logo
२०८१ मंसिर १२ बुधवार



चारैधामको पुण्य देवघाटमा

शनिवार |


चारैधामको पुण्य देवघाटमा


शालिग्राम नेपाल

हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाट चितवन, नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थलमा रहेको छ । यो धाम कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थल पनि हो । चितवनको नारायणगढबाट करिब सात किलोमिटर उत्तरमा रहेको यो धाममा विभिन्न देवदेवीका मन्दिर, संस्कृत पाठशाला, पीठाधीश पनि रहेका छन् । धार्मिकमात्र होइन, पर्यटकीय दृष्टिकोणले पनि यो क्षेत्र महŒवपूर्ण छ । पर्यटन वर्ष २०२० मनाइरहँदा देवघाटधामलाई छुटायौँ भने अपुरो हुन्छ । आन्तरिक पर्यटकका लागि यो धाम नौलो होइन । तर, विदेशी पर्यटक तथा धर्मावलम्बी यहाँ त्यति आउने गरेका छैनन् । त्यसैले यसको प्रचार–प्रसारमा जुट्नुपर्ने देखिन्छ । छिमेकी राष्ट्र भारतमा देवघाटधामभन्दा कम महŒवका स्थानको प्रचार–प्रसार भएर हजारौँ नेपाली त्यहाँ जाने गरेका छन् । त्यसैले यसको प्रचार आवश्यक रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल बताउनुहुन्छ ।

देवघाटको महिमा
देवघाट क्षेत्रको महिमाबारे पुराणहरूमा चर्चा गरिएको पाइन्छ । वराहपुराण, पद्मपुराण, स्कन्दपुराण आदिमा चर्चा गरिएकोे देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष डा. गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । भगवान् विष्णुको वामन अवतार भएको बेला बलिराजामाथि विजय प्राप्त गरेपछि त्रिविक्रम बनी भगवान्ले जहाँ चरण राख्नुभयो, त्यहाँ एउटा सुन्दर तलाउ बन्यो । त्यो नै देवघाट हो भन्ने पुराणहरूमा उल्लेख छ ।
शिव भगवान्को त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एकमात्र नदी कालीगण्डकीको सङ्गमस्थल रहेको यस धाममा भगवान् पनि स्नान गर्न आउने गरेको विश्वास छ । यस पवित्र भूमिमा शिव भगवान्ले तपस्या गरेको, ऋषिमुनिले तपस्या गरेको चर्चा पनि पुुराणहरूमा छ । यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको पनि डाक्टर सुवेदीले जानकारी दिनुभयो । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायत नदी पनि मिसिएर यहाँ आइपुग्छन् । माघेसङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशी, बालाचतुर्थी, ग्रहण लागेको समय, साउन महिनालगायत समयमा धर्मावलम्बीको भीड लाग्ने गरेको छ । यहाँ स्नान गर्नाले मोक्ष पाइने विश्वास छ ।

वशिष्ठ गुफा र सीता गुफा
गलेश्वर आश्रमको पश्चिम कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । वशिष्ठ ऋषिको गुफा रहेको मुन्तिर सीता गुफा रहेको छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । भगवान् रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफा भनेर पनि चिनिएको छ ।

चक्रेश्वर मन्दिर
गलेश्वर आश्रम परिसरबाट पूर्व उच्च स्थानमा रहेको प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर छ । यहाँ चक्रैचक्र भएको ठूलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्दसेनले यहीँ आएर तपस्या गरेका थिए । एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरेकाले उहाँकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको हो । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेषहरू पाइन्छ । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर थिए भन्ने भनाइ छ ।

बद्रीनाथ मन्दिर
झोलुङ्गेपुलबाट पूर्वतर्फ बद्रीनाथ भगवान्को विशाल मन्दिर छ । ५२ फिट उचाइ र ४२÷४२ फिटमा यो मन्दिर फैलिएको छ ।

केदारनाथ मन्दिर
झोलुङ्गेपुलबाट पूर्वतर्फ नै केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो यो मन्दिरको पहिलो तलामा शिवपञ्चायन देवताका मूर्ति स्थापना गरिएको छ । माथिल्लो तलामा गङ्गाजी र त्यहाँबाटै जलधारा हुने व्यवस्था गरिएको छ ।

वागीश्वरी मन्दिर
देवघाट र नारायणगढको मध्यमार्गमा रहेको जङ्गलमा ऐतिहासिक वागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको दुईवटा बाघका मूर्ति छ । अन्य शिला मूर्ति भग्नावशेषका रूपमा रहेका छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौँ शताब्दीतिरको भएको डा. गुरुप्रसाद सुवेदी बताउनुहुन्छ ।
मौलाकालिका मन्दिर
नवलपरासीको गैँडाकोट नगरपालिकामा मौलाकालिका मन्दिर छ । यो मन्दिर डाँडामा रहेको छ । पाल्पाका राजा मणिमुकुन्दसेनको पालामा सैनिकले शिलाको स्थापना गरी कालिकाको पूजा गर्दै आएको मान्यता रहेको छ । यो मन्दिर जानका लागि सजिलो सिँढी निर्माण गरिएको छ भने यहाँ केबलकार सञ्चालन गर्ने तयारी रहेको छ । यहाँबाट नवलपरासीको गैँडाकोट, चितवनको नारायणगढ भरतपुरसहित पश्चिम क्षेत्र आकर्षक देखिन्छ ।

महेश सन्न्यास आश्रम
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवम् सवद्र्धन गर्न यस आश्रमको स्थापना गरिएको हो । २०५० सालमा डाक्टर स्वामी आत्मनन्द गिरीले स्थापना गर्नुभएको यो आश्रममा संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म पढाइ हुने गरेको छ । प्राचीन गुरुकुलको सम्झना दिलाउनेगरी सयजनासम्म छात्रले निःशुल्क शिक्षा लिँदै आएका छन् । संस्कृत विषयको अध्ययन र अनुसन्धान गर्नेहरूका लागि यो आश्रम उपयुक्त छ ।

हरिहर सन्यास आश्रम
एकहजार भक्तजन बस्न सक्ने गरी निर्माण गरिएको यो आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन हुँदै आएको छ । आवासीय सुविधासहित वटुकहरूले यहाँ निःशुल्क अध्ययन गर्छन् ।

गलेश्वर आश्रम
यस आश्रममा ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर रहेको छ । १५० रोपनी क्षेत्रफलमा पैmलिएको यस आश्रममा गायत्रीको ऐतिहासिक महत्व बोकेको चुतुर्भुजी नारायण, लक्ष्मी र अन्य देवताका मन्दिर छन् । यहाँ पनि माध्यमिक तहसम्म संस्कृतको अध्यापन हुँदै आएको छ । यहाँ पाँच सयजना भक्तले नियमित साधना गर्दै आएका छन् ।
यस क्षेत्रभित्र दर्जनौँ मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम, नयाँ बनेको पशुपति मन्दिर यहाँ आउने भक्तजनका लागि महŒवपूर्ण रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी्, गङ्गा मन्दिर, गलेश्वर आश्रम ज्योतिर्लिङ्गेश्वर महादेव, अघोर आश्रम, अद्वैत संस्था, शुक्लाकृष्ण गण्डकी अखण्ड कीर्तन, दुर्गा पाञ्चायन मन्दिर, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साढेवगर, लक्ष्मीवराह भगवान्, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराणमन्दिर, शङ्कराचार्य मन्दिर, राधासर्वेश्वर भजनाश्रम, बौद्ध गुम्बा, गणेशस्थानलगायत दर्जनौँ मन्दिर तथा हेर्न लायक स्थान यहाँ छन् । धार्मिकसँगै शान्त वातावरणमा रमाउनेहरूका लागि पनि यो क्षेत्र उपयुक्त छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?