धनबहादुर खड्का
प्रतिनिधिसभाका सांसद हुनुहुन्छ छक्कबहादुर लामा । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा कानुन निर्माणको क्रममा उहाँ दोहो¥याइ रहनुहुन्छ, ‘पेरिफेरी (छेउछाउ) र सीमान्तकृत (मार्जिनल) समाजलाई पनि हेरेर कानुन बनाउनुपर्छ है माननीयज्यूहरू ।’ उहाँले निरन्तर यही वाक्य दोहो¥याइरहने भएपछि अरू सांसद गलल्ल हाँस्नुहुन्छ । उहाँले दोहो¥याइरहने ती शब्दभित्र कहीँ न कहीँ आफ्नै जीवनको भाग लुकेको रहेछ । केही समयअघि ‘काठमाडौँ माउन्ट फिल्म फेस्टिबल’मा वृत्तचित्र ‘सहायक श्रीमान्’ फिल्म हेरेपछि पो थाहा लाग्यो । गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र बहुपति प्रथामाथि छ । डकुमेन्ट्रीमा हुम्लाको बहुपति प्रथाका विविध आयाम छन् । विभिन्न परिवारका कथा छन् । तिनै कथाभित्र आफ्नो कथा पनि घोलिरहेको देखिनुहुन्छ सांसद लामा ।
जब सांसद लामा आफू यही बहुपति प्रथाको एक विद्रोही पात्रका रूपमा प्रस्तुत हुनुहुन्छ, हेर्नेहरू चकित पर्छन् । किनभने उहाँ ‘बहुपति प्रथा’को एक पीडित हुनुहुन्छ । विद्रोही हुनुहुन्छ । यसरी भनौँ, विद्रोही भएका कारण उहाँ पीडित हुन पुग्नुभएको हो ।
उहाँले सुरुमा प्रेमविवाह गरेर श्रीमती भिœयाउनुभयो । प्रचलनअनुसार उहाँले भिœयाए पनि दाजुभाइकै हक लाग्ने भयो । परम्पराअनुसार अन्य दाजुभाइलाई हक जमाउन मुस्किल भएन । उहाँले विवाह गरेर ल्याएकी श्रीमती साझा हुनुभयो ।
लेखपढ गरेर समाज परिवर्तनका लागि लाग्नुभएका उहाँ आफ्नो गाउँमा धेरै बस्नुहुँदैनथ्यो । अध्ययन, राजनीति र सामाजिक कामका लागि बाहिर हिँडिरहने भएकाले उहाँले विवाह गर्नुभएकी श्रीमती अरू दाजुभाइसँग बढी हुनुभयो । उहाँको मनले ‘सहायक श्रीमान्’ हुन मानेन । दाजुले हक जमाएकी पूर्व श्रीमती भाउजूका रूपमा स्वीकारेर उहाँले अर्को विहे गर्नुभयो ।
अर्को बिहे गर्नुको परम्परा र संस्कृतिविपरीतको काम हो । त्यसैले उहाँ परिवार र समाजबाट परित्यक्त हुनुभयो । राजनीतिक यात्रा सुरु गर्नुभयो । राजनीतिक दलले पत्याए । हुम्लाकै जनताले पनि पत्याए । सांसद मात्रै होइन सहायक राज्यमन्त्रीसम्म भइसक्नुभएका उहाँ आफ्नै घर जान भने सक्नुभएन । वृत्तचित्रमा भन्दै हुनुहुन्थ्यो, ‘दाजुभाइ मेरो चुनाव प्रचारमा पनि आउनुहुन्छ । सरसहयोग गर्नुहुन्छ । तर घर जाने र बस्ने अझै गर्न सकेको छैन ।’
बहुपति प्रथाका विषयमा जानकारी दिने क्रममा वृत्तचित्रभित्र उहाँ समाज र घरमा अझै नस्वीकारिएको बताउनुहुन्थ्यो । गाउँ जाँदा आमालाई कोसेली हातमै दिन नपाएको गुनासो गर्दै भन्नुभयो, ‘गाउँ गएको थिएँ । आमालाई भेट्न घरभित्र पस्न सकिनँ । आमा पनि बाहिर आउनुभएन । कोसेली बाहिरै राखेर निस्किएँ ।’
वृत्तचित्रमा उहाँबाहेक अरू पनि विद्रोही छन् । जो भाउजुलाई श्रीमती स्वीकार्न नसकेर अर्को विवाह गरेपछि परिवारबाट परित्यक्त छन् । वृत्तचित्रमा बहुपति प्रथामै रमाइरहेका केही परिवार छन्, जसले परम्परालाई खुशीसाथ धानिरहेका छन् ।
त्यसमध्ये तीनजना दाजुभाइकी एउटै श्रीमतीको कथा छ । जो महिलाले परम्परालाई राम्रोसँग धान्नुभएको छ । उहाँले यसलाई स्वाभाविक रूपमा लिएर जीवन चलाइरहनुभएको पाण्डेले वृत्तचित्रमा देखाउनुभएको छ । सुन्दा हेर्दा आङ नै जिरिङ्ग हुने कथाकी पात्र उहाँ वृत्तचित्रमा बेफिक्री र बिन्दास देखिनुहुन्छ ।
उक्त डकुमेन्ट्री निर्माणमा संलग्न सहायक छायाँकार अविनाश लामा पनि दुई बुबा र एक आमाका सन्तान हुनुहुन्छ । सानो छँदा उहाँलाई आफ्नो परिवार रमाइलो लाग्थ्यो र परिवार ठूलो थियो । माया धेरै पाएको अनुभूति हुने रहेछ । जब उहाँ काठमाडौँ आउनुभयो, लेखपढ गर्नुभयो । त्यही प्रथा आफूलाई उपयुक्त नलागेको उहाँले अनुभूत गर्नुभयो । वृत्तचित्रमा देखाइएका पात्रले भोगेका कथा हुम्लाको भारगाउँ, लिमाटाङ, गुरुङसे, बरौसेलगायतमा पाइन्छ । निर्देशक पाण्डेका अनुसार यहाँ अहिले पनि धेरै परिवारमा एक श्रीमतीका एकभन्दा बढी श्रीमान् छन् । उहाँ भन्नुहुन्छ, ‘अघिल्लो पुस्तासम्म यो चलन स्वाभाविक थियो । अहिले जनचेतना बढेपछि हट्दैछ ।’
चार वर्षको अथक प्रयासबाट यसलाई वृत्तचित्रको रूप दिन सकेको निर्देशक पाण्डे बताउनुहुन्छ । सुरुमा तीन गाउँका नौ परिवारका कथाम(ाथि उहाँले वृत्तचित्र बनाउन सुरु गर्नुभएको थियो । अहिले तीनवटा परिवारलाई लिएर ३९ मिनेटको ‘प्याकेज’ बनाउनुभएको छ ।
वृत्तचित्रभित्र त्यहाँको यो आदिवासी समुदायको यथार्थता छ । बाह्य समाजले पार्दै गएको प्रभावसँगै आइरहेका बदलाव छन् । हिमाली भेगको कष्टकर जनजीवन छ । श्रीमतीका साथै ‘असल म्यानेजर’को भूमिका निर्वाह गरेर घर चलाइरहेका साहसी
पात्रहरू छन् ।
यो दुर्गमका गाउँको बाध्यताले निर्माण गरेको एउटा परिस्थितिको कथा हो । जुन समुदायको मुख्य पेशा भेडा, याक, चौँरीपालन हो । तिनै वस्तुभाउबाट नुनचामलको ओसारपसार गरेर जीविकोपार्जन गर्छन् । सीमित सम्पत्तिलाई बाँडेर अभावग्रस्त नबनाउने एक परिवार एउटै रहनका लागि चलाइएको चालचलन रहेछ ।
दाजुभाइ सबैकी एउटी श्रीमती हुँदा एक महिलाका दुईभन्दा बढी श्रीमान हुन्थे, पाँच–सातजनासम्म पनि । व्यवहारमा श्रीमती भए पनि भाइहरूले बोलाउँदा भाउजू नै भन्छन् । यस्तो परिवारमा जन्मेकाहरूले सानो बुबा, माइलो बुबा, जेठो बुबा भन्दै सम्बोधन गर्ने चलन वृत्तचित्रमा देखाइएको छ ।
वृत्तचित्रमा धेरै श्रीमान्की एउटै श्रीमती र उहाँका श्रीमानहरूको धारणा प्रस्तुत गरिएको छ । खेतिपाती खास नहुने यहाँका बासिन्दा पशुपालन र व्यापार गर्छन् । पशु लिएर गएको मान्छे महिनौँसम्म नफर्किने र व्यापार गर्न गएको मान्छे पनि फर्किन समय लाग्ने भएकाले धेरै श्रीमान्की एउटै श्रीमती हुँदा पनि खास समस्या नहुने रहेछ । महिलाप्रधान उक्त समाजमा कामको व्यवस्थापन र बाँडफाँट महिलाकै हातमा हुने रहेछ ।
वृत्तचित्रमा देखाइएका श्रीमतीको बहुपति चलनमा कुनै नकारात्मक दृष्टिकोण देखिँदैन । बरु कुनै समय आफ्ना श्रीामान् मानेर सँगै बसेका घरका भाइहरू ‘अन्त लागेको’ देख्दा गुनासो पोख्नुहुन्छ । सांसद लामाले नै अहिले भाउजू मान्नुभएकी पूर्व श्रीमतीले पनि ‘अर्को विवाह नगरे हुने’ आशय प्रकट गर्नुभएको छ । तर यो प्रथालाई नमान्नेहरूप्रतिको धारणा भने सकारात्मक हुँदै गएको वृत्तचित्रमा देखाइएको छ । समाजले नस्वीकार्ने ठानेर बाहिरै बसेकाहरू त्यहाँ जाँदा सहज व्यवहार प्राप्त गरेको दृश्य फिल्ममा समेटिएको छ । भूकम्पपछि ‘भाग्यले बाँचेकाहरू’ वृत्तचित्र बन(ाउनुभएको थियो पाण्डेले । त्यसले देशविदेशमा पाएको चर्चाबाट हौसिनुभएका उहाँ बलशाली नयाँ कथा खोज्ने क्रममा ‘बहुपति प्रथा’लाई भेटेको बताउनुहुन्छ ।
हिउँ परिरहेकै याममा वृत्तचित्र बनाउनुका अनेक दुःख छन् उहाँसँग । वृत्तचित्र निर्माणमा पनि धेरै खर्च गर्नुपरेको उहाँ बताउहुन्छ । उहाँले भन्नुभयो, ‘नेपाली फिचर फिल्म बनाउने पैसा बराबरकै खर्च वृत्तचित्रमा भएको छ ।’
किम्फमा ‘प्रिमियर’ भएको फिल्मको प्रतिक्रियाका लागि उहाँ व्यग्र हुनुहुन्थ्यो । अलिकति उत्साह र अलिकति कौतुहलता मिसिएको अनुहार लिएर यताउति गरिरहनुभएको थियो । जब फिल्म सकिएपछि तालीको पर्रा छुट्यो, मध्यक्रमको कुर्सीमा बसिरहनुभएका उहाँ मुस्कुराउनुभयो ।
जब दर्शकदीर्घाबाट जिज्ञासा, बधाई र थप जान्ने आकाङ्क्षाका साथ हातहरू उठ्न थाले उहाँ उत्साहित हुँदै जानुभयो । त्यसपपछि उहाँले अर्को खुशी बाँड्नुभयोे, ‘यो वृत्तचित्र थप पाँच अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलका लागि छनोट भइसक्यो ।’ विश्वका अधिकांश फिल्म फेस्टिबलमा यसलाई देखाउने उहाँको लक्ष्य छ ।