सुकृत नेपाल
कसैलाई कुनै समस्या छ भने त्यसको समाधान नजिकका मानिससँग सँगै बसेर खोज्ने एउटा तरिका हो, कचहरी नाटक । त्यो कसैले भोगिरहेको समस्या होस् या कसैले उब्जाएको समस्या किन नहोस् ।
निर्देशक अगस्टो बोआलद्वारा करिब ५० वर्षदेखि अम्यासमा ल्याइएको यो शैलीलाई अङ्ग्रेजीमा ‘फोरम थिएटर’ भनिन्छ । आजकल यो शैलीको अम्यास विश्वको करिब सयभन्दा बढी देशमा सुरु भइसकेको छ । करिब १९ वर्षअघि आरोहण गुरुकुल र एमएस नेपालले यस किसिमका नाटकको अभ्यास सुरु गरेका थिए । त्यसपछि बिस्तारै नेपालका अन्य नाट्य समूहले पनि कचहरी नाटक गर्न थाले ।
के साँच्चै ‘कल्पना र उर्मिला दुःखमा छन् त’ भन्दै सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, कञ्चनपुर, सुनसरी, मोरङ र जनकपुरमा नाटकमार्फत यस प्रश्नको जवाफ खोजियो तर प्रश्नको सही जवाफ कतै भेटिएन । कहिलेसम्म उर्मिला र कल्पनाले दुःख पाइरहने ?
कलिलै उमेरकी कल्पनाको बिहे गरेको केही महिनामा नै श्रीमान् हर्कबहादुर विदेश जान्छन् । श्रीमान् विदेश गएको दुई वर्ष बित्दा पनि फर्कने नामोनिशान लिँदैनन् । श्रीमान्को पर्खाइमा कल्पना गाउँमा कसरी बसेकी होलिन् ? कल्पनालाई खान, लगाउन र बस्न घरले दिएर मात्र पुग्छ होला ? तर उनलाई यी सबैकुरा भन्दा पनि श्रीमान् नै पहिला चाहिएको छ । तर श्रीमान् आउने केही अत्तोपत्तो हुँदैन । विदेशमा दुःख खेपिरहेको हर्केलाई आफ्नो गाउँ, बुबा–आमा र श्रीमती छाडेर टाडा हुँदा मनमा कस्तो भइरहेको होला ? कति सम्झन्छन् होला उनी श्रीमतीलाई ? बुढा विदेश र बुढी गाउँमा, यसले श्रीमान् श्रीमती बीचमा कति शङ्का उब्जाउँछ भन्ने प्रश्नको जवाफ खोजिएको छ नाटकमा । श्रीमान् विदेशमा भएका श्रीमतीहरुलाई गाउँघरमा बस्न कति सहज छ होला ?
स्कुल पढ्दा पढ्दै किन किशोरीहरूको विवाह गरिदिइन्छ ? यस्तोमा के छोरीहरूले पढ्न चाहना राखे भने पढ्न पाउँछन् ? १६ वर्ष कि उर्मिला १७ वर्षको गोपुसँग किन भागेर गई ? सानै उमेरमा विवाह गरिदिँदा बच्चा जन्माउन कत्ति समस्या हुन्छ होला ? यही विषय समेटिएको नाटकमा प्रश्नै प्रश्न र समस्या नै समस्याको भण्डार छ । नाटक सकिन्छ । नाटकको कथामा दुःख पाएकी कल्पना र उर्मिलाहरूले के के गरे भने दुःखबाट मुक्ति पाउँछन् होला भन्ने प्रश्नहरू सोझिन थाल्छन् । उनीहरूको दुःख कसले सुन्ने ? उनीहरूलाई परेको जस्तै दुःख हामीलाई प¥यो भने के गर्ने ?
नाटकमा घरेलु हिंसा, बालविवाहका साथै जाँडरक्सी एवं जुवातासको समस्या देखाइन्छ । समुदायमा व्याप्त यी समस्यालाई समुदायकै अगाडि देखाएर समुदायबाटै समाधानका लागि पहल गर्नुपर्छ भन्ने उद्देश्य नाटकले बोकेको छ । नाटक पूरा छैन र यसलाई कसरी पूरा गर्ने भन्ने खोजमा छन् कलाकाहरु ।
नाटक मञ्चनपछि दर्शक, निर्वाचित जनप्रतिनिधि तथा प्रहरी–प्रशासनबीच नाटकका विषयमा बहस सुरु हुन्छ । नाटकमा देखाइएका समस्यालाई जनप्रतिनिधि एवं प्रहरीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयमा छलफल चलाइन्छ ।
पहाड र तराईका भित्री स्थानमा नाटक देखाएर आएका निर्देशक घिमिरे युवराज भन्नुहुन्छ, ‘त्यहाँका दर्शकका लागि नाटक हेर्नु आफैँमा मनोरञ्जनको कुरा हो । त्यसबाहेक पनि नाटक हेर्न आएका दर्शकहरू बोल्ने गरेका छन् । जस्तै बालविवाहकै विषयमा १५÷१६ वर्षमा विवाह भएका, बच्चाबच्ची भएका महिलाहरू मायाप्रेमको लहैलहैमा लागेर बिहे गरियो, अहिले दुःख पाइयो भनेर आफ्नो व्यथा सुनाउँछन् । धेरैको मागी होइन, भागी बिहे भएको रहेछ ती ठाउँमा । स्कुल पढ्दा मन पराएर विवाह गरेका रहेछन् । विवाह गरेपछि श्रीमान् विदेश जाने, चार पाँच वर्षपछि घर फर्कंदा आपसी दूरीका कारण सम्बन्ध बिग्रिएका घटना पीडितहरूले बताएका छन् ।’
युवराजका अनुसार बर्दियामा ‘भल्भन्सा’ बस्दोरहेछ । परम्परागत रूपमा बस्दै आएको समुदायले सिर्जना गरेको निर्णय गर्ने समूह रहेछ यो । यो सरकारी निकाय होइन ।
‘अहिले पनि कतिपय समस्या भल्भन्साले नै मिलाइदिँदो रहेछ । बलात्कार, घरेलु हिंसा, कुटपिटजस्ता कुरामा प्रहरीले चासो दिँदोरहेछ तर ससाना कुरामा भल्भन्सा नै प्रयोग हुँदोरहेछ । यो विषयमा पनि बहस भयो ।’ एउटा जिल्लाका चार स्थानमा नाटक देखाइने भए पनि रोल्पामा भने पाँच स्थानमा नाटक देखाइएको उहाँले बताउनुभयो ।
‘कल्पना र उर्मिला दुःखमा छन्’ मा विवाह गरेको केही महिनामै बिदेसिएका हर्कबहादुर दुई वर्षसम्म नफर्कंदा उनकी श्रीमती कल्पना गाउँमा कसरी बसेकी छिन् । अभावमा बाँचेकी कल्पनालाई खाना, नाना र छानाले मात्र पुग्छ कि उनलाई लोग्ने पनि चाहिन्छ ? विदेशमा दुःख खेपिरहेका हर्कबहादुरलाई आफ्नो
गाउँ, बाबुआमा र श्रीमती छोडेर वर्षौं टाढा बस्दा कस्तो भइरहेको होला ? यिनै कुरालाई नाटकमा देखाइन्छ ।
नाटकमा मञ्जु श्रेष्ठ, प्रियङ्का झा, राजेश सक्सेना, रिना रिमाल, पवित्रा खड्का, सङ्गीता उराव, स्मारिका फुयाल, नम्रता अर्याल, सबिन कट्टेल, झकेन्द्र बीसी, मानहाङ लावती, रबिन परियार, गोविन्द ओली, ज्याक बराल र हिमाल भुजेलको अभिनय छ । प्रत्यक्ष सङ्गीत अमजद प्रवेज र स्मारिका फुयालको छ । फोटो र भिडियोको अभिलेख जीवन आले र आर के आदिप्ती गिरीको छ ।