शिवकुमार काशी
‘साहूलम्काई है माया टिभी र भिडियोगरिबकाई है माया साइसाइ नाल यात्ज्याङ रेडियो ।’
जन्मँदै दृष्टिविहीन जस्तीलाल चेपाङ बिहानै उठ्नुहुन्छ । आफू बराबरको उचाइ भएको लौरो लिएर घरबाट उकालो भीरको बाटो हिँडेर मूलबाटो पुग्नुहुन्छ । अनि यही बाटोको छेउमा बसेर बाँसुरी बजाउनुहुन्छ, र यहीँ गीत गाउनुहुन्छ ।
चेपाङ समुदायका वृद्ध अगुवा भविकन चेपाङले रचना गरी रिलवाला क्यासेटमा रेकर्ड गराउनुभएको यो गीत जस्तीलालले कण्ठ पार्नुभएको रहेछ । गीतको भाव हो साहुको घरमा टिभी र भिडियो, गरिबको घरमा एउटा रेडियो पनि छैन । ४९ वर्ष पुगेका जस्तीलालका धेरै वसन्त र शिशिरहरु यसैगरी बितेका छन् यो बाटोमा । उहाँको जीवन निकै अप्ठ्यारो छ । उहाँका लागि संसार नै आपूm बसेको घर र मूलबाटो मात्र हो ।
जस्तीलाल असाध्यै मीठा–मीठा गीत गाउनुहुन्छ तर मकवानपुरको राक्सिराङ गाउँपालिका–६, माकलदमारको खोल्सी छेउको खोरियामा रहेको यो बाटोमा उहाँको गीत सुनिदिने को नै छ र ? दिनमा १०÷१२ जना मानिस मात्र हिँड्छन् राक्सिराङ–६, सिलिङ्गेबाट माकलदमार पुग्ने यो मूलबाटोमा । वर्षाैंदेखि गीत गाएर जम्मा गरेको पैसाले केही दिनअघि मात्रै खुर्सानी किन्नमा खर्च गर्नुभएको उहाँले बताउनुभयो । सडकमै गीत गाउँदा पनि सहरबजारमा त सुनिदिने श्रोता र सहयोग गर्ने मनकारी हुन्छन् तर यो ठाउँमा उहाँको यो कला परख गरिदिने कोही छैनन् ।
जस्तीलालले गाउने गीतमा भनिएजस्तै चेपाङका अनेक दुःख छन् । कुना कन्दरामा बसेर जीवन बिताउनुपर्ने बाध्यता छ । न मोटर चढ्न पाइन्छ, न त बिजुलीको उपभोग नै । बल्ल बल्ल बालबालिका विद्यालय जान पाउने वातावरण तय भएको छ । अविवाहित जस्तीलाल यस्तै अभावका गीत गाउनुहुन्छ । उहाँको गायकीमा कहीँकतै नयाँ सिकारु सङ्गीतसाधकजस्तो झल्को आउँदैन ।
‘देशमा ठूल्ठूला साङ्गीतिक कार्यक्रम र प्रतिस्पर्धा भइरहेका छन्, त्यहाँ जाउँ जस्तो लाग्दैन ?’, यो प्रश्नमा जस्तीलाल भन्नुहुन्छ– ‘म रेडियो मात्रै सुन्छु, रेडियोमा त्यस्ता कार्यक्रम सुनेको छैन ।’ लगत्तै उहाँले थप्नुभयो– ‘आँखा देख्ने भए म यो कुनामा मात्रै बस्ने मान्छे होइन, कहाँ कहाँ संसार घुम्थेँ ।’ उहाँले नागरिकता बनाउन जाँदा गाउँकै अगुवाले लोथरबाट गाडी चढाएर हेटौँडासम्म पु¥याएको स्मरण गर्नुभयो ।
उहाँसँग अहिले दुईवटा बाँसुरी छन् । यी बाँसुरी गाउँकै युवाले उपहार दिएका रहेछन् । तीबाहेक उहाँको सङ्गीत सिक्ने अर्काे माध्यम भनेकै एफएम रेडियो हो । अहिले चलेका नयाँ लोकदोहोरी गीतका भाका जस्ताको तस्तै गाउने र बाँसुरीमा लय हाल्न सक्ने उहाँको क्षमता अभूतपूर्व छ । ‘सानैदेखि उहाँलाई आफ्नै बुवाले गीत गाउन सिकाउनुभएको हो ।’ जस्तीलालका भाइ चन्द्रबहादुरले भन्नुभयो । तिहारमा ५÷७ वर्षदेखि बहिनीले उहाँलाई टीका लगाइदिन छाडिछन् । आफूजस्तै गरिब भएकाले टीका लाउने सामग्री जुटाउनसमेत नसकेकाले बहिनी नआएको जस्तीलालको भनाइ छ । यसपालि रेडियो सुनेर तिहार मनाएँ–
उहाँले भन्नुभयो ।
शरीरमा मैला कपडाका साथमा आफूजत्तिकै अग्लो लौरी र दुईवटा बाँसुरीका भरमा उहाँले भाइको घरमा बसेर जीवन बिताइरहनुभएको छ । उहाँको जीवन अँध्यारो र बेसुरको छ तर उहाँसँग रहेको गीतसङ्गीतको उज्यालोले संसारलाई अर्कै सन्देश दिन सक्छ । त्यसका लागि उपयुक्त वातावरणको खाँचो छ । जस्तीलालजस्तो प्रतिभालाई अझ उजागर गरेर लैजानुपर्ने राक्सिराङ गाउँपालिका ८ का वडाध्यक्ष रामकृष्ण प्रजा बत(ाउनुहुन्छ । ‘गाउँपालिकाले आयोजना गर्ने हाटबजार कार्यक्रममा उहाँलाई लगेर गीत गाउन लगाउने प्रयत्नमा हामी जुटेका छौँ’, वडाध्यक्ष रामकृष्णले भन्नुभयो ।