logo
२०८१ मंसिर ८ शनिवार



लौहपुरुष एक ऐतिहासिक भाष्य

शनिवार |




प्रा.डा. लक्ष्मणप्रसाद गौतम

 

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा अत्यन्त श्रद्धाका साथ लिइने नाम हो– गणेशमान सिंह । २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेकै कारण उहाँलाई लौहपुरुष पनि भनिन्छ । तत्कालीन राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्र तीन पुस्ताको शासन बेहोर्नुभएका र तीनै पुस्ताका राजासँग प्रजातन्त्रका लागि लड्नुभएका गणेशमान सिंहको लौह व्यक्तित्वकै कारण २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको हो । त्यस्ता महान् व्यक्तित्वलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न राजासमेत विवश भएका थिए ९स्मरणीय छ, त्यतिबेला राजपरिवारबाट जनतालाई तिमी भनिन्थ्यो० ।
गणेशमान सिंहका बारेमा विद्यावारिधि भयो । उहाँका योगदानबारे कतिपय पुस्तक लेखिए, असङ्ख्य लेख लेखिए । यति हुँदाहुँदै पनि परिचयमा उहाँ अधुरै रहनुभयो । अनुसन्धान कहिल्यै पनि पूरा हुँदैन, यो सत्य हो तर जे–जति र जे–जस्ता तथ्यहरू खोजिन्छन् र फेलापारिन्छन्स त्यस आधारमा सत्यको नजिक पुगी पूर्णतातिर उन्मुख भएको अनुसन्धान गर्न धैर्य, लगनशीलता, साधना सबै कुरा चाहिन्छ । जुन कुरा सबैसँग हुँदैन । अनुसन्धान दुष्कर कार्य हो । यस्तो दुष्कर कार्य गर्ने साहस गरेर सफल हुनुभएका व्यक्ति हुनुहुन्छ– हरि गौतम । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा लौहपुरुष गणेशमान सिंहलाई नेपाली क्रान्तिसँग सन्दर्भित गरी पुराणकालीन तथा पाश्चात्य ऐतिहासिक प्रसङ्गहरूका सापेक्षतामा मूल्याङ्कन र पुनर्मूल्याङ्कन गरी चिनाउनुभएको छ । यसरी चिनाइएको ग्रन्थ हो– ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ ९२०७६० । ६७७ पृष्ठको आयाममा विस्तारित यस भीमकाय ग्रन्थमा नेपालको प्रजातान्त्रिक इतिहास र गणेशमान सिंहमाथि भाष्य नै तयार गरिएको छ ।
‘नेपाली क्रान्ति र गणेशानसिं’ कृति २१ अध्याय र परिशिष्टका दुई खण्डसमेत गरी विषयका दृष्टिले २३ अध्यायजस्तो देखिन्छ । अध्ययनलाई व्यवस्थित बनाउनका लागि यसमा २१ अध्यायभित्र ९६ वटा उपशीर्षक व्यवस्थापन गरिएको छ । थोरैमा एउटा उपशीर्षकदेखि बढीमा २१ वटा उपशीर्षकको अध्याय पनि देखिन्छ । यसरी प्रस्तुत कृतिकोे अध्ययन व्यवस्थित छ । पहिलो अध्याय प्रस्तावनाका रूपमा छ भने दोस्रो क्रान्तिको पृष्ठभूमि र गणेशमान सिंहको वंशवर्णन छ । २१ वटा उपशीर्षकको तेस्रो अध्यायमा जनचेतना र नवजागरणका सन्दर्भ विषय बनेका छन् । चौथो अध्यायमा गणेशमान र गङ्गालालको सम्बन्ध, पाँचौँ अध्यायमा नेपाल प्रजापरिषद्सँग गणेशमानको सम्बद्धता, छैटौँ अध्यायमा बलिदानका शिखर पुरुषको सन्दर्भ, सातौँ अध्यायमा नेपालको भद्रगोल जेलदेखि कलकत्तासम्मको गणेशमानको यात्रा, आठौँ अध्यायमा गणेशमानको रोमाञ्चित जीवनका अनेक प्रसङ्ग र नवौँ अध्यायमा गणेशमानको विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीसँगको भेटघाटका प्रसङ्ग प्रमुख विषय बनेका छन् । दसौँ अध्यायमा नेपाली राष्ट्रिय काँग्रेसका प्रसङ्ग, एघारौँ अध्यायमा नेपाली काँग्रेसका सन्दर्भ, बाह्रौँ अध्यायमा जनक्रान्तिको उद्बोधन, तेह्रौँ अध्यायमा २००७ सालको त्रिपक्षीय सरकारका प्रसङ्ग, चौधौँ अध्यायमा २०१५ को आमनिर्वाचन, पन्ध्रौँ अध्यायमा २०१७ देखिको अँध्यारो परिवेश र सोह्रौँ अध्यायमा गणेशमानको निर्वासनका नवीन सन्दर्भ प्रतिपाद्य विषय बनेर आएका छन् । सत्रौँ अध्यायमा आन्दोलनको परिकल्पना, अठारौँ अध्यायमा परिवर्तनको सङ्केत, ‘तमसोमा ज्योतिर्गमय’ शीर्षकको उन्नाइसौँ अध्यायमा गणेशमान सिंहकै नेतृत्वमा भएको २०४६ को अनआन्दोलनको सन्दर्भ र प्रजातन्त्र पुनःस्थापना तथा संविधानका निर्माणसम्मका विषयवस्तु, बीसौँ अध्यायमा २००७ देखि २०४६ सालसम्मका क्रान्तिका चक्रव्यूहहरूको वृत्तान्त र अन्तिम एक्काइसौँ अध्यायमा गणेशमान सिंहको व्यक्तित्व, प्रजातन्त्रका लागि अविश्रान्त यात्रा आएका छन् ।
ग्रन्थका यी अध्यायहरूले तत्तत् विषयबारे गम्भीर सूचना र तथ्यमात्र दिँदैनन्स नेपालको राजनीतिक इतिहासका साथै पौराणिककालीन र प्रासङ्गिक रूपमा विश्वइतिहासका सन्दर्भ पनि गणेशमान सिंह र नेपाली क्रान्तिसँग जोडिएर आउँछन् । अन्त्यमा दिइएका परिशिष्ट खण्डले ग्रन्थको अध्यायका मूल पाठमा समावेश भएका तथ्यहरूको पुष्टि गर्न र व्याख्या, पुनव्र्याख्या गर्न सहयोग पु¥याउँछन् । झन्डै सवा सयजति सन्दर्भग्रन्थ अध्ययन गरेर तयार गरिएको ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ ग्रन्थ नेपाली इतिहासको मानक कृति बन्न पुगेको साक्ष्य ग्रन्थको बाह्य– आन्तरिक स्वरूपले नै स्पष्ट पार्छ । यसका लागि ग्रन्थका प्रणेता हरि गौतमको श्रमसाध्य व्यक्तित्व प्रशंसा गर्न योग्य छ ।
‘नेपाली क्रान्ति र गणेशमान सिंह’ विक्रम संवत् १९०० देखि २०४६ सम्मको अर्थात् १४६ वर्षको ऐतिहासिक दस्तावेज हो, क्रान्तिका कथाको यथार्थ वृत्तान्त हो, विवेचना हो र विश्लेषण पनि हो । गणेशमान सिंहबारे यसपूर्व केही अध्ययनहरू भए पनि ती अध्ययनले पत्ता लगाउन नसकेका र समेट्न नसकेका दुर्लभ तथ्य पनि यस ग्रन्थमा आएका छन् । २०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि गणेशमान सिंह कलकत्ता र बनारसमा निर्वासित भएको घटना सन्दर्भलाई विश्वइतिहासका निर्वासित व्यक्तित्वहरू र हाम्रा पूर्वीय वाङ्मयका ऐतिहासिक, सामाजिक, न्यायिक एवम् राज्यव्यवस्थाका प्रसङ्गहरू जोडेर प्रस्तुत गरिएकाले नवीन तथ्यहरू प्रकट भएका छन् । अर्को कुरा गणेशमान सिंहको स्रष्टा वा सर्जक व्यक्तित्व पनि थियो भन्ने कुरा अहिलेसम्म बाहिर आएको थिएन । ग्रन्थकारले यस कुरालाई समेत तथ्यसहित प्रकाश पार्नुभएको छ ।
नेपालको क्रान्ति र गणेशमानलाई समीकरण गरेर देखाउने सन्दर्भमा पौराणिककालदेखि गणेशमानकालसम्म इतिवृत्त प्रस्तुत गरेर इतिहासलाई विश्लेषणीय र प्रामाणिक बनाइएको छ । तत्कालीन शासन व्यवस्था कस्तो थियो भन्ने सन्दर्भका लागि मनुस्मृति, याज्ञवल्क्य स्मृति, महाभारत, वेद, पुराण, त्रिपिटक आदिका स्रोतसन्दर्भहरू दिएर नेपालका क्रान्ति र गणेशमानको सम्बद्धतासँग तुलना प्रतितुलना गरिएको छ ।
गणेशमान सिंह नेपाली क्रान्तिका पर्याय र उच्च व्यक्तित्वको विम्ब हुनुहुन्छ । जब व्यक्ति सत्ताबाट माथि उठ्छ, त्यसबेला तयार हुन्छ उच्च व्यक्तित्वको विम्ब । अनि ऊ देशको र संसारकै हुन्छ, । यस ग्रन्थमा नेपाली क्रान्ति र गणेशमान केन्द्रमा भए पनि विश्वका विभिन्न क्रान्तिहरू, इतिहास एवम् तिनका सापेक्षमा नेपाली क्रान्तिका सन्दर्भलाई प्रस्तुत गरिएकाले यो ग्रन्थ विवरणात्मकभन्दा बढी विश्लेषणात्मक हुन पुगेको छ । दुर्लभ तथ्यहरूको समाविष्टि यस ग्रन्थको अर्को उल्लेखनीय पक्ष हो । २०४६ को आन्दोलनताका बीबीसी नेपाली सेवा नसुन्ने कोही पनि थिएनन् । सरकारीमातहतका सञ्चारमाध्यमले सही समाचार नदिने र नेपालमा खुला सञ्चार नीति नभएका कारण त्यतिबेला नेपाली सही समाचारका लागि बीबीसीकै भर पर्नुपर्ने स्थितिका कारण त्यसको महŒव बढी थियो । गणेशमान सिंह २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर भएकाले समाचारका विषय उहाँसँगै ठोकिन्थे । यसै सन्दर्भमा बीबीसी नेपाली सेवा र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बोलेका कुरा तिथिमितिसहित उल्लेख गर्नु ठूलो ऐतिहासिक सूचना र तथ्य हो । अर्को कुरा २०४६ को जनआन्दोलनताका पत्रकारहरूले गणेशमान सिंह र अन्य केही नेताहरूसँग लिएका अन्तर्वार्ताहरू समावेश हुनु पनि यस ग्रन्थको उल्लेखनीय पक्ष हो ।
यसैगरी, यो पुस्तक नेपालको प्रजातान्त्रिक इतिहास बुझाउने आधिकारिक ग्रन्थ हुन पुगेको छ भन्ने कुरा यसमा प्रतिपादित विषय विवेचनाबाटै स्पष्ट हुन्छ । ‘ग्रन्थ’ यसकारण कि यसमा ‘पुस्तक’मा हुने विशेषताभन्दा भिन्न ग्रन्थमा हुनुपर्ने विशेषताहरू छन् । गहन अनुसन्धान, तथ्यहरूको सम्पुटन र वैदिक, पौराणिक राज्य व्यवस्थासँग नेपालको राज्य व्यवस्थाको तुलना प्रतितुलनाले यो ग्रन्थ नेपालका क्रान्तिका सन्दर्भको विश्वकोश बन्न पुगेको छ ।
यस ग्रन्थको सबैभन्दा सबल पक्ष भनेको ऐतिहासिक तथ्यहरूको सबलीकरण हो । संस्कृत, अङ्ग्रेजी र विभिन्न तथ्य उद्धरणहरू समावेश गरी त्यस्ता ऐतिहासिक तथ्यहरूको परीक्षण र संपरीक्षणबाट यो ग्रन्थ तयार गरिएकाले ग्रन्थको विश्वसनीयतामा शङ्का गर्ने ठाउँ छैन । यो इतिहासमात्र होइन, यसले नेपाल र नेपालीको डेढ शतकको कालावधिका समाज, संस्कृति, जनजीवन, अर्थव्यवस्था, जीवनशैली आदिको विम्बचित्र उतार्छ । यस ग्रन्थको भाषाशैली पाठकमा सम्मोहन जगाउनेखालको छ । बौद्धिकदेखि सर्वसाधारण सबै पाठकले आफ्नो चेतनाको गच्छेअनुसार यसलाई आस्वादन गर्न सक्छन् । आख्यान पढेजस्तो झल्को दिने यो कृति जीवनीपरक उपन्यास र उपन्यासपरक जीवनीजस्तो लाग्छ । इतिहासको केन्द्रमा जीवनी र उपन्यासलाई परिधि बनाएर घुमाउने यो ग्रन्थ नेपाली क्रान्ति र लौहपुरुष गणेशमान सिंहबारे
‘इन्साइक्लोपेडिया’ नै हो । नेपाली क्रान्तिको इतिहास र गणेशमान सिंहमाथिको पुनर्पठन र एक ऐतिहसिक भाष्य हो, महाभाष्य हो । यति ठूलो भाष्य तयार गर्दा पनि लेखक हरि गौतमले मैले भयङ्कर काम गरेँ भनेर अहम् देखाउनुभएको छैन । बरु उत्तरआधुनिक चिन्तनले जस्तै उनै भएका कुरालाई जोडजाड पारेको हुँ भन्नुभएको छ । महाकवि कालीदासले त्यत्रो ‘रघुवंश’ महाकाव्य लेख्दा पनि बामपुड्केले ठूलो रूखको फल टिप्न खोजेझैँ मात्र गरेको हुँ भनेर विनयशीलता देखाएझैँ त्यही उदाहरण देखाएर उहाँले पनि विनयशीलता देखाउनुभएको छ । शीर्षक–उपशीर्षक र अध्याय व्यवस्थापनका सामान्य सीमा र थोरै ठाउँका पुनरावृत्तिबाहेक ग्रन्थको उचाइलाई केहीले बाधा पारेको छैन । अन्त्यमा एउटा विज्ञापनको भाषा सापटी मागेर भन्छु, ‘यो ग्रन्थ नपढे पछि परिन्छ ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?