logo
२०८१ मंसिर ८ शनिवार



नियात्रा : शेक्सपियरको आँगनमा पाइला टेक्दा

शनिवार |


नियात्रा : शेक्सपियरको आँगनमा पाइला टेक्दा


नगेन्द्रराज रेग्मी

झण्डै चार दशकभन्दा बढी हुन लागेछ, मैले काठमाडौँका सडक, गल्ली, गल्छेँडा र फुटपाथहरू नाप्न थालेको । यसक्रममा हजारौँ पटकभन्दा बढी मैतीदेवी र डिल्लीबजारतर्फ घुमियो होला । तर महाकवि देवकोटाको घर, आँगन टेक्नु त परै जावस् देखेको पनि छैन । यो अत्यन्त लज्जाबोधको विषय भए पनि अप्ठ्यारो नमानीकन यथार्थ प्रकट गरिरहेछु । भानुभक्तको चुँदी रम्घा, न त कविशिरोमणिको अर्घाैंअर्चले । घर जाँदा–आउँदा कैयौँ पटक नेपालथोक नाघियो, बीपीको दुम्जा पुग्न सकिएन । अरू त अरू आफ्नो घर त्यहीँ भएर पनि प्रथम महाकाव्य ‘बेतालपच्चीसी’ लेख्ने उदयानन्द अर्यालको खोटाङको ‘खुटा’ त झन् कहाँ हो कहाँ ! आफ्नै देशका र आफू बसेको ठाउँबाट दुई चार किलोमिटर वरपरका यस्ता साहित्यिक तीर्थभूमिमा पुग्न नसक्नु हाम्रो कस्तो र कत्रो विडम्बना ? नजिकको तीर्थ हेला भनिएको शायद त्यसैले पो हो कि ? तर आज एकाएक सात समुद्रपार पुगेर शेक्सपियरको घरको आँगन टेक्न लागेको छु । नियतिको यो कस्तो खेल हो ? मन एकतमास भइरहेको छ, त्यसै–त्यसै फुर्किरहेछु, रोमाञ्चित भइरहेको छु ।
साउन २० गते २०७६ साल अर्थात् ५ अगस्ट २०१९ को दिन हामी लन्डनको आकाशमा बिहानै उठ्छौँ । करिब ११ बजेतिर खाना खाएर बेलायतस्थित नेपाली राजदूत डा. दुबसु क्षेत्री, डा. बिजुकुमार थपलिया, भरत भारद्वाज, नारदप्रसाद पौडेल र यो पङ्क्तिकार एउटा गाडीभित्र पस्छौँ । भोजपुरका विनोद कार्कीले हामीलाई बल्लतल्ल लन्डन सहर छिचोलेर बाहिर निकाल्दै ग्रामीण बस्तीतर्फ रफ्तारमा लाँदै हुनुहुन्छ । त्यहाँका रमाइला फाँटहरुमा कहीँ जौ लगाइएका छन् भने कहीँ गहुँको पहेँलपुर बाली देखिँदैछ । त्यसो त कहीँ मकैका हरिया बोट पनि उत्तिकै छन् । तिनीहरूमध्ये केही मेसिनले काट्ने काम गरिरहेको देख्छौँ । भेडा, घोडा र गाईवस्तुहरू चरिरहेका छन्, हरिया चौरमा । तिनका चरन तथा गोठमा बार लगाइएको छ, जसका कारण कुनै रेखदेख गर्ने गोठाला पनि देखिँदैनन् । मानिसहरूको भीडभाड कहीँ कतै छैन । यति धेरै कृषि फर्म र बालिनाली लगाइएका छन् तर एकजना मानिस पनि नदेख्दा अचम्म लाग्छ हामीलाई । यस्ता अनेकौँ नयाँ अनुभव सँगाल्दै, दृश्यावलोकन गर्दै हाम्रो गाडी अगाडि बढिरह्यो । करिब तीन घन्टाको यात्रापछि हामीहरू अपराह्न २ बजेतिर स्टाटफोर्डको ‘अपन एवन’ भन्ने स्थानमा आइपुग्यौँ, जहाँ शेक्सपियरको जन्म भएको थियो ।
व्यक्ति सजिलै जन्मिन्छ, व्यक्तित्व जन्मन निकै कठिन हुन्छ, समय लाग्छ । शेक्सपियर पनि शायद सजिलै जन्मिए होला, तर उनले आफ्नो व्यक्तित्व जन्माउन निकै कठिन सङ्घर्ष गर्नुप¥यो भन्ने लाग्छ । १८ वर्षकै उमेरमा आफूभन्दा आठ वर्ष जेठी एन हेथवे नामक एक महिलासँग उनको प्रेम विवाह भयो । मातापिताले यसको खुब विरोध गरे । यिनै महिलाबाट शेक्सपियरका तीन सन्तान भए । तर पछि गएर उनीहरुको पारिवारिक जीवन त्यति सन्तोषप्रद हुन सकेन । आफ्नै गाउँको एउटा सार्वजनिक उद्यानबाट उनलाई हरिण चोरेको आरोप पनि नलागेको होइन । गाउँमा उनलाई आर्थिक सङ्कटले निकै गाँजेको हुँदा लन्डन जान बाध्य भए, हुन त पिता जोन् शेक्सपियर पहिले ऊनका व्यापारी थिए र पछि नगरसमितिका सदस्य भएर ख्याति पनि नकमाएका होइनन् । तर जे जस्तो भए पनि आफ्ना मातापिता र परिवारलाई राहत दिने उद्देश्यले उनी गाउँ छाड्ने मनस्थितिमा पुगेका हुँदा हुन् । यसरी सङ्घर्ष गर्न लन्डन हानिनु उनका लागि कष्टकर कुरा भए पनि विश्व साहित्यका लागि यो परम खुशी र हर्षको विषय हुन पुग्यो । उनलाई त्यहीँ सुख भएको भए शायद लन्डन त के कहीँ पनि जाँदैनथे होला । त्यसो भइदिएको भए के शेक्सपियर शेक्सपियर हुन्थे त ? अतः लन्डन जानु नै विश्वसाहित्यका लागि अनुपम उपहार भइदियो, शेक्सपियरका माध्यमले ।
यस्ता विराट् प्रतिभा अब घरको चार दिवारभित्र मात्र सीमित भएनन् । लन्डन त के पूरै बेलायत पनि उनलाई साँघुरियो । उनको कलमले भूगोलको विषुवत् रेखा नाघेर अघि बढ्ने सुर देखाउन लाग्यो । काव्य र नाटकसँगै उनको बेलगाम लगाम जताततै भावनात्मक सीमा नाघ्दै विचरण गर्न थाल्यो । रङ्गमञ्चको सामान्य अनुभवबाहेक उनलाई आफूभित्र अरू पनि केही प्रतिभा छ भन्ने कुराको हेक्का थिएन लन्डन पुग्दासम्म । त्यहाँ उनले जनसाधारणलाई खुसी पारेर अर्थाेपार्जन गर्ने एकमात्र उद्देश्य लिएका थिए । तर प्रतिभा प्रतिभा नै हो, सूर्यलाई हत्केलाले छोप्ने प्रयत्न कहाँ सफल भएको छ र ! उनको प्रतिभाले सही स्थान पाएपछि त के थियो, जताततै उनको कलमी जादूले चमत्कारै–चमत्कार देखाउन थाल्यो । आफ्ना पात्रहरुको चरित्र चित्रण गर्न शेक्सपियर अद्भुत क्षमता राख्थे । ललित शब्दावली राखेर मोहित पार्ने शब्द सामथ्र्यले उनलाई कसले रोक्ने ? शायद त्यसैले उनलाई संसारका सबभन्दा ठूला महाकवि भन्ने गरिएको हो । शेक्सपियरबारे सुने, पढेका यस्तै–यस्तै कुरा सोच्दै म अगाडि बढिरहेको हुन्छु । लाग्छ शेक्सपियर कतिपटक यिनै बाटो खियाउँदै लन्डन सहर पुगेका थिए होला । अहिले म पनि उनले पाइला खियाएकै स्थानमा गाडीबाट चिप्लिरहेको छु, हिँडिरहेको छु भन्ने मनोग्रन्थीले म आल्हादित बनिरहेको छु । यस्ता महाकवि र महान् नाटककारको घरको आँगन टेक्न जाँदैछौँ, त्यो के कम सौभाग्यको कुरा हो त ? मन त्यसैत्यसै फुरुङ्ग भइरहेको थियो ।
ओहो त्यहाँको चहलपहलको के कुरा गर्नु ? विभिन्न स्थानबाट शेक्सपियरसम्बन्धी चासो, जिज्ञासा राख्ने विद्यार्थी, शोधार्थी, प्राध्यापक, साहित्यकार, पाठक को मात्र छैनन् र त्यहाँ ? उनकै नामबाट यो बिरानो बस्तीमा अहिले यति ठूलो सहर र बजार व्यवस्थित बसेर यत्रो तीर्थ बनिरहेको छ । आयआर्जनको त झन् के कुरा ! अक्षरको कत्रो शक्ति ? कलमको कत्रो तागत ? हामी एकापासमा यससम्बन्धी कुरा गरिरहेका छौँ । डा. दुबसु क्षेत्रीले यसबारे अन्य थप रोचक र महìवपूर्ण कुरा हामीलाई बाटोभरि सुनाउँदै ल्याउनुभएको छ । शायद उहाँले बेलायतमै पढेर पनि होला, बेलायतकै राजदूत भएर पनि होला, धेरै यस्ता महìवपूर्ण अनुभव र तथ्यगत गुह्य कुराको जानकारी हामीलाई दिलाएर कृतकृत्य बन(ाउनुभएको छ ।
झण्डै पाँच सय वर्ष अगाडि अर्थात् २६ अप्रिल १५६४ मा जन्मिएका शेक्सपियर आज मात्र होइन, जुग जुगान्तरसम्म बाँचिरहनेछन् । उनको १६१६ मा निधन भयो भनेर म खै कसरी विश्वास गरौँ ? निधन भएको व्यक्ति त सकिन्छ, नासिन्छ, हराउँछ, चर्चा–प्रसङ्गबाट विमुख हुन्छ तर यहाँ त निधन भयो भन्ने व्यक्तिकै यत्रो तामझाम छ, यश गाइएको छ । स्कूल, कलेज, विद्यालय, विश्वविद्यालयमा उनकै पढाइ भइरहेको छ । उनी जन्मिएको स्थान हेर्न भनेर यत्रो जनमानस सधैँभरि यहाँ ओइरिरहन्छन् । जताततै उनकै बारेमा अध्ययन अनुसन्धान भइरहेको छ । अनि कसरी भन्ने कि शेक्सपियरको निधन भयो भनेर ! हामी अधीर भइरहेका छौँ, यस्ता अमर स्रष्टाको घरमा पुग्न । आतुर हुँदै गाडीबाट उत्रिएर पैदल हिँड्दैछौँ अब हामी उनको घरतर्फ ।
‘हैन हौ गाँठे, बेलायतमा बस्ने शेक्सपियरको घर त हाम्रै नेपालकै जस्तो पो रहेछ त ?’ नारदजीले आफ्नो मन रोक्नै सक्नुभएन । हाँस्न त सबैजना मज्जैले हाँसियो, तर उहाँ अलि ढिलो हुनुभएको भए म पनि शायद यही शब्द ओकल्ने थिएँ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियाले शान्त, सौम्य र गम्भीर मुद्रामा हामीलाई प्राध्यापकीय शैलीमा सम्झाउनुभयो– ‘हो, हाम्रो कल्पना यस्तो हुनु अस्वाभाविक होइन । तर पाँच सय वर्षअघिका शेक्सपियरको घर यो अवस्थामा देखिनु के कुनै चानचुने कुरा हो र ?’ हामीले शेक्सपियरको घर भव्य, गगनचुम्बी र आलिसानयुक्त सम्झिएका थियौँ । तर यो त सानो भए पनि चिटिक्क अनि पुरानो शैलीको लाग्यो तर नराम्रो भने पटक्कै थिएन । यहाँभित्र भएका कुर्सी, टेबुल, भाँडा, छालाका झारी अनि त्यसैगरी खाट र ओछ्याइएका डसना जहाँ शेक्सपियर जन्मेको मानिन्छ । अनि उनी सुत्ने छोटो खाट जसको चर्चा बाटोमा दुबसुजीले हामीलाई सुनाउनु भएको थियो । शेक्सपियर जन्मेको यो गाउँमा त्यतिखेर चोरीको खुबै डर हुन्थ्यो रे । त्यहाँ देखाइएको सानो खाटमा अग्ला शेक्सपियर अट्ने कुरै थिएन । खुट्टा खुम्च्याएर सुत्दा गहिरो निद्रा नपर्नु स्वाभाविकै हो, जसले गर्दा चोरी हुने सम्भावना कम गर्न यसो गरिएको भन्ने जनश्रुति रहेको सुन्नमा आयो । उनको घरसँगै शेक्सपियर केन्द्र नामक भवन पनि रहेछ । जहाँ ठूलो पुस्तकालय तथा उनी र उनीसँग सम्बन्धित पुस्तकका सङ्ग्रहहरु सुरक्षित र सङ्ग्रहित रहेको थाहा भयो । यहाँ पनि थुप्रै अनुसन्धाता उनी बारे खोजी र अन्वेषण गर्न आउँदारहेछन् ।
घाम पनि शेक्सपियरझैँ जाज्वल्यमान भएर राम्रो ताप प्रदान गरिरहेको छ हाम्रो मथिङ्गलमा । अनेसासको कार्यक्रममा सहभागी हुन पुग्नुभएका डा.जगमान गुरुङसहित राधेश्याम लेकाली, विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, सन्ध्या पहाडी, गोवध्र्दन पूजा, पुष्पा खनाल, रेणुका थापा सोलु, दार्जिलिङबाट आउनुभएका जोगेन दर्नाललगायत थुप्रै नेपाली स्रष्टालाई त्यहाँ भेट्दा लाग्छ– हामी बेलायतमा नभएर कमलादीको एकेडेमीतिर कुनै साहित्यिक कार्यक्रममा त छैनौँ ! आ–आफूलाई पायक पारेर भिन्ना–भिन्नै सवारी साधनबाट आएका हुँदा सबैलाई एकत्रित पार्न केही समय लाग्छ त्यहाँ हामीलाई । सबै जम्मा भइसकेपछि सामूहिक फोटो खिच्ने काम गर्छाैं । त्यतिमात्र होइन, उनकै घरको अघिल्तिर मूल सडकमा बसेर साथीहरुले रचना वाचनको कार्यक्रम पनि गर्नुहुन्छ । कोही चाहिँ यहाँका उपहार, चिनोहरु किन्न व्यस्त हुनुहुन्छ ।
अब हामीलाई अक्स्फोर्ड विश्वविद्यालय पनि हेर्नु थियो । एक डेढ घन्टाको बसाइमा शेक्सपियरजस्ता महान् व्यक्तित्वका बारेमा, उनको घरद्वारको बारेमा हामीजस्ता अल्पज्ञानीले हात्ती छामेजस्तो सतही ज्ञान लिएर फक्र्याैं कि भन्ने गुनासो मनमा नआएको होइन । नत्र त शेक्सपियरको जन्मस्थानमात्र होइन यहीँ वरिपरि उनकी छोरीको घर थियो, श्रीमतीको घर अझ उनको पनि माइती घर, आमाको माइती घर आदिका बारेमा हामीले न त कुनै चासो राख्यौँ न त कता पर्छ भन्नेतर्फ नै सचेत भयौँ । यति हुँदाहुँदै पनि म जस्तो नेपालको त्यसमा पनि अति दुर्गम जिल्ला खोटाङको मार्से भन्ने स्थानमा जन्मिएको व्यक्ति यस्तो अन्तर्राष्ट्रिय साहित्यको राजधानी, एभन नदीको किनारमा आएर प्रिय र महान् साहित्यकार शेक्सपियरको घरमा छु भन्न पाउनुलाई नै धन्य–धन्य सम्झिँदै फर्कंदैछौँ, मनमा खुसी र शान्तिका साथ । यही सोचेर साथीहरूसँग बिदा हुँदैछौँ, नेपालमै भेट्ने वाचासहित । कम्तीमा शेक्सपियरको घर अगाडि आइसकेपछि फेरि एउटा सम्झना दिगो राख्न फोटो त खिच्नैपर्छ भनेर विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन र राधेश्याम लेकालीसँगै बसेर एक पोज लियौँ अनि गाडीमा बसेर शेक्सपियरलाई बाईबाई ग¥यौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?