logo
२०८१ मंसिर ८ शनिवार



गुल्मीको सान रेसुङ्गा

शनिवार |


गुल्मीको सान रेसुङ्गा


चन्द्रकान्त आचार्य

प्राकृतिक रूपमा नेपाल सुन्दर देश । यहाँ आउने विदेशीहरू पहाडतिरका यात्रामा औधि रमाउँछन् र फेरि फेरि आउने अभिलाषा राख्दै बिदा हुन्छन् । तिनीहरूका गन्तव्य निश्चित हुन्छन् । खासगरी पोखरा, अन्नपूर्ण आधारशिविर, पूर्वमा सगरमाथा आधारशिविर र कति त विश्वको सर्वोच्च शिखर सगरमाथा नै चढ्ने उद्देश्यले आउने गर्छन् ।
हाम्रो भने यसपालिको गन्तव्य गुल्मी जिल्ला रह्यो । कात्तिक ५ गते बिहान काठमाडौँबाट प्रस्थान ग¥यौँ र बेलुकी तम्घास पुग्यौँ । कात्तिक ६ गतेको बिहानी सोचेजस्तै शुभ र सुन्दर देखियो अर्थात् आकाश छर्लङ्ग नीलो देखियो । त्यस नीलो आकाशको उज्ज्वलतामा हिमालका सुकिला दृश्य हेर्न लालायित अमेरिका बस्दै आएकी छोरी मृदु र छोरा मोहितसहित मित्र राजेन्द्रले चलाएको गाडीमा तपोभूमि रेसुङ्गातिर लागियो ।
बिहानको शीतल हावाको स्पर्शमा रमाउँदै वरिपरिका हरिया पहाड र सानो उपत्यका आकारको तम्घास सहर हेर्दै हामी माथितिर बढ्यौँ । कच्ची ठाडो बाटो, कहीँ त पानीले हिलो बनाएको ठाउँमा गाडीका चक्का भासिने डर हुँदाहँुदै पनि बाहिरी दृश्यले हामीलाई अलौकिक आनन्द दिन थाले । जति माथि गयो, हरियो संसार अलि तल पर्दै सुदूर उत्तर क्षितिजका सेता हिमाल नजिक आउन थाले । धौलागिरि र अन्नपूर्णका सेता पछ्यौरीले हामीलाई अँगाल्न खोजेजस्तै नजिक गराउँदा प्रसन्न भएको बेलामा अलि पर आँखा पु¥याउँदा माछापुच्छ«े पनि अगाडि आइपुग्यो ।
‘ओहो, कति सुन्दर ! यस्तो त कहीँ देख्न पाइँदैन’, हिमाल हेरेर मृदु र मोहित रमाउन थाले ।
तलैदेखि त्यस्तो देखिएपछि माथि पुग्दा यो प्रकृति कति रमणीय देखिएला भन्ने कल्पनामा रमाउँदै हामी पोखरी भन्ने ठाउँमा पुग्यौँ । त्यहाँसम्म मात्र मोटर बाटो बनाइएको रहेछ । त्यहाँबाट बीस पच्चीस मिनेट पैदल उक्लिने सिँढी रहेछन् ।
गाडीबाट उत्रिएपछि सबैका नजर हिमालतिर मात्रै तेर्सिन्छन् र धौलागिरिदेखि माछापुच्छे«सम्मको हिमशृङ्खला सेतो माला बनेर हामी उभिएकै क्षितिजमा आँखै अगाडि तेर्सिंदा स्वर्गीय आनन्दले विभोर बनाउँछ । फोटो खिच्न हतार गर्नुपर्छ किनभने यी सुन्दरताका प्रतिमूर्ति र नेपालका गौरव धेरैजसो लुक्न रुचाउँछन् अर्थात् बादलको मायालु अँगालोमा यसरी छोपिन्छन् कि तिनको दर्शनका लागि घण्टौँ कुर्नुपर्ने हुन्छ । अझ कहिलेकाहीँ त पानी वर्षाउन ती मेघ मडारिँदै कृषकका घर आँगनतिर पुग्दछन् ।
यो रह्यो पोखरीसम्मको कथा । यहाँसम्म पुग्दा नै हिमालले सबैलाई लठ्याइसके । तर यात्रा त तपोभूमि रेसुङ्गाको हो । यसको सुन्दरता र विशालतातिर लाग्न हामीलाई हिमालले धेरैबेर रोकेर राखे ।
रेसुङ्गाको पहिलो आकर्षण हिमाल हेर्दाहेर्दै शशिधर स्वामीको कुटीतिर जाने भनेर त्यहीँ सङ्केत देखियो । अर्घाखाँचीमा जन्मेका मरासिनी थरका शशिधर स्वामीले संवत् १८५० देखि १९०० सम्म पचास वर्ष तपस्या गरेर योग साधना प्राप्त गरेको यस तपोभूमिले अर्घाखाँचीको आचार्य परिवारका हामी यात्रीलाई भावुक बनायो । अब पैदल माथि चढ्ने र यज्ञशाला, धर्मशाला आदि संरचनाको निरीक्षणका साथै अन्य प्राकृतिक र नवनिर्मित संरचनाको अवलोकनका लागि हामी सिँढीको बाटो माथि लाग्यौँ । माथि निस्केपछि यज्ञशाला आदिको संरक्षण कार्यमा सरिक तमघासका कृष्णप्रसाद पन्थीबाट यस पुण्यभूमिको सम्बन्धमा त्रेतायुगका ऋष्यशृङ्ग ऋषिको तपोभूमि भएकाले रेसुङ्गा नामकरण भएको र पछि शशिधर स्वामी, निजका पुत्र बाल ब्रह्मचारी लक्ष्मीनारायण स्वामी, काठमाडौँ कालिमाटीबाट आई तपसाधनामा संलग्न भएर यसको विकासमा सघाउ पु¥याएका यदुकानन्द स्वामीका बारेमा राम्रो जानकारी गराइयो । त्यसपछि माथि निस्केर समुद्री सतहभन्दा २३४७ मिटर उचाइमा अवस्थित रेसुङ्गा टावरमा चढ्ने अवसर मिल्यो । दुरबिनको सहायताले गोरखपुरसम्म देख्न सकिने त्यस ठाउँबाट गुल्मी, अर्घाखाँची र पाल्पाका मात्र हैनन्, पश्चिममा प्युठान र उत्तरमा बाग्लुङसम्मका पहाड अवलोकन गर्न मिल्यो । यस ठाउँमा हिमालहरू अझ नजिक काखमै आइपुगेको जस्तो हुने भएकोले रेसुङ्गाका विभिन्न सुन्दर र धार्मिक संरचनाको अवलोकनसाथै मनोरम प्राकृतिक दृश्यबाट अत्यन्त भावुक भइयो । रेसुङ्गा यति रमणीय रहेछ भन्ने कुराको लामो वर्णन नगरेर युरोप र अमेरिकाका धेरै ठाउँ भ्रमण गरेकी छोरी मृदुले भनेको ‘मस्ट ब्युटिफुल प्लेस इन् द वल्र्ड’ ले यस ठाउँलाई परिभाषित गर्न उपयुक्त लाग्यो ।
गुल्मीको सान रेसुङ्गाको यति वर्णन गर्दै अब अगाडि बढिन्छ । रेसुङ्गाको बारेमा केही ज्ञान नहुँदै मैले गुल्मीलाई मन पराएको छु र धेरैपटक विभिन्न कामको परिप्रेक्षमा गुल्मी जिल्ला घुमेको छु । त्यसैले हामीले रेसुङ्गाबाट तमघास फर्केपछि यात्रालाई निरन्तरता दियौँ ।
रेसुङ्गा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख दाइ ज्ञानहरि आचार्यको त्यस क्याम्पस परिसरमा सालिक राखिएको छ । त्यस परिसरमा पसेर उहाँका भतिज भतिजीलाई छेउमा राखेर तस्बिर खिचाउने कार्य पूरा गरेपछि अब जानु थियो गुल्मीको पश्चिमतिर धुर्कोट चौर । रेसुङ्गाको काखमा रहेको सुन्दर नगरी तम्घासबाट पश्चिम लागेर अलि तल झर्दै अर्खले, स्यौआ आदि गाउँ पार गर्दै खोला झरिन्छ ।
त्यहाँ दिदीबैनी जस्ता दुई खोला मिसिन्छन् । ती हुन् पनाहा खोला र छल्दी खोला । गुल्मीको पश्चिम उच्च स्थानमा अवस्थित मदाने गाउँपालिकामा रहेको एउटै मुहानबाट दुई खोला दुईतिर लागेका छन् । तीमध्ये पनाहा खोला धुर्कोटलाई बायाँ किनारामा छाडेर पूर्वतिर बग्दै आउँछ भने अर्को छल्दी खोला धुर्कोटलाई दायाँ किनारामा राखेर तल आई पनाहासँग मिसिन्छ । पनाहा खोला सुनसानजस्तै छरिएका केही खेत र बस्तीहरूमा सेवा पु¥याउँदै अगाडि बढेको छ भने छल्दी खोला सिमलटारी, चौरासीजस्ता धेरै नामी फाँट र बस्तीमा सिँचाइ सेवा पु¥याउँदै पनाहा खोलासँग मिसिन आएको छ । छल्दीका दुवै किनारामा राम्रा उब्जाउ फाँट छन् र अति रमणीय बस्ती छन् ।
हाम्रो यात्राको लक्ष्य भने पनाहा खोलाको बायाँ किनारामा रहेको धुर्कोटको चौर भन्ने ठाउँमा बसोबास गर्ने बैनी मैञा (निर्मला पन्थी)लाई भेट्न जाने थियो । तम्घासबाट स्यौआ हुँदै पनाहा खोला झरेर कोरापानी, बर्बोट हुँदै पुर्कोट दह जाने सडकमा चौर पर्नेरहेछ । म पहिले पैदल हिँडेको बाटो हुँदा सजिलै पुगिने सम्झेर चालक मित्र राजेन्द्र फुयालको गाडीमा उनले नदेखेको पहाडी बाटोमा अगाडि बढियो । त्यता जाने ग्राभेल सडक छ भन्ने सूचना पाए पनि गाडी पिच सडकमा गुड्दै खोला झर्दासम्म म आपूm पहिले हिँड्ने गरेको पनाहा र छल्दीको मिलन बिन्दुमा पुगिन्छ भन्ने आशामा रहेँ । तर त्यस्तो दोभान आएन, सजिलो पिच सडकमा छिटो गुड्दै खोला झरेको गाडी पुल त¥यो र पारिपट्टि पिच सडकमा अगाडि बढ्यो । पनाहा खोलाको बायाँ किनारामा गुड्दै माथि निस्केर पुर्कोट जाने बाटोमा चौर पुग्नुपर्नेमा पिच सडक खोलाको किनारामा अगाडि बढिरहेकाले बाटो फरक परेको अनुभव भयो र जानकार व्यक्तिसँग सम्पर्क गर्दा थाहा भयो हामी त पनाहा खोलाको बायाँ किनारामा नभएर छल्दी खोलाको दायाँ किनारामा गुडिरहेका रहेछौँ ।
छल्दी खोलाका मनोरम फाँट र बस्तीहरू ! कहिलेदेखि मैले तिमीहरूलाई बिर्सेको ! भर्खर किशोरावस्था पार गर्दै इञ्जिनियरिङ् विषयको अध्ययन गर्न रुस जानुपूर्व छ महिना धुर्कोट बस्तुको हिमालय हाइस्कूलमा पढाउँदा आफ्नै उमेरका विद्यार्थीसँग रमाएर खेल्दै दौडेका यी फाँट र बस्तीहरू ! पछि इञ्जिनियर भएर कन्सल्टेन्सी गर्दा गुल्मी जिल्लाकै काम लिन मन पराएर जलश्रोत अध्ययनका लागि आएर नाप जाँच गर्दै हिँडेका यी नहर र खेतहरू ! अहिले यिनका अगाडि उभिँदा मेरा तिनै युवा र किशोरावस्थाका दिन अगाडि आए, यो मेरो उही मन परेको छल्दी खोला हो भनेर भावुक भएँ । यात्राको योजनामा नपरेको यो मेरो प्यारो क्षेत्र बाटो बिराएर भए पनि मेरो अगाडि तेर्सियो । कति रमाइलो हुने थियो होला यो पिच सडकमा सरर्र गुड्दै चौरासीको त्यो मनमोहक फाँटमा पुगेर तिनी खेतहरूमा दौडन पाएको भए ! त्यहाँदेखि माथि सिमलटारीको रमणीय बजारमा पुनः घुम्न पाए कति मजा हुन्थ्यो होला ! २०४६ सालको अन्ततिर तम्घासदेखि छल्दी हुँदै अगलुङ्सम्म यसै सडकको रेखाङ्कन गर्दै इञ्जिनियर भाइ लक्ष्मण शर्मासँग हिँडेको यो बाटो यसरी पिच सडकमा रूपान्तरित भएर आज यसै सडकमा गुड्न पाउँदा मेरो मन अत्यन्त रमायो ।
तर प्रत्यक्ष रूपमा म रमााउन पाइन । यहाँ त गल्ती भइसकेको थियो । एक ठाउँ लैजानुपर्ने गाडी मेरो निर्देशनमा अर्कै ठाउँ आइसकेको थियो । स्यौआबाट नै ग्राभेल सडकतिर लागेर पनाहा खोला झर्नुपर्नेमा पिच सडकमा गुड्दै तल आएर धेरै अगाडि बढिसकिएको थियो । त्यसैले गल्ती सच्याउन छल्दी खोला तरेर कच्ची बाटो बस्तु निस्कने र पुर्कोट जाने सडक समातेर पनाहा खोला झर्नुपर्ने भयो । चौरासीको फाँट र सिमलटारीलाई मनमा राखेर खोला तरी बस्तु निस्कन बाध्य भइयो तर बस्तु पनि मेरो मनमा बसेको ठाउँ थियो र खुसी हुँदै थिएँ । उता गाडी भने कच्ची बाटोमा बल्लतल्ल गुडिरह्यो र बस्तु निस्केर मैले पढाएको हिमालय हाइस्कुल हुँदै अगाडि बढ्यो ।
त्यो किशोर वयमा प्लानमा रुस जाने प्रतीक्षामा बसेको समयमा विद्यार्थी साथीहरूसँग खेल्दै दौडेको यो ठाउँ र यो स्कुल मलाई अति प्रिय लागे । त्यहाँ ओर्लेर बस्तुको माटोलाई चुम्न मन लाग्यो, मेरो स्कुलको अगाडि उभिएर फोटो खिच्न मन लाग्यो । तर मैले केही भन्न सकिन । बाटो बिराएर लामो समय खेर गएको मात्र हैन कच्ची सडकमा गाडी गुडाउनुपरेको कुरामा दोषभागी म थिएँ । बाटो धेरै छैन, छिटै चौर पुगिन्छ भन्दै गर्दा पनि चालक मित्र र छोराछोरी विश्वस्त हुन सकेका थिएनन् । त्यसैले मेरो मन पुराना स्मृतिमा रमाइरहे पनि त्यो खुसियाली प्रकट गर्न सकिन र फोटो खिच्न गाडी रोकौँ भन्न सकिनँ । अन्ततोगत्वा एक घण्टाजति अल्मलिएर गाडी चौर पुग्यो, बैनी मैञा र परिवारजनसित भेट भएपछि सबै खुसी भए । यसरी रेसुङ्गा र चौरको यात्रा गर्ने लक्ष्य लिएर हिँडे पनि छल्दी र बस्तुसमेतको यात्रा गरियो । पुराना स्मृति मनको मझेरीमा पुनः पस्कन पाइयो । ‘मस्ट ब्युटिफुल प्लेस’ भनेर मृदुले परिभाषित गरेको रेसुङ्गा र बैनी मैञाको घरपरिवार रहेको चौरको किनाराको पनाहा खोलासहित बस्तु र हिमालय हाइस्कुलको तल धेरै फाँट र बस्तीको सेवा पु¥याउने छल्दी खोलासमेत समावेश गरेर यो यात्रा वर्णन प्रस्तुत गर्न पाउँदा आफ्ना किशोर वयका स्वर्णिम दिनमा फर्कन पाएको अनुभव भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?