यात्रासाहित्य पाठकले सर्वाधिक रुचाएको विधामध्ये एक हो । यसमा निबन्धको, यात्राको, कविता र आख्यान सबैको स्वाद एकसाथ पाइन्छ । खासगरी नियात्रा अथवा यात्रानिबन्धमा यी सबै विधाको एकसाथ अनुभूति गर्न सकिन्छ । नियात्राका लागि अत्यावश्यक तत्वहरूमा गतिशीलता, लेखकको निजत्व, यथार्थको चित्रण, सूचनात्मकता, चित्रमयता, कलात्मकता एवं अनुभूतिको तीव्रता आवश्यक पर्दछ । यिनको सन्तुलित प्रस्तुतिले नियात्रा पठनीय एवं सुन्दर बन्दछ ।
नेपाली साहित्यमा पछिल्लो समयमा यात्रानिबन्ध वा नियात्राको नाममा जेसुकै र जहाँसुकैको यात्रालाई पनि लेखिहाल्ने गरेको देखिन्छ । लेखकको अभ्यासका लागि यसो गरिनु ठिकै भए तापनि प्रकाशनको ध्येयले नियात्रा लेख्दा भने लेखक गम्भीर हुनैपर्दछ । अन्यथा टिपोट, यात्राविवरण र केवल व्यक्तिगत वा पारिवारिक जानकारी, सूचना एवं वर्णनले यात्रा साहित्यको सौन्दर्यलाई नष्ट गरिदिन्छ र पाठकमा वितृष्णा जन्माउने भय रहन्छ ।
यस पृष्ठभूमिमा राजेन्द्रमान डङ्गोल ‘यात्राका पाइला’ कृतिमार्पmत नेपाली यात्रासाहित्यमा देखिएका छन् । दसवटा नियात्राको सङ्कलन ‘यात्राका पाइला’ साहित्यकार राजेन्द्रको पहिलो कृति हो । यो कृति एउटै यात्राको नियात्रा होइन, यसमा लेखकले फरकफरक समयमा फरकफरक सहयात्रीसँग फरकफरक स्थानमा गरेका यात्राका निबन्धहरू सङ्कलित छन् । त्यसो हुनाले यस कृतिभित्र प्रवेश गरेपछि एउटै पुस्तकबाट नेपालभित्रका दसवटा ठाउँको यात्रा गर्न पाइन्छ ।
सामान्यतया यात्रा निबन्ध प्रथमपुरुषको शैलीमा भूतकालको भाषाको प्रयोग गरेर लेख्ने गरिन्छ । यात्रानिबन्धको प्रभावकारी भाषाशैली पनि यही हो । त्यसो त नियात्रा वर्तमानकालमा समेत लेख्ने गरेको पाइन्छ । तर प्रभावकारिता र उत्कृष्टताका दृष्टिले त्यो शैली उत्तम होइन । नेपाली यात्रानिबन्धको अध्ययन गर्दा धेरैजसो लेखक यही शैलीगत पक्षमा अलमलिएको देखिन्छ । नाम चलेका नियात्राकारले समेत आफ्नो नियात्रामा कतै भूतकाल र कतै वर्तमानकाललाई लेखेको देखिन्छ । यसरी अनावश्यक रूपमा कालको मिश्रण गरिँदा नियात्राले सुन्दरता गुमाउँछ । तर ‘यात्राका पाइला’ कृतिमा शैलीगत पक्षमा यस किसिमको त्रुटि छैन । पहिलो कृति भइकन पनि राजेन्द्रको भाषा प्राञ्जल, कवितात्मक एवं विम्बहरूले भरिएको छ । ठाउँठाउँमा सन्दर्भ अनुसार कविता वा गीतको प्रयोग गरिएको छ, त्यसबाहेक गद्य भाषा स्वयं नै कवितात्मक छ । यसले पाठकको मनमा एउटा सुन्दर आकर्षण उत्पन्न गराउँछ ।
पुस्तकमा सूचना, भौगोलिक जानकारी, सहयात्रीहरूसँगको अनुभव एवं अनुभूतिको वर्णन अत्यन्त आकर्षक किसिमले गरिएको छ । स्थानीय मानिससँगको संवादमा स्थानीय भाषिकाको प्रयोग कसरी हुन्छ भन्ने कुरा स्वाभाविक रूपले प्रयोग गरिएको छ । यसबाट लेखकले केही नभने पनि स्थानीय भाषा, संस्कृति, संस्कार आदिलाई पुस्तकमा लेखेका छन् । यसका साथै अरू मानिसप्रति, अरू सम्प्रदाय, धर्म, संस्कृति एवं संस्कार, महिला तथा बालबालिका, वृद्धवृद्धाप्रति लेखकमा यथोचित सम्मान रहेको कुरा भाषामा प्रयुक्त विनम्रताले बोल्दछ ।
लेखक मूलतः पर्यटन व्यवसायी भएको र विभिन्न देशका पर्यटकलाई लिएर नेपालका विभिन्न पदयात्राका गन्तव्यमा जाँदा लेखिएको नियात्रा हुनाले प्रस्तुत पुस्तकमा अधिकांश पहाडी एवं हिमाली क्षेत्रका यात्राको वर्णन छ । पूर्वको कञ्चनजङ्घा आधारशिविरको पदयात्रा, सगरमाथा आधारशिविरको पदयात्रा, लाङटाङको पदयात्रा, अन्नपूर्ण आधारशिविरको पदयात्रा, थोराङ्लापासको यात्रा, घान्द्रुक–घोरेपानी–पुनहिल यात्रा, माथिल्लो मुस्ताङको यात्रा, पश्चिममा अपि हिमालको आधारशिविरको पदयात्राका नियात्रा यस पुस्तकमा समेटिएका छन् । भाषाको परिपक्व प्रस्तुति, विम्बहरूको समुचित प्रयोग आदिले गर्दा पाठक हरेक यात्रामा लेखकसँग यात्रा गर्न बाध्य हुन्छ । पुस्तकको अध्ययनपछि पाठक आपूm पनि त्यस क्षेत्रमा यात्रा गर्ने विषयमा सोच्न र कार्यक्रम बनाउन थाल्दछ । नयाँ लेखक भइकन पनि यो राजेन्द्रको लेखनको शक्ति हो ।
यो पुस्तकले नेपालको पर्यटकीय गन्तव्यका बारेमा, ती ठाउँमा यात्रा गर्दा गर्नुपर्ने तयारी एवं होशियारीका बारेमा, ती यात्राबाट उत्पन्न हुने अनुभूति एवं भावनाका बारेमा र असहज अवस्थामा समेत यात्रामा प्राप्त हुन जाने आनन्दको बारेमा वर्णन गरेको छ । त्यसैले यस पुस्तकको अध्ययन स्वदेशीका साथै विदेशीले समेत गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ । यस अर्थमा यस पुस्तकको अङ्ग्रेजी भाषामा अनुवाद भई प्रकाशन एवं उचित वितरण हुन आवश्यक देखिन्छ । अर्को कुरा, नेपाली भाषामा लेखिएको यो पुस्तक मूलतः नेपालीभाषीका लागि हो । यस पुस्तकका सबै नियात्रामा विदेशी सहयात्रीसँगको संवादलाई देवनागरी लिपिमा तर अङ्ग्रेजीमा लेखिएको छ । सबै नेपाली पाठक अङ्ग्रेजीमा दख्खल राख्ने अपेक्षा ठीक होइन । फेरि, नेपाली भाषाको किताब नेपालीमै लेखिएको राम्रो हुन्छ । त्यसैले एउटा प्रवाहमा बग्दै जाँदा ढुङ्गामा ठोक्किएजस्तो हुन्छ, कतै कतै जब पुस्तकमा अङ्ग्रेजीका संवाद भेटिन्छन् । यस पुस्तकको अर्को संस्करण निस्किएको अवस्थामा यसलाई सच्याएर संवादलाई पनि नेपालीमै राख्नु उचित हुने देखिन्छ । यो कुरा नियात्राकार राजेन्द्रले मात्र होइन, सबै नेपाली नियात्राकारले मनन गर्न आवश्यक छ ।
समग्रमा यो ‘यात्राका पाइला’ नामको नियात्रा पुस्तकको पठनले पाठकले समय र अर्थको सदुपयोग भएको अनुभव गर्नेछन् । पहिलो प्रयासमा नै नेपाली नियात्रा विधामा पठन एवं सङ्कलनयोग्य सुन्दर पुस्तक ल्याएका राजेन्द्रले अध्ययन, यात्रा र लेखनको अभ्यासलाई छोडेनन् भने भ(िवष्यमा योभन्दा अझ सुन्दर कृति पढ्न पाइने अपेक्षा गर्न सकिन्छ ।
भीष्म उप्रेती