logo
२०८१ मंसिर ८ शनिवार



मिथिलाञ्चलको पमरिया

शनिवार |





 डा. रेवतीरमण लाल

मिथिलाञ्चलमा गीत, सङ्गीत, नृत्य र अभिनयलाई मुख्य पेसा बनाएर जीवन धान्दै आएका कैयौंँ जाति छन् । तीमध्ये पमरिया पनि एक हो । यो जाति कुन घरमा छोरो जन्मिएको छ भनेर आपैmँ पत्ता लगाई गीत गाउन र नृत्य गर्न पुग्दछन् । यसरी गीत गाउँदा र नृत्य गरे वापत उनीहरूले बक्सिस पाउँछन् र यही बक्सिसबाट आफ्नो जीवनयापन गर्दै आएका छन् । छोरी जन्मेको घरमा भने पमरिया गाउने चलन छैन ।
मिथिलाञ्चलका पमरिया को हुन् र यो परम्परा कसरी सुरु भयो त ? मध्यकालको सुरुतिर राजाहरूको दरबारमा भाट, चारण, सूत, बंदी, वैतालिक आदि परम्परा थियो । यो परम्परामा राजालाई प्रसन्न गराउन उनको वंशको प्रशस्ति गाइन्थ्यो । यस्तैमा मिथिला क्षेत्रमा शासन गर्ने पम्मार वंशी वा परमार वंशी राजाको प्रशस्ति गाउनुलाई ‘पम्मारा’ भनिन्थ्यो । यही पम्मारा गाउनेहरू पछि पमरिया जातिमा परिणत भएको भन्ने भनाइ छ ।
पमरिया भन्नुभन्दा अघि यो जातिलाई कलावन्त भनिन्थ्यो । कलावन्त जातिले गीत र नृत्यद्वारा लोकलाई मनोरञ्जन प्रदान गर्दथ्यो । राज्यबाट संरक्षण पाउँदासम्म यिनीहरू यही अवस्थामा रहे । जब राज्यबाट केही पाउन छाडे अनि यिनीहरू पुत्र जन्ममा गाउँ–गाउँमा गएर नाचगान गरी बक्सिस लिएर आफ्नो गुजारा गर्न थाले । पुत्र जन्ममा मानिस अति प्रसन्न हुने भएकोले पमरियाले रकमका साथै गरगहना पनि धेरै पाउँदै गए । यसबाट यिनलाई गुजारा गर्न त्यति अप्ठ्यारो भएन ।
मिथिलाञ्चलमा डोम, चमार र पमरियाले आ–आफ्नो जीविकाका लागि विभिन्न समूह बनाई गाउँहरू छुट्याएका हुन्छन् । जुन समूहमा जुन गाउँ पर्दछ, त्यस गाउँमा अरू समूहलाई प्रवेश निषेध गरिएको हुन्छ । अर्थात् एउटा पमरिया समूहलाई छुट्याइएको गाउँमा अर्को पमरियाको समूहले कला प्रदर्शन गर्न पाउँदैन । यस्तो गाउँहरूको सीमा क्षेत्रलाई ‘जजमनिका’ भन्ने गरिन्छ । यो क्षेत्र समूहबीचमा खरिद बिक्री पनि हुने गर्छ ।
पमरिया समूहमा तीनजना मुख्य व्यक्ति हुन्छन् । मुख्य नृत्य गर्नेलाई ‘अगुआ’ भनिन्छ । झ्याली बजाउँदै उसको साथ दिनेलाई ‘पछुआ’ भनिन्छ ।
‘शागीर्द’ (सुराही आकारको तालबाजा ) बजाउनेलाई ‘डुगडुगी’ भनिन्छ ।
पमरियाको भेषभूषा लामो केश, घाँटीमा ‘चादर’, टाउकोमा ‘समला’ पनि भनिने ‘मुरेठा’ (पगडी), कम्मरमा जामा, ‘घघरा’ र पाउमा ‘घुँघरु’ हुन्छ ।
पमरियाले सबभन्दा पहिले देवी–देवतासम्बन्धी गीत गाउँछन् । यो गीतलाई ‘सुमिरन’ भनिन्छ । सुमरिन गीतको परम्परा प्रत्येक मैथिली लोकनाट्य नृत्यमा पाइन्छ । त्यसपछि ‘सोहर’ (जन्मगीत), ‘खेलौना’ र ‘बधैया’ गीत गाइन्छ । नृत्य गर्नेले नवजात शिशुलाई काखमा लिएर नृत्य गर्छन् । पमरियामा मुख्य गरी सोहर गाइन्छ । बधैया गीतमा पनि शिशु दीर्घजीवी होस् भन्ने भाव हुन्छ । खेलौना गीत चाहिँ सोहर गीत जस्तै हो । बधैया गीत गाउने बेलामा नृत्य गर्नेले ‘हमर बौआ जीबए’ ‘हमर बाबू जीबए’, ‘हमर नेना जीबए’ आदि बोल बोल्छन् । यस्तै शागीर्द र पछुआ दुवैले ‘एसो लला’ गाइरन्छन् । पमरियालाई फरमाइस गरियो भने ‘नचारी’, ‘महेशवानी’ भजन तथा लोकगीत पनि गाउँछन् । वर्तमान समयमा यो पेसाबाट गुजारा गर्न गाह्रो भएको पमरियाहरूले बताउँदै आएका छन् । त्यसैले उनीहरू अन्य व्यवसाय अँगाल्न बाध्य छन् । व्यवसाय नै सङ्कटमा परेपछि यो परम्परा लोप हुने अवस्थामा पुगेको छ । समयअनुसार उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग पु¥याउन सरोकारवालाको ध्यान जानुका साथै पमरिया गीत–नृत्यको पनि संरक्षण हुन जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?