मोहन बास्तोला
जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले असोज २५ देखि २६ गतेसम्म नेपालको दुईदिने उच्चस्तरीय राजकीय भ्रमण गर्नुभयो । नेपालको भ्रमण पूरा गरेर सी स्वदेश फर्किए पनि उहाँको भ्रमणको राप–ताप भने अझै सेलाएको छैन । अन्तरमुखी स्वभावका सीले नेपालको भ्रमणमात्रै गर्नुभएन, माओ त्से तुङको रातो पुस्तक अध्ययन गरेर राजनीतिको महासागरमा हेलिनुभएका सीले नेपालका कम्युनिस्ट र अन्य राजनीतिक दललाई समेत कम बोल्ने र धेरै काम गर्ने अनि थालेको काम जसरी पनि पूरा गरेरै छाड्नुपर्ने सुझाव पनि दिएर जानुभयो ।
विश्वको शक्ति राष्ट्रका रूपमा उदाएको छिमेकी मुलुक चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भलाई लिएर धेरै कोणबाट विश्लेषण भएका छन् । आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद व्याप्त भएको भन्दै बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ भन्ने अभिव्यक्ति सीले नेपाल भ्रमणकै क्रममा पनि व्यक्त गर्नुभयो । दुई दिनको न्यानो स्वागतबाट प्रसन्न बन्नुभएका सीले नेपाल र चीनबीच मित्रतामात्र रहेको भन्दै दुई छिमेकीको सम्बन्धलाई विश्वकै नमुना भन्नसमेत कन्जुस्याइँ गर्नुभएन ।
चीनका राष्ट्रपतिले २३ वर्षपछि नेपालको राजकीय भ्रमण गरेपछि यसका बाछिटाले मुख्य गरेर छिमेकी मुलुक भारत र अन्य देशलाई समेत छोयो । सन् १९४९ अक्टोबर १ मा माओ त्से तुङको नेतृत्वमा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि सन् १९८० को दशकतिर चीनमा चमत्कारपूर्ण आर्थिक सुधार गर्नुभएका देङ सिआओपिङले पनि माओकै हाराहारीमा चर्चा कमाउनुभएको थियो । त्यसपछि भने सन् २०१२ को १८औँ महाधिवेशनबाट पहिलोपटक प्रमुख बन्नुभएका सीले माओ र देङकै हाराहारीमा चर्चा कमाउनुभएको छ । त्यसकारण पनि उहाँको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनमा समाजवाद विकासका निम्ति भएका विभिन्न कालखण्डका चिनियाँ अभ्यासबारे गहन विश्लेषण र संश्लेषण प्रस्तुत गर्दै सीले जनताकेन्द्रित अवधारणाको निरन्तरता, जनताकेन्द्रित अवधारणाको निरन्तरता, सुधारको समग्र गहिराइको निरन्तरताजस्ता १४ वटा आधारभूत नीतिहरू अघि सार्दै चिनियाँ विशेषतासहितको समाजवाद विकसित भएको स्पष्ट पार्नुभएको छ । त्यसकारण पनि चीनमा सीवादको प्रभुत्व लामो समय टिक्ला भन्ने आँकलन गर्न सकिन्छ ।
त्यतिमात्र होइन, सी नेतृत्वको चिनियाँ अभियानले अहिले विश्वलाई नै चकित बनाएको छ । त्यही अभियानको नेतृत्व गरिरहनुभएका सीको सङ्घर्षमय जीवन कस्तो थियो । धेरैका लागि चासोको विषय बन्न सक्छ । चिनियाँ मूल्य–मान्यतालाई बिर्सनुहुन्न, अरूको नक्कल गर्नुहुन्न र आफ्नो पहिचान पनि गुमाउनुहुन्न भने मान्यता राख्ने सी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अभियानका कारण पनि चर्चामा हुनुहुन्छ । अन्तरमुखी स्वाभावका सीको सङ्घर्षमय जीवन कस्तो थियो त ?
खेतिपातीमै बित्यो बाल्यकाल
मानिस जति धेरै सङ्घर्षको आरानमा पेलिन सक्छ, त्यति नै धेरै सफलता प्राप्त गर्न सक्छ । विश्वको सर्वशक्तिमान राष्ट्रको पहिचान बन्ने दौडमा रहेको चीनका वर्तमान राष्ट्रपति सीको जीवनमा यो सन्दर्भ ठ्याक्कै लागू हुन्छ । राजनीतिक परिवेशले उर्वर बनेको परिवारमा हुर्किनुभएका सीले सानै उमेरमा नै सङ्घर्षका टाकुराहरू फोर्नुपरेको थियो । सीका पिता चोङ्गसुनले पार्टी प्रचार विभाग प्रमुख, उपप्रधानमन्त्री र संसद्को स्थायी समितिमा उपाध्यक्ष भएर काम गर्नुभएको थियो तर साँस्कृतिक क्रान्तिका बेला आर्थिक उदारीकरण र नीतिगत सुधारको पक्षमा वकालत गर्दा उहाँका पिताले पटक–पटक जेलजीवन व्यतीत गर्नुपरेको थियो । त्यतिमात्र होइन, उहाँलाई आफ्नै सहयोद्धाले श्रमशिविरमा समेत राखेर कठिन यातना दिएका थिए तर उहाँको लक्ष्य भने अलिकति पनि धर्मराएको थिएन । चीनमा कम्युनिस्ट शासन स्थापना भएको चार वर्षपछि अर्थात् सन् १९५३ जुनमा बेइजिङमा जन्मिनुभएका सीले सात वर्ष पितासँगै गाउँमा कृषि काममा बिताउनुभएको थियो ।
क्रान्तिकारी हिरोको छवि बनाउनुभएका सीका पिताले माओको साथमा गुरिल्ला युद्ध लड्नुभएको थियो । देङ सियाओपिङको आर्थिक सुधारको एजेन्डा लागू गर्न पनि सीका पिताको अतुलनीय योगदान रहेको थियो ।
शान्त र अन्तरमुखी
पिताकै पदचापलाई पछ्याउँदै अगाडि बढ्नुभएका सी चीनमा साँस्कृतिक क्रान्तिको आँधी चलिरहेका बेला पन्ध्र वर्षको मात्र हुनुहुन्थ्यो । उच्च पहाडी क्षेत्रमा आफ्नो बाल्यकाल बिताउनुभएका सीले चीनको लालक्रान्तिको पवित्र भूमि भनेर चिनिने येनानमा खेतिपातीसमेत गर्नुभएको थियो ।
‘देश बन्छ भने देशको जुनसुकै कुनामा पुगेर पनि श्रम गर्न तयार छौँ’ भन्ने चिनियाँ जनताको तत्कालीन नारालाई आत्मसात् गर्दै लाखौँ युवा सहर छाडेर गाउँ छिर्दै गर्दा सीले पनि गाउँमा पुगेर कठिन र चुनौतीपूर्ण जीवन सङ्घर्ष गर्नुभएको थियो । कठिन अवस्थामा पनि कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा सीले किसान र मजदुरबाट सिक्नुभयो । जसले सीको समृद्ध चीन निर्माण अभियानलाई निकै ठूलो सहयोग पुग्यो । अन्तरमुखी स्वभावका सीले तत्कालीन अध्यक्ष माओ त्से तुङले आफ्नो पितालाई सताएको प्रत्यक्ष देख्नुभएको थियो । सायद त्यही कारण हुन सक्छ, उहाँ प्रायः शान्त देखिनुहुन्थ्यो ।
पानसको उज्यालोमा अध्ययन
साठीको दशकको चीनको विकासलाई हेर्ने हो भने चीनका ग्रामीण भेगका जनताको जीवन निकै कष्टपूर्ण थियो । अहिले विश्वलाई नै पछि पार्दै विकासमा फड्को मारिरहेको चीनका गाउँमा त्यतिबेला बिजुलीको समेत सुविधा थिएन । धेरै गाउँसम्म जाने बाटोसमेत बनेका थिएनन् । खेती गर्ने मेसिनको त त्यतिबेला कल्पनासमेत गर्ने अवस्था थिएन ।
अध्ययनप्रति निकै लगाव राख्नुहुने सीले त्यसैबेला गाउँमा मल बनाउने, बाँध बनाउने र सडक बनाउने काम सिक्नुभएको थियो । सी र उहाँका अरू तीनजना साथीहरूले ग्रामीण भेगमा काम गर्दा कति समय त गुफामा इँटाको ओछ्यान लगाएर बिताउनुभएको थियो । उहाँ बस्ने गुफामा कीराफट्याङ्ग्राको जगजगी नै चल्थ्यो । दाल र केही तरकारीका भरमा काम गर्ने सीले त्यहाँ पनि अध्ययनलाई निरन्तरता दिनुभएको थियो । पानसको उज्यालोमा गुफाभित्र उहाँ माओका भाषण र अखबार पढ्नुहुन्थ्यो ।
पाँच वर्ष पिताको सम्पर्कबाट टाढा
सीले १० वर्षको कलिलो उमेरमै आफ्ना बुवालाई उहाँकै सहयोद्धाहरूले श्रमशिविरमा यातना दिएको देख्नुभएको थियो । पितालाई तत्कालीन माओ त्से तुङ नेतृत्वको पार्टीले कारबाही गरेर हेनानको ल्योयाङमा रहेको कारखानामा काम गर्न पठाएको थियो । त्यो पनि उहाँले प्रत्यक्ष देख्नुभएको थियो । सन् १९६२ मा उहाँका पिता कारबाहीमा पर्नुभयो । त्यतिबेला सी नौ वर्षको मात्रै हुनुहुन्थ्यो । सन् १९६८ मा उहाँका पितालाई पार्टीले जेल पठायो । त्यतिबेला सी १५ वर्षको हुनुहुन्थ्यो । सी करिब पाँच वर्ष पिताको सम्पर्कबाट टाढा हुनुभयो । सीको मानसपटलमा ती दृश्यहरू एकपछि अर्को गर्दै नाचिरहेका थिए । त्यसैको प्रभावले उहाँलाई राजनीतिको महासागरमा हेलिन थप बल मिल्यो ।
सदस्यता प्राप्त गर्न दसपटक निवेदन
सीको सङ्घर्षपूर्ण इतिहासलाई फर्केर हेर्ने हो भने साँस्कृतिक क्रान्तिको अन्त्य–अन्त्यतिर युवा कम्युनिस्ट लिगका सदस्य बन्नुभएको थियो । राजनीतिसँगै उहाँले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै आउनुभएको थियो । तर, सन् १९६६ को साँस्कृतिक क्रान्तिका कारण उहाँको अध्ययनमा केही अवरोध भयो । साँस्कृतिक क्रान्तिकै कारण सबै माध्यमिक तहका विद्यालय बन्द भए । सबै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उहाँले १९७४ मा मात्रै पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । कठिन अनुशासन रहेको चीनमा उहाँले सदस्यता प्राप्त गर्नका लागि दसपटकसम्म निवेदन दिनुपरेको थियो ।
त्यसैबेला तत्कालीन लडाकु दस्ताले सीको परिवारलाई निशाना बनायो । कतिसम्म भने सीकी आमालाई समेत त्यतिबेला सीका पितालाई क्रान्तिको दुस्मन भन्दै जबरजस्ती सार्वजनिक रूपमै आलोचना गर्न लगाइएको थियो । त्यसैबेला लडाकु दस्ताले सीकी दिदीको समेत हत्या ग¥यो । एकपछि अर्को गर्दै परिवारमा परेको वज्रपातले पनि उहाँको राजनीतिक यात्रा रोकिएन ।
बेइजिङ फर्केपछि श्रमशिविरमा
पिता जेल परेपछि सी संरक्षणविहीन हुनुभयो । उहाँले अध्ययन र राजनीति दुवैलाई कठिन परिस्थितिमा पनि सँगै लिएर अघि बढ्नुभयो । माओको मुख्य प्रभाव क्षेत्र लियाङजियाहे गाउँमा उहाँलाई पार्टीले खटायो । उहाँ त्यो ठाउँमा पनि जान राजी हुनुभयो । केही समय त्यहाँ रहे पनि उहाँ टिक्न सक्नुभएन र भागेर फेरि बेइजिङ नै फर्किनुभयो । खटाएको क्षेत्रबाट भागेको आरोपमा उहाँलाई पार्टीले पक्राउ ग¥यो र नाली खन्ने काममा श्रमशिविरमा पठाइयो । उहाँले त्यस्तो अवस्थामा पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन भने छाड्नुभएन । उहाँले करिब चार वर्ष बेइजिङको टिसङ्गा विश्वविद्यालयमा रसायन इन्जिनियरको अध्ययन गर्नुभयो ।
संयोग नै भन्नुपर्छ इन्जिनियरिङ अध्ययन सकेलगत्तै उहाँलाई उहाँकै पितामातहत रहेर काम गर्नुभएका जेङ बियोको स्वकीय सचिव भएर काम गर्ने अवसर प्राप्त भयो । जेङ चीनको केन्द्रीय सैन्य आयोगका सेक्रेटरी जनरलसम्म बन्नुभएको थियो । उहाँलाई ३२ वर्षको उमेरमा कृषि अध्ययनका लागि चिनियाँ प्रतिनिधिमण्डलको सदस्यका रूपमा अमेरिका जाने अवसर प्राप्त भयो । उहाँले त्यहाँ पनि आफ्नो खोज–अध्ययनलाई अझ दरिलो बनाउनुभयो भने माक्र्सवादलाई अझ खँदिलो बनाउँदै लैजानुभयो ।
पहिलो विवाह असफल
राजनीतिमा एकपछि अर्को सफलता प्राप्त गर्दै अगाडि बढे पनि सीको पहिलो पारिवारिक जीवन भने त्यति सफल भएन । बेलायतका पूर्वचिनियाँ राजदूतकी छोरी के सिओमिङसँग उहाँले सन् १९८० मा सम्बन्धविच्छेद गर्नुपरेको थियो । उहाँले पुनः सन् १९८७ मा चीनकी चर्चित लोकगायिका पेङ लियुङसँग दोस्रो विवाह गर्नुभयो । सीकी एकमात्र छोरी सी मिङझेले पनि अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ ।
निकै सङ्घर्षपूर्ण राजनीतिका नागबेलीमा हुर्किनुभएका सीले उत्पादन समूहको शाखा सचिवका रूपमा पनि काम गर्नुभएको थियो । उहाँलाई सन् १९८२ मा पार्टीले झेङदिङ प्रान्त (काउन्टी) पठायो । उहाँले त्यहाँ करिब २५ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । सन् १९९० तिर भने सी फुझाउको पार्टी स्कुलको सभापति बन्नुभयो ।
‘विशेष आर्थिक क्षेत्र’ र विदेशी लगानीका परियोजना सञ्चालन गरी दक्षिण–पूर्वी प्रान्त फुजियानलाई निर्यातमूलक नगरमा रूपान्तरण गर्ने कुरामा पनि उहाँको चर्चा हुने गर्छ । फुजियानमा करिब १७ वर्ष बिताउँदा उहाँले नजिकैको ताइवानबारे नजिकबाट बुझ्ने मौका पाउनुभएको थियो ।
पार्टीको केन्द्रमा प्रवेश
एकपछि अर्को सफलता प्राप्त गर्दै सीले सन् १९९७ को १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रमा प्रवेश पाउनुभयो, त्यो पनि वैकल्पिक केन्द्रीय सदस्यका रूपमा । वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेको दुई वर्षपछि नै उहाँलाई पार्टीले बढुवा ग¥यो र फुजियानको उपगभर्नरको कार्यालयमा पठायो । इन्जिनियरिङ पृष्ठभूमिका सीले त्यहाँ पनि अर्थतन्त्रलाई बलियो बनाउने काममा अथक प्रयास गर्नुभयो र केही हदसम्म सफल पनि हुनुभयो । सन् २००२ को फेब्रुअरीमा भएको १६औँ महाधिवेशनपछि उहाँ पार्टीको पूर्ण केन्द्रीय सदस्यको जिम्मेवारीमा निर्वाचित हुनुभयो । सन् २००६ मा भने उहाँको राजनीतिक जीवनमा निकै ठूलो अवसर प्राप्त भयो । सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोपमा सन् २००६ मा पार्टीले साङ्घाईका पार्टी प्रमुख चेन लियाङ्युलाई बर्खास्त ग¥यो र त्यो ठाउँमा सीलाई पठायो । करिब सात महिना त्यहाँ रहँदा सीले धेरै सुधारका काम गर्न सफल हुनुभयो । उहाँले भ्रष्टाचारविरोधी अभियानलाई प्रमुख प्राथमिकतामा राख्नुभयो ।
साङ्घाईको जिम्मेवारी सम्हालेको केही समयमै अर्थात् सन् २००७ मा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको नौजनाको पोलिटव्युरो कमिटीको सदस्य बन्ने अवसर प्राप्त भयो र सन् २००८ मा उहाँ चीनको उपराष्ट्रपति बन्नुभयो ।
उपराष्ट्रपतिपछि महासचिवको जिम्मेवारी
उपराष्ट्रपति बनेको चार वर्षपछि सन् २०१२ को नोभेम्बर १५ का दिन सीलाई चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बन्ने अवसर प्राप्त भयो । उहाँ महासचिवसँगै चीनको केन्द्रीय सैन्य कमिसनका अध्यक्षसमेत बन्नुभयो । जनताको राम्रो शिक्षा–दीक्षा, जनताको स्थायी जागिर, बलियो आय, स्थायी सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य, आरामदायी सुविधानजनक जीवन र उन्नत वातावरणलाई मूल नारा बनाउनुभएका सीले भ्रष्टाचार नियन्त्रणलाई पनि प्रमुख एजेन्डा बनाउनुभयो । अभियानको सफलतासँगै उहाँलाई सन् २०१३ को १८औँ महाधिवेशनले पहिलोपटक सबैभन्दा शक्तिशाली पद राष्ट्रपतिको जिम्मेवारीमा पु¥यायो ।
सन् २०१७ को १९औँ महाधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा चुनिनुभएका सी अहिले १० करोडभन्दा बढी पार्टी सदस्य रहेको चिनियाँ कम्युनिस्ट पार्टीको समेत नेतृत्वमा हुनुहुन्छ । चीनले राष्ट्रपतिका लागि भएको सीमित कार्यकालको प्रावधान हटाएपछि आजीवन राष्ट्रपति बन्ने बाटो खुला गराउनुभएका सी विश्वकै सर्वशक्तिमान नेताको छवि बनाउन सफल हुनुभएको छ । सीले नेतृत्व गरेको चीन अहिले उदीयमान अर्थतन्त्र भएको मुलुकमा स्थापित भएको छ । संसारलाई नै पछि पार्दै आफ्नो प्रभाव विश्वभरि फैलाउन सफल हुनुभएको छ । त्यतिमात्र होइन, सी माओ र देङपछिका त्यस्ता राष्ट्रपति हुनुहुन्छ, जहाँ आफ्नो विचारलाई विधानमै ‘सी चिनफिङवाद’ उल्लेख गराउन सफल हुनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास हेर्ने हो भने माओ त्से तुङको नाममा ‘माओ विचारधारा’ र देङ सियाओपिङको नाममा ‘देङ सिद्धान्त’ थियो । सीको विचारधारा अहिले चीनमा मात्र होइन, बाहिर पनि बहसमा आएको छ ।
चीनबाट भएका उच्चस्तरीय नेपाल भ्रमण
इतिहासलाई फर्केर हेर्ने हो भने सन् १९५७ को जनवरी २५ देखि २९ सम्म तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसको तीन वर्षपछि अर्थात् सन् १९६० को अप्रिल २६ देखि २९ सम्म तत्कालीन प्रधानमन्त्री चाउ एनलाई र उपप्रधानमन्त्री चेन यीले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसको करिब १५ वर्षपछि अर्थात् सन् १९७५ को फेब्रुअरी २२ देखि २६ सम्म तत्कालीन उपप्रधानमन्त्री चेन सिलियानले र फेरि त्यसको तीन वर्षपछि तत्कालीन उपप्रधानमन्त्री देङ सिआओपिङले नेपालको तीन दिने औपचारिक भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्रीको हैसियतमा नेपालमा चीनको तर्फबाट दोस्रोपटक सन् १९८१ म तत्कालीन प्रधानमन्त्री झाओ झियाङले जुन ४ देखि ७ सम्म नेपालको भ्रमण गर्नुभएको थियो ।
राष्ट्रपतिकै हैसियतमा भने पहिलोपटक सन् १९८४ को मार्च १९ देखि २३ सम्म तत्कालीन राष्ट्रपति ली सियान नियानले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसपछि फेरि सन् १९८७ मा तत्कालीन उपप्रधानमन्त्री चियाओ सी र सन् १९८९ प्रधानमन्त्री ली पेङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसको करिब सात वर्षपछि अर्थात् सन् १९९४ को जुलाई १९ देखि २० सम्म तत्कालीन उपप्रधानमन्त्री चियान चिचेनले नेपालको भ्रमण गर्नुभएको थियो । राष्ट्रपतिको हैसियतमा भने दोस्रोपटक चीनका तर्फबाट सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनले डिसेम्बरको ४ देखि ५ सम्म नेपालको भ्रमण गर्नुभएको थियो । जियाङपछि सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङ्जी र सन् २०१२ जनवरीमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गर्नुभएको थियो ।
एजेन्सीको सहयोगमा