logo
२०८१ मंसिर ८ शनिवार



निबन्ध: गाउँ बदलियो

शनिवार |


निबन्ध:  गाउँ बदलियो


हेमराज पाण्डे

अञ्जुलीमा उभाएर खोलानालाका शुद्ध पानी कलकली पिउँदा शरीरमा ऊर्जा सञ्चार हुन्थ्यो । गाउँकै पहाडको खोँचबाट हाम्फाल्ने निख्खर छाँगा–छहराको मीठो धुनले जूनेली रात बिउताउँथ्यो । मेलापर्वका रौनकले वर्षैभरि गाउँघरमा जीवन्तता पाउँथे । प्रेम, सद्भाव, सहयोग आपसमा फुल्थ्यो, फल्थ्यो, झाँगिन्थ्यो, लहराउँथ्यो र मग्मगाउँथ्यो । सामाजिक एकता, सहिष्णुता र सामज्जस्यताको गरिमामय पुरानोे संस्कारजन्य परिवेश गाउँमा अब रहेन । सिर्जना, कल्पना र अध्ययनको ऊर्जाशील एकान्तमय गाउँ एकाएक बदलियो ।
रोजगारको क्रममा युवा जनशक्ति पलायनको विपत्तिले अहिले गाउँ त्राहीमाम छ । हाकाहाकी चोरले दिनदहाडै सर्लक्कै बढारे पनि पत्तो नपाइने भएको छ । मणि हराएको नागसरह सुनसान गाउँ अहिले निर्तागतले गालिएको मधौरोजस्तै छ । परदेसिएका छोराछोरीको प्रतीक्षामा तुलसीमठ कुरेर बसेका वृद्धवृद्धाको कन्तबिजोग छ । तटबन्धविहीन खेतबारीमाथि बाढीपहिरोले हैकम जमाउँदै छ । जीर्ण घर गर्लम्म ढल्ने अवस्थामा छन् । धेर–थोर भएका खेतबारी सम्याउन ट्याक्टरको सहारा लिइन्छ । रेसुङ्गा, सराङकोटका पर्वतीय चुचुरामाथि झुल्किन र डुब्न आँटेको घामले कोरेको रक्तिम चिल्लो पोस्टकार्डको प्रतिविम्बको आजभोलि हेक्का हुँदैन ।
आधुनिक समयको विकासले गाउँलाई अतुलनीय उपहार सुम्पिँदै छ । प्रौढ साक्षर कार्यक्रम, विपन्न वर्गका महिला स्वरोजगार सशक्तीकरण कार्यक्रम, आमा समूहको गठन, नारी जागरण अभियान कार्यक्रमले गाउँको काँचुली फेरिँदै छ । खुला दिसामुक्त समाजको परिकल्पना र युवाको दस्ता भटाभट गठन हुँदै छन् गाउँमा । स्वास्थ्य, शिक्षा, सुरक्षा, गाँस, बास र कपासजस्ता आधारभूत कार्यक्रम देशभर पैmलँदै छन् । यता बदलिँदो प्रगति, विकास र आत्मनिर्भरतासँगै विकृति, विसङ्गति र विरोधाभासपूर्ण विभेदको दलदलमा गाउँ त्यत्तिकै भासिँदै छ । ग्रामीणमुखी कुटोकोदालो खेलाउने किसानका पौरखी हातहरू ऐस–आराम र अमनचैनको चुरीफुरीमा मस्ताराम छन् ।
विषादीयुक्त खाद्यान्न सेवनले बुङ्चो शरीर टाक्सिएर जुङ्खुरिँदै छ । आँत हरहर पार्ने स्वच्छ हावा, हरित वनका खुला टाकुरीहरू बुङ्बुङ्ती उडेको दुर्गन्धित धूलोले भक्रान छन् । प्रकृतिको सुन्दर संरचनाको सन्तुलित गर्भमा डोजरले चररर चिरेर विरूप बनाइँदै छ । विकासको नाउँमा भू–क्षय, बाढी, भवितव्य र विनाशको हर्कत निम्त्याइँदै छ । लङ्काको होलीसरह धूलोमा पीरो धूवाँ डकार्दै गाडीहरू मन्द्राउँछन् ।
चुत्रो, ऐँसेलु टिप्दै फलफूलको स्वादमा झुम्मिने हातहरू आजभोलि गाउँमा चिथोरिँदैनन् । मुसेखरी खुर्कने पर्वतीय बालाहरू अन्तरे डोको नाम्लोमा घर–बेँसी गर्दै नारिँदैनन् । विद्यार्थी, गोठाला, खेतालाको दोपहरे खाजा चिया, चाउचाउ, बिस्कुटको चुस्कीमा डकारिन्छ । फोन, मोबाइल, इमेल, इन्टरनेट, स्काइभको सहारामा संसारका कुना–कुनासम्म दैनिक संवाद दृश्य विनिमय गरिन्छ । हली दाइहरू रेडियो बजाउँदै गाउँ सयरको घुमफिरमा ठाँटिन्छन् । अर्म–पर्म, गाउँ–बेँसी, मेलापातको सामूहिक सौदाबाजी एकादेशको कथा बनेको छ । हँसिया अर्जापेर चमत्कार देखाउने आरने दाइको आरनमा गोल पोलिँदैन । माटाका भाँडा बनाउने कुमाले दाइ हर्न बजाउँदै गाडीमा सयर मार्छन् । डोको बुन्ने चित्रेदाइ, काठका ठेकी–हर्पे बनाउनेहरूले परम्परागत पेसा त्यागेका छन् ।
लौरो छिर्लिङ्छिर्लिङ् बजाउँदै डाँक चलान गर्ने हुलाकी दाइको घोडेटो बाटोमा नामनिशाना मेटियो । पिटीपिटी खुर्पेटो बजाउँदै डोको नाम्लोमा सल्लेरी खर्क उक्लिने घाँसीदाइको अत्तोपत्तो छैन । नुन–तेलको हाट गर्ने जाले डोको, सारङ्गी, हलो, हँसिया उदाउने उदिन, ढिकी, जाँतो, तेल पेल्ने कोल, दाम्लो, नाम्लोको अर्थ खोज्न गाउँले विद्यार्थी नेपाली वृहत् शब्दकोशको ढड्डा पल्टाउँछन् ।
प्याउली ओढेर फर्फराइरहेका चिल्ला पातहरू टप्प टिपेर पिपिरी बजाउँदै रमाउने जादुमय धुन अलप भइसकेको छ । मादल, मुर्चुङ्गा र बाँसुरी बजाउँदै गाउँघर व्युँताउने लोकसंस्कृति विलुप्त भइसकेको छ । तीतेपाती, गानेगुर्जाे, बिलाजोर, आँक, गोठेटाटो, इमिलिया, माल्कोनो, रिठो, दालचिनी, सिप्लीगानको महŒव भिल्लको देशमा मणिसरह भएको छ, गाउँमा ।
अस्थु समाधिमा पु¥याउने मलामीहरू टाइसुटमा ठाँटिएर बिस्कुट, चाउचाउको बुझो कोच्दै गाडीमाथि बेहिसाब हुर्रिन्छन् । तिहारको देउसी भैलो, दसैँको देवी–अर्चना, मालसिरी गीत लोप भइसकेको छ । एक हातमा फूलपाती र अर्को हातमा साजीअक्षतासहित हरितालिका नाच्ने व्रतालु महिला रोटेपिङमा उधुम जोश उराल्दै मच्किँदैनन् । चिसो पानीको प्यास मेट्ने तृषित बटुवाका इच्छाहरू अधुरै रहन्छन् । माघे–सङ्क्रान्ति, श्रावण सङ्क्रान्ति, दशहरा, कुशेऔँसी, घन्टाकर्णका सनातन पद्धति विलुप्त हुँदै छन् गाउँमा । बेलिबटन र मेक्सी कुर्तासलवारमा ठाँटिएका लक्काजवान युवकयुवती गाडी कुद्ने बुर्बुरे बाटोको घुम्ती मोडमा नयाँ भट्टी थापेर थरीथरीका ग्राहकको विज्ञापन गर्छन् ।
चरनबाट गोधूलि साँझमा फर्किएका गाई बथानको लामा लस्कर सपनासरह भइसकेको छ । ठेकोमा मही मथ्दा, गौवामा भैँसी दुहुँदा आरोग्य व्यायामको जादुमय घारघुर आवाजले बिहानी व्युँत्याउँथ्यो । घरघरका गृहिणी महिला ढिकीजाँतोमा नारिँदा छ्याङ्ग उज्यालो हुन्थ्यो । गाईबस्तुको गोबर–सोत्तर गरेर हातखुट्टा खल्यानमा खलखली पखाल्दा लुतो, खटिरो बिसेक हुन्थ्यो । गाउँघरमा मर्दा–पर्दा जनलहरको आकस्मिक भेटले कोकोहोलो मच्चिन्थ्यो । नाग वायुलाई चढाएर र आगोको अगुल्टोमा लुतो फालेर हारी बसेका पेटारे नयाँ मकै एवम् वर्षे तुलफूल सेवनको सुरुवात गर्ने वैज्ञानिक मापदण्ड थियो । हाहा र हुहु गर्दै अन्नबालीमा टिन ठट्टाएर कुटैया, मलेवा एवम् सुगा बथान बालीनालीमा धपाउँदा प्रभाती परिवेश नै गुञ्जायमान हुन्थ्यो । घर–आँगनमा फलेका दाना मुखमा चपाउँदै वनकुसुमको फेरो भएर घरबेँसी गर्दा बाटो काटेको पत्तै हुँदैनथ्यो । विषम रातमा खोलानाला, मसानघाट र सत्तीगौँडाको यात्रा गर्दा भूतप्रेत, निदेनी–डङ्किनी निशाचरबाट छलिन ॐ भूपतये स्वाहाःका मन्त्रवाणी अलाप्नु अपरिहार्य थियो गाउँमा ।
निर्दयी ठन्डी आगमनको सङ्केतमा आकाश धर्ती बसमा पार्दै र रमाउँदै गौँथलीले वेग मार्थे । प्रकृतिका कुचीकार गिद्ध बथान अन्तिम जाडोबाट छलिन जनावरको सिनोबाट अघाएर गोलाकारमा फन्का मार्दै न्यानो आकाश सयर गर्थे । क¥याङकुरुङका ताँती पङ्ख खोलेर जाडो छल्न शारदीय आकाशको उडान गर्दै हिमालबाट तराईतर्फ ओर्लिन्थे । तृषित काकाकुल छट्पटिँदो प्यास मेटाउन रूखका टोड्का चहार्दै भौँतारिन्थे र वर्षा आरम्भका लागि इन्द्र देवतासँग काकाकुल आवाजमा व्यग्रता जाहेर गर्थे । टुकी, पानस, सुकुन्दा, सल्लाको दियालो र सजीवनको दाना घरघरमा बालेर गाउँवासी अँध्यारो रातलाई परास्त गर्थे ।
बाबुको दौराको फेरो र आमाको धोतीको टुप्पो समातेर बेँसी र पँधेरा गर्ने बालबालिकाको दिनचर्याले बाल उमङ्गको झल्को दिन्थ्यो । कालोपाटी, खरीढुङ्गासँगै ठूलो वर्णमाला पढेर ग्रामीण युवा दीक्षित बन्थे । परदेशी लोग्नेको चिठ्ठीपत्रको सन्देश सुनेर मनको मर्म थाम्न नसकी युवतीहरू अकारण आँसु खसाल्थे । पुरुषहरू आफूजस्तै साथीको खोजीमा भौँतारिँदै मुरली बजाएर गाउँ नै व्युँताउँथे । सूचीकारले कलको फन्को खटटट फन्काएर घुमाउँदा दसैँ आगमनको तारतम्यसँगै नयाँ नानाचाचामा रमाउन आतुर लालाबालाको उमङ्ग नै बेग्लै हुन्थ्यो ।
चमर मर्काउँदै सिरसिरे बतास फ्याँक्ने हावादारी सल्लाको सुसेलीले टीबी, निमोनियाको रोग फुमन्तर हुन्थ्यो । सल्लेरी तल लालीगुराँसको डालीमा बसेर मायाप्रीतिका प्रतीक तामेढुकुरका जोडी प्रेम सन्लाप विनिमय गर्थे । रूखको झाङमा बसेर वसन्त ऋतुको आगमनमा कोइली कुहुकुहु रुन्चे डाँकोमा विरह–वेदना जाहेर गथ्र्याे । मेवा, खल्दुका फल अघाउन्जेल ठुँगेर ढाडिएका न्याउली न्याउ–न्याउ विरह पोख्थे । कबड्डी, लारी विङ्गो, आटुलो बाटुलो, मुसो, बिरालो, टालाटुली, राइँचुईं खेल्दै विशाल प्राकृतिक रङ्गशालायुक्त खुला चौर र घाँसेमैदानमा रमाउँदा बालापनको आनन्द नै बेग्लै हुन्थ्यो । खर्कबेँसीको रनवनमा रमाउँदा स्वर्गका कल्पना तोडिन्थे ।
नागबेली शैलपुत्री बैँसका डाली नाच्दानाच्दै थाकेकी लज्जावती हरित सुन्दरीसरह धीर लयमा मर्किन्थे । विशाल फाँटमा धानका गाँज सुम्सुम्याउँदै प्राकृतिक जादुमय लहरी नाचको तारतम्यले सबै ऋतुका ऐश्वर्य बिर्साइदिन्थ्यो । अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े हिमालका गाथा हेरेर गाउँ नै भुलिरहेको महिमामय कथा थियो । त्यही पुरानो गाउँ आज आडम्बरी नखरमाउलो परिवेशमा बदलिएको देख्दा आफूलाई पनि बुढ्यौलीको लप्कोले लपेटेको भान हुन्छ । घर्किसकेको उमेरले बिदाइका हात हल्लाउँदै ख्यालठट्टा पो गरेको हो कि ? जस्तो भान हुन्छ । यसरी परिवर्तन र विकाससँगै विनाशद्वारा डामाडोल बनेको आडम्बरी गाउँ देख्दा आफैँलाई विपना पनि सपना पो हो कि जस्तो भान हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?