जीवनाथ धमला
कविताले जीवन बोलेन भने र त्यसमा जीवन रसाएन भने त्यो कविता, कवितै होइन । कवितामा सत्य र सुन्दरको प्रतिविम्ब टल्केन भने त्यो पनि कविता हुँदैन । जीवन उज्यालो पार्ने अनुभूति वा गहिरो भावनाद्वारा अभिसिञ्चित भाषाको कलापुञ्ज बन्दछ सुन्दर कविता । त्यसैले कविताले जीवन र जगत्लाई चिनाउँछ, चियाउँछ र रच्दछ पनि । त्यसैले त कविता सर्वाधिक स्रष्टाका लागि सिर्जनाको माध्यम बनिरहेको छ । अभिव्यक्तिको धारा बनेर अविरल बगिरहेछ स्रष्टाबाट आदिकालदेखि नै ।
नेपाली साहित्यिक फाँटमा सुन्दर कविता भानुभक्त युगदेखि नै फूल्न थाले । मोतीराम, शम्भुप्रसाद, लेखनाथ, देवकोटा, सिद्धिचरण हुँदै यहाँसम्म आइपुग्दा कयौँ कविता–काव्यका स्रष्टाले कवितामा जीवन बोले, बोलिरहेका छन् । नेपालभित्र र बाहिरबाट हजारौँ स्रष्टाले कविता लेखिरहेका छन् । स्रष्टाले जीवन र जगत्कै मर्म र अर्थलाई वाणी दिँदै आएका छन् । वर्तमान नेपाली काव्यजगत् यिनै असङ्ख्य स्रष्टाका काव्यधाराबाट सिञ्चित भएर नयाँनयाँ क्षितिजको खोजी गरिरहेछ । तीमध्ये कयौँ स्रष्टाका कालजयी सिर्जनाबाट नेपाली साहित्यको कविताजगत् समृद्ध भइरहेको छ । जीवनलाई ब्युँझाउने, नयाँ बाटोमा हिँड्न प्रेरित गर्ने अनि चैतन्यका नयाँ द्वार उघार्न सामथ्र्य राख्ने कविता जीवनदायी हुन्छन्, ती जीवनवादी नै हुन् । जीवनविमुख कविताले निद्रितलाई ब्युँझाउन सक्दैन । सुन्दर कविता–काव्यमा जीवनदायी शक्ति प्रवल रहन्छ ।
कविवर माधव घिमिरे कवितामा जीवन भर्ने स्रष्टा हुनुहुन्छ । यस आलेखमा कविवर माधव घिमिरेको आसन्न १०१ आँै जन्मदिनको सन्दर्भमा उहाँका कविता–काव्यको सामान्य पाठकका हैसियतले केही पङ्क्तिका साथ उहाँलाई शुभकामना अर्पण गर्दछु ः
जान्यो कि जिन्दगी ज्यून जिन्दगी वरदान हो
सुनौला हिमचुली हेर्न खोल झ्याल बिहानको,
नजाने जिन्दगी ज्यून जिन्दगी अभिशाप हो
आफै धरापमा पर्छ आफै थाप्छ धराप जो । (जिन्दगी वरदान हो)
राष्ट्रकवि माधव घिमिरे जीवनवादी कवि हुनुहुन्छ । उहाँका कवितामा सुन्दर जीवनको महक मगमगाउँछ । जीवनप्रतिको आशा उहाँका कविताको ढुकढुकी हो । जहाँ जीवन र जगत्प्रति सकारात्मक चिन्तन रहन्छ, त्यहाँ निराशा रहँदैन । आशाको उज्यालो चम्किरहन्छ । कविता वा काव्य–साधकमा मूलतः जीवनवादी चिन्तन र दृष्टिकोण हुनु सामान्य हो । कविता कलाकै एउटा रूप हो । भाषालाई साहित्यिक विधामार्फत अभिव्यञ्जित गर्नु कलाको विशिष्टिकृत अभ्यास हो । बोलीचालीमा हुने भाषाको सामान्य अभिव्यक्तिलाई कला भनिँदैन । कलाका बहुआयामिक स्वरुप जेजे भए पनि ती अनुभूतिपरक नै हुन्छन् र तिनले जीवनकै अर्थ र चैतन्यलाई विस्तारित गर्दछन् । जीवन र जगत्मा सत्यम् शिवम् सुन्दरम्को खोजी कलाका माध्यमबाट गरिन्छ । कविता एक विशिष्ट कला हो जीवनका लागि । घिमिरे भन्नुहुन्छ, अरु मानिस प्रकृति र जीवनले आफूलाई जसरी बनाउँछ त्यसरी नै बन्दछन् र भत्कन्छन् । कवि आफ्नो जीवन काव्य सिर्जनाका निम्ति ज्यूँछ, त्यसैबाट सर्वसुन्दर मानवको सृष्टि गर्छ । अनि हामी दिन–परदिन सुन्दरतातिर जान्छाँै, अमरतातिर जान्छाँै । –आफ्नो बाँसुरी आफ्नै गीत, २०४९, पेज ५३)
घिमिरेको अर्चना नै कविताको अर्चना हो । उहाँको अर्चना जीवनको अर्चना हो । उहाँले जीवनको सत्यलाई कविताका मञ्जरीबाट पहिल्याउन, खोज्न र टिप्न थाल्नुभयो कवितायात्राको प्रारम्भदेखि नै । उहाँले जीवनलाई कवितामय देख्नुभयो, आँखा अघिल्तिर सुसेली हालिरहेका काव्यिक ध्वनिलाई यसरी लय दिनुभयो ः
हे ज्योतिर्मय ज्योति एक पतला झल्कोस् हृदयाकाशमा
भित्री भाव छचल्किएर कविता निस्कुन् अनायासमा
प्यारा ! त्यो क्षणको अपूर्व रसको धारा तिमीलाई होस्
कालिन्दी गहमा बहुन्, हृदयले उर्लेर गाइरहोस् । (आत्म निवेदन)
घिमिरे हृदयभित्र ज्योति खोज्नुहुन्छ । अँध्यारोबाट उज्यालोतिरको यात्रा हो सिर्जना । तमसोमा ज्योतिर्गमयः, मृत्योर्माअमृतंगमयः घिमिरेका काव्य सामथ्र्यको प्रेरकतत्वका रूपमा रहेको बुझिन्छ । जीवन के हो भन्ने प्रश्नले अहिलेसम्म पनि खास उत्तर पाएको छैन । जीवनप्रतिका दृष्टिकोण, चिन्तन र बुझाइ अनेक छन् । उहाँका लागि जीवन सुन्दर र सत्यको अन्वेषक हो । सत्य सतहबाट देखिँदैन, सिपी गहिराइमा लुकेको हुन्छ । कविमा दिव्यचक्षु हुन्छ, जसले सत्यलाई देख्ने सामथ्र्य राख्दछ । जहाँ पनि छन् रहस्य, तीभित्र जीवनका भुल्का भुल्भुलाउँछन्, तिनलाई सुन्ने सामथ्र्य सबैमा हुँदैन, कविमा हुन्छ, साहित्यकारमा हुन्छ ।
जीवनलाई जति व्यापकतातिर डो¥यायो, उति व्यापक बन्दैजान्छ । जीवनको व्यापकता अन्त्यहीन क्षितिजजस्तै छ । फेरि साँघुरो परिधि, घेराभित्र पनि जीवन हुन्छ । पूर्णता त प्रत्येकमा छ तर कुन पूर्णता ? सानो पोखरी वा कुवाको पूर्णता कि असीम जलधिको, महासागरको ? बुझ्ने कसरी ? नयाँनयाँ रहस्य र सम्भावना खोज्दै, पौडिँदै जाने कि सीमितताभित्र खोजिरहने जीवनलाई ? उहाँ भन्नुहुन्छ, पोखरीको पानीको भुँवरीजस्तै हामी प्रत्येक घेरामा पूर्ण हुन्छाँै, त्यही पूर्णताबाट फैलिँदै फेरि अर्को घेरा बनाउँछौँ । यहाँ अनन्त सम्भावना छन्, मुस्कानको एक भेदनले अझ अर्को भेदलाई सङ्केत गरेजस्तै पलपलमा नौला परिणाम छन् तर अन्त्य छैन । हाम्रो माया र प्यास सीमित छ तर त्यसको सीमा छैन । त्यही ‘वृतम्भरा वृत्ति’ नै ‘ऋतम्भरा प्रज्ञा’ हो । यही नै साहित्यको सत्य हो । (आफ्नो बाँसुरी आफ्नै गीत, २०४९, पेज १९)
कति ठूलो सत्य बोल्नुभएको छ घिमिरेले आफ्ना कवितामा । जीवनलाई पानीको भुँवरीको गोलाकार, तरङ्गशील प्रवाहसँग तुलना गर्दै, एकपछि अर्को अनि अर्को, अर्को हुँदै जाने जीवनको पूर्णताको अन्तिम विन्दु नै छैन उहाँको दृष्टिकोणमा । तैपनि फैलिँदै जानु जीवनको स्वभाव हो । जीवनवृत्तको यो असीमतालाई साहित्यले अनुभूत गर्न सक्छ । जलतरङ्गका गोलाकार प्रवाहजस्तै झन्झन् विस्तृत बन्दै जानु जीवनको पनि सत्य हो । त्यस असीम सत्यलाई चियाउने सामथ्र्य प्रदान गर्ने चैतन्यशीलता नै ऋतम्भरा प्रज्ञा हो भन्ने घिमिरेको आशय रहेको बुझ्न सकिन्छ ।
घिमिरेका धेरै कविता–काव्यभित्रका अनेक पङ्क्तिमा जीवनलाई सिञ्चित गराउने सुक्तिमय सन्देश भेट्न सकिन्छ । पाठकलाई काव्यिक चिन्तनका नयाँनयाँ क्षितिजमा पु¥याउने सामथ्र्य उहाँका कवितामा पाइन्छ । जीवनलाई सिर्जनाको सौन्दर्यले सुगन्धित बनाउने मूल आफैसँग हुन्छ । त्यसको खोजी आफैभित्र गर्ने हो । जसले मूललाई हृदयङ्गम गर्ने सामथ्र्य राख्छ, त्यो नै काव्यिक द्रष्टा हो ।
वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी राष्ट्रकवि घिमिरे र अङ्ग्रेजी कवि कीट्सको तुलना गर्दै लेख्नुहुन्छ, घिमिरे र कीट्स दुवै इन्द्रिय–सम्वेद्यता (सेन्सस्नेस)मा विश्वास राख्दछन्, गेय माधुर्यमा दुवैको अनन्त आस्था छ । शब्द–शय्यामा दुवै निकै शिल्पी देखिन्छन् । दुवैमा नैतिक शिक्षा र आदर्श स्थापनाप्रति प्रत्यक्ष र उत्कट अभिरुचि देखिन्न, तैपनि दुवै अप्रत्यक्षतः शकलको आकारमा स्वस्थता र सत्यको दर्शन गर्न चाहन्छन्, सत्य र सौन्दर्यलाई अभिन्न मान्दछन् । त्यसैले घिमिरेका कवितामा ती धेरै चिज छन् जो अङ्ग्रेजी कवि कीट्समा छन्, ती धेरै चिज छैनन्, जो अङ्ग्रेजी कवि शेली र हाम्रा महाकवि देवकोटामा छन् । (प्रधान, कृष्णचन्द्र सिंह, २०३४, सम्पा. साझा समालोचना, पेज १९२)
घिमिरेका काव्य–कविताका भाव, शैली, प्रभाव, शिल्पी आदि पक्षमा समालोचक प्रा.डा. त्रिपाठीले नेपाली साहित्यका देवकोटा, पौडेल, सिद्धिचरण एवं अङ्ग्रेजी साहित्यका कीट्स, शेली, वायरन आदि कविसँग तुलना गर्नुभएको छ । कालीगण्डकी कविताभित्र घिमिरेले आफ्नो जीवनको तृष्णालाई काव्यिक चेतद्वारा सिञ्चित स्वरसद्वारा तृप्ति प्रदान गर्नुभएको भन्ने आशय त्रिपाठीको रहेको छ । उहाँले भन्नुभएको छ, जीवनका प्यासलाई स्वरसद्वारा तृप्ति दिने घिमिरेको मनोवैज्ञानिक दृष्टिकोणले काव्यधारामा रसप्रवाह चाहिने कुरा स्वीकार गरेको छ । सृजना र रसमयता घिमिरेका निम्ति पर्यायवाची शब्द हुन् । उनी आफ्नो सिर्जनामा त्यति ज्यादै रसवादी छन् जसले गर्दा जीवनको तृप्ति नै रसमयतामा अनुभव गर्दछन् । (ऐ. पेज २०२)
नयाँ हृदय प्रान्तमा म पनि स्वर्ग रेखा खिचूँ
नयाँ जगत आजको दिवसदेखि यौटा रचूँ । (पहिलो झुल्का)
कयौँ फुटकर कवितामा घिमिरेले स्वर्णिम दिन, कर्म अनि उत्सवमय जीवनको अर्चना गर्नुभएको छ । फुटकर कवितामा उहाँले कतैकतै जीवनको मलिनता र विस्मयताका विषय र सन्दर्भलाई पनि अभिव्यक्त गर्नुभएको छ तर तिनमा पनि उज्यालोका धर्का खोज्न छोड्नुहुन्न । जीवनको शाश्वतता र नश्वरता दुवैप्रति घिमिरेको चिन्तनशीलता अखण्डित छ । सिर्जनामा शिल्पीगत सजगताका साथ प्रत्येकलाई पूर्ण बनाउने प्रयत्न गर्नुहुन्छ घिमिरे– ‘एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ’ (कालीगण्डकी) ।
राजा पृथ्वीनारायण शाहलाई मुख्य पात्र बनाएर सिर्जित ‘राष्ट्र निर्माता’मा घिमिरेले राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहको कर्तृृत्व र उहाँको दूरदर्शी नेतृत्वलाई काव्यिक मिहिनतापूर्वक प्रस्तुत गर्नुभएको त छ नै, सँगसँगै जीवनको सार्थक प्राप्तिहेतु सिर्जनात्मक सम्भावनाप्रतिका अभिलाषालाई पछ्याइरहन अभिप्रेरित पनि गर्नुभएको छ ः
यो सिर्जना मूल अजस्र दिन्छु,
सम्भावना लाख सहस्र दिन्छु,
सँधै उज्यालो म भविश्य दिन्छु,
रहस्य खोलेर रहसय दिन्छु । (राष्ट्रनिर्माता)
घिमिरे राष्ट्रिय भावना र चेतनाका कवि त हुँदै हुनुहुन्छ, उहाँ जीवनदायी चेतनाका कविका रूपमा पनि शीर्षपङ्क्तिमा रहनुभएको छ । उहाँको कवित्वमाथि असङ्ख्य स्रष्टा–समालोचकले लेखिरहेका छन् । सिर्जना–समीक्षा गर्नेक्रम रोकिँदैन । सिर्जनाका विषयवस्तु जेसुकै भए पनि घिमिरे तिनबाट निःसृत भइरहेको जीवन शक्तिलाई स्पर्श गर्न चाहनुहुन्छ । स्रष्टा घिमिरेबाट अन्य स्रष्टाले प्रेरणा पाइरहने छन् । प्रत्येक स्रष्टाको व्यक्त÷अव्यक्त इच्छा, आफ्ना सिर्जना अरूले, भावी पिँढीले सम्झिरहने निशानका रूपमा रहन सकुन् भन्ने रहन्छ नै । राष्ट्रकवि घिमिरेमा रहेको चाहना पनि यसैको सेरोफेरोको छ ः ‘केही साँच्न सकूँ विराट मनुजको अक्षय यै कोशमा ।’ (राजेश्वरी)