logo
२०८१ मंसिर ८ शनिवार



सौर्य किरणको शक्ति

शनिवार |


सौर्य किरणको शक्ति


सरोज अधिकारी

सूर्यविना पृथ्वीमा जीवन सम्भव देखिँदैन । सूर्य उदयसँगै मनुष्यका साथै सारा जीवजन्तु, कीटपतङ्ग, रुखबिरुवा आदिले नयाँ दिन पाउँछन् । प्रकृतिको यो अनुपम वरदानलाई सृष्टिको सुरुदेखि नै समस्त जीव र वनस्पतिले लिँदै आएका छन् तर निकै बाठो प्राणीको रूपमा रहेको मनुष्यले भने आधुनिक जीवनशैली अपनाउँदा सूर्यको दर्शन र त्यसको किरणबाट पाउने लाभ चाहिँदो मात्रामा लिन सकेको छैन । यो लाभ नलिँदा अनेक प्रकारका रोग मानिसमा बढ्न थालेको प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूको मत रहँदै आएको छ । सौर्य किरण सबैका लागि हो, यसमा कुनै भेदभाव हुँदैन तर सौर्य किरणबाट टाढा रहँदा हुने नकारात्मक परिणाम भने भोग्नुपर्ने हुन्छ ।
इन्टरनेटको प्रयोग व्यापक हुँदै जाँदा बाहिरी दुनियाँमा रम्ने विषय डाँडापारिको घाम बन्दैछ । कामकाजदेखि व्यायामसम्म घरभित्रै उपलब्ध हुनाले मानिस घर बाहिरभन्दा भित्री संसारमा (इन्डोर) रमाउने क्रम बढ्दो छ । सौर्यको किरणबाट वञ्चित हुँदा हड्डीको समस्या, अवसाद, मधुमेह, थाइराइड, पेटसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । यस्तै बालबालिकामा रिसाउने, कराउने, नटेर्ने, झर्कने जस्ता समस्या निम्तिनुका साथै स्मरणशक्तिमा ह्रास आउन सक्छ । युरोपका कतिपय मुलुकमा पर्याप्त घाम नलाग्ने समस्याका कारण सिजनल इफेक्टिभ डिसअर्डर र अवसाद जस्ता बिरामी बढेको तथ्याङ्कले देखाएका छन् । प्रथम विश्वयुद्धताका जर्मनीमा घाइते सैनिकको उपचारमा सूर्य किरण चिकित्साको प्रयोग भएको बताइन्छ । इटालीमा सौर्य किरण चिकित्साको अस्पताल नै खोलिएको छ । यस अस्पतालमा पर्याप्त घाम लाग्ने कोठामा राखेर बिरामीलाई उपचार गर्दा छिटो निको भएको तथ्य सार्वजनिक भएको छ ।
प्राकृतिक चिकित्साविधि अन्तर्गतको यस पद्धतिले व्यक्तिलाई प्रकृतिसँगको तादात्म्य बढाएर उपचार गर्ने भएकाले यसबाट लाभ लिन केही समय अवश्य लाग्न सक्छ तर जडबाट नै रोग निर्मूल पार्न यो पद्धति निकै उपयोगी र सस्तो छ । समग्र जीवनको चमकका लागि पनि सूर्यसँगको सामीप्य अत्यावश्यक छ । सूर्यको किरण शरीरमा परेपछि भिटामिन ‘डी’ बन्ने तथ्य आधुनिक चिकित्सा पद्धतिले पनि उल्लेख गरेको छ ।

नेपाली परम्परा
खाद्यवस्तुमा भएका नकारात्मक तत्वका साथै कीटपतङ्ग नष्ट हुने विश्वासका साथ यसलाई घाममा सुकाउने हाम्रो परम्परा हो । पौष्टिक तत्वमा हानि नपुग्ने गरी सुकाएर खाद्यवस्तुको लामो समयसम्म संरक्षण गर्न घाममा सुकाइन्छ । सुत्केरी र बच्चालाई घाममा तेल लगाउने परम्पराले बच्चाको विकासमा सघाउ पुग्नुका साथै सुत्केरी आमाको शरीर स्वस्थ राख्न पनि मद्दत गर्छ । तर त्यस्तो अवस्थाको अन्त्य हुँदै गएको छ । यसले आमा र बच्चामा हड्डीको समस्या, चिसोजन्य रोगको समस्या बढ्न थालेको पाइन्छ । बुढाबुढीका लागि जाडोको घाम अमृत समान नै हो । जलविद्युत् नपुगेका ठाउँमा सौर्य टुकी बत्ती, पानी तान्न, पानी तताउन सूर्य किरण प्रयोग हुँदै आएको पनि छ ।

चिकित्सा विधि
सौर्य किरणमा रातो, आकाशे, पहेँलो, बैजनी, सुन्तला, नीलो, हरियो गरी सात रङ हुन्छन् । प्राकृतिक चिकित्सामा मानिसको शरीरमा जुन रङको कमी भएर रोग निम्तिएको हुन्छ, सोही रङको प्रयोग गर्दै उपचार गरिन्छ । उपचारमा सही समय, सही स्थान, सही मात्रा, सही तरिका जरुरी हुन्छ । सूर्य किरण चिकित्सा सोझै सूर्य स्नानमार्फत वा सूर्यका किरणलाई अन्य माध्यमबाट पनि प्रयोग गर्न सकिन्छ । जस्तै– थर्मोलियोम बाकसमा रङ्गीन सिसा राखेर त्यसमा रोगीलाई सुताएर आवश्यक अङ्गमा आवश्यक रङको सिसाबाट सूर्यको किरण पठाएर, प्लास्टिकको विभिन्न रङको ढाक्ने थैलो बनाएर त्यसमा घाँटीसम्म बेरिएर टाउकोमा भिजेको कपडा राख्दै बसेर प्रयोग गर्न सकिन्छ । सोभैm गरिने उपचारमा सेलोफेनको विभिन्न रङको प्लास्टिक सम्बन्धित अङ्गमा बाँधेर पनि बस्न सकिन्छ ।
यस्तै, विभिन्न रङको बोतलमा पानी तथा तेल घाममा राखेर तयार पारिएको औषधिजन्य पानी वा तेलबाट पनि उपचार गर्न सकिन्छ । विभिन्न रङको बोतलमा तीन भाग पानी राखेर बोतललाई छायाँ नपर्ने गरी घाममा हरेक दिन सात–आठ घण्टा काठमाथि राख्ने । यसरी तीन दिन जति लगातार घाममा राख्दा पानीको बोतलको माथिको भागमा बाफ जस्तो देखिएपछि सूर्य किरणको प्रभावयुक्त पानी तयार भएको मानिन्छ ।
यसैगरी तेललाई पनि सूर्य किरणको प्रभावबाट औषधि बनाउन सकिन्छ तर तेलका लागि भने करिब ४० दिन घाममा राख्नु जरुरी हुन्छ । यसरी तयार पारिएको तेल विशेष गरी कफजन्य रोग बाथ, पक्षघात आदिमा उपयोगी हुने मानिँदै आएको छ । सूर्य किरण चिकित्सामा रोगीको प्रकृति र अवस्थामा ध्यान दिनुपर्छ । मात्रा नमिल्दा वा कडा घाममा गरिने उपचारले हानि पनि पु¥याउन सक्छ । सामान्य व्यक्तिले दैनिक ३० देखि ४५ मिनेट बिहान सूर्य स्नान गर्दा निकै फाइदा हुन्छ । गर्मी धेरै भएको अनुभव भएमा टाउको छायामा र शरीर मात्र घाममा राख्न वा टाउकोमा कपडा पनि राख्न सकिन्छ ।
सूर्य किरण चिकित्साबाट उच्च रक्तचाप, थाइराइड, मधुमेह, छालाको समस्या, हड्डीको समस्या, अवसाद, सिजनल इफेक्टिभ डिसअर्डर, पेटको रोग आदिमा प्रत्यक्ष फाइदा पुग्छ । त्यसका अतिरिक्त सूर्यको किरण हाम्रो शरीरको तन्ुत र कोषमा पुग्ने हुनाले त्यसले प्रत्यक्ष लाभ पु¥याउँछ । आँखाबाट लिने किरणले भने दिमागको अवस्था चुस्त राख्न मद्दत पुग्छ । बालबालिकामा स्मरणशक्ति र धीरताको विकास हुन्छ । यसबाट विभिन्न २०० प्रकारका रोगको उपचारमा लाभ लिन सकिन्छ ।
आयुर्वेदमा मानिसमा लाग्ने रोगलाई तीन प्रकारमा विभाजन गरिएको छ । कफजन्य रोग, वातजन्य रोग र पित्तजन्य रोग । सूर्यको किरणबाट तयार पारिएको पानी वा तेल विशेष गरी रोगको रङ अनुसार उपचारमा प्रयोग हुने गरेको पाइन्छ । कफजन्य रोगमा पहेँलो, रातो र सुन्तला रङको प्रयोग गरी तयार पारिएको सूर्य किरणयुक्त पानी वा तेलको प्रयोग गरिन्छ । पित्तजन्य रोगमा वैजनी, हल्का नीलो र नीलो रङको प्रयोग गरिन्छ भने वातजन्य रोगमा हरियो र सेतो रङको प्रयोग हुँदै आएको छ । यो पानीको मात्रा बालबालिकाका लागि एक चिया चम्चा र वयस्कका लागि ५० मिलिलिटरसम्म दैनिक तीनपटक पिलाउन सकिन्छ । यस उपचार पद्धतिले कुनै ‘साइड इफेक्ट’ भने निम्त्याउँदैन ।

धार्मिक महत्त्व
पितासमान मानेर हिन्दुहरू सूर्य नारायणलाई पुज्छन् । बिहानै सूर्यलाई जल चढाएर मन्त्रसहित आराधना गर्ने प्रचलन छ । ग्रहदोष अन्त्यका लागि ‘ॐ हां हीं हं सः सूर्याय नमः’ मन्त्रोच्चारण गरी आराधना गरिन्छ । सूर्यको आराधनाले परिवारमा सुख शान्ति छाउने विश्वास पनि गरिन्छ । छठपर्वमा सूर्यको नै पूजा गरिन्छ । सूर्यदेवको आराधना नित्य गरिए पनि आइतबारको दिन व्रत बसेर विशेष पूजा गरिन्छ । यस दिन काठमाडौँको पशुपतिनाथ मन्दिर पूर्वपट्टि रहेको सूर्य देवताको मन्दिरमा दर्शनार्थीको विशेष भीड रहन्छ ।
सूर्य देवताको २१ नामको स्तुतिमा बिहान स्नान गरी उदाउँदो सूर्यलाई पानी चढाएपछि नमस्कार मुद्रामा बसेर यस प्रकारले लिइन्छ ।
१ विकर्तन २ विवस्वान ३ मार्तण्ड ४ भाष्कर ५ रवि ६ लोकप्रकाशक ७ श्रीमान् ८ लोकचक्षु ९ गृहेश्वर १० लोकसाक्षी ११ त्रिलोकेश १२ कर्ता १३ हर्ता १४ तमिस्त्रहा १५ तपन १६ तापन १७ शुचि १८ सप्तास्ववाहन १९ गभस्तिहस्त २० ब्रह्मा २१ सर्वदेवनमस्कृत सूर्यको उपासनाका लागि ध्यान मन्त्रमा सूर्यको प्रकाश चारैतर्फ फैलिएको अनुभव गरी आफ्नो आज्ञाचक्रमा ध्यान लगाउँदै आँखा बन्द गरेर उपासना गरिन्छ ।
जपाकुसुम संकाशं काश्यपेयं महाद्युतिम् ।
तमोरिं सर्वपापघ्नं, प्रणतोस्मि दिवाकरम् ।।


योगमा सूर्य नमस्कार

ॐ मित्राय नमः नमस्कार मुद्रा (श्वास प्रश्वास सामान्य)
ॐ रवये नमः हस्तउत्थानासन (श्वास लिँदै आन्तरिक कुम्भकमा बस्ने)
ॐ सूर्याय नमः पादहस्तासन (श्वास छाड्दै बाह्य कुम्भकमा बस्ने)
ॐ भानवे नमः अश्व सञ्चालन मुद्रा (दाहिने खुट्टा दुई हातको बीचमा राख्दै पछाडिको खुट्टा तन्काउने, श्वास तान्दै भित्री कुम्भकमा बस्ने)
ॐ खगय नमः पर्वताशन (पछाडिको दुई खुट्टा जोड्ने र भुइँमा मचक्क टेक्ने, नाभिमा हेर्दै श्वास छोड्दै बाह्य कुम्भकमा बस्ने)
ॐ पुष्णे नमः दुई खुट्टा, दुई घँुडा, दुई हात, छाती र निधारलगायत आठ अङ्गले (अष्टाङ्ग नमन) भुइँमा टेक्ने र श्वास प्रश्वास सामान्य
ॐ हिरण्यगर्भाय नमः पूर्ण भुजङ्ग आसनमा जाने (श्वास तान्दै भित्री कुम्भकमा बस्ने)
ॐ मरिचय नमः पुनः पर्वतासन
ॐ आदित्याय नमः पुनः अश्व सञ्चालन मुद्रा
ॐ सवित्रे नमः पुनः पादहस्तासन
ॐ अर्काय नमः पुनः हस्तउत्थानासन
ॐ भाष्कराय नमः पुनः नमस्कार मुद्रा

(लेखक गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?