logo
२०८१ मंसिर ८ शनिवार



एक थिए हरिभक्त

शनिवार |


एक थिए हरिभक्त


 श्रीरामसिंह बस्नेत

दार्शनिक इमर्सनको एउटा घतलाग्दो भनाइ छ– हामी सधैँ जिउने तयारी गरिरहन्छौँ तर जिउन भने कहिल्यै भ्याउँदैनौँ अर्थात् सजिलोसँग जिउने तयारी गर्दागर्दै मानिसको जीवनलीला समाप्त हुन्छ । यो भनाइ करोडौँ मानिसका जीवनमा चरितार्थ भएको छ र भइरहने छ । त्यसमध्ये एक हुनुहुन्थ्यो, नेपाली जनमानसबीच अत्यन्त लोकप्रिय भएर पनि उपेक्षाको पात्रसमेत बन्न पुगेका कवि तथा गीतकार हरिभक्त कटुवाल ।
शनैः शनैः समयको भुमरीमा आज मानिसले उहाँलाई बिर्सिए पनि वि.सं. २०३६ को विद्यार्थी आन्दोलन, आन्दोलनले लिंँदै गएको राजनीतिक रूप, आन्दोलनलाई ऊर्जा दिन काठमाडौँ उपत्यकाका विभिन्न चोक र सडकमा स्वतःस्फूर्त रूपमा आयोजना हुने सडक कविता अभियान, अनि त्यहाँ जोसिलो शैलीमा कविता वाचन गर्ने तिल र चामल मिसाएजस्तो कपाल भएको एउटा लिखुरे ज्यानको मानिस । साँझ छिप्पिँदै गएपछि भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडकको सेरोफेरोमा मदहोशीमा लर्बराउँदै हिँड्ने त्यही लिखुरे तर ज्याद्रो कविलाई देखेका मानिसले हत्पत्ति भुल्दैनन् सायद । नेपाली साहित्य र सङ्गीतप्रति अलिकति पनि चासो राख्ने मानिसको सम्झनाको कुनै कुइनेटोमा उहाँ अझै पनि पक्कै हुनुपर्छ ।
कवि तथा गीतकार कटुवालले पहिलो श्वास वि.सं. १९९२ असारमा भारतको आसाम राज्यमा फेर्नुभएको थियो भने अन्तिम श्वास पनि वि.सं. २०३७ भदौमा उही थाकथलोमा बिसाउनुभएथ्यो । त्यसबीचको ४५ वर्षको जुन अवधि रह्यो, त्यो नै उहाँको समग्र जिन्दगानी थियो । जसलाई उहाँ ‘यो जिन्दगी खै के जिन्दगी’ भनेर परिभाषित गर्नुहुन्थ्यो कवितामा । नागरिकताका आधारमा भन्ने हो भने उहाँ भारतीय नागरिक हो तर उहाँको जातीय र भावनात्मक जरा भने नेपालमै गाडिएको थियो । त्यसैले नेपाल र नेपालीको सुखदुःखलाई आफ्नै मानेर आत्मसात् गर्नुहुन्थ्यो । २०३६ सालको आन्दोलनले राजनीतिक रूप लिएपछि घोषित जनमत सङ्ग्रहमा बहुदलको हार हुनुलाई उहाँले आफ्नै ठूलो हार भएको मानेर निकै चिन्ता व्यक्त गर्नुभएको थियो । जनमत सङ्ग्रहको नतिजा सार्वजनिक भएलगत्तै नेपाल छोडेर आफ्नो जन्मथलो आसामतिर लाग्नुभएका कटुवाल फेरि कहिल्यै फर्किनुभएन । त्यहीँको अस्पतालमा जीवनका अन्तिम केही रुग्ण दिन बिताएपछि उतैबाट अनन्त यात्रामा प्रस्थान गर्नुभयो ।
दार्शनिक इमर्सनले भनेझैँ उहाँले बाँच्ने तयारीस्वरूप अनेकौँ कर्म गर्नुभयो । शिक्षक, सरकारी कर्मचारी, तरकारी पसले, भातको होटल, साहित्यिक पत्रिकाहरू सम्पादन, नाटक निर्देशन, अनेक गर्नुभयो । कैयौँं साहित्यिक संस्था जन्माउनुभयो । उहाँको जीवनमा एउटा उल्लेखनीय पक्ष के छ भने उहाँलाई कामको खाँचो कहिल्यै पनि भएन अर्थात् बेरोजगारीको पीडा भने उहाँले खप्नु परेन तर पाएको काममा स्थिर भएर टिक्न नसक्ने उहाँको कमजोरी थियो । यही कमजोरीले गर्दा उहाँको पूरै जीवन प्रयोगमै बित्यो, प्राप्ति बेगर । सायद त्यसैले उहाँले गीतमा लेख्नुभयो– ‘मेरो प्राप्ति त्यही, तिमी हाँसे पुग्छ, मेरो घाउ तिमी नहाँसे पो दुख्छ... ।’
उहाँ आवश्यकताभन्दा बढी भावुक हुनुहुन्थ्यो अनि त्यस्तै स्वाभिमानी पनि । त्यसैले होला सायद उहाँको पूरै जीवन सङ्क्रमण कालमै बित्यो । जादुमयी अनेकौँ कविता, गीत र मुक्तकका स्रष्टा कटुवालका छोटा कथा र नाटकको पनि आफ्नै स्थान छ नेपाली साहित्यमा । अत्यन्तै सुन्दर अक्षर लेख्नसक्ने खुबी भएका कटुवालले केही अमूर्त चित्रसमेत कोर्नुभएको छ । उहाँले लेखेका कविता, मुक्तक उहाँकै वाचनमा सुन्नु वा उहाँकै हस्ताक्षरमा पढ्नुको मीठो नशा अनुभव गर्न पाउनेहरूले वास्तवमा आफूलाई भाग्यमानी ठानेका छन् ।
प्रतिभाशाली भएर पनि अत्यन्त छिटो बदलिने सोच र कार्यका कारण कटुवालको जीवन जटिलता र अन्योलमा बित्यो भन्न सकिन्छ । आसाममा उहाँ नबसेर परिवारलाई समेत छोडेर नेपालतिर भासिएकोमा त्यहाँको समाज उहाँसँग असन्तुष्ट थियो । यता नेपालमा उहाँलाई गैरनेपाली भनेर उपेक्षा गर्ने जमात पनि उत्तिकै थियो । जो उहाँको प्रतिभाभन्दा उहाँको मदिरा प्रेमको बढी चर्चा गरेर उहाँलाई होच्याउनमा रमाउँथ्यो । उहाँप्रति सहानुभूति राख्नेहरू पनि उहाँ मदिराकै अधीनमा रहने र सानोतिनो कुरामा पनि रिसाइहाल्ने बानीका कारण हैरान थिए । उहाँको मनमा पाप थिएन, बालकको जस्तो स्वभाव थियो ।
क्रिकेट खेलको ठूलै ‘फ्यान’ उहाँ मदिराको नशामा चुर भएको बेलामा पनि बागबजारका पान पसलहरूमा रेडियोमा बजिरहेका भारतमा भएका क्रिकेट म्याचको कमेन्ट्री खुब ध्यानपूर्वक सुन्नुहुन्थ्यो । त्यतिबेला नेपालमा क्रिकेट खेलले जनस्तरमा लोकप्रियता पाइसकेकै थिएन, न त नेपालमा टेलिभिजन युग नै प्रारम्भ भएको थियो । लाग्छ, अहिले उहाँ बाँचिरहनुभएको भए टेलिभिजनमा क्रिकेटको प्रत्यक्ष प्रसारण हेर्दै कति लट्ठ पर्नुहुन्थ्यो होला !
उहाँको अर्को एउटा विशेषता के पनि मनन गर्नुपर्छ भने उहाँ जुनसुकै भाषालाई पनि सम्मान गर्नुहुन्थ्यो । उहाँ नेपाली, आसामी, हिन्दी, बङ्गाली, अङ्ग्रेजीमा सिद्धहस्त त हुनुहुन्थ्यो नै, काठमाडौँमा रहँदा उहाँले नेवारी भाषासमेत सिक्नुभएको थियो । जब कि अझै पनि नेवारी भाषालाई उपत्यकाका नेवारहरूको मात्र भाषा हो भन्ने सङ्कुचित सोच यहाँका गैरनेवारहरूमा कायमै छ तर उहाँ आफूसँग प्रत्यक्षतः कुनै सरोकार नभएको नेवारी भाषाप्रति पनि आकर्षित हुनुहुन्थ्यो । जुनसुकै भाषा पनि मानव समुदायको अमूल्य साझा सम्पदा हो भन्ने भावना कटुवालबाट सिक्नुपर्ने पाठ हो । यहाँ त देशको कायापलट गर्छु भन्ने राजनीतिक शक्ति नै माउभाषा संस्कृत पढ्ने–पढाउनेहरूलाई दण्डित गर्न पछि परेको थिएन ।
कवि कटुवालले चोला बिसाएपछि उहाँप्रति श्रद्धास्वरूप नेपाल र आसामबाट स्मृतिग्रन्थ, विभिन्न विशेषाङ्क प्रकाशित भए भने पछिल्लो समयमा उहाँको जीवनीमा आधारित वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’ पनि तयार गरिएको छ । उहाँका कतिपय रचनाहरू पुस्तकाकार रूपमा प्रकाशित छन् भने गीतकारका रूपमा उहाँले लेखेका प्रेमिल तथा कोमल गीतहरू नारायणगोपाल, अम्बर गुरुङ, अरुणा लामा, माया ठकुरी, भक्तराज आचार्य, ओमविक्रम विष्ट, निर्मला श्रेष्ठ, अञ्जुदेवी आदिका स्वरमा कालजयी बनेर सुरक्षित रहेका छन् । नेपालका आमसञ्चार माध्यम विशेष गरी रेडियोहरूमा बेलाबेलामा ती बज्छन् पनि तर त्यसको रोयल्टी कसको पोल्टामा पर्ने गरेको छ वा बेवारिसे रूपमै ती गीतले रेडियोका शोभा बढाइरहेका छन् कि ? उहाँका अप्रकाशित रचनाहरू कहाँ छन् ? उहाँको हराएको भनिएको रातो डायरीमा कसले ग¥यो षडयन्त्र ?
‘आसामका महाकवि देवकोटा’ भनेर कहलिएका कटुवालको सम्झनालाई चिरस्थायी राख्न आसाममा के कस्ता प्रयासहरू भइरहेका छन्, त्यसबारे त जानकारी भएन । नेपालमा पनि दीर्घकालीन रूपमा केही ठोस कार्य गर्ने–गराउने चाँजो मिलाउन सकिएमा आफ्नै कमजोरीले लक्ष्मीको वरदान पाउन नसके पनि आफ्नै प्रतिभाले सरस्वतीको वरदान भने पाएका एक साहित्यकारप्रति सच्चा श्रद्धाञ्जलि हुने थियो कि ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?