प्रजित शाक्य
आयोजक नेपालसमक्ष बीस वर्षपछि आफ्नै घरमा आयोजना हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई सफल बनाउने चुनौती थियो । प्रदर्शनको हिसाबले पनि चम्किलो हुनु त छँदै थियो । यही मङ्सिर १५ गते भव्यतासाथ सुरु भएको १३औँ साग मङ्सिर २४ गते सकियो । यतिखेर यस खेलकुदको समीक्षा गर्नुपर्दा व्यवस्थापन औसतभन्दा माथि र खेलाडीको प्रदर्शन सफल भएको मान्नैपर्छ ।
सागजस्तो खेलकुद मेला आयोजना गर्नु चानचुने कुरा होइन । हुन त सात देशका पाँच हजारभन्दा बढी खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीको उपस्थिति रहने प्रतियोगिता आर्थिक दृष्टिकोणले बोझिलो त हुन्छ नै । अझ खेल पर्यटक र विदेशी पत्रकारजस्ता आगन्तुकको पनि आगमनले प्रतियोगतामा सुरक्षालगायत अन्य पक्ष पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । यसैगरी, उद्घाटन तथा समापन समारोह भव्य आयोजना गर्न पनि त्यति सजिलो हुँदैन ।
तीन हप्ताअघिसम्म यो खेल हुन्छ कि हुँदैन भन्ने सन्देह व्याप्त थियो । एक हप्ताअघिसम्म भौतिक पूर्वाधर पूरा भइसकेको थिएन । उद्घाटनको दुई दिनअघिसम्म दशरथ रङ्गशालाको प्याराफिटमा छानो हालिएको थिएन । तीन दिन अगाडिसम्म पौडी पोखरीमा पानी थिएन । अझ पोखरा रङ्गशालाको काम उद्घाटनपछि पनि भइरहेको थियो ।
यस्तो प्रतिकूल परिस्थितिबीच पनि समयमा नै सागको सफल आयोजना हुनु प्रशंसनीय कार्य हो । यसपालि सरकारले खर्चमा कञ्जुस्याइँ गरेन । भौतिक पूर्वाधारमा पनि धेरै खर्च गरियो । दशरथ रङ्गशाला, पोखरा रङ्गशाला पुनःनिर्माण भए । काठमाडौँ र पोखरामा खेल पूर्वाधार सागकै बहानामा बनेभन्दा फरक नपर्ला । अहिले केही व्यवस्थापकीय त्रुटिलाई छोड्ने हो भने सागको सफल आयोजनामा सबै नेपाली गर्व गर्दै छन् । यो गर्वलाई नेपाली खेलाडीले झन् उँचो बनाएका छन् ।
नेपालको प्रदर्शन
सफलता÷असफलता, ड्रामा÷सस्पेन्स, खुसी÷निराशा र उतारचढावसँग गाँसिएको हुन्छ खेलकुद । अझ देशको प्रतिनिधित्व गर्दै खेलिने दक्षिण एसियाली खेलकुद (साग)मा यस्ता भावना खेलाडीमा अझ बढी हुन्छ । यसमाथि यस्ता प्रतियोगिता आफ्नै घरमा, आफ्नै समर्थकको अगाडि हुँदा खेलाडीमा यस्ता भावनाको मापन नै गर्नै सकिन्न । काठमाडौँ, पोखरा र जनकपुरमा दस दिन चलेको दक्षिण एसियाको सबभन्दा ठूलो खेलकुद मेला सागमा पनि खेलाडीमात्र होइन, नेपाली समर्थकहरूले यस्तै अनुभूति गरे ।
यसपालि सबभन्दा बढी चर्चा भएको नेपाली खेलाडीको प्रदर्शन नै हो । नेपाली खेलाडीले घरेलु मैदानमा घरेलु दर्शकसामु गज्जबको प्रदर्शन गरे । अझ भनौँ नेपालको प्रदर्शन ऐतिहासिक रह्यो । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक हासिल गरी अङ्क तालिकाको दोस्रो स्थानमा आफूलाई उभ्यायो । पहिलोदेखि १२औँ संस्करणसम्म नेपालले हासिल गरेको स्वर्ण पदकको हिसाब गर्दा पनि कुल ७३ मात्र पुग्छ । जसमध्ये ३१ स्वर्ण पदक त नेपालले आफ्नै भूमिमा दोस्रोपटक आयोजना भएको दक्षिण एसियाली खेलकुदमा जितेको थियो । पछिल्लो सागमा त नेपालले मात्र तीन स्वर्ण पदक जितेको थियो । यसपालि नेपालले पहिलो दिन नै १५ स्वर्ण पदक जितेर ठूलो छलाङ मा¥यो । त्यसपछि नेपालले समापनका दिन पनि प्रतिष्ठित फुटबलको स्वर्ण पदक जितेर खेलको सुखद बिदाइ ग¥यो ।
यसबीच नेपालका धेरै खेलाडीले ऐतिहासिक प्रदर्शन गरे । जसमध्ये १७ वर्षकी गौरिका सिंहको नाम सबभन्दा अगाडि आउँछ । जलपरी गौरिका १३औँ सागको गोल्डेन गर्ल बन्नुभयो । उहाँले पौडीमा चार स्वर्णसहित कुल नौ पदक जित्नुभयो । गौरिकाले चार स्वर्ण जितेर साग खेलुकदमा नेपालका सर्वाधिक सफल खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गर्नुभयो । दीपकले लगातार चार संस्करणमा चार स्वर्ण पदक जित्नुभएको थियो । गौरिकाले भने एकै संस्करणमा जित्नुभएको हो । १३औँ सागमा गौरिकाको नाममा कुल चार स्वर्ण दुई रजत र तीन कास्य पदक रह्यो । यस प्रदर्शनले उहाँ साग खेलकुदकै सबभन्दा सफल नेपाली खेलाडी बन्नुभयो । यसअघि, पौडीले व्यक्तिगत स्वर्ण पनि हासिल गर्न सकेको थिएन ।
नेपाललाई सर्वाधिक स्वर्ण जिताउने मार्सल आर्ट्स दशकपछि आफ्नो लक्ष्यअनुरूप सही बाटोमा हिँडेको यस सागले देखायो । तेक्वान्दो, कराँते, उसु, जुडो, बक्सिङ कुनै खेलले पनि निराश पारेन । मार्सल आर्ट्समा गर्विलो इतिहास बोकेको नेपाल यसपटक गज्जबले चम्क्यो । घरमै भएको आठौँ दक्षिण एसियाली खेलकुदमा कराँते र तेक्वान्दोमा १४–१४ स्वर्ण जितेपछि नेपालको मार्सल आर्ट्स ओरालोतर्फ लागेको थियो । पछिल्लो सागमा त तेक्वान्दो स्वर्णविहीन बन्यो । त्यसबेला उसु र जुडोले एक–एक स्वर्ण जितेर मार्सल आर्ट्सको छविलाई केही ढाकछोप गर्न सफल भएको थियो । नेपालसरह मार्सल आर्ट्समा गर्विलो इतिहास नबोक्ने भारत यस खेलमा लगातार चम्किरहेको थियो भने पाकिस्तान र श्रीलङ्का पनि नेपालभन्दा अगाडि पुगे । भुटान पनि नेपाललाई चुनौती दिने भइसकेको थियो । तर, नेपालले यसपालि मार्सल आर्ट्समा आफ्नो पुरानै छवि फर्काएको छ ।
तेक्वान्दोकै आयशा शाक्य, कराँतेका मन्डेकाजी श्रेष्ठका लागि यो साग अविस्मरणीय बन्यो । मन्डेकाजी आफ्नो खेल जीवनको उत्तराद्र्धमा हुनुहुन्छ भने आयशा दुई सन्तानकी आमा । यी दुईले यस सागमा च्याम्पियन बन्न उमेर र परिस्थितिले छेक्दैन भन्ने गहकिलो सन्देश दिएका छन् । उसुकी निमा घर्तीमगर व्यक्तिगत स्पर्धामा स्वर्ण पदक रक्षा गर्ने नेपालकी एकमात्र खेलाडी बन्नुभयो । निमा १२औँ सागमा नेपालको खातामा स्वर्ण पदकको खाता खालेर गोल्डेन गर्ल बन्नुभएको थियो । सो समय उहाँको स्वर्ण अनपेक्षित थियो भने यसपटक अपेक्षाअनुरूपमा नै स्वर्ण पदक जितेर निमाले देशलाई गौरवान्वित बनाउनुभयो ।
बक्सिङले २० वर्षप्छि स्वर्ण पदक हासिल ग¥यो । मीनु गुरुङ सागमा स्वर्ण पदक जित्ने नेपालका पहिलो महिला बक्सर बन्नुभयो । महिला कुस्तीमा सङ्गीता धामीले स्वर्ण जितेर सबैलाई आश्चर्यमा पार्नुभयो । महिला कुस्तीमा नेपाललाई पहिलोपटक स्वर्ण पदक प्राप्त भएको हो । भारोत्तोलनकी सञ्जु चौधरी पनि यस खेलमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बन्नुभयो ।
५१ स्वर्ण पदकका माझमा नेपालीलाई सबभन्दा बढी खुसी बनाउने स्वर्ण फुटबलको थियो भन्दा अत्युक्ति नहोला । १३औँ सागमा स्वर्ण पदक नजितेको भए नेपाली फुटबलको आलोचना हुने पक्का थियो । नेपालमा फुटबलप्रतिको लगाव अन्य खेलभन्दा धेरै छ । त्यसैले फुटबल हुँदा दर्शकको बाक्लो उपस्थिति हुने गर्छ । यसपटक त नेपालले खेल्ने हरेक खेलमा दशरथ रङ्गशाला खचाखच भरिए । टिकट नपाएर पटक–पटक हुलदङ्गा नै भयो । नेपालले दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जितेको यो चौथोपटक हो । नेपालले फाइनलमा भुटानलाई हराएको थियो ।
एथ्लेटिक्सको प्रदर्शनलाई पनि जति प्रशंसा गरे पनि कम हुन्छ । दस हजार महिला दौडमा सन्तोषी श्रेष्ठ र पाँच हजार मिटर पुरुष दौडमा गोपीचन्द्र पार्कीले जितेको स्वर्ण पदक ऐतिहासिक रह्यो । भारत, श्रीलङ्का र पाकिस्तानको दबदबा तोडेर यस खेलमा स्वर्ण पदक जित्नु कुनै चमत्कारभन्दा कम थिएन । अझ सन्तोषीको स्वर्ण पदक विशेष चर्चामा रह्यो । दस हजार मिटर जस्तो लामो दौडको अन्त्य ‘फोटो फिनिस’मा भयो । सन्तोषीले रजत पदकमा थन्किने भारतकी कविता यादवलाई ०.०१ को मिलिसकेन्डमा पछाडि पारेर निराश बनाउनुभयो । यसअघि, सन् २००६ मा भएको कोलम्बो सागमा कान्छीमाया कोजूले हासिल गरेको रजत पदक नै महिला एथ्लेटका लागि ठूलो उपलब्धिका रूपमा रहेको थियो ।
म्याराथनमा किरणसिँह बोगटीबाट त अपेक्षा नै गरिएको थिएन । किरणले अहिलेसम्म म्याराथनमा राष्ट्रिय प्रतियोगिता पनि जित्न सकेका थिएनन् । अझ किरणको यो पहिलो अन्तर्राष्ट्रिय दौड हो । तर, सबैको अपेक्षाविपरीत किरणले ठूलो उपलब्धि हासिल गर्नुभयो । साग खेलकुदमा म्याराथनलाई सबभन्दा कठिन खेलमध्ये एक मानिन्छ । किरणले यसपटक म्याराथनमा च्याम्पियन भएर यस खेलका हस्ती धावक वैकुण्ठ मानन्धरको स्मरण गराउनुभयो । वैकुण्ठ सुरुका तीन संस्करणमा म्याराथनमा स्वर्ण जित्ने आदर्श धावक हुनुुहुन्छ । गल्फर सुवास तामाङले पनि दुई स्वर्ण जितेर आफूलाई नेपाली खेलकुदमा अमर बनाउनुभयो ।
यसैगरी, नेपाललाई पहिलोपटक ट्रायथलन र साइक्लिङमा स्वर्ण पदक प्राप्त भयो । यो गौरव ट्रायथलनकी सोनी गुरुङ र साइक्लिङमा राजेश मगर, निस्मा श्रेष्ठ, बुद्धिबहादुर तामाङ र लक्ष्मी गुरुङले ऐतिहासिक प्रदर्शन गर्नुभयो । महिला क्रिकेटमा नेपालकी अञ्जली चन्दले माल्दिभ्सविरुद्ध एक रन पनि खर्च नगरी छ विकेट लिएर विश्व कीर्तिमान बनाउनुभयो ।
महिला भलिबलले रजत पदक जितेर पनि सम्पूर्ण नेपालीको मन जित्यो । महिला भलिबलमा एकछत्र राज गरेको भारतलाई नेपालले फाइनलमा पहिलोपटक हार्न सक्छु भन्ने आत्मसात् गराएको थियो ।
ओलम्पिक, एसियाली र सागजस्ता ठूला खेलकुद मेलाअघि विगतमा नेपालको तयारी कहिल्यै राम्रो भएन । ओलम्पिक, एसियाली र सागजस्ता ठूला प्रतियोगिताअघि नेपाली खेलकुदका विभिन्न निकायबीच विवाद चरमचुलीमा पुग्ने गथ्र्यो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको मनमुटावमात्र होइन, सङ्घहरूको आन्तरिक खिचातानी पनि धेरै हुने गर्छ । तर, यसपालि स्थिति फरक बन्यो । अर्धशतक स्वर्ण पदक छुने लक्ष्यसहित यसपालि सबै खेललाई सरकारले राम्रो प्रशिक्षणका व्यवस्था ग¥यो । २६ मध्ये २१ खेल त वैदेशिक प्रशिक्षणमा रहे । अन्य खेलमा पनि विदेशी प्रशिक्षक झिकाएर प्रशिक्षणको व्यवस्था गरियो । प्रशिक्षणमा रहँदा न्युट्रिसन, डायटसियन, मेडिसियन, साइक्लोजिस्ट र मोटिभेटरको व्यवस्था गरियो । पूर्वविजेताहरूलाई लिएर अन्तक्र्रिया कार्यक्रम गरियो । यो तयारीले खेलाडीहरूमा गज्जबको उत्साह देखिन्थ्यो ।
राम्रो गृहकार्यसहित तयारी गरेमा नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय उपलब्धि दिलाउन सक्षम छन् भन्ने कुरा यसपटकको सागले स्पष्ट गरिदिएको छ । अब यो लयलाई निरन्तरता दिन जरुरी छ । १३औँ सागको परिणामलाई हेरेर रमाएर बस्नेभन्दा अहिलेदेखि नै १४औँ साग, एसियाली खेलकुद र ओलम्पिकको तयारी गर्न हतार गनुपर्छ । खेल सङ्घहरूले नै आ–आफ्नो खेललाई विशेष ध्यान दिनुपर्छ भने सरकारले पनि यस ऊर्जालाई कायम राख्नुपर्छ ।
केही कमजोरी पनि
सफलताले कहिलेकाहीँ कमजोरीको ढाकछोप हुने गर्दछ । १३औँ सागमा पनि कैयौँ कमजोरी भए । सुटिङमा नेपाली खेलाडीको बन्दुकले काम गर्न छोड्दा विपक्षीको हतियार मागेर प्रतिस्पर्धा गर्नुप¥यो । अझ खेलका लागि राखेपले २० वर्ष पुरानै बन्दुक उपलब्ध गराएर यसो भएको समाचार आउँदा देशकै ठूलो बेइज्जति भयो । ट्रायथलनका स्वर्ण पदक विजेता सोनी गुरुङले पुरानै साइकल चढेर प्रतिस्पर्धा गरेको भनी रोष प्रकट गर्नुभयो । ट्रायथलनका अन्य खेलाडीले पनि यस्तै उजुरी गरे । व्यवस्थापन साह्रै कमजोर देखियो । खेल स्थलमा सहभागी, खेलाडी, दर्शक र पत्रकार नै एक ठाउँमा मिसिएका थिए । जुन दृश्य एकपटक होइन, पटकपटक देखियो । फुटबलमा कति दर्शक टिकट हुँदा पनि रङ्गशाला पस्न पाएनन् । खेलतालिकाअनुसार खेलहरू भएनन् । फुटबलमा दुई दिनमा दुई खेल खेल्नुपर्ने तालिका बनेपछि अन्य टिमले फुटबल नै बहिष्कार गर्ने धम्की दिए । हुन पनि एक खेलपछि ४८ घन्टाको विश्राम दिनुपर्ने सामान्य मान्यतालाई पनि यसपटक लत्याइएको थियो । अन्तिम दिन सुरक्षाकर्मीले रङ्गशालाबाहिर रहेका दर्शकमाथि गरेको दमन र समाचार सङ्कलनको क्रममा रहेका पत्रकार सुमन चापागाईंलाई घाइते बनाएपछि व्यवस्थापनमा ठूलो प्रश्नचिह्न खडा गरेको थियो ।