राजन रावत
यतिखेर देशभरका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । सोलुखुम्बु, मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुलालगायत हिमाली जिल्लाका हिमपातका तस्बिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाएका छन् । फुल्चोकी, दामन र चन्द्रागिरि जस्ता ठाउँमा हिमपात हुँदा रमाउने आन्तरिक पर्यटक अब हिमाली क्षेत्रमा पनि हिउँसँग रमाउँदै छन् ।
दैनिक जीवन
हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसको हिमपात हँुदा दैनिक जीवन कस्तो होला ? सबैका लागि यो चासोको विषय हो । सामान्य अवस्थामा स्थानीयवासी जसरी बाहिर निस्कन्छन्, त्यसरी हिमपात भएको बेला निस्क्न सक्दैनन् । अलि बढी नै सावधानी अपनाउँछन् । शरीरमा बाक्ला कपडा, खुट्टामा चिसो नपस्ने जुत्ता, त्यस्तै बाक्लोखाले ऊनी टोपी, पन्जा, गलबन्दी लगाउनु र बाक्लोखाले सल ओढ्नु दैनिकीजस्तै बन्छ । अझ उच्च हिमाली क्षेत्रमा बस्ने समुदायले त च्याङ्ग्राको छालाको बख्खु पनि लगाएर शरीरलाई न्यानो बनाउँछन् । बिहानैबाट आगो बाल्नु, नुन चिया, थुक्पाजस्ता झोलिलो खानेकुरा खाएर शरीरलाई न्यानो बनाइराख्छन् । मदिराको प्रयोग पनि बढी नै हुने गर्छ । कतै छ्याङखोल पनि खाने चलन छ । विशेषगरी यो लामा समुदाय बस्ने बस्तीमा हुन्छ ।
विगत सम्झँदै बूढापाका
हिमपात भन्नासाथ अहिलेको पुस्ता हिउँसँग खेलेर रमाउन चाहन्छ भने अघिल्लो पुस्ता आफूले जीवनभर देखेको हिमपातको तुलना गर्न खोज्छ । दुई वर्ष अघिसम्म हिउँ कम पर्न थाल्यो भन्थे स्थानीय बूढापाका । तर, गत वर्ष र यस वर्षको मङ्सिर महिनामा भएको हिमपात एक दशकयताकै बाक्लो हिमपात भएको ठम्याइ उनीहरूको छ । जमिनमा परेको सात फिट बाक्लो हिउँसँग खेलेको र दैनिक जीवन बिताएको क्षण उनीहरू यतिखेर सम्झँदै छन् । हिउँ पर्न कम भयो कि भन्ने चिन्ता थियो तर अब पहिलेझैँ हिउँ पर्ने सङ्केत देखिएको स्थानीय बूढापाकाको भनाइ छ । अघिल्लो हप्ताको बिहीबार र शुक्रबार लगातार हिमपात हुँदा साढे दुई फिटसम्म हिउँ जम्मा भएको थियो ।
घुमफिर
हिमपात भइरहेको बेला घरबाहिर घुमफिर सहज हुँदैन । रोकिएपछि समूह बनाएर हिउँ खेल्न जान सकिन्छ । यस्तो बेला घरभन्दा टाढा जान सकिँदैन । अग्ला स्थानमा जाने त कुरै भएन । सबैतिर बाक्लो हिउँका कारण बाटो पाउन पनि कठिन हुन्छ । सहायक बाटाहरू त केही देखिँदैन । कुनै बेला त ओल्लो घरबाट पल्लो घर आउजाउ गर्न पनि कठिन हुन्छ ।
उपभोग्य वस्तु
हिमपात बाक्लो हुने र तीनदेखि चार महिनासम्म हिउँ जमिरहने हुनाले उपभोग्य सामानको जोहो स्थानीयवासीले कात्तिक महिनाबाटै गर्छन् । यसमा नुुनदेखि तेलसम्म पर्छन् । यस्तो जोहो कम्तीमा छ महिनाका लागि गरिन्छ । यसो नगरे सुख पनि छैन । हिमपातका बेला अन्य काम गर्ने र हुने त सम्भावना नै हुँदैन ।
खानेपानी
हिमपातका बेला खानेपानीको व्यवस्था गर्न भने कठिन हुन्छ । धारामा पानी जम्ने भएका कारण कतिले त पानी तताएर धारामा हाल्ने गर्छन् । तातो पानी खन्याउँदा पनि कतिको धारामा पानी आउँदैन । गाउँको नजिकको खोलामा गएर खानेपानीको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसैगरी, कतिपय स्थानमा त हिउँ पगालेर खानेपानीको व्यवस्था गरिन्छ । यस्तो पानी अन्य प्रयोजनका लागि पनि प्रयोग गरिन्छ ।
दाउराको व्यवस्था
उच्च हिमाली क्षेत्रका बासिन्दाले व्यवस्था गर्नुपर्ने अर्को महŒवपूर्ण विषय दाउरा हो । प्रत्येक घरधुरीले दाउराका खात ठूलै बनाएका हुन्छन् । हिमपातमा वनबाट दाउरा टिपेर ल्याउने अवस्था पनि नभएका कारण तिनै खातबाट हिउँ परेको बेला दाउरा ल्याएर बाल्नुपर्ने हुन्छ । हिउँदकै लागि भनेर हिउँ नपर्ने स्थानमा दाउरा राखिएको हुन्छ । चिसोका कारण दाउरा बढी चाहिने भएकाले स्थानीयको ध्यान दाउरा सङ्कलनमा हुन्छ ।
पशुको व्यवस्था
हिमाली क्षेत्रका बासिन्दालाई हिमपातको बेला पशुको व्यवस्थापन अर्को चुनौतीपूर्ण कार्य हो । त्यसैले प्रत्येक घरधुरीले भदौदेखि कात्तिकसम्म र मङ्सिरदेखि चैतसम्मका लागि पशुलाई आवश्यक पर्ने घाँसको व्यवस्था गरिन्छ । हिमपात भइरहेको बेला र हिउँ नपग्लेसम्म पशुलाई वनमा चराउन लैजाने कुरै भएन । छ महिनाका लागि घाँस, खोले (पिढो) र पानीको व्यवस्था गरिन्छ । यति गर्दा पनि हिउँदमा पशुलाई जोगाउन कठिन हुन्छ । धेरै पशु हिउँदमा नै मर्ने गरेका छन् ।
अस्थायी बसाइँ–सराइ
विशेषगरी पुस, माघ र फागुनमा हिउँ छल्न तराई झर्ने सङ्ख्या उच्च हिमाली क्षेत्रमा बढी छ । यसो भन्दैमा सबै झर्छन् भन्न खोजिएको पनि होइन । केही हुने खाने, बूढापाका, बिरामी हिउँदमा तराई झर्ने गर्छन् । यसो हुनुको मुख्य कारण चिसो छल्नु नै हो । उनीहरू आफ्नो क्षेत्रको पायक पर्ने ठाउँ हेरेर अस्थायी बसाइँ सर्छन् । यसका लागि पनि उच्च हिमाली क्षेत्रका बासिन्दाको ठूलै धनराशि खर्च हुनेगर्छ । उच्च हिमाली क्षेत्रको जनजीवन पहाड र तराईको भन्दा भिन्न छ । कतिपय बेला त अत्यास लाग्दो पनि हुन्छ । समस्यै समस्याका बीच जीवन बिताउन हिमाली क्षेत्रका बासिन्दा बाध्य छन् । तराईमा हिउँदका बेला जनतालाई न्यानो राख्ने कार्यक्रम सञ्चालन गर्ने गरिएको भए पनि हिमाली क्षेत्रमा यस्ता कार्यक्रम कतै गरिएको पाइँदैन । यहाँका बासिन्दा आफ्नै किसिमले बाँचिरहेका छन् ।