शुषमा चित्रकार मानन्धर
नजिकैको सत्सङ केन्द्रमा मान्छे टन्नै हुन्थे । हरेक दिन भजनकीर्तन र प्रवचन हुन्थ्यो ।
आज केन्द्रमा सावित्री पुग्दा प्रवचन सुरु भइसकेको थियो । युवा पण्डित धाराप्रवाह बोलिरहेका थिए ।
सावित्री बसेकीमात्रै थिई, इन्दिराले कोट्याउँदै भनी, ‘आज किन ढिला ?’
‘घरमा कोही थिएनन् । घरका झ्यालढोका सबै बन्द गरेर आउँदा ढिलै भयो ।’ साउती मार्दै सावित्रीले प्रार्थनामा हात जोडिन् ।
‘कहाँ गए त छोराबुहारी ? आज शनिबार हैन ?’ इन्दिराले पनि साउतीमै प्रश्न गरी ।
‘भनेर जान्छन् र ! बिदा भयो कि झनै व्यस्त हुन्छन् ।’ मनको तिक्तता पोख्दै सावित्रीले भनिन्, ‘तिम्रा पो छोराबुहारी भनेजस्ता छन् ।’
‘केको भनेजस्ता ! एउटै कुराका लागि कति खुसामद गर्नुपर्छ । अहिले त भन्नै छोडिसकेँ,’ इन्दिराले पनि हात जोडी ।
‘ल हेर, बिमला त निदाई,’ सावित्रीले कुहिनाले सङ्केत गरी ।
बिमलाको निहुरिएको टाउको झुलिरहेको थियो ।
‘गर्मी पनि त छ नि,’ सावित्रीको आवाज चर्कै सुनियो ।
सावित्री र इन्दिराको कुराले उँघिरहेकी बिमला झल्याँस्स व्युँझी ।
पण्डितको प्रवचन जारी थियो, ‘हामीले लोभलालच त्याग्नुपर्छ । कसैको खिसी गर्नुहुन्न ।’ सावित्रीको ध्यान अनायासै हरिबाजेतिर गयो । ‘उनी आएदेखि नाक कोट्याउँदै छन् । मलाई त दिगमिग लागिसक्यो,’ उसको बोली नसकिँदै इन्दिराले भनिन्, ‘यी बूढा फेरि बिहे गर्ने सुरमा छन् रे ।’
सावित्रीलाई पत्यार लागेन, ‘श्रीमती बितेको कति नै भयो र ? त्यसमाथि सत्तरी लागे होलान् ।’
‘भनेर के गर्छौ ? लोग्नेमान्छे हुन् ।’
‘हरे, कत्ति हल्ला गर्न सकेका,’ छेउकी श्रोताले आँखा तरी ।
‘हामीले चाहँदैमा केही हुँदैन । हामी त निमित्त नायकमात्र हौँ । हरि ॐ ।’ पण्डितले प्रवचन टुङ्ग्याए ।
सबैका हात उठे, ‘हरि ॐ ।’
‘छिटो जाऊँ । नाति फर्कने समय भयो । साँचो मसँग छ,’ हतार गर्दै सावित्रीले भनिन् ।
उनको कुरालाई बेवास्ता गर्दै इन्दिरा पड्की, ‘कुनचाहिँ खुरापातीले मेरो नयाँ जुत्ता लाएर आफ्नो थोत्रो चप्पल छाडेर गयो ।’