logo
२०८१ मंसिर ८ शनिवार



अस्ट्रेलियामा चम्किएकी प्रिन्सा

शनिवार |


अस्ट्रेलियामा चम्किएकी प्रिन्सा


प्रजित शाक्य

प्रिन्सा श्रेष्ठ नेपाली खेलकुदमा कहीँ कतै सुनिएको नाम होइन । तर, प्रिन्साले अप्रत्यक्ष रूपमा खेलकुदमार्फत विदेशमै बसेर नेपालको नाम चम्काइरहनुभएको छ । अस्ट्रेलियाको ‘न्यु साउथ वेल्स’लाई आफ्नो कर्मथलो बनाउनुभएकी प्रिन्सा महिला बडिबिल्डर हुनुहुन्छ ।
पाँच महिनाअघि न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपमा फिटनेस मोडेल ओपन क्लासमा प्रिन्साले स्वर्णपदक जित्नुभयो । सोही च्याम्पियनसिपमा ओभरअलतर्फ उहाँ उपविजेता पनि बन्नुभयो । यसअघि, सन् २०१८ मा भएको ‘सिड्नी इन्टरनेसल सुपर शो’ उहाँको पहिलो प्रतियोगिता थियो । पहिलो सहभागितामै प्रिन्साले दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
‘सिड्नीमा भएको ‘इन्टरनेसल सुपर शो’ ठूलो र प्रतिष्ठित प्रतियोगिता थियो । जसमा उपविजेता भएपछि मेरो हौसला निकै बढ्यो । सो प्रतियोगितामा मैलै कुल तीन पदक जितेँ,’ यसो भनिरहँदा प्रिन्साको अनुहारमा आफूप्रतिको गर्व देख्न सकिन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘बडिबिल्डिङमा नेपाली महिला धेरै कम छन् । अस्ट्रेलियामा पनि स्टेट च्याम्पियनसिपमा भाग लिँदा म एकजना मात्र नेपाली महिला थिएँ ।’
आफ्नो दोस्रो प्रतियोगिता सिड्नी इन्टरनेसनलमा प्रिन्साले स्पोर्टस् मोडल फस्र्ट टाइमरमा तेस्रो र फिटनेस मोडल नोभिसमा चौथो स्थान प्राप्त गर्नुभएको थियो । सोही वर्ष भएको अस्ट्रेलियन नेसनल्स २०१८ मा पनि उहाँले स्पोर्टस् मोडल नोभिसमा तेस्रो स्थान हािसल गर्नुभयो । यी सफलताले प्रेरित प्रिन्सामा अब जसरी भए पनि च्याम्पियन बन्ने धुन सवार भयो ।
‘दोस्रो शो अस्ट्रेलियन नेसनल्स राष्ट्रियस्तरको थियो । त्यहाँ तेस्रो भएपछि मेरो आत्मविश्वास निकै बढ्यो र अब आफ्नो तेस्रो सहभागितामा जसरी भए पनि च्याम्पियन बन्छु भन्ने अठोट गरेँ र सोहीअनुसार तयारी, प्रशिक्षण र मिहिनेत गरेँ । मेरो च्याम्पियन बन्ने सपना साकार पनि भयो । न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपमा मैले स्वर्णपदक नै जितेँ,’ प्रिन्सा भन्नुहुन्छ ।
साधारणतया बडिबिल्डिरहरूले गर्ने तयारीजस्तै प्रिन्साले पहिलो प्रतियोगिताका लागि १६ हप्ताको प्रशिक्षण गर्नुभएको थियो । दोस्रो शोका लागि पनि उहाँको तयारी १६ हप्ता नै थियो । तर, स्वर्णपदक जित्ने अठोटमा उहाँले आफ्नो तेस्रो प्रतियोगितामा ३० हप्ता प्रशिक्षण गर्नुभयो । यति लामो समय एउटा प्रतियोगिताका लागि तयारी गर्नु निकै कठिन हुन्छ । प्रशिक्षणका अवधिमा आफूले मन लाग्ने खाना खान पनि पाइँदैन । तर, उहाँको जिद्दीपन र मिहिनेतले सफलता दिलाइछाड्यो ।
यस खेलमा प्रवेश गर्दाको क्षण सम्झँदै प्रिन्सा भन्नुहुन्छ– बडिबिल्डिङमा लाग्न प्रेरित गर्ने सिर्जन महर्जन हो । उहाँ बडिबिल्डिङका प्रशिक्षक पनि हुनुहुन्छ । त्यसपछि मैले गम्भीर भएर जिम गर्न थालेकी हुँ । एक वर्ष प्रशिक्षण गरेपछि मेरो शरीर एकदम राम्ररी परिवर्तन भयो । मेरो जीवनशैली नै फेरियो । त्यसपछि यस खेललाई मैले अर्को लेभलमा लान खोजेँ । मलाई थाहा थियो, जिमको प्रशिक्षण बडिबिल्डिङको पूरा चक्रको सानो हिस्सामात्र हो भन्ने । त्यसैले थप मिहिनेत गरेँ । प्रशिक्षक महर्जनको परामर्शले मानसिक रूपमा पनि सबल बनायो । अहिले जति उपलब्धि हासिल गरे, त्यसको श्रेय प्रशिक्षक महर्जनलाई नै दिन चाहन्छु ।
प्रिन्सा बडिबिल्डिङलाई महँगो खेल मान्नुहुन्छ । ‘एउटा प्रतियोगितामा भाग लिन नै लाखौँ खर्च हुन्छ । प्रोटिन सप्लिमेन्ट त धेरै महँगो हुन्छ । केटीहरूलाई त झन् धेरै पैसा चाहिन्छ । प्रतियोगिताको समयमा लगाउने बिकनी नै धेरै महँगो हुन्छ । सबै आफैँले नै जोहो गर्नुपर्छ । अझ अस्ट्रेलियामा प्रशिक्षक राख्न नै धेरै रकम चाहिन्छ । फिटनेसका लागि मात्र प्रशिक्षक राख्दा पनि घन्टाघन्टाको पैसा दिनुपर्छ ।
हुन पनि प्रिन्साले भनेजस्तै यो खेलमा खर्च गर्ने क्षमता नभएर नेपालमा एक राम्रो खेलाडी पनि पछाडि हट्नुपरेको उदाहरण धेरै छन् । तर, प्रिन्साको बुझाइमा खेलप्रति माया र लगाव छ भने यी सबै कुरा गौण हुन् । उहाँले पनि अस्ट्रेलियामा काम गरेर यस खेलमा लाग्ने खर्च आफैँ जुटाइरहनुभएको छ । यद्यपि, सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया जानुभएकी प्रिन्साले सुरुमा आर्थिक कारणले नै सोच्न सक्नुभएन । एकाउन्टिङ कोर्सको पढाइ सकाएर अहिले अस्ट्रेलियाको ‘पीआर’ प्राप्त गरेपछि मात्र प्रिन्साले आफ्नो खेलप्रतिको अनुरागलाई पछ्याउन सक्नुभएको हो । अहिले प्रिन्सा ‘एमेच्योर बडिबिल्डिर’ हुनुहुन्छ तर प्रिन्साको अहिलेको लक्ष्य ‘प्रो कार्ड’ प्राप्त गर्ने हो । प्रो कार्ड पाउनु भनेको प्राफेसनल एथ्लिट हुनु हो । प्रो कार्ड पाएपछि प्रायोजक पाउन सजिलो हुन्छ । प्रो कार्ड बडिबिल्डरले पैसा पनि पाउँछ ।
प्रिन्सा बडिबिल्डिङलाई नशा मान्नुहुन्छ । अहिले प्रतियोगिता नहुँदा पनि उहाँ बिहान सबेरै पाँच बजे जिममा पुग्नुहुन्छ । दुई घण्टा पसिना चुहाएपछि ९ देखि ५ बजेसम्म कार्यालयमा बिताउनुहुन्छ । यसपछि पनि उहाँ जिम पुग्नुहुन्छ । प्रिन्साका अनुसार यो खेलमा लाग्न ठूलो त्याग, तपस्या र समर्पण चाहिन्छ । यसले शरीर सुन्दर बनाउँछ । यही लोभले युवा जिम जाने गर्छन् । तर, तीन÷चार महिना जिम गरेर छोड्ने हो भने नगरे हुन्छ । राम्रो शरीर बनाउन कसरतमात्र होइन, खानेकुरा पनि उत्तिकै मिलाउनुपर्छ । कठिन मिहिनेत गर्नुपर्छ । अझ अनुशासन सबैभन्दा ठूलो कुरा हो । यदि मिहिनेत गर्ने बानी छैन, अनुशासित हुनुहुन्न भने बडिबिल्डिङमा नलाग्नु नै बेस । बरु हल्का जिम गरेर शरीरलाई फिट राख्नु नै राम्रो हुनेछ ।
अन्त्यमा प्रिन्स भन्नुहुन्छ, ‘मेरो पहिलो लक्ष्य ‘प्रो कार्ड’ पाउने हो भने अर्को लक्ष्य भनेको नेपालको प्रतिनिधित्व गर्दै विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुने हो ।’ नेपालमा महिला बडिबिल्डिङ खेलाडीको नाम औँलामा गन्न सकिन्छ । यद्यपि, उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमै आफ्नो दरिलो उपस्थिति देखाइरहेका छन् । ननिता महर्जन, रजनी श्रेष्ठ, मलिका शाक्य अन्तर्राष्ट्रिय बडिबिल्डिङमा पनि पदक जित्ने केही नाम हुन् । यी उदाहरणबाट थाहा हुन्छ, नेपाली महिला बडिबिल्डरले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जितेर नेपालको नाम उँचो पार्न थालिसके । प्रिन्सा पनि यी नाममा आफूलाई सामेल गर्न चाहन्छिन् । बडिबिल्डिङबाटै नेपालको नाम विश्वमा चम्काउन चाहन्छिन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?