logo
२०८१ मंसिर १२ बुधवार



शिखरका मैदान मदनमणि माड्साप

शनिवार |


शिखरका मैदान मदनमणि माड्साप


 जीवराज भट्टराई

“साहित्यमा कोही ठूलो, कोही सानो हुँदैन विश्वभरिमै । बालक जन्मन्छ । १० महिनाको हुँदा आमाको काखमा बसेर हातखृट्टा उफार्दै हाँस्छ । त्यो हाँसोबाट साहित्य, दर्शन र विज्ञानको प्रारम्भ हुन्छ । यसैलाई म अनन्तः चैतन्य ठान्छु ।”
गत वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एउटा कार्यक्रममा मदनमणि दीक्षितद्वारा व्यक्त विचार हुन् यी । उहाँको यो भनाइ सुनेपछि मनमा धेरै दिनसम्म खुल्दुली लागिरह्यो– त्यसो भए साहित्यकारका नामको अगाडि जोडिने अनेक पद्वी–विशेषण किन त ? साहित्यकार सिकारुबाट परिपक्व हुन्छ; सामान्यबाट महान् हुन्छ र कनिष्ठबाट वरिष्ठ हुन्छ आदि–आदि सबै त भइरहेकै छन् । एक दिन यस्तै जिज्ञासा राख्दा उहाँले भन्नुभयो– यी सबै त साहित्य कर्मका चरणहरू हुन् । तर साहित्य भनेको साहित्यमात्र हो, त्यहाँ पदीय हैसियत वा अन्य कुराको केही अर्थ हुँदैन । साहित्यलाई साहित्यकै मूल्यबोध गरेर हेर्न सकेमा त्यसको महŒव कैयौँ गुणा बढी हुन्छ ।
भनाइमा मात्र होइन, व्यवहारमै पनि साहित्यमा कोही सानो ठूलो हुँदैन भन्ने कुरा उहाँको जीवनकालमा चरित्रार्थ हुँदा धेरै साहित्यकारले सुरुवाती दिनमा आफूमा उत्पन्न हुने हिच्किचाहट र लघुताभास सधैँका निम्ति अन्त्य गरी साहित्य लेखनका माध्यमद्वारा आफ्ना विचारहरू ढुक्कसँग राख्ने प्रेरणा र ऊर्जा प्राप्त गरेको कुरा सार्वजनिक भएकै विषय हुन् । समीक्षाले जन्माएका धेरै लेखक, पत्रकार, साहित्यकारहरूले आ–आफ्नो क्षेत्रमा आज आफ्नो परिचयलाई स्थापित गरिसकेको स्थिति छ । समीक्षा पत्रिका र मदनमणि दीक्षितको साइनो कति गहिरो रहेछ भन्ने कुरा समीक्षामाथि प्रतिबन्ध लागेर त्यो फुकुवा नहुँदा उहाँले सार्वजनिक स्थानमा आत्मदाह गर्ने निर्णय गरेबाट पनि थाहा हुन्छ ।
संयोग नै भन्नुपर्छ, आफूभन्दा झन्डै १० वर्ष जेठो समीक्षा पत्रिकामा काम गर्ने अवसर प्राप्त भयो । यसलाई मैले अवसर र चुनौती दुवै ठानेको थिएँ । त्यसक्रममा पहिलो दिनमा नै मदनमणि दीक्षितको ‘मेरो देश ः मेरो संसार’ नामक स्तम्भका लागि लेखिएको लामो लेखको शुद्धाशुद्धि हेर्नुपर्दा झन्डै असिनपसिन भइएथ्यो । पछि कैयौँपटक उहाँले भन्दै जाने र मैले लेख्दै जाने अर्थात् श्रुतिलेखनक्रम पनि चल्यो । कस्तो भने उहाँले जति सरल भएर लेखाउन खोजे पनि आफूलाई धक लागेर कतिबेला सकिएला र यहाँबाट भागौँलाजस्तो भइरहने । कालिकास्थानस्थित घरको तल्लो तलामा बसेर हामीले समीक्षा प्रकाशनको तयारी गरिरहँदा कहिलेकाहीँ उहाँ माथिल्लो तलाबाट ओर्लेर फुत्त आउनुहुन्थ्यो । हामी आफ्नै तालले हाँसोठट्टा गर्दै र अझ कहिलेकाहीँ त पत्रिकाको काम सिध्याएर प्रेसमा पठाएपछि खानपिनसमेत गर्दै बस्थ्यौँ । एकाएकको उहाँको आगमनले सबैलाई सतर्क बनाउँदा वातावरण नै अर्कै हुन्थ्यो । हाम्रो त्यो अप्ठेरो बुझेर उहाँ नै सहजताको संवाहक बन्दै ‘म पनि तपार्इंहरूसँगै रमाइलो गर्न आएको हँु नि’ भन्नुहुन्थ्यो । त्यसपछि भने वातावरण केही खुकुलो बन्दै जान्थ्यो ।
आफूले लेखेको कुरा उहाँ अरूलाई सुनाउन रुचाउनुहुन्थ्यो । सुनिसकेपछि जतिसुकै सामान्य व्यक्तिले दिएको सुझावलाई पनि उहाँ सहज ढङ्गले ग्रहण गर्ने र आफ्नो सामग्रीमा समावेश गर्ने गर्नुहुन्थ्यो । त्यसरी नै नयाँले केही लेखेको छ भने त्यसको प्रशंसा गरेर छाप्न प्रेरित गर्नुहुन्थ्यो । आफूलाई मनमा लागेका कतिपय कुरा कहिले आफ्नै नामबाट र कहिले नक्कली नाममा पनि समीक्षाको पाठकपत्रमा छपाउनुहुन्थ्यो । सामान्यतः उहाँको तहबाट पाठकपत्र लेखेको देखिँदैन । मदनमणि दीक्षितले आफ्नो जीवनको अन्तिम समयसम्म पनि विभिन्न पत्रपत्रिकामा पाठकपत्र पठाएर यो पनि पत्रिकाको एउटा महŒवपूर्ण अङ्ग हो भन्ने सन्देश प्रवाह गरिरहनुभयो ।
मदनमणि दीक्षितद्वारा लिखित दुई दर्जनको हाराहारी पुस्तकहरू प्रकाशित छन् । केही प्रकाशित हुन बाँकी पनि छन् र केहीको पुनःप्रकाशन पनि त्यत्तिकै आवश्यक छ । झन्डै चार दशकसम्म प्रकाशित भएको समीक्षा पत्रिकाको पनि आफ्नै महŒव र इतिहास छ । कहिले कसलाई कुन अङ्कमा छापिएको के सामग्रीको खाँचो पर्छ तर खोज्न जाने कहाँ ? यी सबै कुराको व्यवस्थापन गर्न जरुरी छ र सँगसँगै मदनमणि दीक्षितको साहित्य तथा पत्रकारिता क्षेत्रको चिन्तन, प्रवृत्ति र प्रयोग पनि नयाँ पुस्ताका लागि आफैँमा अध्ययनको विषय हो भन्ने मान्यताका साथ दुई वर्षअघि “मदन–माधवी अध्ययन अधिष्ठान” को स्थापना गरियो । सबै विधि र प्रक्रियाहरू पूरा गरेर संस्था स्थापना भएको सुनाउँदा माड्साप अत्यन्तै खुसी हुनुभएको थियो ।
माड्साप धेरै औपचारिकतामा रुचि राख्ने र रमाउनेभन्दा पनि कर्म गर्दै जाने र त्यसबाट प्राप्त हुने परिणाम सहजै स्वीकार्न तयार हुने स्वभावको हुनुहुन्थ्यो । सभा, समारोह, सम्मान–अभिनन्दन, तामझाम र प्रशंसाभन्दा पनि अध्ययन र लेखनलाई प्रमुख कर्तव्य ठान्ने मान्यताबाट उहाँ बढी निर्देशित हुनुहुन्थ्यो । तथापि गत फागुन महिनामा भने उहाँले आफ्नो ९७औँ जन्मोत्सव तथा आफूहरूको ८०औँ विवाहोत्सवको संयुक्त कार्यक्रम गर्न तीव्र इच्छा देखाउनुभयो । परिवारका सदस्यले पनि यसलाई एउटा अवसरका रूपमा सहर्ष स्वीकारेको सन्दर्भमा ‘मदन–माधवी अध्ययन अधिष्ठान’ले त्यो कार्यक्रमको आयोजना ग¥यो । एउटा सर्जकले आफू आफ्नो कर्ममा सक्रिय रहिरहेकै बेलामा ९७औँ जन्मोत्सव र ८०औँ विवाहोत्सव मनाउने कुरा आफैँमा गौरवको विषय थियो । मञ्चमा बेहुलाबेहुलीझैँ सजिएका मदन दम्पतीलाई त्यसबेला शुभकामना दिने विद्वान्–विदुषीहरू स्वयम्ले आफैँ सम्मानित भएझै अनुभूति गरेका थिए । त्यसैबेला उहाँको पछिल्लो कृति ‘मेरी माता’को विमोचन पनि गरिएको थियो । कहिलेकाहीँ संयोगहरू सुखद र दुःखद दुवै भइदिन्छन् । विसं २०७६ असोज ३ गते संविधान दिवसका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सरकारको निर्णयअनुसार मदनमणि दीक्षित र रवीन्द्र अधिकारीलाई मरणोपरान्त महाउज्ज्वल राष्ट्रदीप (प्रथम) बाट विभूषित गर्ने घोषणा भयो । राष्ट्रले दिने यो सम्मानका लागि उपयुक्त पात्रको छनोट भएको अर्थमा नेपाली जनताले यसलाई लिएको देखियो । आत्माको अमरत्वलाई स्वीकारेर भन्नुपर्दा यो खबर सुनेर दुवै कर्मयोगीको आत्मा खुसी भयो होला भन्नुपर्दछ । यहाँ यी दुईसँग जोडिएको एउटा प्रसङ्गलाई सङ्क्षेपमा चर्चा गर्नु सान्दर्भिक होला ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा पर्नुभन्दा दुई हप्ताअघि वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई लिएर मदनमणि दीक्षितलाई भेट्न कालिकास्थानस्थित उहाँकै निवासमा आउनुभयो । भेटघाटको औपचारिकता र स्वास्थ्यस्थितिका सम्बन्धमा सामान्य भलाकुसारीपछि मदनमणि दीक्षितले रवीन्द्र अधिकारीले गरेका कामका सम्बन्धमा आफू जानकार रहेको र केही युवा राजनीतिकर्मीप्रति आशावादी रहेको भन्दै त्यस्ता केही नाम उल्लेख गर्नुभयो । साहित्यको क्षेत्रमा गर्नुपर्ने र गर्न सकिने कामहरू के–के छन् भन्ने सन्दर्भमा कुरा हुँदा माधवी र भूमिसुक्तलाई अङ्ग्रेजी र हिन्दीमा अनुवाद गरिनु उचित हुने र यसो गर्न ‘मदन–माधवी अध्ययन अधिष्ठान’ले निर्णय गरी प्रक्रिया अघि बढाइसकेको भनेपछि मन्त्रीले त्यसको समर्थन गर्दै भन्नुभयो, “यो राम्रो काम हो । संस्कृतिमन्त्रीको हैसियतले के गर्न सकिन्छ, त्यो गर्न म तयार छु । एउटा ठोस योजना बनाएर आउनुहोस् र हामी अघि बढौँ ।” त्यसैअनुसार योजना बनाइयो र उहाँसँग फोन सम्पर्क पनि गर्दै गइयो । उहाँले आफू ताप्लेजुङबाट फर्केपछि तुरुन्तै विदेश जाने हुँदा फर्केर आएलगत्तै बसेर काम गर्ने कुरा पनि गर्नुभएको थियो । तर, उहाँ ताप्लेजुङबाटै फर्किनुभएन । त्यसको झन्डै सात महिनापछि मदनमणि दीक्षित पनि जानुभयो । तथापि, यो कार्य आफ्नै ढङ्गले अघि बढेर एक चरण पार गरिसकेको हुँदा निकट भविष्यमा यी दुई कर्मयोगीको सपना पूरा हुने अवस्था छ ।
लेख्दालेख्दै मर्न पाऊँ भन्ने माड्सापको ठूलो इच्छा थियो । उहाँले यो कुरा सार्वजनिक रूपमै पनि व्यक्त गर्नुभएको थियो । उहाँको त्यो इच्छा पूरा पनि भयो । निधन हुनुभन्दा १२ दिनअघि तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँ निम्ताइनुभएको थियो । कार्यक्रममा उहाँलाई अभिनन्दन गर्ने भनिएको थियो । माड्सापले त्यसबेला आफ्नो शारीरिक अवस्थाको आँकलन गरिसक्नुभएको रहेछ । उहाँले ‘म केही गरी जान सकिनँ वा गएर पनि मौखिक रूपमा बोल्न नसक्ने भएँ भने त्यसबेलाका लागि एउटा लिखित मन्तव्य तयार गरिराख्नुपर्छ भनेको हुनाले विनोद दाइ र मैले सल्लाह गरेर एउटा लिखित मन्तव्य तयार ग¥यौँ । त्यो पढेर सुनाउँदा उहाँले ‘मैले भन्नुपर्ने कुरा सबै परेका तर नेपाली भाषाबाहेकका कुनै शब्द नपरेका हुँदा मलाई अत्यन्त खसी लाग्यो । यसको एकप्रति सुरक्षित रहोस् है’ भन्नुभएको थियो । नभन्दै त्यसै दिन उहाँलाई सुमेरु अस्पतालमा भर्ना गर्नुपरेकाले अर्को दिनको कार्यक्रममा उहाँ जान पाउनुभएन । उहाँकै इच्छाअनुसार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको कार्यक्रममा त्यो मन्तव्य वाचन गरियो र उहाँलाई प्रदान गरिएको अभिनन्दनपत्र तथा दोसल्ला ग्रहण गरियो । स–शरीर अनुपस्थित रहे तापनि त्यही नै उहाँको अन्तिम सार्वजनिक कार्यक्रम पनि भयो ।
झट्ट हेर्दा अत्यन्तै अन्तरमुखी स्वभावको जस्तो लाग्ने मदनमणि दीक्षित एक हिसाबले खुला किताब नै रहनुभयो । उहाँ आफ्नोबारेमा आफैँले पनि धेरै लेख्नुभएको छ र अरू धेरैबाट पनि धेरै कुराहरू आएका छन् । झन्डै एक शताब्दी लामो सक्रिय जीवनका उहापोहाहरू आफैँमा महŒवपूर्ण विषय हुन् । लेखन र पत्रकारितामा मदनमणि दीक्षित व्यक्तिमात्र नभएर प्रवृतिका रूपमा स्थापित भइसकेको कुरा पनि हो र आफैँमा अध्ययन, विश्लेषण र अनुसन्धानको महŒवपूर्ण विषय बन्न सक्छ । नेपाली समाजको पछिल्लो पुस्तालाई यस विषयमा सुसूचित गर्दै लैजाने र उहाँका गहकिला पुस्तकहरूबारे अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउन सकियो भने उहाँप्रतिको साँचो सम्मान तथा श्रद्धाञ्जली ठहरिनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?