त्रिचन्द्र प्रतीक्षा
‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनीले’, ‘लाहुरेको रेलीमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘किन गर्छौ तानातानी दुई दिनको छ जिन्दगानी’, ‘अब त जाऊँ कान्छी घर बाटो छ, उकाली–ओराली’, ‘नजाऊ छाडी विदेश’, ‘चुइँचुइँ चुइँकिने जुत्ता’ जस्ता झ्याउरे लयका गीत अजर र अमर बनेका छन् । त्यतिबेलै मास्टर मित्रसेनले ग्रामोफोनमा रेकर्ड गराएका यी गीत आजसम्म पनि सदावहार छन् ।
साङ्गीतिक इतिहास केलाउने हो भने मास्टर मित्रसेन त्यस्ता व्यक्ति थिए, जसले आजभन्दा एक सय वर्षअघि नेपाली गीत गाएर अत्यधिक चर्चा बटुलेका थिए । ‘त्यसबेला आधुनिक र परिष्कृत सङ्गीतको विकास भइसकेको थिएन, त्यसैले मित्रसेनका गीत सबैको मुखमा झुन्डिने लोकगीतजस्ता भए,’ सङ्गीतकर्मी आभास भन्नुहुन्छ, ‘मित्रसेनको योगदान साँच्चै लोभलाग्दो छ ।’
मास्टर मित्रसेनको जन्मस्थानबारे लेखक र इतिहासकारबीच भिन्नमत पाइन्छ । सन् १९९९ नोभेम्बर २० मा रु. १ को मास्टर मित्रसेन चित्र अङ्कित संस्मरणात्मक हुलाक टिकट प्रकाशित भयो । यसमा उल्लेख गरिएअनुसार उनको खास नाम मित्रसेन सिञ्जाली थापामगर र जन्ममिति २९ डिसेम्बर १८९५ हो । भारतको हिमाञ्चल प्रदेशको काँगडास्थित भाग्सु छाउनी धाराखोलानेरको धर्मशालामा उनको जन्म भएको हो । नेपाल सरकारले हुलाक टिकट जारी गरेपछि भारत सरकारले पनि सन् २००१ अक्टोबर ९ मा रु. ४ को हुलाक टिकट प्रकाशनमा मात्र ल्याएन कि मित्रसेन मार्ग, मित्रसेन विद्यालयजस्ता भौतिक संरचनाको नामकरणसमेत ग¥यो ।
बुवा मानवीरसेन थापामगर र आमा राधा थापामगरको एउटै सन्तान थिए मित्रसेन । उनी जन्मँदा बाबु फस्र्ट गोरखा राइफल्समा हवल्दार थिए । पुख्र्यौली जन्मथलो बाग्लुङ जिल्लास्थित राखुपुल्ला (हाल ः पर्वत राखुखोला) हो । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा गोर्खालीहरू रणकौशल र वीरतालाई अगाडि सार्दै सतलजसम्म पुगेका थिए । यो अभियानमा मित्रसेनका बाजे सुन्दर थापामगर पनि बडाकाजी अमरसिंह थापासँग पश्चिमतिर लागेका थिए । मालकण्डामा घमासान युद्ध भयो । तर, युद्ध परिणाममुखी नभएको र सतलजपारिका राजा संसार चन्दको काँगडा किल्लामा गोर्खाली फौजलाई घेराबन्दीमा राखेर अतन्तः २४ अगस्ट १८०९ मा युद्ध सन्धिमा टुङ्गियो । स्थानीयवासीका अनुसार यही युद्धमा गएका केही गोर्खाली काँगडा किल्लाभन्दा माथिल्लो थुम्कामा रहेको धर्मशालामा गएर बसेका थिए । अहिले पनि धर्मशाला नजिक ‘थापा गाउँ’ रहेको छ । त्यसबखत मास्टर मित्रसेनका बाजे सुन्दर थापामगरलगायत गोर्खाली जवान पनि त्यतै बसेको भनाइ छ । मित्रसेनको सन् १९११ मा आठ कक्षा पढ्दापढ्दै कलावती थापासँग बिहे भयो । बिहे भएको केही महिनापछि नै ‘गोर्खा राइफल्स’मा उनी जागिरे भए । सन् १९१४ को प्रथम विश्वयुद्धमा फ्रान्सको तर्पmबाट उनी मेसोपोटामियामा टर्कीको फौजविरुद्ध युद्धमा लडे । सन् १९२० मा भारत फर्केपछि २५ वर्षको उमेरमा उनले सैनिक सेवाबाट राजीनामा दिए ।
काम नभएपछि सन् १९२१ मा साथी श्रीरङ्ग शर्माको सल्लाह र साझेदारीमा आफ्नै पल्टनमा उनले क्यान्टिन खोले । जीविकोपार्जनका लागि यो काममा लागिरहेको बेला सन् १९२२ मा मित्रसेनले ठूलो पीडा खेप्नुप¥यो । तीनजना छोराछोरी (काकु, लुरी र काला) को हैजाबाट मृत्यु भयो । वर्ष दिनपछि श्रीमती कलावतीको पनि मृत्यु भयो । परिवार बितेको दुःख र पीडाले विरक्तिएका मित्रसेनले क्यान्टिन चलाउन सकेनन् । अनि समाजमा जागरण ल्याउने उद्देश्यले गीत, सङ्गीत र गायनको साधनातिर उनी लागे । सन् १९३४ मा जातीय जागरण र लोकभाका गीतका पोका बोकेर भारतको बङ्गाल, आसाम र नेपालको पाल्पा हुँदै उनी काठमाडौँ आइपुगे । बहादुरसिंह बराललगायतका समूह लिएर आएको हुनाले त्यसताका ‘बराल मण्डली’ भन्ने गरिन्थ्यो । काठमाडौँमा पशुपतिनाथको दर्शनपश्चात् प्रधानमन्त्री जुद्ध शमशेरलाई खुसी पारी ६÷७ महिना काठमाडौँमै बसेर आफ्नो समूहको गायन, नाटक प्रदर्शन गर्ने अवसर पाए ।
काठमाडौँ बसाइमा मास्टर रत्नदासप्रकाशसँग मास्टर मित्रसेन र बहादुरसिंह बरालको भेट भएको कुरा रामशरण दर्नालको पुस्तक ‘नेपाली सङ्गीत साधक’ मा उल्लेख छ । त्यसपछि ‘अब त जाऊँ कान्छी घर’, ‘नौतल्ले बाउन्न ढोका’ आदि गीतका डिस्क रेकर्ड गर्ने निधो गरेर उनी भारत फर्के । उनले सन् १९३६ मा तयार गरेका ‘बालभक्त धुव्र’ लाई पहिलो नेपाली रेडियो नाटक मानिन्छ ।
मास्टर मित्रसेनको हालसम्ममा फेलापरेका कृतिमा ११ वटा खण्डकाव्य, ९७ वटा गीतमध्ये ३२ वटा ग्रामोफोन रेकर्ड भएका गीत, १४ वटा नेपाली, हिन्दी र उर्दूमिश्रित भाषाका नाटक, पाँँचवटा डिस्क रेकर्ड भएका नेपाली नाटक छन् । सन् १९३७ मा सिलाङबाट प्रकाशित भएको ‘गोर्खा सेवक’ पत्रिकामा पाँचवटा कथा, छवटा निबन्धलगायत अन्य केही लामो लेख प्रकाशित छन् भने नेपालबाट प्रकाशित ‘शारदा’ पत्रिकामा समेत दुईवटा कविता प्रकाशित छन् ।
उनका अप्रकाशित दर्जनौँ कृति निवासस्थान ‘मित्र झुप्रो’ मा धमिराले नष्ट गरेको अवस्थामा फेलापरेका थिए । सन् १९४४ सेप्टेम्बरमा बराल मण्डलीसहित मित्रसेन अन्तिमपटक आमा, पत्नी र छोरासाथ पाल्पा आए । यसपटक मित्रसेन रिडीको कालीगण्डकीमा सपरिवार स्नान गरी भारतको नौतनवा फर्किने कार्यक्रम थियो तर एक्कासि बिरामी परेको कारण फर्किन सकेनन् । नेपालबाट फर्किने बेलामा मित्रसेनको स्वस्थ्य प्रतिकूल बन्दै गयो । सन् १९४६ मार्चमा उनी धर्मशाला फर्के । दुई हप्तापछि ९ अप्रिल १९४६ मा उनको निधन भयो । भोलि उनको १२३औँ जन्मजयन्ती मनाइँदै छ ।