राष्ट्रकवि माधव घिमिरे यही असोज ७ गतेदेखि सय वर्ष पूरा गरी एक सय एक वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । सक्रिय जीवन बाँचेर निरन्तर साधनारत स्रष्टा घिमिरे यो उमेरमा पनि सिर्जनामै लागिरहनुभएको छ । जीवनप्रति सधैँ सकारात्मक सोच राख्नुहुने उहाँ दीर्घायु प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएर जीवनमा उसले के कस्तो कर्म ग¥यो, त्यो नै महŒवपूर्ण कुरा हो भन्नुहुन्छ । आफूलाई जीवनमा जे जति सफलता प्राप्त भयो, त्यो सबै दीर्घ साधनाको बलले प्राप्त भएको हो भन्नुहुने राष्ट्रकवि घिमिरेसँग गोरखापत्रका लागि तुलसीहरि कोइरालाले गर्नुभएको कुराकानीः
मानव चोलाको निर्धारित आयुको माथिल्लो बिन्दु पार गरिसकेर पनि सक्रिय जीवन व्यतित गरिरहनुभएको छ । अनुभव, सिर्जना र साधनाले खारिएको यो अवस्थामा जीवनलाई कसरी हेरिरहनुभएको छ ?
माछोलाई सागर के हो ? भनेर सोद्धा उसले भन्न नसके जस्तै हो जीवन । मान्छेले पनि ठ्याक्कै यही हो भनेर भन्न सकिँदैन तर पनि भन्नैपर्दा जीवन बाँचेर केही काम गर्नका निम्ति प्राप्त भएको हो । समाजमा बसेर केही गर्न नसके एकान्तमै भए पनि बसेर जीवन भोग्नुपर्छ । भोग्नकै लागि प्राप्त गरिएको हो जीवन ।
पला पलामा जति श्वास फेरुँ
म त्यत्ति ताजा बनी विश्व हेरुँ
नयाँ नयाँ शिल्प र कल्पना देऊ
सधैँभरि नै हरियोपना देऊ ।
जीवनको सार नै यही हो । हामी कर्म गर्नका लागि जन्मिएका हौँ । कर्म नगरी फलको आश गर्नुहुँदैन । जीवनप्रति सधैँ सकारात्मक सोच राख्नुपर्छ । दीर्घायु प्राप्त गर्नु ठूलो कुरा होइन तर बाँचेर उसले के ग¥यो भन्ने महŒवपूर्ण कुरा हो । कर्ममा विश्वास गर्नेले जीवनमा मूलतः तीन सिद्धान्त पालन गरेको हुनुपर्छः १. सकारात्मक सोच । जीवनको लक्ष्य र मार्गको सकारात्मक कल्पना गर्नुपर्छ र सोही अनुसार हिँड्नुपर्छ । २. सिर्जनशीलता । मान्छेले जहिल्यै पनि सिर्जनशील कर्ममा लागिरहनु पर्छ । म कहिल्यै काम नगरी र केही नलेखी बसेको छैन । एक सय वर्ष पार गरेर पनि म महाकाव्यको साधना गरिरहेको छु र यसलाई पूरा गरेरै छोड्छु भनिरहेको छु । ३. योगाभ्यास । यसले शरीरलाई, श्वासलाई, मनलाई, आत्मालाई सन्तुलनमा राख्ने काम गर्छ । यसैलाई प्राणायाम, ध्यान, समाधि भनिएको हो । समाधि गर्न सक्दा आत्मालाई सन्तुलनमा र आफ्नो नियन्त्रणमा राख्न सकिन्छ । म यिनै सिद्धान्तको केही हदसम्म अभ्यास गर्न सफल भएँ । सिर्जनाले मानिसलाई र मानिसले सिर्जनालाई डो¥याउने रहेछ ।
यहाँले महाकाव्य लेखिरहेको कुरा गर्नुभयो । लेख्दै गरेको ‘ऋतम्भरा’ महाकाव्य पूरा गर्न लागेको सन्दर्भ सय वर्ष पुगेको अवसरमा पनि बताउनुभएको थियो । एक वर्षपछि अहिले कुन अवस्थामा पुगेको छ ?
म बिरामी भएको दुई वर्ष भयो । प्रत्येक पटक अस्पतालबाट निस्किँदा अब गएर सिध्याउँछु भन्छु तर त्यो प्रवाह र प्रतिभा रोकिएको रोकियै छ । लेख्न कठिन भइरहेको छ । कारण शरीरमा बल नभएर पनि हो । जम्मा १४ सर्गको महाकाव्यमा बीचका दुई सर्ग लेख्न बाँकी छ । दिल्लीबाट फर्किंदा पनि अब सक्छु भनेको थिएँ । मप्रति सबैको सद्भाव र चासो छ तर म आफैँले आफैँलाई ढाँटेजस्तो भइरहेको छ । आफूलाई कसले ढाँट्छ र ! पोहोरयता महाकाव्यकै केही अंश पत्रपत्रिकामा प्रकाशित गर्दैआएको छु । यहाँ प्रकाशित कवितांश पनि ‘ऋतम्भरा’को पाँचौँ सर्गको हो ।
यहाँले नेपाल सरकारका तर्फबाट ‘राष्ट्रकवि’ जस्तो गरिमामय उपाधि प्राप्त गर्नुभयो । मान–सम्मान र पुरस्कारको त गणना नै गर्न सकिने अवस्था छैन । यो उचाइ प्राप्त गर्न कसरी सम्भव भयो ?
म पहाडको मान्छे । पहाडमा पनि सुखमै हुर्किएको हुँ तर सुखमा नभुली भागेर नेपाल (काठमाडौँ) आएँ । यहाँ आएर दर्शन÷साहित्य पढ्ने अवसर पाएँ । कविता त पहाडमा हुँदैदेखि लेख्थेँ । १४ वर्षको उमेरमै ‘वैराग्य पुष्प’ शीर्षकमा गोरखापत्रमा कविता प्रकाशित भएथ्यो । मूल कुरा त आफ्नो रुचि अनुसार मैले दुःख उठाएँ । दुःख नगरी सुख आउँदैन । समय लिएर उठाएका दुःख एक किसिमले तपस्या हुन् । मैले तपस्या गरेँ । सर्वदर्शन पढेँ । संस्कृत साहित्य पढेँ । साहित्य सिर्जनाकै निम्ति मैले यो सबै उपार्जन गरेको हुँ । संस्कृत र नेपालीका कविहरूका सिर्जना पढेँ । यो सबै गर्न भगवान्ले अह्राएको जस्तै भयो । नेपालमा भर्खरै प्रजातन्त्र आउँदैगर्दा नागरिकशिक्षा र भूगोललगायतका आधारशिक्षाको तालिम पनि लिएँ । प्राचीन पूर्वीय साहित्य, दर्शन र आधुनिक शिक्षाको संयोजन गर्न सकेँ । यी सबैको समन्वयबाट मेरा कविताको रूप बेग्लै भयो । त्यो बेला भाका हालेर पढ्दा सबैले मन पराइदिए । म होस पु¥याएर लेख्छु । आफू पूर्ण सन्तुष्ट भएपछि मात्रै प्रकाशित गर्ने बानी छ । गाउँले परिवेश, संस्कृत र आधुनिक शिक्षा तथा साहित्यको संयोजन गर्न सकेँ । यसकारणले पनि मेरो विरोधमा बोल्ने–लेख्ने कोही समालोचक भएनन् । म फुत्त निस्किएको नभई साधनाले आएको हुँ ।
साहित्य सिर्जनामा निरन्तर लाग्नलाई कसैबाट पे्ररणा प्राप्त गर्नुभयो कि ?
खासमा त म आफ्नै सिर्जनाको बलले परिचित भएको हुँ । मेरो गीत त्यतिबेलाको साहित्यिक पत्रिका ‘शारदा’मा प्रकाशित भएको त्रैलोक्यनाथ उप्रेतीले पढ्नुभएछ । उहाँले म गाउँ फर्किसकेको ठिटोलाई बोलाएर काठमाडौँमै राख्नुभयो । लेखनमा मैले प्रेरणा लिएका कविहरूमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ हुनुुहुन्छ । आदर्शस्रष्टा चाहिँ कालिदास र रवीन्द्रनाथलाई नै मान्दछु । तत्कालीन राजा महेन्द्रले पनि मलाई रुचाएर राजकीय प्रज्ञा–प्रतिष्ठानमा राखिदिनुभयो । सबैतिरबाट संयोजन मिलेर म यो उचाइमा पुग्न सफल भएको हुँ ।
आफूलाई कत्तिको भाग्यमानी ठान्नुहुन्छ ?
मलाई अरूले घिमिरे भाग्यमानी भन्छन् । मैले प्राप्त गरेजति पद–प्रतिष्ठा, पुरस्कार–सम्मान अरूले पाएका छैनन् । तर भाग्यले मात्रै पाउने भए मैले गाउँ छोडेर यहाँसम्म आउनुपर्ने थिएन । साधना र तपस्या गर्नुपर्ने थिएन । राष्ट्रिय भावनाले ओतप्रोत भएका कविता–गीत मैले जति अरूले लेखेका छैनन् । नेपाललाई काव्यमा बढी मात्रामा प्रयोग गर्नेमा अर्को को छ ? अनुसन्धान गर्दा हुन्छ । कालीगण्डकीको यो श्लोक हेर्नुहोस्ः
यै कोल्टामा जडभरतले हो तपस्या गरेको
पानी भर्दा सुरयुवतीले स्वर्ण पुष्पी झरेको
बाँधेका छन् अमरपुरका शीर्ष मेरा शीलाले
छोएजस्तै अभय भगवान् विष्णुका पाइलाले ।
यसमा भूगोल र राष्ट्र मात्रै नभई सौन्दर्यबोध पनि छ । मलाई मन पराउनुको कारण राष्ट्रवाद र सौन्दर्यबोध पनि हो । विश्व परिवेशलाई लिएर अश्वत्थामा काव्य लेखेँ । काव्यमा विश्वलाई आणविक हतियारबाट सचेत रहन आह्वान गरेको छु । मैले राष्ट्र खण्डित नहोस् भन्ने भावनाले खबरदारी गरेर सिर्जना गरेको छु ।
राष्ट्रकविज्यू, सय वर्ष पुगिसकेपछि सिर्जनामा कत्तिको कलम चलाउनुभएको छ ?
त्यही अचम्म भइरहेको छ, जम्मा चार पङ्क्तिको ‘आज सय वर्ष लागेँ’ भनेर लेखेपछि थप केही लेख्न सकिरहेको छैन । योबीचमा लेख्ने आँट नै आएन । बरु अहिले पो ‘ऋतम्भरा’का बाँकी सर्ग लेख्न थालेको छु । दश दिन जति भयो, अब केही लेख्न सक्छु कि भन्ने लागिरहेको छ ।
महाकाव्यका लेख्न बाँकी रहेका दुई सर्ग यहाँले पूरा गर्न सक्नुहोला त ? के भनिरहेको छ आत्माले ?
कथानक सोचिसकेको छु । यसलाई आफैँले लेखेर सिध्याउन अब एक वर्ष लाग्नसक्छ । अहिले आएको हिम्मत कायम रहिरह्यो भने पक्कै पनि सिध्याउनेछु । । मैले सबैको सद्भाव पाएको छु । म बिरामी पर्दा सरकारले बाहिर लगेरसमेत उपचार गरायो । राज्यले ममाथि यत्रो लगानी गरेको छ । उपाधि प्रदान गरेको छ, उपचार गराएको छ । मैले पनि आफूले आँटेको काम पूरा गर्नैपर्छ । यसमा म सधैँ प्रयत्नशील रहिरहनेछु ।
कामना गरौँ, यहाँले महाकाव्य पूरा गर्नुहुनेछ र सबैभन्दा पाको उमेरमा महाकाव्य लेख्ने कविको रूपमा युगले सम्झिनेछ । तर दुर्भाग्यवश पूरा भएन भने त्यसलाई प्रकाशन गर्ने अनुमति दिनुहुन्छ कि दिनुहुन्न ?
आफूले सकुञ्जेल आफैँ लेख्छु । लेख्नै सकिनँ भने गद्यमा लेखाएर छोड्छु । यो जसरी पनि प्रकाशनमा आउनेछ ।
सरकारी स्तरबाट स्रष्टालाई प्रदान गरिएका उपाधिहरू अहिलेसम्ममा ‘कविशिरोमणि’ लेखनाथ पौड्याललाई, ‘राष्ट्रकवि’ यहाँलाई र ‘वाङ्मय शताब्दीपुरुष’ संस्कृतिविद् सत्यमोहन जोशीलाई मात्रै हो । यी उपाधि दोहो¥याएर अन्य स्रष्टालाई प्रदान गर्न मिल्ला कि नमिल्ला ?
‘राष्ट्रकवि’कै उपाधि भारतमा पनि प्रचलनमा छ । त्यहाँ मैथिलीशरण गुप्ता र दिनकरलाई सरकारी स्तरबाटै यो उपाधि प्रदान गरिएको छ । बेलायतमा पनि ‘पोएट लरिएट’ उपाधि दिने गरिएको छ । त्यहाँ पनि दोहो¥याएर दिने गरिएको छ । हामीकहाँ पनि यस्तै व्यवस्था गरिएको हो । मेरो विचारमा सामान्यतः एउटालाई प्रदान गरिएको उपाधि उसको जीवनकालमै अर्कोलाई पनि प्रदान गर्न मिल्दैन तर शेषपछि भने दोहो¥याउन मिल्छ ।
राष्ट्रकविज्यू, यही ७ गतेदेखि सय वर्ष पूरा गरी एक सय एक वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । आफ्नो स्वस्थ शरीरसहितको दीर्घायुको मूल्याङ्कन कसरी गरिरहनुभएको छ ?
म पूर्ण आयु बाँचेँ र स्वस्थ रहेर बाँचेँ । दीर्घायु प्राप्त गर्नुको मात्रै खास अर्थ छैन । सक्रिय रहिरहेर बाँच्नु महŒवपूर्ण कुरा हो । म सक्रिय भइरहेँ र आयुको पूर्ण सदुपयोग गरेँ । हाम्रो संस्कृतिमा ‘शतम् जीवितम्’ भन्ने छ तर मैले त्यो नाघेकोे छु । मेरा इन्द्रियहरू– आँखा, कान, नाकलगायतका सबै सक्रिय छन् । यस्तो जीवन ज्यादै थोरैलाई मात्र प्राप्त हुन्छ । भाग्य र कर्मको संयोजनद्वारा नै मेरा हकमा यो सम्भव भएको हो ।
आश्रमनेरका बस्ती (कविता)
राष्ट्रकवि माधव घिमिरे
बस्ती सदा हरित पुल्पित शान्तिशाली
राखेसरी सगरमा धरती उचाली ।
बाटैभरि दुईतिरै तरुका कतार
गामैभरि सुमन तोरन वारपार ।
छन् पाइला ललित अङ्कित अल्पनामा
प्राग्द्वारदेखि लहरै घरका कुनामा ।
दैवी विवाह वनको तरुसाथ गर्छन्
रोजी विवाह मनको वरसाथ गर्छन् ।
यौटै सदाशय सुँघेर दुवैथरीको
वास्ना समान महको वनमाहुरीको ।
दोटा प्रिया र प्रियको शिशु किन्तु यौटा
साकार प्यार, अमरापुरको कि द्यौता ।
लीला अलौकिक कला नवकल्पनाको
आभास हो कि नर सुन्दर झन् हुनाको ?
सद्भावना जति बह्यो उति स्वच्छस्वच्छ
झन् चेतना जति उड्यो उति उच्चउच्च ।
मन्त्रेर देव जुन जो सुनमा सिँगार्छन्
त्यै फेरि दिव्य गुण जीवनमा उतार्छन् ।
(ऋतम्भरा प्रथम सर्गबाट)