यौँ । काँक्रेविहारमा पुग्दा त्यति पुरानो धार्मिक एवं पर्यटकीयस्थल भर्खरै जीर्णोद्धार हुँदै गरेको देख्दा आफ्नो पहिचान र इतिहाससँग जोडिएका धरोहरप्रति हामी कति उदासीन र गैरजिम्मेवार रहेछौँ भनेर आफैँलाई प्रश्न गर्न मन लाग्यो । यात्रा अवधिभर बाटोको छेउछाउका जङ्गलमा रुख ढलेर कुहिएका तर तिनीहरुको उचित व्यवस्थापन नभएको पाउँदा ‘हरियो वन नेपालको धन’लाई वास्तवमा व्यवहारमा लागू गर्न चुकेका छौँं भन्ने लाग्यो । सुर्खेतबाट रात्रिबसको टिकट काटिसकिएको थियो । सुर्खेतका मित्रहरुसँग बिदा भएर कर्णाली प्रदेशका पाँच जिल्लाको सजीव चित्र मस्तिष्कमा सजाउँदै कर्मस्थलतिर फर्कियौँ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?