ज्ञानेन्द्र विवश
मङ्सिर भरिलो, रसिलो, रमाइलो महिना । हेमन्त ऋतुको पहिलो महिना । कति रमाइलो, कति आनन्दको महिना । आकाश पनि दिल खोलेर खुलेको । धरती पनि सुनबालीले झुलिरहेको । भर्खरै सकिएको दशैंतिहारको सांस्कृतिक उत्सवपछि कृषिकर्ममा ध्यान गइरहेको । बाली भिœयाउने चटारोमा हतारो भइरहेको । हेर त धान झुलिरहेछ खेत–खेतमा । सुनका बाला पहेँलपुर भएर पाकिरहेछ बोट–बोटमा । फूल फुलिरहेछ कान्ला–कान्लामा । मुस्कानमय अनुहारमा हिमाल हाँसिरहेछ मन्द–मन्द । कृषक मख्ख पर्दै बाली भिœयाउने ध्याउन्नमा योजना बुन्दैछन् ।
अन्नबाली भिœयाउन व्यस्त महिना । जाडो निम्तिने क्रमशः अनि घाम बिस्तारै प्यारो–प्यारो हुन थाल्ने महिना । असारमा रोपेको परिश्रमको फल मङ्सिरमा फल्ने महिना । त्यही अन्नबाली मङ्सिरको मैजारोसँग घरका ढुकुटीमा भरिने–भराउने महिना । आहा ! मङ्सिर कति धेरै खुसियालीको महिना । कति भाग्यमानी महिना । कृषकहरूलाई खुशीको सप्रेम भेट दिने । मिहिनेतको फलमा मिठास दिने । सन्तुष्टिको आनन्दमा जिन्दगीलाई विश्राम दिने । परिश्रमको पूजाकर्मलाई सार्थक पार्दै ढुकुटीमा अन्नभण्डारले भरिभराउ पारिदिने ।
यत्ति हो खुशी । यसमै हिमालले बेलाबखत तुवाँलो पनि पखालेर नीलिमा रङको आकाशमुनि आफूलाई प्रस्तुत गराउँछ । अनि त्यहाँ प्रदर्शित हुन्छ प्राकृतिक छटा–छविको सुमधुर दृश्यहरू सौजन्य साक्षात्कार । गोधूली–गगन र हिमालमाथि घामको अन्तिम स्पर्श–कलेवर कम आकर्षक देखिँदैन । छिनभरको रङरोगनले कति मनमोहनी मादक हिमाल । सुनौलो रङमा सिँगारिएर उपस्थित दृश्य आफैँमा कति मनोरम । घाम ताप्ने, लुगा र बिस्कुन सुकाउनेहरूको बेग्लै काम । वस्तुतः यही हो मङ्सिरको खास प्रभाव । यही नै त हो मङ्सिरको पारिलो घामको कमाल ।
घर–घरमा टन्न भकारी । अनुहारभरि सन्तुष्टिको उपस्थिति । यसकै निम्ति हो किसानले दशनङ्ग्रा खियाएको । रातदिन, भोकप्यास केही नभनी खटेको । दर्के झरीमा रूझ्दै–भिज्दै, हिलोमा हिलाम्मे भएर जिन्दगीको उत्सव मनाएको । यही खुशी प्राप्तिका लागि मेहनतको खलखली पसिना बगाएको । धान, मकै कोदोको बीउबिजन रोप्दै, पानी र मल लगाउँदै मीठो आशाको बीउ रोपेको । त्यही बीउको उब्जनी र उन्नतिले मङ्सिरमा अन्नको भकारी भित्रिएको । त्यसैले त ऋतुहरूमा मङ्सिर अन्न प्रदायक महिना । यसले नै दिन्छ वर्षदिनका लागि खानेकुराको जतन(जगेडा ।
धन्य–धन्य तिमी मङ्सिर महिना । धनधान्यले भरिपूर्ण महिना तिमी । कृषकका आशालाई निराशामा नियास्रो नपारी बरु अझै उत्साह थपिदिने । कति प्रेरणादायी तिमी । अन्नदाता, धर्तीमाता तिमी । आशाको मीठो महिना तिमी । सुख र सन्तुष्टिको महिना तिमी । तिमीलाई सतत प्रणाम ।
त्यसर्थ यो मङ्सिर महिना कृषि कार्यका लागि विशेष मानिन्छ किनकि असार–साउनको मिहिनेतको फल वा रोपाईं अब भिœयाउने बेला यही हो । पहेँला लहलहाउँदा धानका बालाहरू कतिले त काटेर घरमा भिœयाए भने कोही काट्ने तयारीमा । अनि माच बनाएर पराल राख्ने । बर्खामासमा गाईवस्तुलाई खुवाउने घाँस । दाइँ गर्दा परालमा लडिबुडी गर्नु र लुकामारी खेल्नु बाल्यजीवनका एक प्रिय खेल हो ।
नयाँ धानको चिउरा कुटेर, खेतमा पूजाआजा गर्ने, दाउनी गरेका ठाउँमा भूमिपाथी पूजा गर्ने चढाउने कार्य आजको विशेषता हो । छोरीचेलीहरूलाई भूमिपाथीका रूपमा धान दिने चलन पनि छ । नयाँ धानको चिउरा अलि रातो हुन्छ तर त्यो चिउरा खँदिलो र स्वादिष्ट हुन्छ । धान भिœयाउने, परालको माच बनाउने क्रमसँगै खेतका गरा–गरामा धानका बाला खोजेर धानको पुतली बनाएर खेलिने परम्परा पनि बालजीवनको एक सुन्दर र मौलिक खेल हो ।
अब भनिरहनुपर्दैन कि मङ्सिर महिना विशेष महिना । यो महिना रोचक र रहस्यको महिना । चिसो–चिसो सिरेटोले मायालु स्पर्श र आभास गराउने महिना । विशेषतः मङ्सिरलाई बिहेको साइत जुराउने उत्तम महिना मानिन्छ । अतः युवा–युवतीका निम्ति मङ्सिर–सपना विशेष हुन्छ । हुन पनि मङ्सिर महिना विवाहको खास महिना नै हो । छोरीचेलीलाई अन्माएर पठाउने महिना । दुलहीलाई घरमा भित्र्याउने महिना । वास्तवमा बिहे जीवनको एउटा अनिवार्य सर्त र संस्कार । सुन्दर सामाजिक कर्मको एक सिलसिला । अनि बिहे एक आवश्यकता जीवन–संसारको निरन्तरताका लागि । यही बिहेको बन्धनमा मङ्सिर महिना आगमनसँगै शुभ साइतले जुराउँछ बिजोडीलाई मिल्दो जोडी । जिन्दगीभरिको साथ । एक अनुपम संस्कार हाम्रो । विवाह सम्बन्ध विस्तारको पहिलो महŒवपूर्ण खुड्किलो ।
यो मङ्सिर महिना विवाह, व्रतबन्ध अनि अन्य शुभकार्यका साइतले भरिपूर्ण हुने गर्दछ । कपडा, सुन, मिठाई तथा फलफूल पसलमा मानिसको घुइँचो र घचारो । बाटोघाटोमा विवाहका गाडी अनि जन्त जानेहरूको हर्षोल्लासपूर्ण सहभागिता, गीतसहितका बाजा र गीतको चर्को गुञ्जन । यही गुञ्जनले चिसोलाई तत्कालै तताउँछ । अन्ततः मङ्सिर महिना पूर्वीय दर्शनमा शुभसाइतको राजा महिना । त्यसैले पनि ऋतुहरूमा यो महिना भरिलो र भरपर्दो महिना । परम्परानुसार यसै मङ्सिर महिनामा पितृलाई नयाँ चामल चढाइन्छ । यस पर्वलाई कृषकहरू न्वागी खाने पर्वका रूपमा समेत मनाइने गरिन्छ । नयाँ चामल दहीमा भिजाएर त्यसमा सिलाम मिसाई देवता, पितृलाई चढाएर खाने गरिन्छ ।
मङ्सिरपछि दिनहरू क्रमशः छोटा अनि रात लामा हुँदै जाने । अनि छिट्टै साँझ पर्ने र ढिलोगरी बिहान हुने । बिहानी प्रहरमा शीतले जमिन भिजाउने । रायोको साग, तोरीको साग, बन्दा, काउली जस्ता तरकारी फल्ने महिना । त्यसैगरी मङ्सिर महिनामा सुरु हुन्छ, वनभोज खान जाने । वनभोजको भेलाले आपसी हार्दिकताको अर्को छुट्टै अध्याय प्रदर्शित हुन्छ । वनभोज शब्द कृषकसँग जोडिएर आएको छ । किसानले धान भिœयाइसकेपछि खुसियाली मनाउन एक ठाउँमा भेला हुने र नयाँ अन्नको परिकार खाने चलन चलेको भन्ने गरेको पाइन्छ । धान भिœयाइसकेपछि खेतका फाँटमा बसेर नयाँ उघारेको अन्नलाई भोजको रूपमा खाने पर्वपछि कालान्तरमा वनभोज संस्कृति बनेको हुनुपर्दछ ।
मङ्सिरमा अमलाको रुखमुनि पकाइएको नयाँ अन्नको परिकार दाल, तरुल, पिँडालु, साग, खीर, रोटी आदि खाने परम्परा छ । मूलतः कृषिप्रधान समाजको अभिन्न अङ्गको रूपमा यो विकास भएको देखिन्छ । नयाँ धान माड्ने, दाइँ हाल्दा खलो पुज्ने, भूमे पुज्ने परम्परा एक अनुपम संस्कृति हो । नेपाली संस्कृतिमा वनभातलाई किसानहरूको पर्वका रूपमा लिइन्छ ।
हाम्रो समाजमा कृषि संस्कृतिकी आमा थिइन् । औषधि र यान्त्रिकीकरणको अत्यधिक मोहमा जनशक्ति कम प्रयोग हुँदै जाँदा एकातिर लाभका ठाउँहरू त देखिन्छन्, त्यहीँनिर संस्कृतिका ऊर्जाशील परम्परा लुप्त हुँदैछन् । अहिले कृषि संस्कृति वा अथवा मङ्सिर–सपनाले कोल्टे फेर्न थालिसकेकोे छ । न त लोकभाका, न कुन्युँ हाल्ने परम्परा, न न्वागी, न सिमेभूमे पूजा । वनभोजले पनि अर्कै रूप लिन थालिसकेको छ किनभने धानबालीको लहलह फाँटमा अब घर निर्माणले ढाक्न थालिसकेको छ । खेतीयोग्य भूमि बिस्तारै मासिँदै गइरहेको छ । अब कुनै दिन धानबाली, सुनबाली, रोपाहार, मैजारो, न्वागी, कुन्यँुका कुरा एकादेशको कथामा सीमित नहोला भन्न सकिन्न । त्यसबेला मङ्सिर–सपना चकनाचुर भइसक्ला सायद । अन्ततः मङ्सिर–सपना खेतीकिसानीमा मात्रै किन बिहेबटुलोमा पनि यसको परम्परागत पद्धतिमाथि आघात आइसकेको छ । मङ्सिर–सपनाको गति र गन्तव्य मृतःप्राय नहोला पनि कसरी नभन्नु र ?
धान बेचेर सुनको गहना किन्ने कुरा अहिले दिवास्वप्न जस्तो लाग्छ । धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बाैं रुपियाँको चामल आयात हुँदै आएको छ । कुनै जमानामा निर्यातका लागि प्रसिद्धि कमाएको क्षेत्र आयातमाथि बाँच्न अभिशप्त छ । विगतका तथ्यका आधारमा कुनै बेला नेपालको कुल निकासीमा चामलको देन लगभग पचास प्रतिशतसम्म थियो ।
देशको प्रमुख खाद्यबाली धान थन्क्याउन किसानलाई भ्याइनभ्याइसँगै यो क्रमले हराभरा खेतका फाँट क्रमशः मरुभूमिमा परिणत हुन्छ । हरियाली, फूल, हिमाल र सुन्दरताको अनुपस्थितिमा दृश्य नै विरक्तलाग्दो बन्छ । बाँझो खेत, सुक्खा भूमि र जिन्दगी भएपछि त्यहाँ रमाइलो हुने कुरा पनि भएन । त्यहाँ आँशु, त्यहाँ एक्लोपन र त्यहाँ पीडाको पिरामिड निर्माण हुन्छ ।
खेतखलियानमा हिजोसम्म धानबाली झुलिरहेकाले कति खुशीहरू थिए । कति आल्हादित पलहरू थिए । मङ्सिर–सपना विपना भएपछि बिचरा खेत खोक्रिन पुग्दोरहेछ । मुसाले भित्ता खनेर, आली बिगारेर दुलैदुलो बनाएर खेतको बिजोग बन्दोरहेछ । अनि त, धानका बाली काटेर घर भिœयाइसकेपछि खेतमा खेत हुनुको सुन्दरता बाँकी नरहँदोरहेछ । खेतमा धानबाली नहुनुको अर्थ र इज्जत नै बँच्दोरहेनछ ।
त्यसैले आज रोइरहेछौ खेत तिमी । खुसियालीको उमङ्ग छैन । उत्साहको जाँगर छैन । छ त केवल एक्लो, उदासी, निराशा र दिक्दारीका पहेलीहरू । हिजो–अस्तिसम्म तिमीले यही गरामा सुनका बाली झुलाएका थियौ पहेँलपुर । चराचुरुङ्गीका हुल यही धानबालीमा चारो टिप्न आउँथे । कीराफट्याङ्ग्र्रा यहीँ रमाउँथे । धानबालीमा चराचुरुङ्गी र कीराफट्याङ्ग्र्राका चुरिफुरी हेर्न लायक हुन्थ्यो । तर आज तिमीसँग न धानबाली छ, न हरियाली । धानको बोरा उठाएपछि किसानले पनि खेतमा फर्किएर एकपटक पाइला टेक्न आएका होइनन् । एकतमासको सुक्खा उदासीमा खेत तिम्रा अङ्ग–अवयव धाँजा फाटेर जीर्ण बन्दैछन् । त्यहाँ अहिले अब कुनै सुन्दरता बाँकी छैन । हलक्क बढेका बाली छैन, त्यसैले पानी छैन, मल लगाइँदैन । केवल सुक्खापन, नियास्रोपन र उदासिनता मात्र । र, विरमाइलोपन विद्यमान छ । हेर्दै नरमाइलो । देख्दै विरक्तलाग्दो ।
मङ्सिर–सपना कसैको बिहेको व्यग्र प्रतीक्षा हुन्छ । कसैको बाली काट्ने हतारो र दौडधूप चल्छ । कोही वनभोजको मेलोमेसो जुटाउने ध्याउन्नमा । कोही बिहेको चाँजोपाँजोमा व्यस्त हुन्छन् । तथापि बाली नभएको खेत, खेत जस्तो नै हुँदैन । खेत नभएको गाउँघरमा कुनै घमाइलो नै हुँदैन । त्यसरी नै खेत नभएको प्रकृति र खेतमा बाली नभएको अवस्थिति दाँत फुक्लिएको मुख जस्तै । पहिरो गएको पहाड जस्तै । हिउँ नभएको हिमाल जस्तै । बादल नभएको शून्य–शून्य आकाश जस्तै ।