रमेश गोर्खाली
युगौँचित्यले एउटा सन्देश बोकेर सबैलाई सधैँ प्रभावित गर्न खोज्छ । मान्छेको कुनै वर्ग, समुदाय, क्षेत्र र देशबाट प्रसारण भएको होस्– समयको गति एवम् शुभेच्छालाई प्रत्येकले सूक्ष्म र अल्पज्ञानका रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । प्रमुख व्याप्ति राजनीतिक प्रणालीले लिए पनि अनेकानेक उपसमुदाय, उपसमूह र पृष्ठपोषकलाई संस्थापकले असन्तुष्ट पार्न मिल्दैन । त्यसप्रकारको समन्वय नभएमा अनायास अकल्पनीय परिस्थिति जन्मिने कुरालाई सत्ताले गम्भीर रूपले बुझेको हुन्छ । परिवर्तित राजनीतिक विरासतले राजनीतिलाई केन्द्रमा राखेर सबैलाई खुसी राख्ने चेष्टा गरिरहेको पाइन्छ ।
सम्पूर्णलाई खुसी पार्न नसकिए पनि धेरैलाई आक्रोशित पारिँदैन । अन्तरविरोधमा पनि एउटा उदार लचिलोपन लोकतान्त्रिक प्रणालीमा विद्यमान हुन्छ । विकसित देशमा यस्तो सन्दर्भको एउटा गम्भीरता र दायित्वचेत सहिष्णुता हुन्छ । विकासोन्मुख देशका सत्तासीनहरूमा विविध कुरा र प्रसङ्गको अर्धचेतना एवम् अर्धसमन्वय बढी हुने गर्छ । अर्थात् त्यहाँ प्रत्येक गाम्भीर्यलाई त्यसरी ग्रहण गरिँदैन, जसरी त्यसलाई लिनुपर्ने हुन्छ । कतिपल्ट ग्रहण गर्ने पक्ष र व्यवस्थापन दुर्बल हुने गर्छ । एउटा समस्या र चुनौती अनायास यसैप्रकार जन्मिँदोरहेछ कैयन्पल्ट । विधानभन्दा संविधानेत्तर समाधान त्यसैले असहज हुने गर्दछ, शासकले थुप्रै माध्यम र प्रक्रियाले प्रणालीलाई स्वस्थ राख्नुपर्ने हुन्छ । गलत सूचना प्रवाह, अगम्भीरता र सानोतिनो हेलचेक्य्राइँले समेत प्रमुख गन्तव्य एवम् यथार्थ बाङ्गिन पुग्छ र यसको परिणाम नकारात्मक हुन्छ ।
एकपक्षीय समस्यालाई पूर्ण तुल्याउन त कठिन हुन्छ भने अनेकाङ्गी औचित्यलाई धरातलमा सफल पार्न झन् बढी कठिन हुने छर्लङ्ग छ । तसर्थ सामाजिक, सामुदायिक र सामूहिक भावनालाई अकुण्ठित तुल्याउने प्रयास अनवरत जारी हुने गर्दछ । स्वयम्सेवी र समाजसेवीले फुटबल र हक्की खेलका सेन्टर फरवार्डले सम्पूर्ण चौघेरामा ग्राउन्डलाई थेग्न खोजेजस्तो हुने गर्छ मान्छेको भूमिका ।
कसैले पनि नियन्त्रित नभई स्वाधीन रूपमा अगाडि बढ्नु ठीक हुन्छ । यथार्थतः थाहै नपाई ज्ञात र अज्ञात नियन्त्रणमा मान्छे पर्ने गर्दछ । सैद्धान्तिक वैचारिक गुत्थी यसमा अग्रणी रहन्छ । प्रभुत्व र व्यक्तिसत्तालाई कायम गर्न र त्यसै यथावत् राख्न दिनुपर्ने हुन्छ । अच्युतकृष्ण खरेल, रुपालशमशेर जबरा, श्याम थापा, भाइचुङ भुटिया, हरि श्रेष्ठ र लक्ष्मण श्रेष्ठ (वीरगन्ज) प्रभृत्ति खेलाडीझैँ ‘अतिरिक्त सतर्कता’ लाई कतिपयले बेहोर्नुपर्ने हुन्छ एवम् स्थिति विश्लेष्य रहन्छ । यसरी बुझौँ, एउटा विकाससूचक मूल्यवत्ता र त्यसको प्रभावकारितालाई सुगति दिनु त्यति सजिलो नहुने रहेछ ।
लोकतन्त्रमा चुनौतीका समेत थुप्रै चुनौती हुने गर्दछ । जताततै विकास एवम् विश्वासलाई समानान्तर रूपमा बढाउनुपर्ने स्थिति र परिस्थिति विद्यमान हुने हामीले पायौँ । खेलपे्रमी बनेर फुटबल, हक्की र क्रिकेटलाई दुई÷चारपल्ट बायाँदायाँ, दायाँबायाँ घुमाउँदै र फन्को मार्दैमा ‘स्टार’ नहोइने रहेछ । कर्मवीरत्वका लागि स्वयम् बुझक्कड र ज्ञानयोगी बन्नुपर्ने हुन्छ । दायित्वचेत गम्भीरताको आधारविना सार्थक कुराको सार्थकता रहन जाँदैन । राजनीतिक गणतन्त्रलाई सुदिशा दिन प्रत्येकको आ–आफ्नै उदार र फराकिलो भूमिका आवश्यक छ ।
त्यसैले हामी कर्मवीर र ज्ञानवीर बन्न सचेत रहौँ । गम्भीरतम युगरेखाको गन्तव्य बुझ्न र त्यसलाई प्रसारण गर्ने चेष्टा स्वयम् सरल हुँदै जाने निश्चित छ । सर्वमान्य लचिलो संवादमा निष्कर्ष अन्तरनिहित हुने सत्यलाई प्रत्येकले बुझ्नुपर्छ । यस तथ्यमा अन्तरवाह्य कतिपय संवेदनशील पक्ष रहेको हुन्छ ।
गम्भीरता र प्रसारण यस्तो होस्, जसमा नीति होस् अर्थात् कूटनीति । एकजना आख्यानवेत्ता विद्वान्को भनाइ छ, जीवनको सन्दर्भ र वैचारिक अन्तरविकासको प्रसङ्गमा प्रत्येकले प्रत्येक क्षण अन्यको कूटनीतिलाई झेल्नुपर्ने हुन्छ । आखिर के हो त यो नीति ? नीतिमा सर्वोपरि रहेको यस वैचारिक बिन्दु र अभियानले स्वहितदेखि टाढा–टाढासम्मको मानवीय हितलाई पछ्याएको हुन्छ । यसरी वार्तमानिक मानवीय जीवनचर्या कूटनीतिक अन्तरद्वन्द्वमा अल्झिएको देखिन्छ । गृह, सञ्चार, सुरक्षा, परराष्ट्र र गोप्याचारमात्र नभई, अन्य थुप्रै बुँदा र विषयमा गम्भीरतालाई गम्भीर ढङ्गले समाकलन गरिन्छ, कम्प्युटरको युगमा अत्यधिक प्रगतिचेत भए पनि मान्छेको व्यक्तिसत्ता कहीँ कतै असुरक्षितजस्तो देखिन्छ । मूलतया आत्मचेतनादेखि सामाजिकीकरणको थुपै्र कुराले जेलिएकाले सचेत गम्भीरता र आवरणमा मान्छे बाँच्न खोज्नु एउटा युगीन बाध्यता हो । अप्रत्याशित रूपमा प्रस्टिने कार्यदायित्व र समस्याले प्रत्येक व्यक्ति प्रायः गरी आक्रान्त भइरहने गर्दछ ।
मान्छेलाई परमावश्यक सम्पूर्णता प्रायः गरी कसैले पनि दिँदैन र दिन खोज्दैन । यसर्थ, अनुदार र कपटी भावमुद्राले व्याप्त चौघेरामा प्रत्येक मान्छे आ–आफ्नो ढङ्गले अगाडि बढ्न खोज्छ । आफ्नो व्यक्तित्वलाई कर्मठ बनाई अगाडि बढ्नु जरुरी छ र यसैमा सफलता एवम् सफलताको सोपान अन्तरनिहित लाग्छ । समकालीन मान्छेका प्रतिद्वन्द्वी कतै टाढा छैनन् । आफ्नो वरिपरिका मैत्रीवृत्त र निकटस्थ नै हाम्रो समस्या हुन सक्छ तथा हुन खोज्छ । चुनौती घर र सन्निकट वृत्तबाट झुल्किन सक्ने भएकाले प्रत्येक नागरिकले आफ्नो मौलिकता बचाउनु आवश्यक छ । यदि यस रूपमा गम्भीर र सजग छैनौँ भने हाम्रो समुन्नति टाढिन पुग्छ वा खोस्सिन सक्छ । त्यसैले समाजबाट प्रसारित समसामयिक सन्देशको चुरो र निष्कर्षलाई प्रत्येकले राम्ररी बुझ्नुपर्छ । जसबाट हामी समुन्नत बन्न सकौँ तथा अरूले हामीलाई लुते र दुर्बल ठानेर कहीँ कतै हेप्न नसकोस् । अस्तु !