logo
२०८१ मंसिर ८ शनिवार



तीतेमाछाको मीठो कहानी

शनिवार |


तीतेमाछाको मीठो कहानी



नारायण तुम्बापो

पाँचथरको उत्तरपूर्वी खोलाहरूमा तीतेमाछा नामले चिनिने रैथाने माछा पाइन्छ । अन्य माछाभन्दा मीठो तर केही तीतो पनि हुने भएकोले यसलाई तीतेमाछा भनिएको हो । यो माछाको जीवनचक्र अचम्मको छ । प्रायः हातका बुढीऔँला जत्रा र समान आकारका यी माछाले फुल पार्ने समय अचम्मै पार्छन् । यी माछा फुल पार्न रमितै लाग्ने गरी हुल कसेर खोलाको मुहानमा उक्लिन्छन् । मुहानमा पुगेपछि फुल पारेर फेरि उँधो झर्छन् । फुलबाट निस्केका भुरा पनि बढेपछि खोलाको मूलप्रवाहसँगै उँधो नै झर्छन् । ओर्लिएका तीतेमाछाका भुरा वर्ष दिनपछि आफू जन्मिएकै थलोमा जानुपर्ने चलन पछ्याउँछन् । यही बेला मान्छेको शिकार बन्छन् ।
विचरणका क्रममा छरिएर जहाँजता पुगे पनि फुल पार्ने समय एकत्रित हुने तीतेमाछाको अर्को विशेषता हो । तीतेमाछाको एकत्रित लस्कर अजिङ्गर जस्तै लाग्ने डोलिएको आकारमा हुन्छ । लस्कर एक मिटरको गोलाइमा दुईदेखि २० मिटरसम्म हुन्छ । यो दृश्य पहिलोपल्ट देख्नेको मनमा डर नै पैदा हुन्छ । यस्तो उदेकलाग्दो शैलीले तीतेमाछा उँभो लाग्दा खोलै बढेर उँभोतर्पm बगे झैँ भान हुन्छ । उक्ँिलदा पोथी अघिअघि भाले पछिपछि हुन्छन् । मुहानमा पुग्ने बेला भने भाले अगाडि हुन्छन् । पोथीले फुल पारेको २२ दिनपछि मुहानमा गएर हेर्ने हो भने फेरि रोमाञ्चित भइन्छ । फूलबाट निस्केका भुरा पोखिएका चामलका दाना पानीमा बगे भैmँ गरी ओर्लन्छन् । एउटै मुहानमा तीतेमाछाका दुई जत्थासम्म फुल पार्न पुग्छन् । पहिलो जत्थाको बच्चा हुर्किएर झरेको थाहा पाएपछि मात्रै अर्को जत्था सो मुहानमा उक्लिन्छन् । यी माछाले जेठदेखि कात्तिकसम्म फुल पार्छन् । तीतेमाछाका आ–आफ्नै मुहान छन् । यो साल जुन मुहान र तिथिमितिमा फुल पारेको छ, अर्को साल यही समयलाई पछ्याउँछन् । आकाश गड्गडाएको समयमा यी माछा फुल पार्न बढी आकर्षित हुन्छन् । जिज्ञासाको विषय– आखिर तीतेमाछालाई फुल पार्न किन मुहान नै चाहिन्छ ! सायद मुहानको पानी धेरै सफा भएर पनि हुनसक्छ । तीतेमाछाले फुल पार्ने समयमा यहाँका खोलाको रौनक नै बेग्लै हुन्छ ।

कहाँ–कहाँ पाइन्छ ?
तीतेमाछा पा“चथर याङ्वरक गाउँपालिका–१, च्याङ्थापुको मेवा र २ वडाको फलैँचाका खोलामा धेरै पाइन्छ । मेवाको नाकदह, गुरुङगाउँ र ठिग्गेपुर पुछार, पेरुङ्गेलगायत ठाउँको १५ वटा खोलामा यो माछा देखापरेको छ । इवाको बालुवानी, लुङ्हङ्, खुङ्खोला, चुहानगाउँ, लामेदुवानी, ईवालगायत ठाउँमा पनि ३० वटा नदीका मुहान भेटिएका छन् । अहिले लोप भएर मेवाको सात र इवाको १२ वटा खोलाको मुहानमा मात्र तीतेमाछा पाइन्छन् । फालेलुङ गाउँपालिकाको सिदिन, प्राङ्बुङ सीमामा बग्ने नुवाखोला, मेमेङ, प्राङ्बुङबीचको हेवाखोला सिरानमा पनि तीतेमाछा पाइन्छन् । पाँचथर ताप्लेजुङ सीमाको काबेली र ताप्लेजुङको मेवा खोलामा पनि फाट्टफुट्ट पाइने स्थानीयको भनाइ छ । सङ्खुवासभा क्षेत्रका खोलामा पनि तीतेमाछा भेटिएको बताइन्छ ।

माछापालन गर्ने तरिका
माछापालन पोखरीमा मात्र गर्ने चलन छ । खोलामा माछापालन गर्ने कुरा सुन्दा आश्चर्य लाग्न सक्छ । च्याङ्थापुको मेवा र फलैँचाको इवामा तीतेमाछाको पालन परम्परादेखि नै हुँदै आएको छ । तीतेमाछा फुल पार्न आउँदा बीउको रूपमा नयाँ मुहानमा लगेर छाडिन्छ । यसलाई स्थानीयस्तरमा ‘माछा रोप्नु’ भनिन्छ । त्यहाँ जन्मिने भुराले पछि नयाँ मुहानमा फुल पार्न आउँछ । यो क्रमलाई माछा फल्न थालेको मानिन्छ । यसैको निरन्तरतालाई रैथानेले माछाखेती अथ्र्याउँछन् । च्याङ्थापुको मेवाका मुहानमा पाइने तीतेमाछा रोपेपछि फल्न थालेको बताइन्छ । नयाँ मुहानमा जसले माछा रोप्यो उसैले संरक्षण गरेर उपभोग गर्ने चलन छ । नयाँ मुहानमा लगेर छोडेको माउलाई फुल पार्न दिएर सिकार गर्नैपर्ने चलन छ । माउ उम्कियो भने उसले नयाँ ठाउँमा जन्मिने सबै आफ्ना भुरा साविक थलोमा फिर्ता लान्छन् भन्ने धारणा छ ।

यसरी सिकार गरिन्छ
सजिलो गरी धेरै तीतेमाछा मार्न समय पर्खनैपर्छ । उँभौली र उँधौली दुई तरिकाले तीतेमाछाको सिकार गरिन्छ । उँभो आउँदा तीतेमाछा समाउनुलाई उँभौली भनिन्छ भने फुल पारेर उँधो फर्किंंदा सिकार गर्नुलाई उँधौली । धेरै उँभो आएकै बेला मुहानको क्षमता हेरी केहीलाई छोडेर बाँकी समाइन्छ । यो तरिकालाई नै उँभौली भनिन्छ । थोरै उँभो आए पूरैलाई पछिका लागि छोडेर फर्किने क्रममा उँधौलीका रूपमा मारिन्छ । आफ्नो फुलमा आफै क्षति गर्ने गरी धेरै तीतेमाछा आए केहीलाई मात्र छाडिन्छ । प्रायः खेतीकै रुपमा छाडेपछि मात्रै तीतेमाछाको चोया निर्मित खोगी थापेर सिकार गरिन्छ । माछाको सिकार गर्न स्थानीयवासी मुहान भए ठाउँमा पाल टाँगेर डेरै जमाउँछन् । तीतेमाछाको चोरीसिकार हुन नदिन निगरानी उच्च पारिन्छ । माछा मार्न निकै जोखिम पनि छ । तीतेमाछा मार्ने ध्याउन्नमा आफैँ नदीमा डुबेर ज्यान पनि जानसक्छ । भीरबाट लड्न पनि सक्छ ।

तीतेमाछा मार्न ठेक्का
पा“चथरमा ठेक्काबाट पनि तीतेमाछा मार्ने चलन छ । तत्कालीन फलैँचा गाविसले इवाखोलाका छवटा मुहान माछा मार्न ठेक्कामा दिएको थियो । स्वादिलो र पोषिलो तीतेमाछा मार्न हानथाप भई झगडा नै हुन्थ्यो । यो रोक्न २०३० सालदेखि गाविसले झगडा भएका मुहानमा ठेक्काको व्यवस्था गरेको हो । माओवादीले जनयुद्धकालमा ठेक्कामा दिने प्रथा आफ्नो स्थानीय समानान्तर सरकारबाट सञ्चालन गरेको थियो । त्यसपछि आदिवासी जनजाति गाउँ शाखा समन्वय समिति फलैँचाले पनि ठेक्का चलनलाई निरन्तरता दियो । यो चलन अद्यापि स्थानीय सरकारको आन्तरिक स्रोतको माध्यम बनेको छ । आर्थिक वर्ष २०७५÷७६ मा इवाको लुङहङ, खुङखोला वडा कार्यालयले २५ हजार रुपियाँमा ठेक्का दिएको छ । ठेक्का दिएको छवटा मुहानमध्ये चारवटा मुहान व्यक्तिगत भएको दाबी भएपछि अचेल दुईवटा मुहानमा मात्र ठेक्का लाग्ने गरेको छ । अन्य मुहानमा झैझगडा नपर्नाले त्यहाँ ठेक्का लगाएर तीतेमाछालाई आम्दानीको स्रोतमा बाँध्ने काम भने भएको पाइँदैन ।

लालमोहरमा तीतेमाछा
तीतेमाछा मारी खान पाउने लालमोहर नै पाएको स्थानीय लिम्बू जातिको दाबी छ । राजा पृथ्वीनारायण शाहले विभिन्न अधिकार दिने क्रममा सो अधिकार पनि दिएको यो जातिको भनाइ छ । तत्कालीन लिम्बूवानका लिम्बूले लालमोहर विक्रम संवत् १८३१ साउन २२ गते पाएको कथन छ । त्यसैले यहाँका लिम्बूले तीतेमाछा मारी खान पाउने आफ्नो नैसर्गिक अधिकार भएको सम्झन्छन् । मुख्य गरी यहाँका लिम्बू जातिले आफ्नो जग्गामा रहेका मुहानमा माछाको संरक्षण र उपभोग गर्ने परम्परा नै छ । स्थानीय तहले केही मुहानमा माछा मार्ने ठेक्का लगाएबाहेक अन्य धेरै मुहानमा प्रायः लिम्बू जातिले नै तीतेमाछाको खेती गर्छन् । तीतेमाछा समाएर खानु यहाँका लिम्बू समुदायको अभिन्न संस्कृति नै बनेको छ ।

संरक्षण अभाव
विगतमा इवा मेवाका एउटै मुहानमा सय धार्नी (२५० किलो) सम्म तीतेमाछा हुन्थे । हिजोआज ३०÷३५ धार्नीसम्म मात्र हुने गरेको फलैँचाका सुरेन्द्र बेघाको भनाइ छ । तीतेमाछा घट्ने मात्र होइने धेरै मुहानमा पाइँदैन । यसरी तीतेमाछा मासिनुको कारण करेन्ट, विषादी, धातु प्रयोग, सडक निर्माणका क्रममा मुहानको क्षति मुख्य रूपमा छन् । ठेक्कामा मार्न दिने चलनले पनि तीतेमाछा घटिरहेको स्थानीयको भनाइ छ । ठेकेदारले बढी मुनाफा लिने ध्याउन्नमा भुरा अवस्थामै मार्नाले पनि क्षति पुगिरहेको बताइन्छ ।

मत्स्य पर्यटनको सम्भावना
फरक स्वादको तीतेमाछालाई उच्च रक्तचापको औषधि मानिन्छ । यो माछा अहिले प्रतिकिलो पा“च सय रुपियाँमा बिक्छ । यो माछा दुर्लभ कोसेलीका रूपमा आफन्तलाई देश–विदेश पठाउने चलन पनि छ । यो माछा मार्ने बेला स्थानीयबीच लुछाचुँडी नै हुन्छ । यसको स्वादभन्दा पनि स्वभाव रोमाञ्चक छ । त्यसैले यी माछा पर्यटनसँग जोडेर धेरै लाभ लिन सकिन्छ । तीतेमाछाको जीवनचक्रमा हानि नपुग्ने गरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । तीतेमाछा पाइने खोलानालाको रौनक पनि बढाउँछ । यसका लागि तीतेमाछा मारी खानभन्दा पनि संरक्षण गर्न स्थानीयलाई प्रोत्साहित गर्नुपर्छ । खोलाका मुहानको संरक्षण हुनुपर्छ । यसतर्फ स्थानीय सरकार सरोकारवालाको ध्यान जानु आवश्यक छ ।

(लेखक गोरखापत्र दैनिकका पाँचथर समाचारदाता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?