बिहान भोकै आएका विद्यार्थी खाजा खाने समयमा घरतिर लाग्थे । घर पुगेपछि उनीहरू पुनः विद्यालय फर्किंदैन थिए । अहिले पनि कतिपय विद्यार्थी बिहानको खाना नखाई विद्यालय पुग्छन् र खाजाको प्रतीक्षामा रहन्छन् । खाजा खान पाइने भएर पनि विद्यार्थी जबरजस्ती विद्यालयमा टिकेको अवस्था छ ।
धादिङको थाक्रे गाउँपालिका दामेचौरमा एउटा संस्थाको भवन निर्माण हुँदै छ र त्यसले स्कुले विद्यार्थीलाई निःशुल्क खाना तथा खाजाको प्रबन्ध गर्नेछ भन्ने हल्ला फैलियो । नजिकै जोडिएको मकवानपुरको थाहा नगरपालिकामा पनि चर्चा हुन थाल्यो । सबैको मनमा एउटै शङ्का थियो– कतै यो संस्था धर्म प्रचार गर्न खुलेको त होइन ? जिज्ञासा र चासो सर्वत्र बढ्दै गयो । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष किरणमान बलले ११ वर्षअघिका ती दिन स्मरण गर्दै भन्नुभयो, “यो संस्थाले किन सित्तैमा खाना र खाजा खुवाउन लागेको होला भनेर हामीहरूका मनमा चिसो पस्यो । तर, हिजो हामीले सोचेका कुरा गलत रहेछन् । यहाँका विद्यार्थीले आज पोषणयुक्त खाना खान पाएका छन्, संस्थाकै योगदानले यो सम्भव भएको हो ।”
नौबिसेबाट बाइरोड (त्रिभुवन राजपथ)को बाटोमा जन भोजनालय लेखिएको बोर्ड देख्न पाइन्छ । सोही जन भोजनालयले आज हरेक बिहान साढे चार सयदेखि पाँच सयजना स्कुले विद्यार्थीलाई निःशुल्क खाना खुवाउँदै आएको छ । वरपरका छवटा विद्यालयमा झन्डै डेढ हजार विद्यार्थीका लागि खाजा तयार गरेर दैनिक रूपमा विद्यालयमै पु¥याउने व्यवस्था पनि गरिँदै आएको छ । २०६५ साल चैत २८ गतेबाट यो कार्यको थालनी भएको हो । दी प्रेम रावत फाउन्डेसन र प्रेम सागर फाउन्डेसन नेपालले विद्यार्थीका लागि पोषिलो भोजन अभियान सञ्चालन गर्दै आएका छन् ।
तामाङ जातिको बाहुल्य रहेको क्षेत्र हो– दामेचौर । अभिभावक आर्थिक रूपमा गरिब छन् । पर्याप्त भूमि अभावले यस क्षेत्रका बासिन्दालाई वर्षभरिका लागि अन्न उत्पादन सम्भव छैन । ढुङ्गा कुट्ने वा बालुवा ओसार्ने कार्य गरिएन भने जीविकोपार्जन गर्न हम्मेहम्मे पर्छ । बिहान काममा हिँड्ने र अपराह्न १२ बजेतिर घर आएर खाना पकाउने चलन उहिलेदेखिको हो । सन्तानलाई पनि साथमा लगाएर हिँडिएन भने आम्दानीले पुग्दैन । अनि सन्तानलाई विद्यालय पठाउने कुरो सम्भव नै हुँदैन । दुईछाक नै भात खाने भाग्य कहाँ जुथ्र्याे र ? कसैले दिनभरिमा एकछाकले गर्जाे टार्नुपथ्र्याे, कसैले फर्सी, इस्कुस आदि तरकारीमात्र खाएर पेट भर्ने गरेका थिए ।
अभिभावकलाई हाइसन्चो
जन भोजनालयले बालबालिकाका लागि निःशुल्क भोजनको व्यवस्था गरिदिएपछि अभिभावकलाई बिहानको खानाको चिन्ता रहेन । सन्तानलाई विद्यालय पठाउन थाले । विद्यालयका कक्षाकोठा भरिभराउ हुन थाल्यो । सिकाइ स्तर उकासिने नै भयो । “कुपोषणका कारण बालबालिका बेलाबेलामा बेहोश हुन्थे । बिरामी पर्थे,” वडाध्यक्ष बलले थप्नुभयो, “अब विद्यालयमा बालबालिकाको सक्रियता बढेको छ । पोषणले खेलकुद प्रतियोगितामा भाग लिनेमात्र होइन, जित हासिल गर्न थालिसकेका छन् ।”
विद्यालय जाने आफ्ना सन्तानका लागि बिहानै खाना पकाइरहनु नपरेपछि अभिभावकलाई पनि राहत मिलेको छ । स्थानीय सुनिता जिम्बाका पति काठमाडौँमा डकर्मी हुनुहुन्छ । काखमा सानो बच्चा छ । ठूली छोरी आयुशा कक्षा ६ की विद्यार्थी हुनुहुन्छ । छोरीका लागि बिहानै उठेर खाना पकाइरहनुपर्ने चिन्ता उहाँमा छैन । “छोरीले जन भोजनालयमा खान्छिन् । मलाई निकै सजिलो भएको छ,” उहाँले भन्नुभयो, “उसका लागि बिहान हतार गर्नुपरेन । मेरा लागि १० बजेतिर खाना पकाउन सुरसार गर्न थाल्छु ।”
जन भोजनालय नजिक रहेका विद्यालयका विद्यार्थी बिहानको खाना खान आइपुग्छन् । उनीहरूका लागि खाजाको प्रबन्ध गरिएको छैन । खाना खान आउन नसक्नेहरूका लागि विद्यालयसम्मै खाजा बनाएर पु¥याउने व्यवस्था गरिएको छ । खाजा लैजानका लागि प्रयोग गरिने भरिया खर्चचाहिँ विद्यालय आफैँले बेहोर्नुपर्दछ । विद्यालयले त्यो खर्च बेहोरिरहेका पनि छन् ।
जन भोजनालय नजिक रहेको आदर्श माविका कक्षा १० का विद्यार्थी अष्ट घलान विगत पाँच वर्षदेखि हरेक बिहान निःशुल्क खाना खाँदै आउनुभएको छ । बसोवास टाढा भएको र बिहान खाना खाएर विद्यालय आइपुग्न कठिन हुने हुँदा जन भोजनालयमै आश्रित हुनुपरेको भनाइ उहाँको छ । सोही विद्यालयकी कक्षा ८ की महिमा लामाले भन्नुभयो, “आमाले जतिबेला फुर्सद पाउनुहुन्छ, आफूहरूका लागि त्यतिबेला खाना पकाउनुहुन्छ, हाम्रा लागि हतार गर्नुपरेको छैन ।” बिहान साढे ८ बजेदेखि १० बजेसम्म खाना खाइसक्नुपर्दछ । खाना शाकाहारी मात्र रहन्छ । भात, दाल, तरकारी र अचार खान पाउँछन् विद्यार्थीले । बिहान ९ बजे खाजा तयार गरेर विद्यालयमा पठाउन थालिन्छ । खाजाका रूपमा जाउलो, तरकारी चिउरा, हलुवा र पुलाउ पालैपालो पकाउने गरिन्छ ।
खाना र खाजा खानेहरू
विद्यालय टाढा टाढा भएकाले गाडी वा भरियालाई बोकाएर पठाउनुपर्ने हुन्छ । सलामपुरको गणेश प्राथमिक विद्यालयमा पुग्न ठ्याक्कै दुई घण्टा लाग्छ भरियालाई । खाजा पाउने विद्यालयले प्लेट र चम्चाको व्यवस्था गरिदिएको हुन्छ । लगिएको खाजा विद्यार्थीमात्रले नभई शिक्षक तथा कर्मचारीले पनि खाने गरेका छन् । दामेचौरबाट तीन घण्टा लगाएर खाजा पुगेपछि लिति महाकाल माविका विद्यार्थीको हर्षले सीमै रहँदैन । “खाजा अपराह्न १ बजेतिर पुग्छ । त्यतिबेलासम्म विद्यार्थी भोकाइसकेका हुन्छन्,” सो माविका शिक्षक रविप्रसाद पौडेलले भन्नुभयो, “खाजा देख्नासाथ विद्यार्थी खुसी भएर खाजा आयो भनेर चिच्याउँछन् ।”
मकवानपुरको नौखण्डेस्थित बागेश्वरी मावि, धादिङको बाहुनथानस्थित महाकाली मावि, लिति महाकाली मावि, मकवानपुरको सलामपुरस्थित गणेश प्रावि, धादिङको तारुकास्थित टिस्टुङ देउराली नेपाल चेम्बर प्रावि र वसन्तडाँडास्थित टिस्टुङ देउराली प्राविका विद्यार्थीले खाजा खान पाइरहेका छन् । दामेचौरको आदर्श मावि, दामेचौरकै शिवशङ्कर आधारभूत विद्यालय, बाहुनथानको महाकाल मावि र हाप्सेचौरको कालिका माविका विद्यार्थीले खाना खाने गरेका छन् । प्रवेशिका परीक्षा (एसईई) को तयारी गरिरहेका टाढा–टाढाका विद्यार्थी घरदेखि विद्यालय दैनिक आउजाउ गर्न नसक्ने भएकाले उनीहरू विद्यालयमै आवासीय रूपमा रहेर कोचिङ पढ्ने र खाना जन भोजनालयमा खाने गरेका छन् । यस वर्ष त्यस्ता २२ जना विद्यार्थी केही दिनभित्र आउने भएको जानकारी आफूहरूले पाएको स्वयम्सेवकहरू बताउँछन् ।
६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई पनि बिहानको खाना निःशुल्क व्यवस्था गरिएको छ । पहिले त्यस्ता ६० जना आउने गरेकोमा अहिले फाट्टफुट्टमात्र आउने गरेका छन् । उनीहरू अचेल घरमै खाना खान पाइन्छ भनेर नआउने गरेको जन भोजनालयका स्वयम्सेवकहरूले बताए ।
कसरी पुग्छ ?
प्रतिप्लेट खानाको ५० रुपियाँ र खाजाको २५ रुपियाँ लागत पर्ने गरेको छ । दाताहरूकै सहयोगमा विद्यार्थीले खाना र खाजा खान पाइरहेका छन् । जन्म दिन, अभिभावकको श्राद्ध तिथि, विवाह आदि अवसरमा दाताहरूले खाना वा खाजा खुवाउनका लागि इच्छा व्यक्त गर्छन् । नाम लेखाउनुपर्दछ । पालो आउँछ ।
प्रेम सागर फाउन्डेसनका व्यवस्थापक भोला राउतले प्रतिवर्ष १७० दिन दाताहरूकै भरमा खाना र खाजाको व्यवस्थापन हुने गरेको बताउनुभयो । बाँकी दिनका लागि फाउन्डेसनले बेहोर्छ । भारतनिवासी प्रेम रावतले रकम पठाइदिने गर्नुभएको छ । इच्छुकले खाना वा खाजा खुवाउन चाहेमा २५ हजार रुपियाँ फाउन्डेसनलाई सहयोग गर्नुपर्ने हुन्छ ।
आएको परिवर्तन
खानामा पोषण पुगेको छ । फुर्तिला बनेका छन् विद्यार्थी । त्योजत्तिकै महŒवपूर्ण कक्षाकोठामा नियमित उपस्थिति दर बढेको छ, सिकाइ स्तरमा सुधार आएको छ । सलामपुरको गणेश माविका प्रधानाध्यापक चन्द्र बोगटीले २०७२ सालको भूकम्पपछि विद्यार्थी विद्यालय जान छाडेपछि कसरी विद्यार्थी सङ्ख्या वृद्धि गर्ने चिन्ताले सताउने गरेको सुनाउनुभयो । “जन भोजनालयबाट खाजा आउने भएपछि विद्यार्थी थपिन थाले । कक्षाबाट बीचमा भाग्ने चलन पनि घट्यो । अहिले त सबै विद्यार्थी पूरा समयसम्म विद्यालयमा टिकिरहन्छन्,” उहाँले भन्नुभयो ।
काममा गएका अभिभावक दिउँसो घर आई खाना पकाउने गर्दथे । बिहान भोकै आएका विद्यार्थी खाजा खाने समयमा घरतिर लाग्थे । घर पुगेपछि उनीहरू पुनः विद्यालय फर्किंदैन थिए । अहिले पनि कतिपय विद्यार्थी बिहानको खाना नखाई विद्यालय पुग्छन् र खाजाको प्रतीक्षामा रहन्छन् । खाजा खान पाइने भएर पनि विद्यार्थी जबरजस्ती विद्यालयमा टिकेको अवस्था छ ।
थाक्रे–४, महाकाली माविका प्रधानाध्यापक टेकमान श्रेष्ठले खाजाका कारण विद्यालय नियमित उपस्थित हुने दर बढेको र अचेल विद्यार्थीको स्वास्थ्यमा कुनै समस्या देखानपरेको बताउनुभयो । टिस्टुङ–देउराली नेपाल चेम्बर प्राविका प्रधानाध्यापक सुनन्ती बलले निजी विद्यालयमा गएका विद्यार्थी खाजा पाउने भएपछि फर्किएको र निजीका केही अभिभावकले समेत आगामी शैक्षिक सत्रबाट सो विद्यालयमा छोराछोरीलाई भर्ना गराउने पूर्वजानकारी दिइसकेको सुनाउनुभयो ।
माग बढेको छ
खाजाको माग बढ्दै गएको छ । धेरै विद्यालयले माग गरिरहेका छन् । चण्डीभूमि आधारभूत विद्यालयका प्रधानाध्यापक काजीमान तामाङले आफ्नो विद्यालयमा पनि खाजा ल्याइदिन फाउन्डेसनलाई आग्रह गरेको बताउनुभयो । हुन त उहाँको विद्यालयमा कक्षा १–५ का विद्यार्थीलाई सरकारले नै खाजाको व्यवस्था गरिदिएको छ । सरकारले प्रतिदिन १५ रुपियाँ प्रतिविद्यार्थी रकम उपलब्ध गराउने गरेको छ । कक्षा ६ भन्दा माथिका विद्यार्थीलाई सरकारले खाजा उपलब्ध नगराउने भएकाले उनीहरूका लागि खाजा आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्ना १७२ विद्यार्थीमध्ये ३५ जना खाना नखाएरै भोकोपेट विद्यालय आउने गरेको बताउँदै थप्नुभयो, “खाजाले प्रभाव पारेको छ । ‘ड्रप आउट’ घटाएको छ ।”
थाक्रे–५ का वडाध्यक्ष भूमि तामाङले खाजापछि अब शिक्षाको गुणस्तरबारे पनि खोज्नुपर्ने भएको छ भन्नुभयो । उहाँले आफू पनि कामक्रममा खानाको टुङ्गो नहुने हुँदा जन भोजनालयको बाटो हुँदै अन्यत्र जान लाग्दा खाना खान पस्ने गरेको बताउँदै भन्नुभयो, “संस्थाहरूसँग धेरै पैसा हुन्छ, लिनुपर्दछ भन्ने सोच सबैका हुन्छ । सबै संस्था पैसा बाँड्ने हुँदैनन्, सेवा गर्ने पनि हुन्छन् । त्यस्ता संस्थासँग हात मिलाएर सहकार्य गर्नुपर्दछ ।”
स्वयम्सेवाको भावना
फाउन्डेसनमा व्यवस्थापकबाहेक २० जना स्वयम्सेवक हुनुहुन्छ । व्यवस्थापकले तलब पाउने व्यवस्था छ । स्वयम्सेवक रेणुका गुरुङ गोर्खानिवासी हुनुहुन्छ । नर्ससमेत रहनुभएका उहाँलाई सरसफाइ र स्वास्थ्यका क्षेत्रमा जिम्मेवारी दिइएको छ । उहाँले दुई महिनामा एकपटक परिवारजनसँग भेट्न घर जाने गरेको बताउँदै भन्नुभयो, “आनन्दका साथ सन्तुष्ट भई सेवा गरिरहेका छौँ ।”
खाना र खाजामात्र नभई, स्थानीय बासिन्दालाई तरकारी खेती, च्याउ खेती आदि सीपमूलक तालिम दिने गरिएको छ । कतिपय दाताले पोसाक, कम्प्युटर, स्टेसनरी आदि पनि फाउन्डेसनलाई उपलब्ध गराउँछन् र त्यसलाई फाउन्डेसनले वितरण गर्ने गरेको छ ।
प्रकृति अधिकारी
तस्बिर : सागर बस्नेत