राजन रावत
नाम सुनेको, जाने मन पनि भएको तर जाने साइत नजुरेको रानीखर्कमा यसपालि असारमा आउजाउ र दृश्य अवलोकन गर्ने साइत जु¥यो । रानीसैनामा नाम्खा गाउँपालिकाका तीन गाउँवासीका तर्फबाट पर्यटन प्रवद्र्धन गर्नका लागि रानीखर्कमा धार्मिक प्रवचन आयोजना गरिएको थियो । प्रवचकमा मुख्य गुरु हुनुहुन्थ्यो याल्बाङ गुम्बाका लामा पेमा रिक्साल । सात दिनसम्म उहाँले सुन्दर हिमाली उपत्यकाको रूप धारण गरेको रानीखर्कमा प्रवचन दिएर समापनको पछिल्लो दिन गुरुलाई नाम्खाकै चालागाउँको पूजामा हेलिकोप्टरमा जानुपर्ने र रानीखर्कमा हेलिकोप्टर जाँदैछ भन्ने कुरा बिहान मात्र थाहा पाइयो । यो कुरा मलाई नाम्खा गाउँपालिकाका लेखाप्रमुख अस्विनीकुमार देवकोटाले जानकारी दिनुभएको थियो र पछि जान पनि पाइने भयो ।
हेलिकोप्टरले उडान भरेपछि नौ मिनेटमा रानीखर्कमा अवतरण गरेको थियो । हल्का बादल लागेका कारण सिमकोटबाट रानीखर्कको हेलिकोप्टर यात्रा गर्दा अग्ला हिमालका बीचमा सानाठूला हिमताल, नदी, हिउँ जमेर सेताम्मे हिमालकाबीच लामा र फराकिला हिमाली पाटनको दृश्यावलोकन गर्दै हेलिकोप्टर रानीखर्कमा अवतरण गर्दा गुरु पेमा रिक्साल चाला जाने तयारीमा हुनुहुन्थ्यो । गुरुको दर्शन गरेर गुरुसँग केही क्षण साक्षात्कार, प्रणाम र भलाकुसारी पछि अवतरणको एक मिनेटमै उहाँ चालातर्फ उड्नु भएथ्यो ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको रानीखर्क तीन जिल्लाको मिलन विन्दुका रूपमा रहेको छ । करिब चार हजार मिटर उचाइमा रहेको हिमाली उपत्यकाको स्वरुप पाएको रानीखर्क पुग्दा अर्कै किसिमको अनुभूति हुन्छ । बाजुरा, हुम्ला र बझाङ जिल्लाको सिमानामा पर्ने रानीखर्कलाई धेरै कुराबाट मनोरञ्जन लिन सकिने स्थानका रूपमा पनि लिन सकिन्छ । प्रकृतिले दिएका अनेक उपहार, न कसैले संरक्षण गरेका चिज हुन् ती । जे छन्, सबै प्रकृतिका वरदान हुन् । वर्षमा छ महिना मात्र मानिसको आवतजावत हुने रानीखर्क अहिले विशेष गरेर खर्ककै रूपमा रहँदैआएको छ । त्यहाँका मनोरम दृश्य हेर्दा पर्यटकका लागि धेरै रमणीय र अनुपम दृश्य अवलोकन गर्न सकिने अवस्था छ ।
पर्यटकीय क्षेत्र भएर पनि पहिचान हुन नसकेको रानीखर्कमा हुम्लापट्टीको सैपाल हिमाल, हिमालको एकातिर तीन सय वर्ष पुरानो गुम्बा, खर्क, झरना, हिमनदी, हिमताल, पाटन, जङ्गली जनावर नाउर, कस्तुरी, मृग, डाँफे, च्याखुरा लगायतका पक्षी पनि रहेका छन् । सयौँको सङ्ख्यामा रहेका खर्क, त्यहाँ चरन गर्ने भेडा, बाख्रा, याक, चौरी, जुमा, झोपा, घोडाको बथान पनि बाक्लै देखिने गरेको छ । त्योसँगै सयौँ किसिमका जडीबुटीको बास्नाले पनि त्यहाँ पुग्ने जो कोहीलाई मोहित नपार्ने कुरै भएन । उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूल फुलेर पनि रङ्गीबिरङ्गी देखिने पाटनको मनोरम दृश्य पनि कम्ती लोभलाग्दो छैन । यहीँ बसाँैबसौँ जस्तो लाग्ने भएर पनि छ महिना भने हिउँसँगै सुत्ने रानीखर्कमा त्यो समयमा कसैको पनि आवतजावत हुँदैन ।
छ महिना मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन भएका कारण हेलिकोप्टरबाट पनि यात्रा गर्न सकिने अवस्था छ तर पैदलै जान पनि खासै कठिन भने छैन । नाम्खा गाउँपालिका–३, खगालगाउँबाट बिस्तारै गए तीन दिन र अलि छिट्टै हिँडे दुई दिनमा रानीखर्क पुग्न सकिने अवस्था छ । बाटोमा पनि अनेक रमणीय दृश्य अवलोकन गर्दै दुईवटा पहाड पार गर्नुपर्छ । रानीखर्कमा अन्य केही पनि व्यवस्था नभएको हुँदा बन्दोबस्तीका आवश्यक सबै सामग्री आफैले बोक्नुपर्ने बाध्यता छ । अन्यथा खर्कालुसँग मिसिएर बास बस्नुपर्ने हुन्छ । यो कुरा भने यात्रा गर्नेले पहिले नै निधो गर्नु आवश्यक छ ।