logo
२०८१ मंसिर ८ शनिवार



जापानको चारदिने साहित्यिक यात्रा

शनिवार |


जापानको चारदिने साहित्यिक यात्रा


 कृष्ण बजगाईं

‘वल्र्ड हाइकु एसोसिएसन’को दशौँ सम्मेलनमा सहभागी हुन टोकियोतर्फ जाँदै गर्दा मेरो मन हाइकुमय बनिसकेको थियो । साहित्यिक पर्यटक भएर वर्ष दिनभित्रै दोस्रोपटक जापानको यात्रामा थिएँ । जहाज आकाशमा बेगिँदै थियो, मनमा हाइकुका पङ्क्ति र विम्बहरू खेल्दै थिए ! स्मृतिबाट हराएर जालान् कि भन्ने डरले हतारहतार तिनलाई प्रेमपूर्वक डायरीमा टिप्दै गएँ ।
नेपाल भ्रमण वर्ष सन् २०२० को सँघारमा जापानतर्फ उडिरहेको थिएँ । मातृभूमिको सम्झना मनभरि बयेली खेल्न थाले । अचानक सम्झँे आफ्नै देशको पर्यटन उद्योग । नेपालमा साहित्यले पनि पर्यटक आकर्षण गर्न सक्छ भन्ने कुरा थाहा नभएको हो वा त्यसतर्फ ध्यान नदिइएको हो ? पर्यटनका नाममा किन हामी हिमाल र पहाड मात्र देखाउँछौँ ? मनभित्र यस्तै प्रश्न उठिरहेको बेला जहाज बादलभित्र बतासिँदै थियो ।
विदेशतिर साहित्यिक पर्यटन लोकप्रिय छ । साहित्यिक पर्यटन भन्नाले कुनै लेखक साहित्यकारको जन्मस्थान, घर, डेरा र तिनको समाधिस्थलसम्मको यात्रालाई बुझाउँछ । कुनै उपन्यास वा कथाका काल्पनिक पात्र हुन् अथवा लेखक स्वयं हिँडेको बाटो र बास बसेको स्थानको भ्रमणसमेत साहित्यिक पर्यटन अन्तर्गत पर्छ । साहित्यिक पर्यटक धर्मनिरपेक्ष यात्री पनि हुन् । निरपेक्ष भएर चाडपर्व, जात्रा, संस्कृति आदिको अवलोकन गर्न जानु पनि साहित्यिक पर्यटनभित्रै पर्छ ।
विदेशमा साहित्यिक पर्यटनस्थलको राम्रो विकास भइरहेको छ । त्यसको प्रचारप्रसारमा पनि ध्यान दिइएको पाइन्छ । साहित्यिक पर्यटनलाई मैले बौद्धिक यात्रा मानेको छु । त्यस्ता यात्रामा मनोरञ्जन र आनन्दभन्दा पनि ज्ञान प्राप्तिको अभिलाषा हुन्छ । त्यसैका लागि म आफैँ पनि विभिन्न देशमा लेखकको निवास र सङ्ग्रहालय चहार्ने गरेको छु । चाड, पर्व, मेला आदिमा पुग्ने गरेको छु । गतवर्षको जापान भ्रमण जस्तै यसपटक पनि जापानका साहित्यकारको निवास, सङ्ग्रहालय, बुद्ध र सिन्तो धर्मका मन्दिरलगायत ठाउँमा भ्रमण गर्ने लामो सूची बोकेर निस्केको थिएँ । आफ्नै नियात्रासङ्ग्रह ‘दाइबुचु’को विमोचन र ‘वल्र्ड हाइकु एसोसिएसन’को तीनदिने साहित्यि कार्यक्रममा सहभागी हुनका लागि यात्रारत थिएँ ।
सेप्टेम्बर १३, २०१९ बिहान सूर्यको प्रथम किरणले टोकियोको हानेदा विमानस्थलमा मलाई स्वागत ग¥यो । प्रशान्त महासागरको समुद्री हावाले मायालु स्पर्श ग¥यो । विमानस्थलमा मलाई लिन आएका प्रकाशले स्वागतार्थ न्यानो हातले फैलाए । यो हार्दिकता र आत्मीयताले मनमा अथाह खुसी उर्लियो ।
टोकियो पुगेको पहिलो दिनमै साहित्यिक कार्यक्रममा सहभागी हुनु थियो । विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन आएका सबैका लागि एसोसिएसनले स्वागत कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको थियो । बेलायत, हङ्गेरी, इटाली, मोरोक्को, अमेरिका, इराक, मलेसिया, चीन, भियतनाम, मङ्गोलिया, पोर्चुगल, काजकिस्तान आदि देशका पचासभन्दा बढी सहभागीको हुलमा म, प्रा. रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ मिसिएका थियौँ । अतिथि सत्कार गर्ने आफ्नै विशिष्ट शैली भएका विनम्र जापानीहरूको हार्दिकतापूर्ण स्वागतले प्रफुल्ल भइयो । परिचय कार्यक्रम भयो । एकछिनमै मित्रताको कुम जोडियो । कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रा. बान्या नाचुइसीलगायतले सम्बोधन गर्नुभयो । उपस्थित सबैले आआफ्ना हाइकु वाचन ग¥यौँ । हाइकुमय साँझ छिप्पिँदै थियो । मध्यरात हुनुअघि भोलिको महŒवपूर्ण कार्यक्रम सम्झेर हामी छुट्टियौँ । सुनौलो बिहानले झ्यालबाट चियायो । उत्साहित मन लिएर उठेँ । होटेलमै बिहानको खाजा खाएपछि दोस्रो दिनको कार्यक्रमका लागि निस्केँ । टोकियोमा अवस्थित जिम्बोच्यो ट्रेन स्टेशन नजिकै रहेको कार्यक्रम हलमा अन्तर्राष्ट्रिय सहभागीहरूको भीडमा मिसिएँ । मनमा एक खालको उमङ्ग थपियो । वल्र्ड हाइकु एसोसिएसनको लोगो अङ्कित झोला, ब्याच, कार्यपत्रका फोटोकपी र सम्मेलनको विशेष अवसरमा प्रकाशित बहुभाषिक हाइकुसङ्ग्रह कोसेलीको रूपमा पाएँ । मन फुरुङ्ग भयो । अङ्ग्रेजी, जापानी र आआफ्नो मातृभाषामा लेखिएका संयुक्त हाइकु सङ्ग्रहमा आफू पनि समावेश भएको थाहा पाएँ । सभाकक्षसम्म पुग्ने धीरता भएन, त्यहीँ छेउमा उभिएर सङ्ग्रहको पाना पल्टाउन थालेँ । आफ्ना दशवटा हाइकु तीनवटा भाषामा छापिएको देखेर पुलकित भएँ । मेरो हाइकु लेखनयात्राले विश्व हाइकु मञ्चमा एउटा पाइला राखे जस्तो लाग्यो । नेपाली भाषाको हाइकु मात्र होइन म आफैँ पनि हाइकुको अनन्त आकाशको एक कुनामा पुगेँ कि क्या हो जस्तो भ्रम भयो । दङ्ग पर्दै एक्लै फिस्स हाँसे । प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले २०१९ सालमा नेपालमा भिœयाएको हाइकु पचासको दशकपछि विकसित भएर व्यापकता पाएको हो तर पनि अन्तर्राष्ट्रियस्तरमा नेपाली हाइकु र हाइकुकारलाई पु¥याउन सकिएको थिएन । हामी तीनजना नेपाली हाइकुकारको पहिलोपटक हाइकुको कार्यक्रममा भएको सहभागिताले अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध र नेपाली हाइकुको विस्तारका लागि नयाँ ढोका खोलेको छ ।
कार्यक्रम औपाचारिक रूपमा सुरु भयो । वल्र्ड हाइकु एसोसिएसनका अध्यक्ष प्रा.बान्याले विशेष सम्बोधन गर्नुभयो । कार्यक्रममा संस्थाको आयव्यय प्रस्तुत गरिए । एसोसिएसनको साधारण सदस्यका नाताले मलगायत अन्य सदस्यले केही कुरा राख्यौँ । कार्यक्रम महŒवपूर्ण चरणमा प्रवेश ग¥यो । अमेरिका, युरोप, मङ्गोलिया, चीन र अरब देशका हाइकुबारे कार्यपत्र प्रस्तुत भए । मेहनतसाथ लेखिएका कार्यपत्रमार्फत ती देशका हाइकुको विगत र वर्तमान अवस्था थाहा पाइयो । नेपाल सेसन भनेर हाम्रा लागि विशेष समय दिइएको थियो । सोही सेसनमा केही नेपाली हाइकु कृतिको विमोचन गरियो । प्रा. पाँडेको हाइगा प्रदर्शनी भयो । हामीले अङ्ग्रेजी र नेपाली भाषामा आआफ्ना हाइकु वाचन ग¥यौँ । सहभागीहरूले नेपाली स्वादको हाम्रा हाइकु मन पराए ।
नेपाल हाइकु केन्द्रका अन्तर्राष्ट्रिय संयोजक तथा वल्र्ड हाइकु एसोसिएसनका सदस्य प्रकाशले नेपाली हाइकुको गतिविधिबारे जानकारी दिनुभयो । मैले हाइकुले ल्याएको परिवर्तनको सन्दर्भ उठाएँ । प्रा. पाँडेले नेपाली हाइकुको विकास र वर्तमान अवस्थाबारे धारणा राख्नुभयो ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन लागेको अवसर पारेर संसारभरका हाइकुकारलाई आकर्षित गर्न सोही वर्ष सेप्टेम्बर महिनामा वल्र्ड हाइकु एसोसिएसनको विशेष कार्यक्रम नेपालमा गर्ने पाँडे सरले प्रस्ताव राख्नुभयो । उहाँको प्रस्तावलाई सबैले थपडी बजाएर स्वागत गरे । आलोक चालिसे कार्यक्रम सञ्चालक रहेको नेपाली सेसन त्यस दिनको मुख्य आकर्षण बनेको थियो ।
वास्तवमा हाइकुको माध्यमले पनि नेपालको पर्यटन उद्योगको प्रचारप्रसार गर्न सकिन्छ । तीन लाइनमा लेखिने सत्र अक्षरको सूक्ष्म कविता हाइकुले पार्ने विशाल प्रभावबारे हाइकुका पाठक परिचित छन् । चित्रमाथि हाइकु लेखिने जापानी साहित्यको अर्को विधा ‘हाइगा’का जानकारले त्यसले पार्ने प्रभावबारे बुझेका छन् । नेपालको मनोरम प्राकृतिक स्थल, हिमाल, पहाड, नदी, फूल, आदिका चित्रसँग सम्बन्धित हाइकु लेखेर हाइगाको सिर्जना गर्न सकिन्छ । ती हाइगा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन तथा विक्री वितरण गर्ने हो भने थप पर्यटकलाई आकर्षित गर्ने कुरामा म विश्वस्त छु । हाइकु र प्रकृतिबीच नजिकको सम्बन्ध हुन्छ । प्रकृति हाइकुको प्राण हो । जापानी शास्त्रीय काव्य हाइकुमा प्रकृति कुनै न कुनै माध्यमबाट विम्बको रूपमा आउनुपर्दछ । सोही कारण उत्तम हाइकु सिर्जना गर्नका लागि जापानी कविहरू प्रकृतिको नजिक पुग्नका लागि यात्रा गर्छन् । नेपालजस्तो छोटो दूरीमा प्रकृतिको विविध रूप हेर्न र अनुभूति गर्न पाइने ठाउँ संसारमा विरलै छ । तसर्थ नेपाल हाइकुको अजस्र स्रोत हो । हाइकुकारका लागि प्रेरक स्थल हो । साहित्यमा रुचि राख्ने पर्यटकलाई आकर्षण गर्ने चुम्बक हो । म आफैँले पनि नेपाल सम्झेरै कैयौँ हाइकु लेखेको छु । नेपालको पदयात्रा गरेर अझ गहन हाइकु लेख्ने योजना बनाएको छु । अहा, प्राकृतिक सौन्दर्यले भरिएको मेरो देश ! स्मृतिपटलमा नेपालका सुन्दर तस्बिर क्रमशः आउन थाले ।
योजनाबद्ध रूपमा विशेष कार्यक्रम बनाउने हो भने हाइकु र प्रकृतिसम्बन्धी कविता लेख्नकै लागि कविहरू नेपाल आउन सक्छन् । हाइगाको माध्यमले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन गर्ने यो नयाँ तरिकालाई सम्बन्धित निकायले कहिले र कसरी लागु गर्लान् ? मनमा एउटा अनुत्तरित प्रश्न उठिरहेको छ ।
हाइकु सम्मेलनको दोस्रो र तेस्रो दिनमा ‘जर्मनी दर्शनशास्त्र र हाइकु,’ ‘आधुनिकतावाद र हाइकु’, ‘अमेरिकी आधुनिक कवितामा हाइकुको प्रभाव’, ‘जापानी हाइकुको चिनियाँ कवितामा प्रभाव’, ‘विगत बीस वर्षमा विश्व हाइकु’, ‘अरब कवितामा जापानी हाइकुको प्रभाव’, ‘बासोको विविधता र बहुसांस्कृतिक सिद्धान्त’, ‘जापानी स्कुलमा हाइकु’ जस्ता महŒवपूर्ण कार्यपत्र प्रस्तुत भए ।
कार्यक्रमको अन्तिम दिनको उत्तरार्धमा हाइकु लेखन कार्यशाला र अनुवाद कार्यशाला जस्ता कार्यक्रम मेरा लागि मात्र होइन जापानबाहिरका सहभागीका लागि समेत नयाँ, रोचक र उपयोगी थिए । यस दिन ‘क्यालिग्राफी’मा खुब रमाएँ । जापानी परम्परागत क्यालिग्राफीमा कालो मसीमा पेन्टिङ ब्रसले चोपेर सुन्दर अक्षरहरू लेखिन्छ । यसरी लेखिएका जापानी अक्षरहरू मलाई चित्र जस्तै लाग्दछन् । जापानमा क्यालिग्राफी स्कुलमै सिकाइन्छ तर मचाहिँ त्यस दिन स्कुलको बच्चाभन्दा पनि कमजोर थिएँ । वास्तवमा मैले पेन्टिङ गर्ने ब्रस जीवनमा कहिल्यै समाएको थिइनँ । कार्यक्रम अनुसार सहभागी सबैले आआफ्नो लिपिमा पेन्टिङ ब्रसले हाइकु लेख्नैपर्ने थियो । म पनि हाइकु लेख्नका लागि अगाडि बढेँ । एक मनले डर मान्यो । कहीँ बेइज्जतै त हुने होइन ? अर्को मनले भन्यो प्रयासै नगरे कसरी थाहा हुन्छ ? अन्ततः मैले पेन्टिङ ब्रस समातेँ ।
पाँडे सर चित्रकारसमेत भएकाले टेबलमा राखिएको लामो तथा चौडा सेतो कागजमा नेपाली हाइकु लेख्न थाल्नुभयो । प्रकाशले पनि ब्रस समाउनुभयो । म पनि के कम ! मैले पनि पेन्टिङ ब्रसले एउटा हाइकु लेखेँ । यसो अरू टेबलतिर नजर लगाउँछु, विभिन्न देशका सहभागीहरू आआफ्नो लिपिमा हाइकु लेखिरहेका थिए । केहीले त अघि नै लेखिसकेका रहेछन् । विभिन्न लिपिमा लेखिएका हाइकुको भीडमा देवनागरी लिपिका हाम्रा हाइकु पनि कम थिएनन् । मेरो मन खुसीले साकुरा जस्तै ढकमक्क फुल्यो । शिर माउण्ट फुजीभन्दा पनि अग्लो भयो ।
साँझमा सम्मेलन समाप्त भयो । भोलिपल्ट हुने अर्को महŒवपूर्ण साहित्यिक कार्यक्रमलाई व्यग्रतासाथ प्रतीक्षा गर्न थालेँ । तीनदिने हाइकुमय समय सकिएलगत्तै चौथो दिन नियात्रामय दिनले स्वागत ग¥यो । टोकियोमा अवस्थित सोलमारी रेष्टुरेण्टको सभाकक्षमा जापानसम्बन्धी मेरो नियात्रासङ्ग्रह ‘दाइबुचु’ प्रमुख अतिथि प्रा.पाँडेले विमोचन गर्नुभयो । जापानसम्बन्धी नियात्रा जापानमै विमोचन हुनु बेलायत निवासी लेखकका लागि त्योभन्दा ठूलो सौभाग्य के हुन सक्थ्यो र ? जापानका साथीहरूबाट पाएको साहित्यिक मायाले मनमा छचल्किए खुसीका असङ्ख्य छालहरू । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रा. पाँडे, एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारी, बेलुकाजी थापा, दीप पाठक, श्याम ‘अतिथि’ सेढाईं, प्रकाश र आलोकले दाइबुचुका बारेमा धारणा रख्नुभयो । नेपाली डायस्पोरामा जापान साहित्यको उर्वर भूमि हो । त्यस कार्यक्रममा दाइबुचुलाई थुप्रै सर्जकले साथ दिए । कार्यक्रमको बीचबीचमा डा.भूपालमान श्रेष्ठ, के बी पारखी, रामकृष्ण बम मल्ल, हेमन्त गिरी, ध्रुव बन्जाडे, गृष्मा पौडेल, भगवती उप्रेती, राजेन्द्र पौडेल, गङ्गा गगन, दीपा घिमिरे, गिरिजा गैरे, हरिश कल्पित, अरुण पौडेल आदिले आआफ्ना रचना सुनाए । चारदिने साहित्यिक म्याराथुन साँझ अबेर सकियो । असीम आनन्दमा रमाएँ । चारदिने साहित्यिक कार्यक्रम सकिएपछि बल्ल स्वतन्त्ररूपमा घुमफिर गर्ने समय आएको थियो । भोलिदेखि साहित्यिक पर्यटक भएर जापानका विभिन्न सहर घुम्ने कुरा मनमा खेलाउँदै गर्दा कतिखेर निदाएँ पत्तै भएन ।
(लेखक साहित्यकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?