logo
२०८१ मंसिर ८ शनिवार



मान्छेभित्र जीवन खोज्दै ‘मरीचिका’

शनिवार |


मान्छेभित्र जीवन खोज्दै ‘मरीचिका’


खेमराज पोखरेल

महेश थापाको ‘मरीचिका’ हात लाग्यो । यो बेलासम्म पुस्तक मदन पुरस्कारका लागि सातवटामा छनोट भइसकेको थियो । यही बेला ‘मरीचिका’ले कविडाँडा राष्ट्रिय पुरस्कार पाइहाल्यो । कर्णाली साहित्य समाज कृति पुरस्कार पाएको सूचना पनि आयो ।
जम्मा १६ थान कथा उनिएका छन् ‘मरीचिका’मा । हरेक कथामा अलग–अलग सोचका मान्छे छन् । मान्छेभित्र अलग–अलग जीवन छ । जीवनभित्र अलग–अलग कहर छ । अलग–अलग कहरभित्र बाँचेको छ, मान्छे । यो कुरा कथाकारले आफ्नो चेतले बुझ्छ, परिवेशले नियाल्छ र प्रज्ञाले प्रज्ज्वलित गराउँछ । यसो भएकाले आमलेखकले झैँ कथाकार महेशले पनि आफूले भोगेको, देखेको, सुनेको, पढेको र अनुभूत गरेको परिवेशभित्रबाट कथ्य विनिर्माण गरेका छन् ।

कथासार
शीर्षकीकरण भएको कथा ‘मरीचिका’ लोग्नेमान्छे र महिला रोबोटहरूका बीचमा आएका भौतिक र पराभौतिक सम्बन्धहरू दर्शाउन सफल छ । दोस्रो कथा ‘होड–२’ विश्वेश्वरप्रसाद कोइरालाको ‘होड’ शीर्षकको कथाको जवाफ हो । बीपीले ‘महिला शक्तिहीन, हृदयको अस्थायी उमङ्गमा बगीबगी हिँड्छन्’ भन्ने मान्यता स्थापना गराएका थिए भने, महेशले ‘महिलाहरू पुरुषभन्दा आन्तरिक रूपमा बलिया र वफादार हुन्छन्’ भन्ने मान्यता स्थापना गरेका छन् । तेस्रो कथा ‘निम्तोपत्र’मा अन्तरजातीय बिहेको अन्तरघुलित समस्या सूक्ष्म रूपमा देखाइएको छ । चौथो कथा ‘यात्रा’मा एउटा अपाङ्गता भएका र गम्भीर रोगी मान्छे इच्छामरण गर्दै छ । यो बेला ऊ विदेशी भूमिबाट आफ्नी आमालाई चिट्ठी लेख्छ । यो रुवाइको चिट्ठी नै कथासार हो ।
पाँचौँ कथा ‘अभयदान’मा माओवादी आतङ्क, प्रहरी ज्यादती र नागरिकको सास्ती सूक्ष्म रूपले व्यक्तिएको छ । छैटौँ कथा ‘अभीप्सामा सम्पन्नताको हुर्रेमा उडेको जीवन र विपन्नताको गोरेटोमा हिँडेका जीवनका कटु यथार्थहरू आएका छन् । सातौँ कथा ‘पुच्छर’ले भौतिक संसारको उज्यालोलाई किचकन्नेको विम्बबाट उजागर गरेको छ । आठौँ कथा ‘द द द’ हो । अर्कै ग्यालेक्सीका एलियनहरूले पृथ्वीलोकको दमन, दान र दया भन्ने सिद्धान्त सिके । यसबाट विभेदका पर्खालहरू बने र त्यसले विद्रोह, क्रान्ति, हो–हल्ला, दमन निम्त्यायो । शान्त आकाशगङ्गामा अनर्थ भएको प्रसङ्ग ल्याएर विभेदको पर्खाल भत्काइदिन सुझाइएको छ । नवौँ कथा ‘प्रेमको लाली’ हो । नीलिमा आधुनिकताभित्र अति भौतिकवादी सोचसँग बाँचेकी हुन्छे । तर, मनसा आधुनिकताभित्र परम्परागत सोच राख्छे । दसौँ कथा ‘पलायन’ले सामाजिक रूपले दलित र आर्थिक रूपले सम्पन्न छ, व्यक्ति पनि सामाजिक विभेदको मनोविज्ञानले गर्दा बिदेसिएको प्रसङ्ग ल्याएको छ ।
एघारौँ कथा ‘क्रान्तिको पोको’मा माओवादी कमान्डर एउटा पोको हराएको बहानामा गाउँका छोरीबुहारीलाई बन्दुक देखाएर बलात्कार गर्छ । बाह्रौँ कथा ‘धर्मो रक्षति रक्षितः’ मा धार्मिक चन्दारूपी घुसको अभेद्य प्रपञ्च देखाइएको छ । तेह्रौँ कथा ‘दाउ’मा जुवाडेले आफ्नी स्वास्नीलाई जुवामा हार्छ । अर्कोले जित्छ । उसले दुवैलाई मार्छे र भन्छे, ‘कैलेसम्म तिमी लोग्नेमान्छेले मात्रै हामीलाई दाउमा राख्ने ? मैले पनि एक दाउ खेलेँ ।’ चौधौँ कथा
‘कल्पभीर’ जिन्दगीको कठोर सङ्घर्षको प्रतीक हो । पन्ध्रौँ कथा ‘मोबाइल’ले आधुनिक समाजमा मोबाइलले परिवारभित्र शङ्कालु बनाइदिएको छ । परिणाम घर बिग्रिएको छ । अन्तिम कथा ‘अपहृत हाँसो’मा लाटोको संवेदनामाथि खेलवाड गरेर शोषण गरिएको छ ।

सबल पक्ष
‘मरीचिका’मा ठेट शब्दको प्रयोग, मधेसको स्थानीयता झल्कने शब्दको परिचालन, कथ्य भाषामा स्वाभाविकताको प्रस्तुति सुन्दर र सुललित छन् । भनिन्छ– सबै मान्छेसँग जीवन बोकेका सुन्दर कथाहरू हुन्छन् । मान्छेका दिमागभरि जीवनको भोगीय अनुभव हुन्छ । तर, सम्प्रेषण भाषाशिल्पमा निर्भर हुन्छ । ‘मरीचिका’मा प्रयुक्त भाषाले कथालाई स्तरीय, सरस, सुरुचि, बोधगम्य र उम्दा बनाएको छ । चामत्कारिक भाषा छ ।
सङ्ग्रहभित्रका कथा कथाकारको निजी जीवनजस्तै विविध छन् । ‘मरीचिका’मा राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, नैतिक, भौतिक, पराभौतिकजस्ता समस्या देखाइएको छ । ती समस्या जब्बर भएर प्रस्फुटन भएको छ । विज्ञानका सूत्रका कसीमा मानवीय जीवनलाई हेरिएको छ । मान्छेका संवेदनामाथि विज्ञानको कठघरामा उभिएर जीवन खोजिएको छ । मान्छेको जीवनका अतृप्त र अनवरत प्यासहरू मृग मरीचिकाझैँ दगुरेका छन् । महिला समस्यामा संवेदनशील छन्, कथाकार । द्वन्द्वका कहरहरू र स्वतन्त्रताका रहरहरूका विद्रुप दृश्यहरू आँखाका अगाडि झलझली देखापर्छन् । मान्छे कानुन र प्रचलनले मात्र कहाँ बाँच्न सक्छ र ? जीवनका ग्राफमा आउने माग र आपूर्तिका ‘इक्विलिब्रियम’का अभीप्साहरूले पोलेपछि सोचेजस्तो कहाँ हुनेरहेछ र जीवन । र त मान्छे इच्छामरण खोज्दै छ । यो कुरा कथाभित्र सिनेमाका पर्दाझैँ आएका छन् ।
फेरि पनि आखिर प्रेमिल संसार छ । सङ्ग्रहभित्र प्रेमका परिभाषाहरू प्रयुक्त भएका छन् । परम्परावाद, आत्मावाद, परम्परावादमा आधुनिकतावाद, आधुनिकतामा अत्याधुनिकवादका प्रेमहरू विभिन्न रूपमा आउनु निकै मीठो छ । आर्थिक जीवनका कहरहरूका प्रस्तुतिले जीवनलाई चिमोट्छन् । मान्छेका विद्रुप सोचहरू, कर्महरू र नियतिहरू जस्केलाबाट फुत्त निस्किएर कथाका पानामा आएकाजस्ता देखिन्छन् । सभ्य ठानिने मान्छे एउटा लाटोको संवेदनामाथि खेलवाड गर्ने, आत्मतुष्टि लिने र काममा लगाएर शोषण गर्ने प्रवृतिले मानवजीवनको उपादेयतालाई नै नैतिक धरातलमा उभ्याइदिएको छ । प्राविधिक रूपमा पनि कथासङ्ग्रह अब्बल छ । कथानक आफ्नै वरिपरिबाट टिप्नु, पात्रविधानको मर्मलाई हृदयङ्गम गर्नु र बुनौटमा नवनिखार ल्याउनु प्राविधिक पक्ष हो । यसैगरी, कथा सम्प्रेषणको प्रयोजन प्रस्ट हुनु र दृष्टिबिन्दुमा कायम रहनसक्नु पनि असल प्राविधिक पक्ष हो ।
निर्बल पक्ष
निर्बल शब्द प्रयोग नगरिहाल्नुपर्ने हो । र पनि, पाठकले राम्रो खोजिहाल्छ । तर, राम्रोको कुनै सीमा हुन्न किनकि पाएको कुरा न्यूनतम ब(िनदिन्छ । ‘मरीचिका’मा पाठकले पाएको कुरा अस्मेल छ । तर, अस्मेलका धुरीमा चढिसकेपछि पाठकका लागि त्यो प्राप्ति न्यूनतम भइदिन्छ । यो अतृप्त खोजाइ नै मरीचिका हो । मरीचिकामा सामाजिक वृत्तभित्र आउने भौतिक, आध्यात्मिक र पराभौतिक समस्याहरू वर्षाको भेलका छालझैँ गडडड आएका छन् । र पनि ती समस्याको निदान पक्ष कमजोर छ । अन्याय, अत्याचार र दुराचारविरुद्ध आन्दोलन छ, तर फितलो छ । कथालेखन शैली लगभग एकैनासका आत्मपरक निबन्धजस्तो छ । कतै कथानक बुनौटमा अस्वाभाविकता पो प¥यो कि झैँ लाग्छ । ‘म’ पात्र निरीह भएको देखिन्छ, जसले पाठकलाई बेस्वाद बनाउँछ । प्रतीक र विम्बको जटिल प्रयोग छ, जसले कथाहरूलाई दुरुह बनाएको छ ।

उपसंहार
‘मरीचिका’ नेपाली आख्यान क्षेत्रको हारमा निकै खरो उत्रिएको छ । नेपाली भाषा साहित्यानुरागीका माझमा परीक्षा दिइसकेको छ । पुस्तक प्रकाशनपछिका गेग्य्रानहरू पन्छाइसकेको छ । पतिङ्गरलाई उडाइसकेको छ । याने कि डिस्टिङ्सनमा पास भइसकेको छ । दुर्भाग्यको कुरो, जगजाहेर छ– कथाकार महेश थापा मोटर–न्युरोन–डिजिजको सिकार हुनुहुन्छ । झन्डै नबुझिने बोल्नुहुन्छ । कम्प्युटरका स्क्रिनमा कसैले उहाँलाई पु¥याइदिनुपर्छ । दाहिने हातका दुइटा औँलामात्र चल्छन् । तिनै औँलालाई माउसमा लगेर राखिदिनुपर्छ कसैले । उहाँ कम्प्युटरका स्क्रिनमा किबोर्ड झिक्नुहुन्छ र अक्षर क्लिक गर्ने यात्रा सुरु गर्नुहुन्छ । पत्याउनुस् यसरी नै निस्केको हो ‘मरीचिका’ । जाँदाजाँदै मैले भन्न खोजेको कुरा के हो भने सामान्यतया कृतिकारको शारीरिक अवस्था र कृतिको अवस्थितिलाई अन्तरघुलन गरेर हेर्ने गर्छन्– पाठक र विवेचक ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?