उत्तरकुमार पराजुली
तिहारलाई विभिन्न पौराणिक कथासित जोडेर व्याख्या गरिन्छ । सत्य युगका राजा बलि जो प्रह्लादका नाति विरोचनका छोरा थिए, उनले स्वर्गको इन्द्रपद प्राप्त गर्नका लागि गरेका यज्ञसित तिहारलाई जोड्ने गरिन्छ । उनको यज्ञलाई वामन औतारी विष्णुले असफल बनाइदिएको सन्दर्भ यसमा आउँछ ।
अर्को सन्दर्भ छ– यमराज र यमुना दाजुबहिनीको कथा । यमुनाले आफ्ना दाजु यमराजलाई कार्तिक शुक्ल द्वितीयाका दिन टीका लगाउनका लागि निम्ता गर्छिन् । उनले दाजुलाई लिएर आउनका लागि कौवा, कुकुर, गाई र गोरुलाई क्रमशः अह्राउँछिन् । यी चारै थरीको सहयोगमा दाजु यमराज कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाका घरमा टीका लगाउन आउँछन् । यही खुसियालीमा यमराज र यमुनाले आगामी दिनमा कार्तिक कृष्ण त्रियोदशीका दिन कौवाको, चतुर्दशीका दिन कुकुरको, औँशीका दिन गाईको र प्रतिपदाका दिन गोरुको पूजा गर्नु भनी सबै मान्छेलाई भन्छन् र तिहारले आजको जस्तो स्वरूप लिन्छ । यी त भए पौराणिक कथामा आधारित विषय ।
हाम्रा पुराणादि ग्रन्थहरूमा कतिपय कथाहरू, कथाका पात्रहरू झट्ट पत्याउन नसकिनेखालका तिलस्मी छन् । ती कथाहरू र पात्रहरू कतिपय प्रतीकात्मक हुन्छन् तर हामीले बुझ्न खोज्दा अस्वाभाविक देख्छौँ । पौराणिक कथामा सृष्टिको सुरुवात पानीबाट भएको भनिन्छ । विष्णुको पहिलो अवतार मत्स्य (माछा), दोस्रो कुर्म (कछुवा), तेस्रो वराहा (सुँगुर), चौथो नृसिंह (मानव सिंह), वामन (टुकुरटुकुर हिँड्ने मान्छे), छैटौँ परशुराम (बन्चरो लिएर हिँड्ने मान्छे अर्थात् हतियार बनाउन सिपालु मान्छे) ।
आधुनिक विज्ञानको विकासवादले पनि जीवको उत्पत्ति पानीबाटै भएको प्रमाणित गरेको छ । जलचर सृष्टिका पहिला जीव थिए । पानी बाहिर बाँच्न नसक्ने जीव मत्स्य अवतार अर्थात् माछा समूहमा परे । बिस्तारै जमिनमा पनि पानीमा पनि बाँच्न सक्ने उभयचर जीव विकसित हुँदै गए । ती कुर्म अवतार अर्थात् कछुवा समूहमा परे । अनि ती उभयचरहरू, विकास हुँदै जाँदा केवल जमिनमा बाँच्न सक्ने, जीवन निर्वाह गर्न सक्ने स्थलचर जीव विकसित भए । यी वराहा अवतार अर्थात् सुँगुर समूहमा परे । यी स्थलचर जीव विकसित हुँदै जाँदा हिंस्रक वानरको विकास भयो । नर अर्थात् मान्छेको स्वरूप तर सिंहको जस्तो नङ्ग्रा दाह्राका सहायताले हिंसा गर्ने भएकाले यसलाई नरसिंह अर्थात् नृसिंह भनियो । अब कुप्रो परेर दुई खुट्टाले हिँड्ने नर विकसित भयो । कुप्रो परेर हिँड्दा छोटो देखिने हुनाले यसलाई वामन अर्थात् छोटो कदको मान्छे भनियो । यसपछि धारिला हतियार बनाउने सीपको मान्छे भयो । परशु अर्थात् बन्चरो हतियार लिएर हिँड्ने मान्छे, परशुराम अवतार । यसरी हेर्दा पौराणिक विकासवाद र आधुनिक विकासवादमा विवाद देखिएन ।
अब यमपञ्चक अर्थात् तिहारबारे केही दृष्टिकोण राखौँ ।
पहिलो दिन काग तिहार ः कार्तिक कृष्ण त्रियोदशीका दिन काग तिहार मनाइन्छ । यस दिन प्राचीनकालका वैद्य धनवन्तरीको जन्म भएकाले यस दिन धनवन्तरी जयन्ती पनि मनाइन्छ ।
काग र मान्छेबीचको सहसम्बन्धको इतिहास निकै पुरानो छ । काग बनेली पक्षी भएर पनि मानव बस्तीको सेरोफेरोमा रहन रुचाउने गुण भएको पक्षी हो । काग गाउँमा पनि हुन्छ, सहरमा पनि हुन्छ । साह्रै निर्जन वनमा काग बस्न रुचाउँदैन । त्यसैले मान्छे जुनसुकै ठाउँमा हुर्के–बढेको भए पनि कागसितको सम्पर्कमा रहने परम्परा नै छ भन्दा फरक पर्दैन ।
सिकारी युगमा मान्छे खाना र सुरक्षाको पिरलो बोकेर वन–वन भौँतारिन्थ्यो, त्यसबेला कागको आवाज (बोली) निकै हितकर हुन्थ्यो । हिंस्रक जनावर देख्दा कराउने कागले मान्छेलाई सुरक्षित हुनका लागि सतर्क रहन सङ्केत दिन्थे वा भनौँ सुरक्षित हुन सङ्केत प्राप्त हुन्थ्यो । ठूलो पानी, आँधीबेहरी आउने सङ्केत पनि कागबाट प्राप्त गर्थे । यसरी हातहतियार बनाउन नजानेको, आगोको आविष्कार भइनसकेको त्यो निरीह बनेली जीवन बिताइरहेका मान्छेलाई यसरी सहयोग गर्ने कागलाई प्राचीनकालदेखि नै मान्छले आत्मैदेखि पूजा गर्थे ।
आज पनि कागको बोली शुभ–अशुभ भन्ने उही पुरानो परम्पराको निरन्ता हो । कौवा कराए सर्प आयो कि ? बिरालो आयो कि ? कौवा रमाए (धेरै काग जम्मा भएर कराए) ठूलो पानी पर्छ जस्ता जनविश्वास अहिले पनि पाइन्छन् । तिहारका सुरुवाती चरणमा कागको पूजा गर्नु मानव सभ्यता विकासको सुरुवातमा गरेको कागको सहयोगप्रति अनुगृहित बनेको हो भन्न सकिन्छ । त्यसैले काग तिहारलाई मानव विकास चरणको पूर्वसिकारी युगको प्रतिनिधि सङ्केत हो भन्न सकिन्छ ।
दोस्रो दिन कुकुर तिहार ः कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । हाम्रा पौराणिक ग्रन्थमा पनि कुकुरलाई आत्मीय साथीका रूपमा लिइएको पाइन्छ । युधिष्ठिर स्वर्ग जाँदा कुकुरले अन्तिमसम्म पछ्याइरहेको मन छुने कथा छ । आफ्ना आश्रयदाताको हेलाँ र दण्डलाई वास्ता नगरी सधैँ आज्ञा पालनका लागि तत्पर रहने कुकुरलाई हाम्रो समाजले कुकुरलाई महागुनी पशुका रूपमा लिने गर्छ । अल्पनिद्रामा रहेर रातिको समयमा घरपरिवारको सुरक्षामा खट्ने कुकुर मानव समाजको गुनिलो जनावर हो ।
फिरन्ते मान्छेले पशुपालनको सुरुवात कुकुरबाट गरेको होे भन्ने मानवशास्त्रीको भनाइ छ । मान्छेलाई कुकुरपालन गरेर सानातिना जनावरको सिकारको जोहो गर्न, सुरक्षाका लागि सतर्क रहन निकै मद्दत मिल्यो । खाना र सुरक्षामा राहत पाएको मान्छेले ढुङ्गेहतियार बनाएर आफूलाई अझ बलियो बनायो । कुकुरको तीक्ष्ण सुँघ्ने शक्ति र आज्ञाकारितालाई मान्छेले राम्ररी बुझ्यो र त्यसको उच्चतम प्रयोग गरी मानव सभ्यतालाई अगाडि बढायो । प्रकृतिसित पौँठेजोरी खेल्दै जीवन जिउने सङ्घर्षमा प्राचीनकालदेखि मान्छेलाई साथ दिने साथी कुकुरलाई तिहारको दोस्रो दिनको क्रममा पूजा गर्नु मानव सभ्यता विकासक्रमसित मिल्दो छ, औचित्यपूर्ण हुन्छ । कुकुर तिहार मानव विकास चरणको सिकारी युगको प्रतिनिधि सङ्केत हो ।
तेस्रो दिन गाई तिहार ः कार्तिक कृष्ण औँशीमा गाई तिहार मनाइन्छ । त्यसैले यस औँशीको अर्को नाम गौपूजा औँशी पनि भनिन्छ । पौराणिक कथाहरूमा कामधेनु गाईको सन्दर्भ आउँछ । कामधेनुको अर्थ कामनाको पूर्ति गर्ने क्षमता भएको । आफूसित भएको दूध जतिबेला पनि खुशीसाथ दिन सक्ने क्षमता गाईबाहेक अरू जनावरमा हुँदैन । आफ्ना सन्तानका हरेक कामना वा इच्छालाई हरहमेसा पु¥याउन तत्पर रहने आमाजस्तै भनेर नै गाईलाई आमा भन्ने गरिएको हो । प्राचीन मानव सभ्यताको गणनायक शिवको वाहन गोरु हुनुले पनि पशुपालन युगको प्रारम्भमा गाईपालन सुरु गरिएको थियो भन्न सकिन्छ ।
मानव सभ्यता विकासमा सिकारी युगलाई पशुपालन युगले विस्थापन गरेको थियो । अरू जनावरभन्दा सुधो र छिट्टै रत्तिने विवेकी जनावर गाई पाल्न थालेर आफ्नो खाद्यवस्तुको दायरालाई मान्छेले अझ फराकिलो पार्दै लग्यो । आफूलाई सम्पत्तिवान् बन्ने जग बसालिदिने गाईलाई लक्ष्मीका रूपमा पूजा गर्नु हालसम्म गाईले लगाएको गुनको आराधना हो ।
चौथो दिन गोरु तिहार ः कार्तिक शुक्ल प्रतिपदामा गोरु तिहार पर्छ । यस दिनलाई जनबोलीमा गोरु तिहार पनि भनिन्छ र गोबद्र्धन पूजा गरिन्छ । गोबद्र्धन र गोबरधन शब्द श्रुतिसम छन् । गोबद्र्धन पूजा गाई बढाउने, गाईको वंश फैलाउनेसम्बन्धी पूजा हो । गोबरको थुप्रो सिँगारेर पूजा गर्नु भनेको होइन । बरु गाईका चरन व्यवस्थापन गर्ने र चरनलाई पूजा गर्ने दिन हो– गोबद्र्धन पूजा ।
पाङ्ग्राको विकासपछि रथ तान्न, गाडा तान्नका लागि गोरु बल प्रयोग गरिए पनि कृषिक्षेत्रमा पशु बल प्रयोग गर्न नजान्दासम्म कृषि क्षेत्र मौलाउन सकेको थिएन । जब हलोको विकास भयो, अनि कृषि क्षेत्रमा ठूलो क्रान्ति भयो ।
हलोको आविष्कारक हाम्रा विभूति राजा जनक हुन् । हलोलाई शिर पनि भनिन्छ । हलोको विकास गरी गोरु बललाई कृषिमा प्रयोग गरी ठूलो हलचल ल्याएका राजा जनकको अर्को नाम शिरध्वज पनि हो । उनको राष्ट्रिय ध्वजा (झन्डा) मा आफूले आविष्कार गरेको वस्तु हलोको चिह्न राखिएको थियो । मानव सभ्यतालाई फलाउने फुलाउने कृषि युगको प्रतिनिधि सङ्केत गोरु पूजा हो ।
पाँचौँ दिन भाइ तिहार ः कार्तिक शुक्ल द्वितीयामा भाइ तिहार पर्छ । यमराजले आफ्नी बहिनी यमुनाका हातको टीका लगाएको सन्दर्भ जोडिने हुनाले यसलाई यमद्वितीया पनि भनिन्छ । काग, कुकुर, गाई, गोरुको पूजा गरेपछि बल्ल मानव पूजातिर लाग्ने हाम्रो संस्कार कति धैर्यशाली छ । आफ्ना आश्रितलाई खुवाएर खाने महात्मा घरमुलीजस्तो । यसलाई आत्मसमृद्धिको एक अनुपम उदाहरणका रूपमा लिन सकिन्छ ।
भाइ तिहारले समान पिँढी र समान मर्यादाको नाताबीच आपसी सद्भाव साटासाट गराउँछ । यसले मानव समाजमा विश्व बन्धुत्वको सन्देश दिन्छ । यसरी शीतोष्ण मौसम, रमणीय प्राकृतिक सौन्दर्य, फूलैफूलको वहारमा मनाइने शारदीय चाड तिहारले मानव सभ्यता विकासको इतिहास सम्झाउँछ । मान्छे प्रकृतिसित जति घुलमिल हुँदै जान्छ, उति विश्वबन्धुत्व र आपसी भाइचारा तथा सद्भाव प्रगाढ हुन्छ भन्ने महान् सन्देश पनि दिन्छ ।
(लेखक सात्यिकार हुनुहुन्छ ।)