चाँदनी हमाल
एस्ट्रे, अर्थात् एउटा निर्जीव भाँडो । जहाँ जल्दै गरेको चुरोट ठोसेर निभाइन्छ । तबमात्र आगोले राँकिएको चुरोट निष्प्राण बन्छ । एस्ट्रे भनेकै चुरोट निभाउने भाँडो । एकपल्ट होइन, पटकपटक त्यसमा चुरोटको आगो झोसिन्छन् । चुरोटप्रेमीले पालैसँग एस्ट्रेमा चुरोट मिच्छन् । निर्जीव एस्ट्रे केही बोल्दैन । उसको सुन्दर, सफा र चिटिक्क परेको रूप जल्दै गरेको चुरोट ठोसाइले कुरूप बन्छ । तैपनि ऊ बोल्दैन किनकि त्यो निर्जीव एस्ट्रे हो ।
यहाँ म त्यस्तो निर्जीव एस्ट्रे होइन । जीवित एस्ट्रेको कुरा गर्दैछु । जसको शरीर सयौँ मतलबीको राप निभाउने एस्ट्रे बन्यो । सम्झनुस् एक झिल्का आगोले तपाईंको हातमा एकपल्ट पोल्यो भने कसरी दुख्छ । फोका पक्कै उठ्छ । पानी बग्छ । औषधीमुलो नगरे कुहिएर हातै झर्न बेर लाउँदैन । तर उनको जीउँदो शरीररूपी एस्ट्रेमा कति चुरोट निभे । त्यसको गन्ती छैन । कति आगोका अगुल्टा झोसिए लेखाजोखा छैन् । तातोपानीका फोहराले कति पोलिए शरीर । कति फोका उठेर । अहँ उसलाई त्यसको पनि पत्तो छैन् ।
खुट्टाका बुढीऔँलामा पोलिएका घाउ आलै छन् । त्यसदेखि माथि कति हो कति । पाक्दै अनि निको हुँदै गरेका काला धब्बाहरू । मानौँ आलो घाउलाई जिस्काउँदैछ । यी हेर म त खाटा परिसके । तँ कहिले ओभाउँछस् । कल्कलाउँदो उमेरमा सुकोमल शरीर हुनुपर्ने हो तर दाग र धब्बाले छोपिएका छन् हरेक अङ्ग ।
अस्पतालको शैयामा मृत्यु कुर्दै बसेकी उनी साँच्चैकी एस्ट्रे हुन् । एउटी जीवित एस्ट्रे । जसमा यौनको उन्मादमा लठ्ठिएका नरपिसाचहरूले आफ्नो यौनको आगो निभाए । त्यो पनि बलेको चुरोट, आगोका लप्का, तातोपानीका फोहराका साथमा ।
शरीरभरि फैलिएका काला धब्बा र आला घाउले उनको दर्दनाक अवस्था बोल्छ । अझ पिँडुला, तिघ्रा, नितम्बका दुबैतिरका पोलेका आला घाउबाट पानी र रगत बगिरहेको छ । शरीरभरि खाली ठाउँ भेट्न मुस्किल । जतासुकै दाग ।
यौनाङ्गको कुरै नगरौँ । मानाँै उनले एउटी नारी भएर पापको अङ्ग बोकेर जन्म लिई । उनको नारी अङ्ग यो संसारकै लागि अभिशाप हो । त्यसैले क्षतविक्षत बनाइएको हो । यौनाङ्गको कुनै कुनो बाँकी छैनन । जहाँ चुरोटको आगो ननिभाइएको होस् ।
आमाको कोखबाट कोही जन्मँदा त्यही यौनाङ्ग सृष्टिको थलो बन्छ । महिला र पुरुषबीचको सुन्दर सम्बन्ध स्थापित गर्दै लामो जीवनको साथ जोड्ने सहवास उनका लागि नर्कको बास जस्तै बन्यो । उनको यौनाङ्गले विगत तीन वर्ष यता त्यस्तो कुनै आत्मीयता महसुस गर्नैपाएन । बाहिरी आवरण, कुनोकाप्चा, भङ्गाकुर र यौनाङ्गको भित्री तहसम्मै चुरोटले पोलिएका । जतासुकै चोटैचोट । देख्नेजत्तिको आङ सिरिङ्ग हुने । मन चसक्क गराउने । मुटु ढक्क फुल्ने । केहीका आँखाबाट तरक्क आँसु झर्ने । कोही हेर्न नसकेर आँखा छापे ।
एकछिन म पनि अक्क न बक्क भएँ । आँखा स्थिर बसे । चस्माभित्रै आँसु रसाए । मन भक्कानिएर आयो । यस्तो दृश्य मैले केही हिन्दी सिनेमामा देखेको थिएँ । प्रत्यक्ष देख्दा अनायासै मुखबाट निस्क्यो । हे भगवान् ! कस्ता निर्दयी पुरुष, कति पापी, कसरी सकेको होला यस्तो गर्न । यौन प्यास मेटाउनु थियो भने सहमति दिनेसँग मेटाएको भए भइहाल्थ्यो ।
“चिसो लाइदिनुस् न पोलिरहेको छ, शीतल हुन्छ कि,” उनले नर्ससँग बोली । फेरि नियाल्न थालेँ उनका चोट । नर्सले कपासले औषधि चोपेर उनका घाउमा विस्तारै लगाइन् । “यता पनि चिसो बनाइदिनुस् न ।” सुकेको रुखको सानो हाँगाको आकारमा परिणत हुँदै गरेका हातले देखाइन् । दुबै तिघ्रामा चुरोटले पोलेर निको नभएका ठूला ठूला घाउ । जुन उनकै शरीरले थिचिएर झन् ठूला हुँदैछन् ।
“यता पनि छ, यो पनि चुरोटले पोलेको, अनि यो चाहिँ तातो पानीले पोलेको”, हरेक घाउको जिउँदो कथा छ उनीसँग । यस्तो दर्दनाक कथा । जुन कसैको जीवनमा नघटोस् । “यो फलानासँग ...गर्न नमान्दा चारवटा चुरोटले पोलेको । अनि यो छ नि फलानाले जबरजस्ती गर्न खोज्दा चिथोरेको अनि टोकेको । यहाँ छ नि छुराले कति काटे कति”, यौनाङ्ग देखाउँदै, “ऊ अघि बिहान दिदीले सफा गर्दा एक चोक्टै गयो ।” ओहो शरीर हो कि मासुको थुप्रो । सम्झँे, कति क्रूर हृदय होलान् तिनका ? उनको यौन अङ्ग देख्दा चोटै चोट कसरी देखेनन् ? चोटमाथिको त्यो सहवासले कत्तिको आनन्द दियो होला र ? बेहोसीमा लुटेको जवानीको के मजा आयो होला र ? यस्तै अनगन्ती प्रश्न तेर्सिए मनभित्र ।
“त्यस्तो गर्न नमान्दा पहिले चुरोटले पोल्थे”, उनले बर्बराउँदै भनिन्, “त्यो पनि मैले मानिन् भने अनि चक्कुले चिरिदिन्थे ।” म नतमस्तक सुन्दै थिएँ । घरी कल्पना जस्तै लाग्थ्यो । तर आँखै अगाडिको प्रमाणले त्यो सत्य सावित गर्दथ्योे । एस्ट्रेसँगै उसको शरीर कसाइकोे अचानो पनि बन्यो । “नमान्दा साहुजीले कहिले कता कहिले कता चिरिदिन्थे”, उनी फेरि सुनाउँछिन्, । वक्षस्थलमा चिथोरेका, कोतरेका, टोकेका अनि चुरोटले पोलेका दाग उस्तै छन् । अनि साहुजी आफैँ लुछ्थे रातभरि । अरू ग्राहकलाई पनि पालैपालो लुछ्न लगाउँथे । यसरी कहिले थुनिएकै कोठामा लुटे, कहिले अर्को होटेलमा, कहिले दोहोरी साँझमा उसका शरीर एस्ट्रे बनिरहे । अचानो बनिरहे ।
राजधानी काठमाडौँमा खुलेआम यौनधन्दा हुन्छ । चेलीहरू बेचिन्छन् । उनलाई देखेपछि लाग्यो । बेचिनेमात्र हैन । जिउँदै जलाउँदै र पोल्दै खाने राक्षस पनि हुँदारहेछन् । प्रतिकार र विरोध गर्थिन् । बलजफ्ती मदिरामा लठ्ठ पारेर मनलाग्दी लुट्थे । यतिसम्म लुटे कि । आज उनको यौनाङ्गमात्र हैन । कलेजो पनि पोलियो । कहिले नउम्रने गरेर । मदिरामा मिसाएको लठ्याउने पदार्थ उनको कलेजो र शरीरले धान्नै सकेन ।
भर्भराउँदो २२ वर्षको उमेरमा उनको शरीर रित्तिँदैछ । मुहारमा जीवनको साँझ झल्कँदैछ । कलेजोको सङ्क्रमण । पानी जमेर पुट्ट उठेको पेट । पिसाब जान नसकेपछि यौनाङ्गमा पाइप जोडिएको छ । ठोस पदार्थ पचाउने सामथ्र्य छैन । कहिलेकाहीँ दूध र पानी पिउँछिन् ।
पहिले आमा, त्यसपछि बाबु बितेपछि सानैमा घर छाडिन् उनले । काठमाडौँमा ज्याला मजदुरी गर्दागर्दै १३ वर्षकै उमेरमा उनको बिहे भयो । एक छोरा र एक छोरी जन्मेपछि सुखी परिवार बन्यो । तर लोग्नेको मदिरा पिएपछि कुट्ने बानीले हैरान थिइन् । गाउँको एक झडपमा लोग्ने बिते । त्यो बेला उनी १९ वर्षकी थिइन् । लोग्ने बितेपछि घरमा कसैले पत्याउने कुरै भएन । छोराछोरी पाल्नकै लागि काठमाडौँ आइन् ।
एउटी महिलाले काम लगाइदिने भनेर होटेल पु¥याइन् । भाँडा माझ्ने, बच्चा स्याहार्ने र सरसफाइ गर्ने कामबाट विस्तारै साहुले यौन धन्दामा पु¥याए । “साहुनी सुत्केरी हुँदा साहु पापीले पहिलो पल्ट त्यस्तो ग¥यो”, उनी कुँडिएको पीडा ओकल्छिन्, “त्यसपछि उसको साथीभाइ अनि ग्राहकसँग पठाउन थाल्यो ।” कतिपल्ट भाग्ने कोशिस गरिन् । त्यसपछि सुरु भयो उसको एस्ट्रेको यात्रा । कुटपिट र यातनासँगै चुरोटले पोल्दै उसँग मस्ती गर्थे । यौनाङ्गमा पोल्दै बलात्कार गर्दै कति दिन थुनेर राख्थे । जबरजस्ती पिलाएपछि उनलाई कति दिन होस पनि हुन्नथ्यो । मदिरामा पाउडर जस्तो पदार्थ मिसाएर खुवाउँथे । बेहोसीमै साहु ग्राहकलाई कोठामा पठाउँथे । बन्धक बनाएर उनलाई कति यौनशोषण गरे थाहा छैन् । होस आउँदा थिलथिलो बनेको शरीर घिसार्दै खानेकुरा मागेर खान्थिन् । धेरैपटक भाग्ने कोशिस गरेपछि गार्ड लाएर यौनधन्दा गराउन थाले । चोटको दुःखाइ सहन नसक्दा आफैँ पनि पनि कहिलेकाहीँ पिएर लठ्ठ बन्थिन् तर ग्राहकले छाड्दैन थिए । कहिले दुई हजारमा । कहिले दश हजारमा । अनि कहिले पाँच हजारमा उनको शरीर बेचिन्थ्यो । उनको हातमा कहिलेकाहीँ पाँच, पाँच सय पर्थे । एउटा शिक्षक थियो । उसले आफूमात्रै हैन । ग्राहक खोजेर कमिसन खान्थ्यो । यो शिक्षक देखेपछि उनलाई आपूm नपढेकोमा कत्ति बिस्मात लागेन । त्यस्ता शिक्षकबाट पढ्नुभन्दा त नपढेको बेस जस्तो लाग्यो । “पढेलेखेकी र बुझेकी भए केही न केही उपाय लगाएर उम्कन जान्दथेँ कि”, कुनै बेला उनलाई लाग्थ्यो ।
अस्पतालमा उनलाई पटक्कै बस्न मन छैन । “अहँ त्यो औषधी नलाऊ, मरे मर्छु, यहाँबाट लैजाउ, यो हात कस्तो दुख्छ नलाउ औषधी” ढिपी गर्छिन् नर्स र डाक्टरसँग उनी ।
चिकित्सकहरू भन्छन्, “अब उनको उमेर केही समय लम्ब्याउनेमात्र हो । जीवनको आश छैन् । कलेजो प्रत्यारोपण महँगो छ । एक मात्राको आठ हजार पर्ने प्रोटिनको भरमा उनको जिउ धानिएको छ । यौनाङ्गको सङ्क्रमण बढ्यो भने कलेजो मासिएको पेटको सङ्क्रमण झन् थपिनेछ ।” एनिमिया अनि के के हो । नबुझ्ने डाक्टरी भाषामा अझै सम्झाउँदै थिए चिकित्सक ।
चुरोटले पोलेका, चक्कुले चिरिएका घाउ निको हुन समय लाग्छ । जबरजस्ती गर्दा दर्फरिएका भित्री घाउको त लेखाजोखा छैन ।उनी य(ितबेला बारम्बार आफ्ना साना दुई सन्तान सम्झिन्छिन् । लुकाउँदै अर्काको नाममा जम्मा पारेको पचास हजार सम्झन्छिन् । “म मरेँ भने, त्यो पैसा मेरा बच्चाहरूलाई दिनुस् है”, सहयोग गर्नेलाई भन्छिन्, “त्यो पापीलाई पुलिसले पक्रेर जेलमा हाल्न भन्दिनुस् है, बरु म पनि जान्छु चिनाइदिन ।”
तर जिउँदो शरीरलाई एस्ट्रे ठान्नेहरूले भेटे भने मारेर फाल्छन् भन्ने डर घरी व्यक्त गर्छिन् । एक महिनासम्म कसैलाई नभनेको पीडा खोल्दा उनी आफूलाई लुट्नेमध्ये चिनेका जत्तिको नाम सरसर्ती भन्छिन् । लगातारकोे शारीरिक यौनशोषणका कारण उनको मानसिकता कहिलेकाहीँ खजमजिए झँै हुन्छ । सानो बच्चाले झैँ ढिपी गर्छिन् ।
साँच्चै नै उनी बच्चा भएकी छिन् । चुरोटले डामेका घाउ र चक्कुले छिनालिएका उनका यौनाङ्गको घाउ यतिबेला डाइपरले छोपिएका छन् । घाउ छोपिए पनि त्यसको पीडा औषधी खाउन्जेल कम हुन्छ । हल न चलको अवस्थामा पानी भरेर फुलेको पेटले उनलाई अर्को सकस दिइरहेछ । एकचौथाइ उमेर नकट्दै उनको शरीर निष्प्राण बन्दैछ । नीजिव एस्ट्रे जस्तै । पल्याकपुलुक चल्ने आँखाका पुतली र बोलिरहन खोज्ने उनका ओठले अझै लामो जिन्दगीको एक धर्सा देखाउँछ तर शरीर भताभुङ्ग छ । लथालिङ्ग उनका हरेक अङ्गका अवयव जीवन माग्दैछन् । घरीघरी आफ्नै औँला टोक्दै उनी तङ्ग्रिए झैँ उठ्न खोज्छिन् तर सक्दिनन् । शैयामा उत्तानो पर्छिन् । टेबलमा सजाइएका एस्ट्रे जस्तै । निर्दयीका सयौँ हातले निभाएका चुरोटका ठुटा आफ्ना शरीरमा बाल्दैछिन् । उम्लँदै गरेका चोटका पीप र रगतका छिटाले उनको शरीररूपी एस्ट्रेका हरेक हिस्सा भिजाउँदैछिन् । उनको एउटै अभिलाषा छ अब । उनको शरीरलाई एस्ट्रे सोचेर पोल्नेहरूले सजाय पाउन् । शरीर शरीर हो । निर्जीव खेलौना हैन । महिलाको शरीरमा खेलेर रमाउने यौनधन्दाको अन्त्य होस् । उनी जस्तै एस्ट्रे बनाएर बन्धक बनाइएकालाई छुटाइयोस् । कहाँ पाइन्छ न्याय उनलाई थाहा छैन । तर उनलाई यति थाहा छ । प्रहरीले पक्रियो भने जेलमा हाल्छन् ।
एस्टे« बनेर पोलिएका उनका हरेक चोटले न्याय माग्दैछन् । जीवन रहोस् वा नरहोस् । कुनै महिलाले यसरी निर्दयी पुरुषको एस्ट्रे बन्न नपरोस् । जिउँदै जलीजली मर्न नपरोस् ।
(लेखक गोरखापत्र दैनिकका समाचारदाता हुनुहुन्छ ।)