तुलसीहरि कोइराला
लामो समयसम्म राष्ट्रिय समाचार समितिमा काम गर्नुभएका पत्रकार प्रमोद प्रधान साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । कविता, निबन्ध र समालोचनाका क्षेत्रमा एकसाथ कलम चलाउँदै आउनुभएका प्रधान विशेष गरी बालसाहित्य लेखनका साथै खोज–अन्वेषणमा समेत सक्रिय हुनुहुन्छ । नेपाली बालसाहित्यको इतिहास (२०५७), नेपाली बालवाङ्मय परिचयकोश (२०६६), नेपाली बालसाहित्य सन्दर्भ–सूची (२०७२) हुँदै नेपाली बालवाङ्मय परिचयकोश (२०७५) सम्मको उहाँको अनुसन्धानमूलक लेखनलाई हेर्दा नेपाली बालसाहित्यका क्षेत्रमा समालोचनात्मक अन्वेषण गर्नेमा उहाँ अग्रणी समालोचक देखिनुभएको छ । उहाँको पछिल्लो कृति ‘नेपाली बालवाङ्मय परिचयकोश (२०६४–२०७०) ले यस अवधिमा प्रकाशित नेपाली बालसाहित्यका पुस्तकको विश्लेषणसहितको सूची समेटेको छ ।
एक वर्षमा दुई सयको हाराहारीमा प्रकाशित हुने बालसाहित्यका कृतिलाई समेटेर कोश तयार पार्नु पक्कै पनि सजिलो काम होइन । प्रधानको हकमा भने उहाँ निरन्तर यस क्षेत्रमा लागिपर्नु भएकाले दोस्रो खण्डका रूपमा यो कोश प्रकाशित भएको देखिन्छ । अलिक अगाडि नै तयार पारेर पनि प्रकाशनमा ल्याउनलाई ढिलो भएको भनेर लेखकले स्वीकार गर्नुभएकोले यसभन्दा पछाडि प्रकाशित कृतिहरूका बारेमा पनि उहाँबाट खोज–अनुसन्धान हुँदै आएको छ र तेस्रो भाग पनि छिट्टै प्रकाशनमा आउनसक्छ भन्ने अनुमान गर्न सकिन्छ । यस कोशमा वि.सं. २०६४ देखि २०७० सम्ममा प्रकाशित बाल सामग्रीलाई विधागत रूपमा छुट्याएर शीर्षकसहित प्रस्तुत गरिएको छ । कोशलाई विभिन्न दश अध्याय र दुई परिशिष्ट खण्डमा बाँडिएको छ । जस अनुसार, बालकविता÷बालगीत÷काव्य र गजल शीर्षकमा– २१८, बालकथा– २८४, बाल उपन्यास–४४, बाल नाटक– १९, जीवनी–२१, निबन्ध–१०, चित्रकथा– २९६, अनुवाद– १०८ र विविध सामग्रीका ६८ गरी जम्मा एक हजार ५८ बालकृतिबारे जानकारी दिइएको छ । पुस्तकको मूल विशेषता भनेको विधागतरूपमा लेखकको नामको वर्णानुक्रम अनुसार पुस्तक प्रकाशनको मितिलाई आधार मानेर समाविष्ट गरिएको छ । पुस्तकको प्रकाशक, मुद्रक, संस्करण, पृष्ठसङ्ख्या, चित्रकार, आवरण चित्रकार, सम्पादक र मूल्यसमेत उल्लेख गरेर पुस्तकभित्रका फुटकर शीर्षक पनि दिइएको छ । त्यसैगरी परिशिष्ट खण्डमा बालपुस्तकका संस्थागत प्रकाशन संस्थाहरूको नाम र लेखकहरूको सूची समावेश गरिएको पाइन्छ । पुस्तकमा समेटिएका समग्र विधागत सामग्रीमध्ये चित्रकथा र बालकथाका सामग्री ज्यादा प्रकाशित भएका देखिन्छन् ।
अन्वेषक प्रधानले यस अवधिमा प्रकाशित बाल सामग्रीलाई यथासम्भव समेट्ने प्रयत्न गर्नुभएको छ भन्ने प्रमाणस्वरूप परिशिष्ट खण्ड रहेको छ । यद्यपि बाहिर जिल्लातिरबाट प्रकाशित भएका सामग्रीहरू छुटेका पनि हुनसक्छन् र यसलाई उहाँले स्वीकार्नुभएको पनि छ । उहाँले अघिल्लो कोशमा एक हजार २८० सामग्रीलाई समेट्न सक्नुभएको थियो भने यसमा त्यो सङ्ख्याभन्दा केही कम पुस्तक प्रकाशित भएका देखिन्छ । बाल सामग्रीको प्रकाशन प्रारम्भ खासगरी गोरखापत्रको प्रकाशनसँगै नै हो भनिँदै आएको छ भने बालसाहित्य प्रकाशनको इतिहास चाहिँ लगभग सत्तरी वर्षको छ । बाल साहित्यले बाललबालिकाको बौद्धिक विकासमा मद्दत पु¥याउँछ । उनीहरूको ज्ञानको भण्डार बढाउन र नैतिकवान बनाउन पनि बालसाहित्यले सघाउ पु¥याउँछ तर बाल साहित्यको उद्देश्य नैतिक शिक्षा दिनु मात्रै होइन । पछिल्लो समयमा बालसाहित्य लेखनमा बाढी नै आएको देखिन्छ । जसले पनि लेखिहाल्ने, जे पनि लेखिहाल्ने, बालबालिकाले बोल्ने प्रारम्भिक शब्दहरू राखेर लेखेपछि जे जस्तो लेखे पनि बालसाहित्य भइहाल्छ भन्ने भ्रम धेरै लेखकमा परेको देखिन्छ । यथार्थमा यस्तो लेखनले बाल साहित्यको विकासमा सघाउ पु¥याउँदैन र सङ्ख्या थप्ने काम मात्रै भइरहेको हुन्छ । प्रस्तुत कोशको उद्देश्य सामग्री पर्गेल्नु नभएर सङ्कलन गर्नु भएकाले प्राप्य सामग्रीहरूलाई समेट्ने काम मात्रै भएको हो । उहाँले लगभग चार सय बाल साहित्यकारद्वारा प्रकाशित सामग्रीहरूलाई मेहनतका साथ सङ्कलन गर्नुभएको देखिन्छ । यस अवधिमा केही स्रष्टाका दर्जनौँ कृति प्रकाशित भएका छन् भने केहीका एक वा दुई मात्रै कृति पनि देखिन्छन् । कतिपय स्रष्टाको पुस्तक पढ्न नपाएको मात्रै होइन, धेरैले नामसम्म नसुनेको पनि हुनसक्छन् । यस अर्थमा पनि प्रस्तुत परिचयात्मक कृति सबैका लागि पठनीय र सङ्ग्रहणीय छ । प्रधानको प्रस्तुत पुस्तकमा परेको मेहनत प्रशंसनीय छ ।