logo
२०८१ मंसिर ८ शनिवार



प्रज्ञामा ‘माक्र्स फर्किए’ (नाटक)

शनिवार |


प्रज्ञामा ‘माक्र्स फर्किए’ (नाटक)


ध्रुव लम्साल

नेपालका कम्युनिस्ट पार्टीले आयोजना गर्ने प्रायः कार्यक्रममा कार्ल माक्र्स र लेनिनको तस्बिर अनिवार्यजस्तै राखिएको हुन्थ्यो, एक समय । दशकअघिसम्म माक्र्स र लेनिनको तस्बिरविना कम्युनिस्ट पार्टीका कार्यक्रम अपूर्ण मानिन्थ्यो । अहिले पहिलाझैँ माक्र्स, लेनिन, एङ्गेल्सको तस्बिर लहरै राखेर कार्यक्रम गर्नेक्रम पातलिएको छ, कम्युनिस्ट पार्टीहरूमै पनि । यसको अर्थ माक्र्सको वैचारिक चिन्तनप्रति वितृष्णा बढेको हैन । माक्र्स र माक्र्सवादको व्याख्या गर्दै उनको चिन्तनलाई शिरोपर गर्ने नेपाली नेताहरू धेरै भइसके । अहिले पनि वामविचारप्रति झुकाव राख्ने लेखक, कलाकार, प्राध्यापक, अन्वेषक निर्देशकलगायतले माक्र्सलाई आफ्ना सैद्धान्तिक गुरु मान्ने परम्परा छँदै छ ।
सन् १८१८ मे ५ मा जन्मिएका कार्ल माक्र्स व्यक्तिमात्रै रहेनन् । उनी विचारको प्रतिविम्ब बने । उनले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवाद आज विश्वका कतिपय ठूला युनिभर्सिटीमा अध्ययनको विषय बनेको छ । कम्युनिस्ट पार्टीमा लाग्ने नेता तथा कार्यकर्ताले त माक्र्सवाद नपढी हुन्न । माक्र्सवादमा केन्द्रित भएर लामा बहस हुन्छन्, कतिपय प्राज्ञिक स्थलमा ।
तिनै माक्र्सले एक सय चालीस वर्षअघि बिताएको जीवनका आधारमा लेखिएको नाटक ‘माक्र्स फर्किए’ मञ्चन भयो । कार्ल माक्र्सको द्विशत वार्षिकी समारोह समिति नेपाल र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुसको पहिलो साता प्रज्ञाप्रतिष्ठानमा नाटक मञ्चन भयो ।
माक्र्सको कठिन जीवन, पारिवारिक स्थिति र उनले गरेको सङ्घर्ष नाटकमा समेटिएको छ । विश्वमा मौलाउँदो पुँजीवाद धर्मबारेमा माक्र्सको धारणा प्रस्तुत गरिएको छ । मूल लेखक हवार्ड जिन रहेको यस नाटकको नेपाली अनुवाद दामोदर उपाध्यायले गर्नुभएको हो । नाटकको निर्देशन तथा परिकल्पना सुनील पोखरेल र प्रवीण खतिवडाले गर्नुभएको हो ।
सुनील पोखरेल माक्र्सको भूमिकामा देखिनुभएको थियो भने निशा शर्मा, प्रवीण खतिवडा, कमलमणि नेपाल, सरस्वती चौधरी, सविन भट्टराई, रामभजन कामत, राम न्यौपानेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
निर्देशक पोखरेलको भनाइमा यो नाटक मनोरञ्जनका लागि मात्रै थिएन । यो नाटकको सार नै विचारप्रधान हो । नाटक तयारीक्रममा उहाँले पेरिस कम्युनदेखि राहुल साँकृत्यानका जीवनी अध्ययन गरेको बताउनुभयो । ‘यो नाटक गर्नु मेरो रहर थियो, उत्तिकै चुनौतीपूर्ण पनि,’ पोखरेलले भन्नुभयो ।
नाटकमा माक्र्सवादका विभिन्न पक्षको विश्लेषण गर्दै माक्र्सवादको प्रभाव क्रमशः बढ्दै गएको तर्क पेस गरिएको छ । रसियालगायत मुलुकमा कम्युन शासन ढलेपछि माक्र्सवादको औचित्य सकियो भन्नेखालका तर्कले बढी नै ठाउँ पाउन थाले, जो कम्युन मन पराउँदैनथे, उनीहरूले रसियाको उदाहरण दिँदै माक्र्सवादको औचित्य सकिएको दृष्टान्तसमेत पेस गरे ।
पुँजीवादका पक्षपोषकहरूका लागि ‘रसिया घटना’ एउटा अवसर पनि थियो । विश्वमा अहिले पुँजीवादको प्रभाव बढ्दो छ । अन्तको कुरा छाडौँ । कम्युनिस्टहरू सम्मानजनक हैसियतमा रहेको नेपालमै पनि माक्र्सवाद युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीका लागि अङ्क ल्याउने अस्त्रमात्रै बनेको यथार्थ जगजाहेरै छ ।
यसको अर्थ यो होइन कि माक्र्सवादको औचित्य सकियो । पुँजीवादले केबल धनीलाई धनी बनाउँदै जाने र गरिब निम्छराहरूबारेमा कम चासो राख्ने प्रवृत्तिले पनि माक्र्सवादको प्रभाव बढ्दै गएको महसुस हुन्छ । पुँजीवादको अन्त्य भनौँ वा त्यसपछिको समाज भनेको माक्र्सवाद नै हो भन्दा फरक पर्दैन ।
माक्र्स त्यो समयमा जन्मेका थिए, जुन बेला कृषिबाट उद्योगमा रूपान्तरण हुँदै गएको बेला बहुसङ्ख्यक व्यक्तिको जीवन कष्टकर हुँदै थियो । त्यही विषम परिस्थितिले माक्र्सलाई साम्यवाद उन्मुख हुन प्रेरित गरेको थियो । माक्र्स आर्थिक अवस्था राम्रो भएको यहुदी परिवारमा जन्मिएका थिए । उनले स्कुल जीवन सकिएपछि बोन विश्वविद्यालयमा कानुन पढ्न थाले । त्यसपछि बर्लिन विश्वविद्यालयमा इतिहास र दर्शनको अध्ययन गर्न थाले । सन् १८४२ मा ‘रेन्चे जाइतुङ’ नामको पत्रिका प्रकाशन सुरु गरे । पत्रिकामा किसानमाथि ठूलाबडाले गरेको विभेदका कथा लेखेपछि जर्मनी सरकारले पत्रिकालाई प्रतिबन्ध लगायो र उनलाई देशनिकाला ग¥यो । त्यसपछि माक्र्स लन्डनमा निर्वासित जीवन जिउन थाले ।
त्यहीबेला हो, उनले पुँजी लेख्न सुरु गरेको । जतिबेला उनले चरम आर्थिक सङ्कटको सामना गर्नुप¥यो । जाडोयाममा आफैँले लगाएको कोट र जुत्तासमेत धरौटी राख्नुपर्दाको पीडा त छँदै छ । उपचारको अभावमा छोरीहरूको निधनभन्दा ठूलो पीडा अरू के होला एउटा बाबुका लागि । तर, उनले हरेस खाएनन् । ब्रिटिस लाइब्रेरी धाएर भए पनि पुँजी पूरा गर्ने लक्ष्य लिए । निर्देशक पोखरेल भन्नुहुन्छ, ‘यो नाटकबाट मैले एउटा कुरा सिकेँ । चिन्तकहरू त्यो बेलामा रहेछन्, जसले दुःख गरेर भए पनि आफ्ना लागि हैन कि भविष्य र समाजको चिन्ता गरेर लेखे । समाजलाई बाटो देखाउने मान्छे त्यो बेला रहेछन् ।’
निर्देशक पोखरेलकै भनाइअनुसार यो नाटक मनोरञ्जनका लागि मात्रै थिएन । सिद्धान्तमा बहस गर्नेहरूका लागि एउटा अवसर भयो होला । परम्परागत शैलीका नाटक मञ्चन भइरहने हाम्रोजस्तो समाजमा सुनील पोखरेलहरूले नै मौलिक र बौद्धिक नाटक मञ्चनको सुरुवात गर्नुभएको थियो । ‘माक्र्स फर्किए’ मञ्चनलाई पनि एउटा बौद्धिक बहसका रूपमा व्याख्या गर्न सकिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?