logo
२०८१ मंसिर ८ शनिवार



आत्मकौशल अनुमोदनको पर्व

शनिवार |


आत्मकौशल अनुमोदनको पर्व


 धीरेन्द्र प्रेमर्षि

छठीपर्व आजको दिनमा नेपालको राष्ट्रिय पर्व भइसकेको छ । अझ यस पर्वको अन्तर्राष्ट्रियकरण नै भइसकेको छ भन्दा पनि अत्युक्ति हुँदैन । तर विडम्बना के छ भने छठी जस्तो पर्व पनि आफ्नो ठाउँमा बसिराखुञ्जेल राष्ट्रिय बन्न सकेन । जब ऊ सिंहदरबार खोज्दै काठमाडौँ आयो तब बल्ल उसको चिनारी राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय रूपमा स्थापित हुन गयो । यस प्रसङ्गले के पनि प्रष्ट पारेको छ भने हाम्रो देशमा अनेकौँ यस्ता वैशिष्ट्य छन् जो काठमाडौँसम्म पुग्न नपाएका कारण आफ्नो मूलथलोमै पनि गुमनाम झैँ भएर बसेका छन् । काठमाडौँ उपत्यकामा बाक्लिँदै गएको तराईवासीको उपस्थिति, माओवादी जनयुद्धकालमा जनसामान्यको आवागमनमा हुन पुगेको जटिलता जस्ता अवस्था नआएका भए शायद आज हालको समयमा महापर्व भनेर सम्बोधित हुन थालेको छठी पनि मिथिला क्षेत्रका सामाचकेवा, चौरचन, जुडशीतल आदि पर्व झैँ अस्तित्वको सङ्कट बेहोरिरहेको अवस्थामा हुन्थ्यो । तर छठीपर्वले पाएको व्यापकता र सर्वस्वीकार्यतालाई दृष्टिगत गर्दा भन्न मन लाग्छ– कहिलेकाहीँ जटिलता एवं अप्ठ्याराले पनि सकारात्मक बाटो खन्न सघाउँदोरहेछ ।
यस पर्वका प्रक्रियालाई मसिनो ढङ्गले हेरेर केलाउने हो भने उत्पादनका दृष्टिले, सुस्वास्थ्य, समृद्धि, सद्भाव प्रवद्र्धनको कोणबाट, सामाजिक समरसता निर्माणका हिसाबले सबैभन्दा महŒवपूर्ण पर्व मान्न सकिन्छ । छठी परमेश्वरीको पूजामा के भनिन्छ भने उनको पूजा ग¥यो भने आरोग्य प्राप्ति हुन्छ, समृद्धि पाइन्छ, सुख–शान्ति मिल्छ । तर धरातलमा गएर हेर्दा हामी के पाउँछौँ भने यो मात्र एउटा यस्तो पर्व हो, जसमा विश्वासको माध्यम भलै दैवीशक्तिलाई बनाइयोस्, तर त्यो प्राप्तिको समस्त उपक्रम व्यक्ति स्वयंले गर्दछ । उदाहारणका लागि समृद्धिको कुरा गरौँ । छठीमा ७० थरीका प्रसाद तथा फलफूल चढाउनुपर्छ भन्ने मान्यता छ । तत्कालीन समयमा बजार विस्तृत थिएन । यस्तोमा छठी परमेश्वरीलाई सन्तुष्ट पार्नका लागि ती समस्त वस्तु व्यक्ति स्वयंले उत्पादन गर्नुपर्ने वा छरछिमेकबाट मागेर ल्याउनुपर्ने बाध्यता थियो । कात्तिक महिनामा आफ्नो खेतबारीमा उब्जाएर वा छरछिमेकबाट मागेर ल्याई त्यतिका सामग्री जुटाउन सकियो भने त्यो मान्छे भोकै कहिल्यै मर्दैन । ऊ स्वयं कर्मशील त हुन्छ नै सामाजिक सद्भाव पनि राम्रो बनाइराख्न टेवा पु¥याउने खाले उसको चरित्र हुन्छ । यस प्रकार समृद्धि उसले स्वयं प्राप्त गर्छ । अब आरोग्यसँग कुरा जोडाँै । छठीको पूजा जलाशयमा गएर गर्ने गरिन्छ । पोखरी, नदी वा पानीको अन्य कुनै प्राकृतिक स्रोतमा पूजा गर्नुले हामीलाई फरक किसिमले स्वास्थ्यप्रति सजग रहने र स्वस्थ रहने मानसिकता तथा वातावरण दिन्छ । विभिन्न रोग सर्ने माध्यम भनेको पानी हो । अब जलाशयमा गएर पूजा गर्नु भनेकै पानीको स्रोत सफा हुनुप¥यो भन्ने सन्देश हो । हामी फोहोर ठाउँमा पूजा जस्तो पवित्र कार्य त गर्दैनौँ ! त्यसैगरी कतिपय मानिसले कुनै मनोकामना पूरा भएपछि छठीको घाटसम्म घस्रिँदै जाने भाकल गरेका हुन्छन् । यसरी घस्रिँदै जाँदा बाटोघाटो पनि सफा हुनुप¥यो । एवंप्रकारले जलस्रोत तथा बाटोघाटो सफा राख्नुपर्छ भन्ने विशिष्ट सन्देश हो छठीपर्वको । यी कुरा सफा भएमा हामीले आरोग्य पनि सहजै प्राप्त गर्छौं भन्नेमा कुनै शङ्कै छैन ।
अचेल कर्मकाण्डीय रूपमा छठीपर्व मनाउँदा यी समस्त क्रियाकलाप हुने गर्दछन् । तर व्यावहारिक रूपमा छठीको सन्देशलाई गम्भीरतापूर्वक हामी ग्रहण गरिरहेका छैनौँ । कतिसम्म भने सरसफाइको सन्देश दिने यो पर्व मनाइसकेपछि अचेल केराको थामलगायत ध्वजापताका तथा विभिन्न खेर जाने सामान पनि हामी जलाशयमै फालेर उल्टो फोहोर पार्ने काम गरिरहेका हुन्छौँ । छठीपर्व वस्तुतः हामीलाई समानतातिर डो¥याउने बाटो हो । हामीकहाँ पानी छोइन्छ भन्छन् । अनि छठीपर्व पानीमै मनाइन्छ । छठी सबैभन्दा बढी आस्थाका साथ मनाइने चाड पनि हो । तर पानीमा मनाइँदा पनि, जतिसुकै पवित्रतासाथ मनाइने भनिए पनि त्यहाँ कुनै किसिमको जातीय छुवाछूत देखिन्न । एउटै पोखरी वा जलाशयको वरिपरि सबै जातिका मानिसले पूजा गर्दछन् । सहरी क्षेत्रमा छुवाछूत दिनानुदिन घट्दै गएको छ ।


यसले सामाजिक सद्भाव प्रवद्र्धन र मानवीयताको संरक्षणतर्फ पनि हामीलाई प्रेरित गर्दछ । यसमा हामी अस्ताउँदो सूर्यको पनि पूजा गर्छौं । यो भनेको आफ्नो परिवारका, समाजका ज्येष्ठ सदस्यहरू, जसबाट हामीले भरपूर ऊर्जा प्राप्त गरिसक्यौँ, तिनलाई सम्मान गर्नु हो । हामीले हाम्रै संस्कृतिबाट पनि धेरै कुरा सिक्न सक्छाँै । सान्दर्भिक नभएका पक्षलाई क्रमिक रूपमा झिक्दै, हटाउँदै फाल्ने काम भने हामीले गर्नैपर्छ । चाडपर्वलाई हामीले फगत धार्मिक अनुष्ठान वा परम्पराका रूपमा नलिएर बहु्आयमिक रूपमा हेर्नुपर्छ । देउतालाई खुशी पार्नेभन्दा पनि सबैलाई कसरी समेट्ने र लोककल्याणकारी कामलाई कसरी निरन्तरता दिने भन्ने कुरा मुख्यरूपमा आउँछ । मिथिलाको जीवन–दर्शन नै यही प्रकृतिले अगाडि बढिरहेको छ । मिथिला भनेको मात्र एउटा भूक्षेत्र होइन, ज्ञान–विज्ञानको एक दिव्य प्रयोगस्थल र सभ्यताको सगरमाथाका रूपमा पनि व्याख्यायित हुँदै आएको थलो हो । यहाँका हरेकजसो गतिविधि लोककल्याणका दिशामा केन्द्रित छन् ।
संसारको आदिपर्वका रूपमा हेर्ने गरिएको सूर्यपूजाको अनुष्ठान छठीको प्रभाव र व्यापकता दिनानुदिन बढ्दो छ । कुनै समयमा प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित यो पर्व अब त्यस क्षेत्रका मैथिली र भोजपुरी भाषाभाषी जनतासँगै देश–देशान्तरसम्म विस्तृत भएको छ । नेपालमा छठी पहिले–पहिले वीरगञ्जदेखि विराटनगरसम्म सीमित थियो । तर पछिल्ला वर्षमा राजधानी काठमाडौँलगायत देशको अन्य भागहरूमा पनि पूर्ण आस्थाका साथ यो फैलिएको छ । यसैगरी भारततर्फ पनि विगतमा प्राचीन मिथिला क्षेत्र अर्थात् बिहार प्रदेशमा मात्र सीमित यस पर्वले अचेल दिल्ली र मुम्बईसम्म पनि व्यापकता पाइसकेको छ । छठी पर्वका सन्दर्भमा अहिले पनि काठमाडौँ वा दिल्ली–मुम्बईसहित जनकपुर, वीरगञ्ज, दरभङ्गा, पटना आदि ठाउँमा देखिने यसको भव्यताको चर्चा गर्ने गरिन्छ । तर खोजी पस्ने हो भने छठी शहरी तामझामको नभई मिथिलाको विशुद्ध ग्रामीण पर्व हो । खेती–किसानी र लोकजीवनसँग यसको गहिरो साइनो छ । सहरतिर यसको धार्मिक पक्ष बढी मुखर देखिन्छ, सांस्कृतिक समन्वय तथा सामाजिक सद्भावको केन्द्रविन्दुका रूपमा रहेको छठीका लोककल्याणकारी पक्ष गाउँमै संरक्षित छन् ।
प्राचीनकालदेखि नै ज्ञानविज्ञानको प्रयोगस्थल रहँदै आएको मिथिलाका सांस्कृतिक परम्पराको विश्लेषण गर्ने हो भने मिथिलामा प्रकृति संरक्षणका पक्षलाई धार्मिकताको आवरणमा सुरक्षित राखिएको हामी पाउँछौँ । छठीपर्वले यसै प्रसङ्गमा सबैभन्दा सहज र विशेष पर्वको रूपमा निरन्तरता पाएको छ । यसमा पुण्य वा मोक्षप्राप्तिका लागि मात्र कुनै धार्मिक क्रियाकलाप सञ्चालित रहेको प्रायः पाइँदैन । छठीपर्वलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ । यसमा धनी र गरिबबीचको फरक नछुट्टिनुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन । यसका पूजासामग्री यस्ता हुन्छन्, जुन पौरखी हातले आफ्नै खेतबारीमा फलाउने गर्दछन् । यसमा प्रसादका रूपमा चढाइने सामग्रीको सङ्ख्या ७० सम्म पु¥याउनुपर्ने मान्यता छ । यस्ता सामग्रीमा मूला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । यी सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैँ उत्पादन गर्न सक्छ । त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने पर्व नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो । यसमा ढकी, नाङ्लो, कनसुप्ली आदि चोयाका भाँडाकुडा डोम जातिसँग लिइन्छ भने माटाको हात्ती तथा अन्य भाँडाकुडा कुमालसँग लिने गरिन्छ । यसरी एकअर्काका उत्पादनलाई प्रयोग गरेर यस पर्वले जातीय रूपमा परस्पर सहयोगको उदाहरण पनि प्रस्तुत गर्दछ । अर्को महŒवपूर्ण कुरा के छ भने यस पर्वमा नियमनिष्ठा तथा स्वच्छतामा अत्यन्तै विचार पु¥याउने गरिए पनि एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आआफ्नो पूजा गर्ने गर्दछन् । यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ । यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्दछन् ।
छठीको सबैभन्दा आह्लादकारी पक्ष हो– यसको समय, शैली र रमझम । झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यको लस्कर जलाशयसम्म जाँदा र फर्कंदाको मनमोहक दृश्य अत्यन्तै लोमहर्षक हुने गर्दछ । सबैजनाको हातमा पूजाका कुनै न कुनै सामग्री, प्रसाद सजाइएको ढकी, डालो, माटाको हात्ती, कनसुप्ली, कोसिया–कुरबार, उखुका लट्ठा, केराको घरी, नैवेद्यका रूपमा भाँति–भाँतिका व्यञ्जन तथा फलफूल, सबै विशिष्टीकृत रूपरङ्ग र प्रकृतिका । यी सामग्रीमाथि बलिरहेको दियोले सन्ध्याकालीन तथा प्रभातकालीन झिसमिसेलाई अनौठो चित्ताकर्षक र उल्लासपूर्ण बनाएको हुन्छ । जलाशयछेउमा लहरै पूजाका लागि बनाइएका घाटहरू, प्रत्येक घाटमा छठी पूजा गर्ने एक–एक परिवार, घाटभरि सजाइएका पूजा–सामग्री, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह–समूहमा आबद्ध भई छठी परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीत, पोखरीको डीलमा ढोल, पिपही जस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालु, मनोकामना पूर्तिको अभिलाषामा पानीमा उभिरहेका असङ्ख्य नरनारी, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि स्वतन्त्र रूपले तैरिरहेको दीपसमूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गरिरहेको हुन्छ । यो प्राकृतिक रोमाञ्च बिजुलीबत्तीको कृत्रिम झिलिमिलीमा सधैँ रमिरहने सहरी क्षेत्रमा पाउन सकिँदैन । एउटा छठीको दृश्यले मात्र पनि मिथिलाको ग्रामीण पर्यटनलाई ठोस आधारभूमि प्रदान गर्न सक्दछ ।
छठीलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै ‘आरोग्यं भाष्करादिच्छेत्’ भनिएको छ । यसैगरी जललाई जीवन नै भन्ने गरिएको छ । जलाशयमा गएर पूजा गर्नु भनेको पक्कै पनि जलस्रोतलाई सफा राख्न चलाइएको नियम हुनुपर्दछ । छठीपर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । स्वस्थ जीवनका लागि स्वच्छ जल र समुचित ताप एवं प्रकाशलाई जरुरी मानिन्छ । चर्मरोगका कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठीले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ । सबै चाडपर्वमा झैँ यसबाट पनि सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने विश्वव्यापी मान्यताअनुसार यो कुरा पनि सही नै हो । छठीपर्वले उदाउँदो सूर्यलाई पूजा गर्नुभन्दा अघि अस्ताउँदो सूर्यलाई पुजेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौँ । तर हिजो हाम्रा अशिक्षित भनाउँदा पुर्खाहरूले यस्तरी बनाएको लोककल्याणकारी संस्कारलाई आज हामी पढेलेखेका तथा वैज्ञानिक युगका सन्ततिसमेत धार्मिकताको आँखाले मात्र हेरेर धर्मकर्मका नाममा पोगटा बटुलेर त्यसैमा रमाइरहेका छौँ । वास्तवमा जलाशय–सफाइको अभीष्ट यस पर्वमा लुकेको भए तापनि छठी मनाइसकिएपछि पोखरी, नदीमा पूजा–सामग्रीहरू फालेर उल्टो जलाशयलाई दुर्गन्धित एवं प्रदूषित बनाउने गरिन्छ । छेउछाउका जलाशय नै सफा रहन नसके छठी परमेश्वरीले पनि कसरी आरोग्य प्रदान गर्ने ? मिथिलाको केन्द्र जनकपुर पोखरीहरूको सहरका रूपमा चिनिए पनि छठीको सन्देशलाई आत्मसात् नगरिएकैले पोखरीहरूको छेउबाट हिँड्नुपर्दा नाक नथुनी धर पाइँदैन । जलाशयको महŒवको मनन नगरिएकाले पनि होला– जनकपुरका पोखरीहरू दिनानुदिन अतिक्रमित हुँदैछन् । राजधानीका मैथिलहरूले धूमधामसँग काठमाडौँमा छठी मनाउँदा यसको जल–सफाइसम्बन्धी सन्देशलाई पनि आत्मसात गरिदिएका भए बागमतीको सफाइका लागि लागिपर्ने एउटा दरो समूह मैथिलहरूको पनि हुन्थ्यो ।
छठीमा प्रसादका रूपमा चढाइने वनस्पतिहरू प्रायः झुप्पावाल हुन्छन् । जस्तै केरा, अदुआ, बेसार, पिँडालु आदि । यसले सङ्गठन वा सामूहिकताको सन्देश दिन्छ । छठीको प्रसादका रूपमा मुख्यरूपले चिनिने खाद्यवस्तु ठकुआ र भुसवा हुन्, जसमध्ये ठकुवाको मुटु जस्तो आकृतिलाई प्रेम र भ्रातृत्वको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण–कण एक–आपसमा जोडिएर बनेको कडा ठोस पदार्थ हुन्छ । यी यावत् कुरा सामूहिकता वा कार्यगत एकताका प्रतीक हुन् । यस्तोमा मैथिलहरूले मात्र होइन, सिङ्गो देशका सम्पूर्ण जनताले केराको काइँयो झैँ सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ । जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठी परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ ।

(लेखक प्राज्ञ हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?