logo
२०८१ मंसिर ८ शनिवार



मानवतावादी कविद्वय देवकोटा र पन्त

शनिवार |


मानवतावादी कविद्वय देवकोटा र पन्त


 प्रा.डा.उषा ठाकुर

साहित्य र दर्शनका बेग्लाबेग्लै क्षेत्र भए पनि आपसमा गहिरो सम्बन्ध हुन्छ । आनन्द वा मुक्तिको खोज तथा लोककल्याण नै साहित्य र दर्शनका मूल लक्ष्य हुन् । सायद त्यसैले होला, प्राचीनकालदेखि नै साहित्य दर्शनबाट र दर्शन साहित्यबाट प्रभावित भएको पाइन्छ । यस सन्दर्भमा महाकवि देवकोटाको यो भनाइ अत्यन्त नै प्रासङ्गिक र सारगर्भित देखिन्छ – “मेरो आफ्नो क्षेत्र त थियो कविता र साहित्य तर कुनै कवि या साहित्यकार पनि केही अंशमा दार्शनिक पनि हुन्छ ।” ... “कवि आफूभित्र बराबर दार्शनिकता पाउँछ र कुनै समयमा दार्शनिक पनि आफूभित्र कवि ।”
नेपाली साहित्यका मूर्धन्य कवि लक्ष्मीप्रसाद देवकोटाले (वि.सं. १९६६–२०१६, सन् १९०९–१९५९) पूर्वीय र पाश्चात्य दुवै दर्शनलाई गहन अध्ययन गरेर र त्यसका मर्म राम्ररी बुझेर यस जीवन, जगत्, आत्मा–परमात्मा र संस्कृतिबारे आफ्नो महŒवपूर्ण विचार कविताको माध्यमबाट पोख्नुभएको छ ।
हरेक व्यक्तिका आफ्ना जीवनदर्शन, ईश्वरप्रति आस्था र विश्वासका ढङ्ग, जीवन जगत्लाई बुझ्ने दृष्टिकोण भिन्न हुन सक्छ । महाकवि देवकोटाले पनि परम्परागत रूपमा रुढिवादी ढङ्गले मन्दिर गएर, प्रदक्षिणा गरेर, भेटी चढाएर आडम्बर गरेर ईश्वर–प्रति आफ्नो भक्ति भावना देखाउनुभएन तर उनले दिएका कवितामा विशद रूपमा आत्मा–परमात्मा, जीव र ब्रह्म आदि बारे दार्शनिक आध्यात्मिक विचार अभिव्यक्त भएको छ ।
जीवनपर्यन्त रोग, भोक र शोकसँग सङ्घर्ष गर्दा पनि लोककल्याणकारी भावनालाई नै उहाँले प्रश्रय दिनुभयो । उहाँका जीवन दर्शनका मूल मन्त्र नै मानवतावाद हो । समानता, स्वतन्त्रता र सह–अस्तित्वका आधार लिएर मानवतावादकै बाटोमा कविका प्रायः समस्त कविता केन्द्रित भएको देखिन्छ ।
हिन्दी साहित्यका महान् कवि सुमित्रानन्दन पन्त (सन् १९००–१९७७) पनि कवि देवकोटा सदृश मानवताका अनन्य पुजारी हुनुहुन्छ । साथै उहाँ एकता, स्वतन्त्रता, समानता, विश्वबन्धुत्व र मानव–सेवाका मन्त्र लिएर लोककल्याणका लागि पूर्णतया समर्पित कवि व्यक्तित्व हुनुहुन्छ ।
दुवै महाकविले ब्राह्मणकुलमा जन्म ग्रहण गरेका हुनाले दुवैको विचारधारामा हिन्दुदर्शनको प्रभाव शैशवकालदेखि नै पर्न जानु स्वाभाविक थियो ।
पछि–पछि कविद्वयको दृष्टिकोण जीवनोन्मुखी हुँदै गयो । समय अनुसार कविद्वयमा पाश्चात्य विचारधारा, दर्शन र साहित्यिक प्रभाव पनि देखापर्न थाल्यो ।
कवि लक्ष्मीप्रसाद देवकोटाको जन्म काठमाडौँ, डिल्लीबजारको धोबीधारा टोलमा भएको थियो । कवि सुमित्रानन्दन पन्तको जन्म भारतको कूर्माचल प्रदेश, अल्मोडा जिल्ला, कौसानी ग्राममा भएको थियो । यस प्रसङ्गमा भारतका ख्यातिप्राप्त साहित्यिक विद्वान् राहुल सांकृत्यायनका भनाइ कति सटिक छ– “उही हिमाञ्चलका वरदपुत्र हाम्रा पन्त छन् र त्यसकै दोस्रो श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । यो कसरी हुन सक्ला– पन्तलाई चाहिँ आफ्नो भनूँ र देवकोटालाई विदेशी ।”
प्रकृतिका काखमा जन्मेहुर्केकाले देवकोटा र पन्त आफ्नो प्रारम्भिक जीवनमा मुख्यतः प्रकृतिप्रेमी कवि हुनुहुन्थ्यो । देवकोटाका ‘गाइन तिनले घँसिया गीत’ र पन्तका ‘कृषक वाला’ प्रकृति चित्रणको दृष्टिले अद्वितीय छन् । दुवै कवि प्रारम्भिक कालमा प्रकृतिका पुजारी भए पनि पछि युगको योग अनुसार मानवताका अनन्य भक्त हुनुभयो । दुई जनाको अद्भुत कवि व्यक्तित्वमा युग र समाज नै साकार हुन पुग्यो ।
स्वभावतः मूलरूपमा कवि देवकोटा र पन्त विशुद्ध कवि हुनुहुन्छ तैपनि दुईजनाको कवितामा दर्शनको गहिरो प्रभाव छ । हुन त उहाँहरू दार्शनिक भएर कविता लेख्ने प्रयास गर्नुभएको होइन तर पौरस्त्य र पाश्चात्य दर्शनहरूको गहन अध्ययन मनन गरेको हुनाले पन्त र देवकोटा काव्यका पृष्ठभूमिमा यत्रतत्र दर्शन नै आच्छादित रहेको कुरा स्पष्ट देखिन्छ ।
सुख र दुःखको समन्वय जीवनमा नितान्त आवश्यक छ । पन्त र देवकोटाले सुखदुःखको सम्मिलनबाट नै जीवन सन्तुलित हुन्छ भन्ने विश्वास लिएर काव्य–निर्माणतर्फ अग्रसरित हुनुभएको छ । देवकोटा भन्नुहुन्छ–
“सुख र दुःख मलाई पनि परे ।
जब वसन्त भयो हरियो छ रे ।
हिउँदमा जब टप्किई रुझ्दछ सकल पात झरी म दरिद्र छु ।”
यस्तै विचार पन्तमा पनि देखिन्छ– “सुख–दुःख के मधुर मिलन से यह जीवन हो परिपूरण ।’’
सेवा र परोपकार नै सबभन्दा ठलो धर्म हो । मानवतावादी कवि देवकोटा मानव सेवाका अमर सन्देश दिँदै भन्नुहुन्छ–
“शक्ति प्रियाले आई बोलिन्– दिन्छु म मीठो मेवा
मैले बोलेँ – मेरो अमृत मानिसहरूको सेवा ।’’
आफ्नो कविता–यात्राको प्रथम चरणदेखि नै कवि पन्तमा पनि विश्वप्रेम र विश्वसेवाप्रति प्रबल भावना पाइन्छ–
“विश्व–प्रेमका रुचिकर राग
पर सेवा करने की आग
इसको सन्ध्या की लाली सी
मां ! न मन्द पर जाने दे ।”
देवकोटा र पन्तको भनाइ अनुसार ईश्वरलाई अन्यत्र खोज्न जानुपर्दैन । ईश्वर मानव मनभित्र बस्दछ र कर्म नै ईश्वरको पूजा हो । सेवा, सहयोग, सहानुभूति, सद्भाव र संवेदनशीलताको भाव लिएर मानवसेवातर्फ लाग्नु नै हाम्रो प्रथम कर्तव्य हो, ठूलो धर्म हो । त्यसैले कविद्वयले आफ्नो–आफ्नो कविताबाट मानवलाई परोपकारी बन्न अनुरोध गरेका छन् । प्रचलित परम्पराको ठाउँमा नयाँ आध्यात्मिक र मानवतावादी भावनाको स्थापना गर्न चाहेका कवि देवकोटाका प्रश्न विवेकपूर्ण ढङ्गले सोच्नका लागि बाध्य गर्छ ः
“कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ?
फर्क हे फर्क
जाऊ समाऊ मानिसहरूको पाउ ।’
कवि पन्तका पनि यही सन्देश छ–
“कहाँ खोजने जाते हो
सुन्दरता औ आनन्द अपार ।
इस मांसलता में है मूर्तित
अखिल भावनाओं का सार ।”
त्यागमा नै जीवनका सच्चा सुख निहित छ । कवि देवकोटाका सम्पूर्ण जीवन नै त्यागका अपूर्व उदाहरण बन्न पुगेको छ । उहाँको भनाइ कति अनुकरणीय छ–
“खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनू जहाँ छ ।”
कवि पन्त पनि आफ्नो व्यक्तिगत चाहनालाई विश्व परिवेश विस्तार गर्दै भन्नुहुन्छ–
“तप रे मधुर–मधुर मन
विश्व–वेदना में तप प्रतिपल ।”
देवकोटा र पन्त दुईजना नै गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’का आदर्श लिएर आफ्नो कर्मपथमा अग्रसर हुनुभएको हो । कवि देवकोटाले ‘यात्री’, ‘कामीदाइ’, ‘किसान’, ‘गरीब’, ‘भिखारी’ आदि कविताहरूमा कर्मका जुन सन्देश दिनुभएको छ यो अनुकरणीय छ ।
“चुम्दछ ईश्वर काम सुनौला
गरी रहेको हात ।”
कावि पन्तको सन्देश–
“कर्मखोज मन, कर्मखोज नित
भू रचनात्मक कर्मखोज तू...”
भनेर निष्काम कर्मप्रति समाजलाई उद्बोधित गर्नुहुन्छ ।
उदारमना कवि देवकोटा जातपातमा विश्वास गर्नुहुन्न । उहाँको भनाइ अनुसार– “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’
वास्तवमा व्यक्तिका मूल्याङ्कन र प्रतिष्ठा जातको आधारमा होइन, गुण र योग्यताको आधारमा गर्नुपर्छ । कवि पन्तले पनि त्यस्तै भाव व्यक्त गर्नुभएको छ–
“जाति व्यर्थ है, सब समान है ।”
नर जस्तै नारी पनि ईश्वरका वरदान हुन् । नारीप्रति कवि देवकोटाले अपार ममता, सहानुभूति र श्रद्धा दर्शाउँदै उहाँले आफ्नो उद्गार यसरी व्यक्त गर्नुभएको छ ।
“निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ ।”
फुल्छन् यसकै रसमा सारा भावहरूका कोमल फूल
यसकै भित्र छ फैलिरहेको जीवनको सब अन्तरमूल ।’’पन्तले पनि नारीलाई सर्जक शक्ति, जगत जननी जीवनलाई प्रेरणा दिने महान् आत्मशक्तिको रूपमा हेर्नुभएको छ । नारीप्रति उहाँको निवेदन छ–
“ओ स्नेहमयी लज्जे शीले
कवि उरका नम्र निवेदन भर,
जन भू मनका कल्मष जो, मां
हों प्रीति ग्रथित नव नारी–नर ।”

प्राचीनकालमा नारीको स्थिति महिमामय थियो तर आजका समाजमा नारी अवस्था अत्यन्त दयनीय बन्न पुगेको छ । स्त्रीजातिको उत्थानका लागि यी दुवै कवि अत्यन्त प्रयत्नशील देखापर्दै देवकोटा भन्नुहुन्छ–
“परिवर्तन, परिवर्तन
गर रे नर्तन, गर नर्तन ।
गन्दा गन्दा झार उखेल्दै
ज्यादा ज्यादा गर नर्तन ।
पात सुकेका नीरस फाली
आगो लगाई ज्वाला ज्वाली
अड्न न दे क्यै पानी सडे झैँ
बाटो बना नव अरूलाई
रङ्ग नयाँ फेर नवीन लहरले
नवीन रहरको गर सिर्जन ।”
प्राचीन जीर्ण पात झरेपछि मात्र नयाँ पातको आगमन सम्भव छ । प्राचीन मान्यता र विश्वासका जीर्ण पातलाई समाप्त गरेर समाजमा नयाँ सिर्जनाका सन्देश दिँदै कवि पन्त भन्नुहुन्छ–
“द्रुत झरो जगत् के हे शुष्क जीर्ण पत्र
तुम वीतराग जड पुराचीन
हिम ताप पीत, मधुवात भीत,
तुम तीतराग, जड पुराचीन ।”

“आओ हे दुर्धर्ष वर्ष
लाओ विनाश के साथ नव सृजन ।’’
आफ्नो प्राचीन सभ्यता र संस्कृतिप्रति कवि देवकोटा र पन्तका अटुट आस्था र गर्व देखिन्छ ।
‘हाम्रो सभ्यता दिव्य सनातन’ भनेर कवि देवकोटा आफ्नो संस्कृतिप्रति गर्व गर्नुहुन्छ । एसियामा नै जागृति फैलाउने नेपाली जातिका गौरव गान कविले धेरै प्रभावशाली ढङ्गले प्रस्तुत गर्नुभएको छ–
“एसियाली जागृति–युग शिशु
हामी उषा सुत–नयपाली
हामी हिमालय तनय पिपासु
बढ्न चुचुरा करमाली ।”
कवि पन्त आफ्नो भारतका स्वर्णिम अतीतलाई सम्झेर आफ्नो देशको प्रशस्तिगान यसरी गर्नुहुन्छ–
“प्रथम सभ्यता ज्ञाता, साम ध्वनित गुण गाथा,
जय नब मानवता निर्माता
सत्य अहिंसा दाता
जय हे, जय हे जय हे, शान्ति अधिष्ठाता ।’’
कवि देवकोटाले देशमा जागृति फैलाउनको निमित्त उद्बोधनात्मक कविता लेख्नुभएको छ । कविका अनुसार अन्याय सहनु पनि ठूलो अपराध हो । अन्यायको प्रतिकार गर्नुपर्छ । कवि देवकोटाको सन्देश यस प्रकार छ ः
“मर्नु त एकदिन अवश्यै पर्छ
पशु झैँ न जिउँ
मानिस हुँ भने, मानिस झैँ जिउँ
मानिसको हक लिउँ ।
यस्तै ‘जीवन हित मानव वरे मरण’ भनेर लोककल्याणका लागि बलिदानका सन्देश दिँदै कवि पन्त आह्वान गर्नुहुन्छ–
मृत्यु नहीं रे देह त्यागना
मृत्यु समर के बीच भागना
मृत्यु समय पर नहीं जागना
राष्ट्र हेतु बलि जाओ ।
यसलाई अद्भुत संयोग नै भन्न सकिन्छ कि मोक्षबारे पनि उहाँहरूको अभिमत लगभग समान छ । महाकवि देवकोटाको विचारमा–
“हामी मुक्ति चाहन्नौँ रे ! बिउँझी आउँला बिउँझी आउँला ।”
पृथ्वीका उपासक कवि पन्त पनि मुक्ति वा मोक्षमा विश्वास गर्नुहुन्न किनकि वैयक्तिक मोक्षको भावनाले सामाजिक भावनालाई छिन्न–भिन्न गरिदिएको छ त्यसैले सामूहिक हितप्राप्तिका लागि नै मानवजाति प्रयत्नशील हुनुपर्छ –
“वैयक्तिक मुक्ति निरर्थक
वह आंशिक, आत्मिक स्तर पर
सामूहिक गरिमा में ही
मूर्तित जग–जीवन ईश्वर ।”
वस्तुतः दुःख, दारिद्रय, असमानता आदि समाप्त गरेर यसै धरालाई सबै प्रकारबाट समुन्नत बनाएर यहीँ स्वर्गका अवतारण गराउन सकिन्छ भन्ने कुरामा दुवै कवि एकमत हुनुहुन्छ ।
कवि पन्त र देवकोटाका कविताहरूमा ठाउँ–ठाउँमा पृथ्वीलाई नै स्वर्ग बनाउन सकिन्छ भन्ने धारणा अभिव्यक्त भएको पाइन्छ ।
‘शुक्रवार एघार बजे राति’ कवितामा कवि देवकोटाको भनाइ छ–
“मतिले धनी छु आमा ।
स्वर्ग पाउँछु धरामा ।”
कवि पन्त पनि स्वर्गका कल्पना गर्ने रुढिवादी मान्यताको विरोध गर्दै यसै धरतीका स्वस्थ, समुन्नत, स्नेहपूर्ण जीवनलाई स्वर्गको संज्ञा दिनुहुन्छ । वास्तवमा समस्त भू–वासीहरूमा मानवीय गुणहरूको प्रसार गरेर उनीहरूमा विश्वबन्धुत्व र भ्रातृत्वका भावना जगाएर यस धरतीमा स्वर्गको अवतरण गराउन सकिन्छ –
“जन भू ही ईश्वरका आवास
न संशय
अन्यत्र न स्वर्ग, न ईश्वर
यह रे निश्चय ।”
सच्चा साहित्यकार आफ्नो युगको प्रतिनिधि हुन्छ र युगका अग्रदूत साहित्यकार कुनै वाद–विचारधाराका सीमित दायरामा सीमित भएर बस्दैन ।
पन्त र देवकोटा पनि समय–समयमा युगका माग अनुसार विभिन्न विचारधारा र दर्शनहरूबाट प्रभावित भए तापनि उहाँहरूले कुनै खास दर्शन वा विचारधाराको अन्धानुगमन गर्नुभएन । मानवता कल्याणका लागि विभिन्न दर्शनहरूबाट कल्याणकारी तत्व लिएर समन्वयको एक विराट चेष्टा गर्नुभयो । जसमा शान्ति, सौन्दर्य, प्रीति, सद्भाव एवं लोकमङ्गल भावना गाँसिएको देखिन्छ ।
काव्यमा दर्शन र संस्कृतिको समुचित समन्वय गरेर समस्त मानवताका लागि देवकोटा र पन्तले जुन सन्देश दिनुभएको छ त्यो निश्चय नै चिरस्मरणीय रहनेछ ।
पौरस्त्य र पाश्चात्य दर्शन, साहित्य, ज्ञान, विज्ञान, कला र संस्कृतिको चिन्तनमनन र गहन अध्ययन गरेर दर्शनका गूढ तत्वलाई कविद्वयले कविताको माध्यमबाट हामी समक्ष प्रस्तुत गर्नुभएको छ । त्यो आफैँमा अत्यन्त महान, व्यापक र प्रशंसनीय छ ।
आफ्नो मौलिकतालाई अक्षुण्ण राखेर आफ्नो–आफ्नो दृष्टिकोणबाट मानव–कल्याणका लागि उहाँहरूबाट दर्शाएको मार्ग हामीलाई युगयुगसम्म दिशा–निर्देशन गरेर उद्बोधित गरिरहनेछ भन्ने कुरामा म विश्वस्त छु ।

(लेखक प्राज्ञ हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?