logo
२०८१ मंसिर ८ शनिवार



भाग्यले जोगिएकाहरु !

शनिवार |


भाग्यले जोगिएकाहरु !



विश्वास रेग्मी
कुरो २०७१ साल फागुन २१ गते बिहानको हो । काठमाडौँ उपत्यकालाई हुस्सुले ढपक्कै ढाकेको थियो । एउटा नराम्रो खबर फैलियो । टर्कीको इस्तानबुलबाट २ सय २४ जना यात्रु लिएर आएको एउटा ठूलो हवाइजहाज काठमाडौँमा दुर्घटना भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर टर्किस एयरको वाइडबडी जहाज घाँसेमैदान प्रवेश ग¥यो । हुस्सुकाबीच अलमलमा अवतरण गरेको त्यो जहाजजस्तै यो खबरले धेरैलाई अलमलमा पा¥यो । तर, भाग्य !
विमानस्थलको घाँसे मैदानमा हवाइजहाज धस्सिए पनि सबै यात्रु सकुशल रहे । दुर्घटनाको केही पछि फैलिएको यो खबरले धेरै परिवारलाई राहत दियो । दुर्घटना अघि काठमाडौँको आकाशमा बारम्बार फन्को मारेको जहाजको अगाडिको पाङ्ग्रा नै नखुलेपछि यस्तो घटना भएको थियो । जे होस् दुर्घटनापछि जहाजभित्रका यात्रु सकुशल निकालिए । तर घाँसेमैदानमा धस्सिएको त्यो जहाजलाई धावनमार्गसम्म निकाल्न भने नेपाललाई चार दिन लाग्यो । त्यसबीच सबै अन्तर्राष्ट्रिय उडान रद्द भए । नेपाल बाँकी विश्वसँग उडानको हिसाबले सम्पर्क विच्छेद हुन पुग्यो । यात्रु सङ्ख्याको हिसाबले टरेको यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना हो । यो खबर काठमाडौँ हुँदै त्यही दिन विश्वभर फैलियो । चर्चित सञ्चारमाध्यमको मुख्य हेडलाइन बन्यो यो घटना ।
जटिल भूबनोट, छिनमै बदलिने मौसम र जानकारी दिने उपकरणको अभाव नेपालको जहाज दुर्घटनाका कारण मानिन्छन् । दुर्घटनापछि गठित हुने छानविन समितिले पनि प्रायः यस्तै निष्कर्ष निकालेका उदाहरण छन् । पाइलटको दोष पनि यस्ता समितिका प्रतिवेदनमा समेटिन्छन् । दुर्घटना पक्कै पनि सुखद होइन । तर मानवीय क्षति टरेका हवाइजहाजका दुर्घटना भने एक किसिमले सुखद हुन् ।
धावनमार्ग बाहिर मालिन्दोको जहाज
उडानका लागि सबै तयारी पुरा भइसकेको थियो । मालिन्दो एयरको बोइङ ७३७–९०० ईआर जहाज राति १० बजेर ७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फको ‘जीरो टू’बाट दक्षिण तर्फको ‘टू जीरो’ तर्फ गइरहेको थियो । दक्षिणबाट मोडिएर पुनः उत्तरतर्फ आउँदै गर्दा पाइलटले जहाजको पाङ्ग्रामा समस्या अनुभव गरे । अनि तत्काल नै जहाजलाई धावनमार्ग बाहिरको घाँसे मैदानमा लैजाने निर्णय गरे । जहाज जमिनमा धस्सियो ।
यतिबेलासम्म अग्नि नियन्त्रकदेखि एम्बुलेन्स सबैको व्यवस्था भइसकेको थियो । १३९ यात्रु लिएर काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडानको तयारी गरिरहेको जहाज ठूलो दुर्घटनाबाट बच्यो । चालकदलसहित यात्रु सबै सकुशल रहे । घटना भएको रात २०७५ साल बैशाख ७ गते काठमाडौँ आइरहेका सबै जहाज डाइभर्ट गरिए । धस्सिएको मालिन्दो एयरको उक्त जहाज निकाल्न रातभर नै लाग्यो । त्यतिञ्जेल विमानस्थलबाट हुने सबै उडान बन्द भए । अर्को दिन ८ गते बिहान ९ बजेदेखि आन्तरिक उडान सुरु भयो । त्यसको केही घन्टापछि मात्र अन्तर्राष्ट्रिय उडान सुरु भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसलाई ठूलो दुर्घटनाबाट जोगिएको घटनाको रुपमा प्रतिक्रिया दिएको थियो ।
जहाजबाट इन्धन चुहिएपछि ‘।।
राति ११ः३० बजे दुबईका लागि उडान तालिका तय भएको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ११ नम्बर पार्किङ वेमा राखिएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाजबाट २०७३ साल चैत ३ गते एकाएक इन्धन चुहिन थाल्यो । जहाजको दायाँ पखेटामा रहेको इन्धन ट्याङ्क बिग्रिएपछि जमिनमा हवाई इन्धन चुहिन थाल्यो । बनाउन खोज्दा त्यसको हाउजिङ समेत बिग्रिएपछि तलको पे्रसरले झन् धेरै इन्धन चुहिन थाल्यो ।
हवाई इन्धन अत्यन्तै प्रज्वलनशील मानिन्छ । आगोको अत्यन्तै सानो झिल्का पनि यस्तो इन्धनले टिप्छ । निरन्तर इन्धन चुहिरहेपछि निगमको उक्त न्यारोबडी जहाजलाई पार्किङ वेबाट ह्याङ्गरतर्फ लगियो । तर यसरी लैजाँदा पनि इन्धन चुहिराखेपछि बाल्टिनमा थाप्दै लानुपरेको थियो । भुइँमा चुहिएको इन्धनलाई पानीको फोहोराले निरन्तर पखालिएको थियो । इन्धन चुहिएपछि यसको सरसफाइका लागि मात्र विमानस्थलका कर्मचारीलाई दुई घन्टा लागेको थियो ।
इन्धन चुहिएको स्थानमा आगोको सानो झिल्को पनि परेको भए त्यसदिन विमानस्थल नै सखाप हुने अनुमान गरिएको थियो । सम्भावित दुर्घटनालाई ध्यानमा राखेर तत्काल नै विमानस्थलको पार्किङ खाली गराइएको थियो । अग्नि नियन्त्रकदेखि सबै किसिमको सुरक्षा तयारी गरिएको थियो । यो सबै कामका लागि विमानस्थल पूर्ण रूपमा बन्द गरिएको थियो । निगमले यसलाई इतिहासकै पहिलो घटना भएको संज्ञा दिएको थियो । नयाँ जहाजबाट यसरी इन्धन चुहिनु संस्थाकै लागि अचम्मको विषय भएको निगमका अधिकारीको भनाईथियो ।
उड्दा उड्दै इन्जिन फेल
पहाडी र हिमाली क्षेत्रमा मात्र उडान भर्ने सीता एयरको जहाज लुक्लाबाट काठमाडौँका लागि उडान भर्दै थियो । उडानकै क्रममा जहाजको इन्जिनले एकाएक काम गर्न छाड्यो । नाइन एन एजेएच कलसाइनको उक्त जहाजले काठमाडौंस्थित विमानस्थलमा आकस्मिक अवतरणको अनुमति माग्यो । जहाजको अवस्था बुझेर विमानस्थललाई अवतरणको स्वीकृति दिइयो । अनुभवी पाइलटको समूह जहाजलाई सकुशल अवतरण गराउन सफल भयो । इन्जिन फेल भएको उक्त घटनापछि परीक्षण नगरी जहाज उडाएको आरोप पनि लागेको थियो । सामान्यतया एकभन्दा बढी इन्जिन हुने जहाजमा कुनै एउटा इन्जिन खराब हुँदा ठूलो जोखिम मानिँदैन । तर सही तरिकाबाट अवतरण र उडानको अनुभव नभए यसले क्षति भने निम्त्याउन सक्छ ।
कर्णालीमा बगेको जहाज
हुम्लाको सिमकोटबाट सुर्खेतका लागि उडान भरेको पाँच मिनेटमै मकालु एयरको नाइनएन–एकेसी कलसाइनको सिङ्गल इन्जिन जहाज सिमकोट विमानस्थलमै फर्कियो । खराब मौसमका कारण सिमकोट विमानस्थलमा अवतरण गर्ने अवस्था नै बनेन । इन्जिनमा समस्या आएपछि सिमकोट विमानस्थलमा फर्किएर अवतरण गराउने प्रयास पनि विफल भएपछि पाइलटहरु साङ्गे लामा र प्रशान्त शाहले जहाजलाई कर्णाली नदी किनारमा ‘क्र्यास ल्यान्ड’ गराउनुभयो ।
नदी किनारमा जबर्जस्ती अवतरण गराउँदा कम क्षति हुने र सुरक्षित रहन सकिने अपेक्षासहित पाइटलद्वय यस्तो निर्णयमा पुग्नुभयो । भयो पनि त्यस्तै, जहाज दूर्घटनामा प¥यो तर पाइलट सुरक्षित । यो कुनै फिल्मी शैलीको पटकथाजस्तो पनि सुनिन्छ । तर २०७३ साल साउन २० गते उक्त जहाज दुर्घटना भएपनि पाइलटको ज्यान जोगियो । जहाजको अवस्था बुझेर नेपालगञ्जबाट आएको सिम्रिकको हेलिकप्टरले दुर्घटनापछि तुरुन्त उद्धार गर्न सफल भयो । समयमै सूचना प्रवाह भए दुर्घटनामा मानवीय क्षति कम गर्न सकिन्छ भन्ने उदाहरण यो घटना बन्यो । दुर्घटनाग्रस्त जहाज पछि कर्णाली नदीले बगाएको जानकारी बाहिर आयो ।

‘रिभर्स बे्रक’ले सकस
१८ जना भारतीय पर्यटक लिएर गत बैशाख ६ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गरेको केही क्षणमै समिट एयरको जहाज धावनमार्गमै बरालियो । जहाज हल्लिएपछि पाइलटले नियन्त्रणका लागि ‘रिभर्स बे्रक’ लगाउँदा थप अनियन्त्रित हुन पुग्यो । १८० डिग्रिमा धावनमार्गमा गुड्नुपर्नेमा एकैपटक १७५ डिग्रिमा मोड्न खोज्दा समस्या आएको थियो । जहाजको ब्याक सपोर्टले झन्डै भुइँ छोएन । जहाज केही सेकेन्डमै नियन्त्रणमा आयो र पार्किङतर्फ लगियो । तुरुन्तै नियन्त्रणमा नआएको भए ठूलो दुर्घटना हुने धेरैको अनुमान थियो । जहाजले नियन्त्रण गुमाएको भिडियो त्यतिबेला चर्चित नै बन्यो । अनुभवी पाइलटले उडान गरेकोले पनि जहाज नियन्त्रणमा आयो ।
हाइड्रोलिक फेल हुँँदा
काठमाडौँबाट ३० जना यात्रु लिएर उडान भर्दा यति एयरको नाइनएन एएचयू कलसाइनको जहाजमा कुनै समस्या थिएन । तर पोखरा विमानस्थलमा अवतरण गर्ने अवस्थासम्ममा समस्या आयो । जहाजले स्वाभाविक अवतरण गर्न सकेन । पोखराको धावनमार्गबाट २५ मिटर पर पुगेर जहाज धस्सियो । तर ठूलो दूर्घटना हुन पाएन ।
अवतरणकै क्रममा हाइड्रोलिक फेल हुँदा जहाज धावनमार्ग छाडेर लुक एरियातर्फ गएको थियो । धावनमार्गबाट बाहिरिएर करिब १५ मिटर पर पुगेर जहाज अडिएको थियो । धावनमार्ग बाहिर भएकोले उडान अवतरणमा समस्या भएन । यात्रुहरू पनि सकुशल रहे । पछि कम्पनीले काठमाडौँबाट प्राविधिक बोलाएर समस्या समाधान गरेको थियो । गत वर्ष असारमा भएको यस दुर्घटनाको जहाज २३ वर्ष पुरानो हो ।
यी प्रतिनिधि घटनाबाहेक नेपालमा विभिन्न समयमा जहाज दुर्घटनामा परेका तर मानवीय क्षति नभएका अन्य घटना पनि छन् । पाइलटको सावधानी, तत्कालको सुरक्षा प्रबन्धले कतिपय दुर्घटना टरेको छ । तर नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा पनि धेरै दुर्घटनामा कम क्षति भएका छन्, जो भाग्यले बाँचेका छन् ।

अवतरणमा सबैभन्दा धेरै दुर्घटना
विश्वमा भएका जहाज दुर्घटनाको समग्र निष्कर्ष के भने अधिकांश दुर्घटना अवतरणको क्रममा भएका छन् । कुल जहाज दुर्घटनामध्ये आधा दुर्घटना अवतरण गर्ने क्रममा भएको विभिन्न समयका अध्ययनले देखाएका छन् । जहाज निर्माता बोइङ्ले गत वर्ष गरेको अध्ययन अनुसार विगत एक दशकमा भएका जहाज दुर्घटनामा ४८ प्रतिशत अवतरणकै क्रममा भएको पाइएको छ । अवतरणपछि उडानको तयारीका क्रममा हुने दुर्घटना दोस्रो स्थानमा छ । कुल दुर्घटनामध्ये करिब २० प्रतिशत दुर्घटना उडान हुने बेलामा भएका छन्। उडान भरिरहँदा हुने दुर्घटना भने निकै कम छ । अर्थात् जहाज अवतरण र उडान भर्ने समय सुरक्षा र दुर्घटनाको हिसाबले संवेदनशील मानिएको छ । यद्यपि हवाई यातायात विश्वकै सबैभन्दा सुरक्षित यातायातको साधन मानिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?