logo
२०८१ मंसिर ८ शनिवार



विवाद समाधानको अचुक उपाय

शनिवार |


विवाद समाधानको अचुक उपाय


मुलुकमा अहिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीन प्रकारका सरकार छन् । नेपालको राजनीतिक परिवर्तनसँगै स्थानीय निकायले समेत स्थानीय सरकारको अधिकार प्राप्त गरेका छन् । त्यति मात्र होइन, विवाद निरुपण जस्तो महìवपूर्ण कामसमेत स्थानीय सरकारले नै गर्नुपर्ने अवस्था छ ।
एक हिसाबले भन्ने हो भने भने वर्तमान युगको माग, चाहना र आवश्यकता नै मेलमिलाप बनेको छ । सर्वोच्च अदालत, अन्य अदालत, अर्धन्यायिक, प्रशासनिक तथा राज्य संयन्त्रका सबै कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र विवाद समाधान गर्न मेलमिलाप नीति नै उपयोगमा ल्याउनु उपयुक्त मानिन्छ ।
समाजको विकास, समुन्नति र सुधारका लागि पनि विवाद अत्यावश्यक मानिन्छ । विवादलाई सकेसम्म छिटो र सजिलो तरिकाबाट समाधान गर्ने उपायको खोजी पनि त्यत्तिकै महìवपूर्ण मानिन्छ । यी र यस्तै विषयको गहन उपायको खोजी गर्दै र समाधानको बाटो पनि प्रष्टसँग औल्याउँदै न्याय प्रशासनको क्षेत्रमा लामो अनुभव बटुल्नुभएका वसन्त आचार्यले ‘मेलमिलाप’ पुस्तक बजारमा ल्याउनुभएको छ ।
करिब दुई दशकदेखि काठमाडौँ महानगरपालिकाको यसै क्षेत्रको अनुभव र मेलमिलपकै क्षेत्रमा अध्ययन, अध्यापन, प्रशिक्षण र अभ्यास गर्दै आउनुभएका आचार्यले यो पुस्तकको मुखपृष्ठमै मेलमिलापलाई विवाद समाधानको सर्वश्रेष्ठ उपाय सबैका लागि सधैँका लागि उल्लेख गर्नुभएको छ ।
मेलमिलापकै विषयमा शोधपत्र गर्नुभएका आचार्यले पुस्तकको मुख्य पृष्ठमै उडिरहेका शान्तिका प्रतीक एकजोडी सेता परेवा, न्याय जोख्ने तराजुका समान भाग र महिला, पुरुषले हात मिलाउँदै गरेको चित्र राख्नुभएको छ । पृष्ठभूमिमा समुद्रको मन्द छाल तरङ्गित छ । त्यसले पनि ‘मेलमिलाप विवाद समाधानको सर्वश्रेष्ठ उपाय सबैका लागि ः सधैँका लागि’ भन्ने कुरालाई प्रष्ट झल्काउँछ ।
पुस्तकको मूल मर्म मेलमिलापले मानव जाति मात्र होइन प्रकृतिलाई समेत खुसी र शान्ति दिनसक्छ भन्नेतिर केन्द्रित देखिन्छ । पुस्तकले मेलमिलाप सर्वकालिक छ, सर्वश्रेष्ठ छ र सबैखालका विवादमा मेलमिलाप अचुक उपाय हो भन्ने कुरालाई पनि पुस्तकले बोकेको देखिन्छ ।
पाँच सय ३४ पृष्ठको उक्त पुस्तक सबै अध्ययन गरेपछि पुस्तकले हरेक व्यक्तिको दिनचर्यामा आइपर्ने समस्या समाधान गर्न आवश्यक ज्ञान, सीप, कला र औजार सिकाउने गरी विषयवस्तु समावेश भएको आभास दिन्छ ।
पुस्तकको अर्को विशेषता भनेको भाषामा क्लिष्टता नहुनु पनि हो । निकै सरल र सहज भाषाशैलीको प्रयोगले यो पुस्तक जोसुकैले पनि पढ्न र बुझ्न सक्ने देखिन्छ । मेलमिलापका विषयवस्तुलाई पनि निकै सरल ढङ्गले समावेश गरिएको यो पुस्तक अध्ययन सामग्री मात्र होइन अध्यापन गराउनेका लागि समेत सहयोगी सामग्री जस्तो देखिन्छ ।
९ परिच्छेद, ३ परिशिष्टमा संरचित पुस्तकमा बोलीचालीका भाषाशैलीको प्रयोगले पनि सबैका लागि सहज र सरल बनेको देखिन्छ । निकै मेहनतका साथ तयार पारिएको यो पुस्तक समग्रमा भन्ने हो भने मेलमिलापकर्ता, अध्येता, प्रयोगकर्ता, विवादका पक्ष न्यायकर्ता, स्थानीय सरकारका न्यायिक समिति, स्थानीय जनप्रतिनिधि, कानुन व्यवसायी, कर्मचारी, प्राध्यापक, विद्यार्थी, समाजसेवी, राजनेता, सबैलाई उपयोगी हुने देखिन्छ ।
स्थानीय सरकार अन्तर्गतका सबै वडा तहसम्मका लागि विवाद निरुपण गर्न यो पुस्तक दिग्दर्शन बन्ने देखिन्छ । नेपालका ७५३ वटै स्थानीय सरकार र सो अन्तर्गतका ६७४३ वडा र ती अन्तर्गत सबै मेलमिलाप केन्द्रमा आबद्ध पदाधिकारी तथा मेलमिलापकर्तालाई कार्य सञ्चालनका लागि समेत यो पुस्तक ‘क्याप्सुल’ बन्ने देख्निछ ।
पुस्तकले समाज, विवाद, मेलमिलाप, मेलमिलापकर्ताको भूमिका, सीप र दायित्व, मेलमिलापको प्रकार, मेलमिलापको ऐतिहासिक विकासक्रम, नेपाल कानुनमा भएका मेलमिलापसम्बन्धी व्यवस्था, हालको संहितामा भएका व्यवस्था जस्ता कुरालाई पनि समावेश गरेको छ ।
विभिन्न सम्प्रदायमा रहेका रैथाने मेलमिलाप पद्धतिहरू, स्थानीय तहको विवाद निरुपण, न्यायिक समिति, मेलमिलापसम्बन्धी विशेष ज्ञान, सीप, कला र औजारका साथै विश्वका १२ वटा अन्य राष्ट्रको मेलमिलापसम्बन्धी अभ्यासलाई समेत पुस्तकमा उल्लेख गरिएको छ ।
त्यति मात्र होइन पुस्तकमा काठमाडौँ महानगरपालिकाबाट जारी भएको विवाद निरुपण कार्यविधि २०७५ मेलमिलाप परिषद्बाट स्वीकृत आधारभूत तालिमको पाठ्यक्रम र विवाद र मेलमिलापको सारसंक्षेपसमेत निकै सरल ढङ्गले समावेश गरिएको छ । यी सबै कुराले पनि यो पुस्तक न्यायिक, अर्धन्यायिक निकाय र स्थानीय तहको विवाद निरुपण गर्ने हाते पुस्तक हुनसक्ने देखिन्छ ।

 मोहन बास्तोला
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?