logo
२०८१ मंसिर ८ शनिवार



अञ्जली दिदीको भाइटीका

शनिवार |


अञ्जली दिदीको भाइटीका



 शिवा तामाङ

तिहारका लागि यतिबेला सबै व्यस्त छन् । अञ्जली मास्केलाई पनि यसको चटारो छ । अञ्जली दिदी अर्थात् सबैकी दिदीले यसपालि पनि दुई सय आठजनालई भाइटीका लगाइदिने तयारी गरिरहनुभएको छ । दिदीबहिनी नभएका र भएर पनि आ–आफ्नो घर जान नभ्याएका दाजुभाइको निधार खाली नहोस् भनेर उहाँले सामूहिक भाइटीका लगाउँदै आउनुभएको हो ।
काष्ठमण्डपमा स्थापित गोरखनाथ मन्दिरमा दैनिक पूजा–प्रार्थनाका लागि पुग्नुुहुने अञ्जली दिदीले २०५५ सालदेखि सामूहिक भाइटीकाको परम्परा सुरू गर्नुभयो । ‘उनै भगवान्को कृपाले नै मैले यत्तिका वर्षदेखि यो काम गर्दै आएकी छु । त्यसैले म सबैकी दिदी भनेर चिनिएको छु,’ उहाँ भन्नुहुन्छ । २०७२ सालको भूकम्पले काष्ठमण्डप भत्काएपछि वरपरको डबलीमै उहाँले भाइटीका लगाइदिँंदै आउनुभएको छ । यस वर्ष पनि नजिकैको डबलीमा भाइटीकाको तयारी उहाँले गर्नुभएको छ । तिहार आएपछि दाजुभाइले उहाँसँगै टीका थाप्न आउने वाचासँगै नाम टिपाउँछन् ।
उहाँले जजङ्का, माला, भाइमसला, सगुन (रक्सी, अण्डा, बारा, दही), मौसमी फलफूल, विविधप्रकारका खानेकुरासहित विधिपूर्वक दाजुभ(ाइलाई सप्तरङ्गी टीका लगाइदिनुहुन्छ । तोकिएकोभन्दा बढी दाजुभाइ टीका थाप्न आउनुभए नरिवल, जजङ्कामात्र भए पनि उहाँले प्रदान गर्नुहुन्छ ।
भाइटीका लगाइदिनु भए पनि उहाँले उपहार भने स्वीकार गर्नुहुन्न । दाजुभाइको निधार खाली नहोस् भनेर श्रद्धापूर्वक थालेको सामूहिक भाइटीकामा स्वदेशी, विदेशीलगायत सबै जातजाति वर्ग समुदायका दाजुभाइ सहभागी हुन्छन् । उहाँहरूको माया–ममता नै सबैथोक हो । त्यसैले म कुनै उपहार लिन्न उहाँ भन्नुहुन्छ ।
पहिलो वर्ष १०८ जनालाई भाइटीका लगाएर सुरू गर्नुभएको सामूहिक भाइटीका दोस्रो वर्षदेखि भने बर्सेनि दुई सय आठजनाका लागि तयारी गर्दै आउनुभएको छ । सामूहिक भाइटीकामा नेता, निजामती कर्मचारी, सेना, प्रहरी, कानुन व्यवसायी, ड्राइभर, रिक्साचालक, पत्रकार र सर्वसाधारणले समेत सहभागिता जनाउँछन् । सामूहिक भाइटीकामा आउन नसक्ने दाजुभाइ महिना दिनसम्म पनि उहाँको घर (ताहाचल, काठमाडौँ) मै टीका थाप्न आउँछन् ।उहाँसँग टीका लगाउने कतिपय दाजुभाइले फोनमार्फत भए पनि कहिलेकाहीँ उहाँलाई सन्चोबिसन्चोबारे सोध्छन् । त्यसबेला भने दुनियाँभरकै ठूलो खुसी पाएको अनुभूति हुने उहाँ बताउनुहुन्छ ।
यस वर्ष दुई दिन भाइटीका लगाउनुपर्ने भएकाले अलि अन्योलमा परेको पनि उहाँले बताउनुभयो । नेपाल भाषा मङ्का खलःले कात्तिक ११ गते लक्ष्मीपूजा, १२ गते नेपाल संवत् ११४० र म्हःपूजा तथा १३ गते भाइटीका गर्न सबै नेवार समुदायलाई आह्वान गरेको छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रोमा भाइटीकाको दिनमा नेपाल संवत् ११४० सुरू हुने दिन उल्लेख छ । नेपाल भाषा मङ्का खलःका सदस्य रमेशमान पियाका अनुसार नेवार समुदायमा म्हःपूजाको दिनमै नेपाल संवत सुरू हुन्छ । नेपाल संवत्को उत्सव मनाएपछि बेलुका म्हःपूजा हुन्छ । १२ गते म्हःपूजा र १३ गतेमात्र भाइटीका गर्ने निर्णय गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक १२ गते मङ्गलबार बिहान ११.५५ बजे तोकेको छ । यस कारण १२ गते नेवार समुदायले टीका लगाउँदैनन् र १३ गते अन्य समुदायले लगाउँदैनन् होला । त्यसैले दुवै दिन नै टीका लगाइदिने तयारीमा उहाँ हुनुहुन्छ । उहाँलाई यस काममा भतिजी प्रपन्न मास्केले सहयोग गर्दै आउनुभएको छ ।

(लेखक गोरखापत्र दैनिकका समाचारदाता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?