logo
२०८१ मंसिर ८ शनिवार



मुहार फेर्दै ओलाङचुङगोला

शनिवार |


मुहार फेर्दै ओलाङचुङगोला



श्रीरामसिंह बस्नेत

ओलाङचुङगोला भन्ने बित्तिकै एउटा विकट गाउँको चित्र मानसपटलमा छाउँछ । नभन्दै विकट ठाउँमा अवस्थित एक सुन्दर गाउँ हो यो । ओलाङचुङगोला ताप्लेजुङको सिरानमा रहेको अन्तिम नेपाली गाउँ हो । यहाँबाट मानवबस्तीविहीन करिव ३५ किलोमिटर दूरी पार गरेपछि नेपाल–तिब्बत सीमा नाका तिप्ता ला भञ्ज्याङ (उचाइ ५१०० मिटर) पुगिन्छ । आर्थिक र साँस्कृतिक रूपमा तिब्बतसँग निकै निकट सम्पर्कमा रहेको यो गाउँलाई तिब्बततिर वालुङ भन्छन् भने नेपालतर्फ गोला । यी दुबै शब्द मिलाएर यसको औपचारिक नाम ओलाङचुङगोला रहन गएको हो ।
सडक सञ्जालबाट जोडिने क्रममा रहेको गोला गाउँ पुग्न अहिलेसम्म त कठिन पदयात्रा नै गर्नुपर्छ । काठमाडौँबाट गोलासम्मको यात्रा गरेर फर्कन करिब १० दिनको समय छुट्याउनुपर्ने रहेछ । वर्षात् र हिमपातको मौसममा पदयात्रा अत्यन्तै जोखिमपूर्ण हुने भएकोले त्यो याम छलेर वर्षात् सकिएको तर हिमपात शुरु भइनसकेको अर्थात् दसैँपछि तिहारअघिको समय गोलासम्मको पदयात्राका लागि सबैभन्दा उपयुक्त हुन्छ । यसपालि यही मौका छोपेर नियात्रा लेखक बिष्णु शर्मा पराजुली, नेपालको पदयात्रामा अभ्यस्त ७२ वर्षीया फ्रान्सेली महिला ल्कुदिन, पथप्रदर्शक स्थानीय सहयोगी ल्हाक्पा कुमार शेर्पा र पङ्क्तिकारसहित चारजनाको टोली तमोर नदीको तिरैतिर विकट उच्च पहाडी बाटो छिचोलेर गोला पुगी फर्कन सफल भयौँ ।
काठमाडौं– गोला– काठमाडौँ यात्रा गर्न काठमाडौँबाट झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुग्नुपर्छ । त्यहाँ पुगेको भोलिपल्ट बिहानबाट गोलातर्फको यात्रा शुरु हुन्छ । फुङलिङबाट गाडीमा तापेथोक वा रानीपुल पुग्नु पर्दछ । यी स्थान मोटरबाट पुग्न सकिने अन्तिम बिन्दु हुन् । भरखर ट्रयक खुल्दै गरेको बाटो भएकोले नियमित गाडी नचल्नु र ‘फोर व्हिल गियर’ भएको गाडी मात्र चल्नु स्वभाविकै हो ।
फुङलिङबाट सुकेटार, हाङदेवा, गडी डाँडा हुँदै तापेथोक पुग्न गाडीमा करिव पाँच घण्टा लाग्छ । तापेथोकमा पुगेर झोलुङ्गे पुलबाट बिशाल जलराशियुक्त तमोर नदी तरेपछि वास्तविक पदयात्रा प्रारम्भ हुन्छ । ठूला ठूला ढुङ्गा विछ्याइएका बाटोबाट उकाली ओराली गर्दै अगाडि बढ्दै करिब डेढ घण्टाको पदयात्रा पछि फ्याम्बा गाउँ पुगिन्छ । यदि उज्यालैमा फ्याम्बा गाउँ पुगिएको छ र अझ अर्को डेढ घण्टा हिंडन सकिने स्थिति छ भने लेलेप गाउँ पुगेर बास बस्ने लक्ष्य बनाई अगाडि बढ्न सकिन्छ । तर यदि साँझ पर्न लागिसकेको छ भने अगाडि नबढी फ्याम्बामा नै बास बस्नु उचित र सुरक्षित हुन्छ ।
पदयात्राको पहिलोबास फ्याम्बामा बसेपछि भोलिपल्ट बिहान खाजा खाई इला डाँडामा बास बस्न पुग्ने लक्ष्य लिएर अगाडि बढ्नुपर्छ । फ्याम्बाबाट करिब डेढ घण्टा हिंडेपछि लेलेप गाँउ (१७५० मि.) पुगिन्छ । पहिलेदेखि नै स्थानीय केन्द्रका रूपमा रहेको लेलेप यस भेगको निकै समृद्ध, रमणीय र पारिलो गाउँ हो । यहाँ २०१३ सालमै प्राथमिक स्कुल खुलिसकेको रहेछ । यो स्कुल अहिले आफ्नै सुविधासम्पन्न भवनमा श्री सरस्वती च्यारिबुक माविको रूपमा सञ्चालित छ ।
फ्याम्बाबाट प्रारम्भ गरिएको त्यसदिनको पदयात्रा पदयात्रीको हिंडाइ अनुसार करिब छदेखि आठ घण्टा हिंडेंपछि इला डाडाँमा (२०५०मि) पुगेर रोकिन्छ । उज्यालैमा इला डाडाँ पुगिएको छ भने पनि अगाडि नबढी त्यहीँ बास बस्नु पर्दछ । यहाँबाट बाटो लागेपछि करिब सातदेखि दश घण्टा नहिंडिकन मानवबस्ती भेटिँदैन । जङ्गलको सुनसान बाटो रातको समयमा पार गर्न खोज्नु बुद्धिमानी हुँदैन । त्यसैले पदयात्राको दोस्रो बासका लागि इला डाँडा मात्र उपयुक्त हो । भोलिपल्ट बिहानै खाजा खाई बाटो लागेपछि दिनभरिको हिंडाइपछि गन्तव्य अर्थात् गोला गाउँमा पुगिन्छ । यो यात्रा निकै चुनौतीपूर्ण छ । बाटोमा कतै पनि मानवबस्ती छैन भने दिनभर हिंड्दा पनि मानिस आउजाउ गरेको भेटिँदैन । तमोर नदीको गड्गडाहट र जङ्गली पक्षीका चिरबिर बाहेक अरू कुनै आवाज सुनिँदैन । वनस्पती र चराचुरुङ्गीप्रति अभिरुचि भएकालाई भने यो यात्रा निकै रोचक बन्न सक्छ । पूजा गर्दा बजाइने घण्टीको आवाजसँग ठ्याक्कै मिल्ने गरी कराउने घण्टी चरोको आवाज यहाँ सुन्न पाइन्छ । त्यसो त यही जङ्गल रेड पाण्डाका लागि प्रख्यात थलो हो । तर संयोगले मात्र उसको दर्शन पाइन्छ । तमोर नदीका झरना, भङ्गाला र वेगका दृष्यले लोभिएका आँखा फोटो खिच्न अधिर हुन्छन् ।
यो पदयात्रामा मुख्य दुईवटा जोखिम छन् । पहिलो ठाउँ ठाउँमा पहिरो गएको भीरको बाटो छिचोल्नु पर्छ, जहाँ खुट्टा चिप्लिएर वा घिस्रिएर लडेमा सोझै तमोर नदीमा जल समाधि लिन पुगिन्छ । पर्यटक पदयात्रा मार्गका रूपमा विकसित भई नसकेको बाटो भएकोले होला सामान्य मर्मत गरेमा जोखिम हट्नसक्ने भए पनि त्यसो गरिएको पाइँदैन । दोस्रो यहाँ मोबाइलको नेटवर्क छैन, जसले गर्दा कुनै आपत्कालीन अवस्था आएमा उद्धारका लागि सहयोग माग्न सकिँदैन । बिहान इला डाँडाबाट बाटो लाग्दा पर्याप्त खानेकुरा र पानी नबोकेमा दिनभर भोकै, प्यासै हिंडनु बाहेक अरू विकल्प रहँदैन । गाउँ प्रवेश गर्नु ठिक अघि एउटा ठाडो उकालो पार गरेपछि गोला गाउँमा टेक्न पुगिन्छ । परैबाट गाउँ र प्राचीन गुम्बा देख्नासाथ लामो पदयात्राको थकाइ स्वतः हराएको महसुस हुन्छ ।
गोलासम्म पुग्न जति विकट र जोखिमपूर्ण बाटो पार गर्नु परे पनि ३२०० मिटरको उचाइमा अवस्थित यो गाउँको बेग्लै आकर्षण छ । मुख्यतः यहाँको दिकी छ्योलिङ गुम्बा हो । गाउँको ठिकमाथि डाँडामा रहेको यो गुम्बा ४६८ वर्ष पहिले भुटानबाट आएका लामा गुरुले स्थापना गरेको गुम्बाका मुख्य लामा ७४ वर्षीय फुला उक्याबबाट थाहा भयो । गुम्बाभित्र भगवान बुद्ध र रिम्पोचेहरुका मूर्ति छन् । त्यहाँ काठका साना साना खण्डमा राखिएका तिब्बती भाषामा लेखिएका करिब ७०० थान प्राचीन बौद्धग्रन्थ निकै महत्वपूर्ण छन् । यस गुम्बामा मङ्सिरको पहिलो सातादेखि दुई हप्ताको विशेष पूजा हुन्छ । जसमा सहभागी हुन धेरै टाढा टाढा र तिब्बतबाट समेत बौद्ध लामा र श्रद्धालु आउँछन् ।
गोला समतल परेको सानो गाउँ हो । यो गाउँ आठ पुस्ताअघि तिब्बतबाट आएका वालुङले बसालेको बस्ती हो भनिन्छ । यहाँ अहिले ५२ घरधुरी मात्र छन् । विगतमा यहाँ ११० घरधुरी थिए । २०१९ सालमा तमोर नदीमा आएको भीषण बाढी र पहिरोको विपदले धेरै घर बगाएको स्थानीय बताउँछन् । त्यो विपद्पछि गोलामा जनघनत्व स्वात्तै घट्न गयो । यहाँका धेरैजसो स्थानीय बासिन्दा आफ्नो घर आफन्तलाई जिम्मा लगायर व्यापार, व्यवसाय, अध्ययन आदिको क्रममा सदरमुकाम फुङलिङ वा मेची अञ्चलकै अन्य जिल्ला पाँचथर, इलाम, झापा, काठमाडौँ वा विदेश गएका छन् ।
सोही विपद्पछि अहिलेका अन्तर्राष्ट्रिय ख्याति प्राप्त आँखा विशेषज्ञ म्यागासेसे पुरस्कार विजयी डा.सन्दुक रुइतको परिवार धनकुटाको हिलेमा बसाई सरेको थियो । यति विकट ठाउँमा पनि २०१६ सालमै प्राथमिक विद्यालय खोलिनुलाई यहाँका मानिसहरुमा शिक्षाको चेतना पहिले देखि नै रहेको मान्नु पर्दछ, जुन अहिले महेन्द्र आधारभूत विद्यालयको रुपमा सञ्चालित छ । त्यसभन्दा माथिको स्तरमा पढ्न लेलेप झर्नु पर्दछ, । यहाँ पुग्न स्थानीयलाई समेत छ घण्टा लाग्दछ ।
गोलाबासीका दुःखका दिन अब अन्त्य हुँदैछन् । निर्माणाधीन उत्तर–दक्षिण लोकमार्गले यहाँको मुहार फेर्ने क्रम शुरु भइसकेको छ । नेपाल–तिब्बत सीमा नाका तिप्ता लादेखि गोलासम्म चिनिया गाडी बारम्बर आवतजावत गर्न थालिसकेका छन् भने गोलादेखि सदरमुकाम पुग्ने सडकको ट्रयक खोल्ने काम भइरहेको छ । कुनै रोकावट नआई काम भइरहेमा अर्को वर्षसम्म बाँकी १८ किलोमिटर ट्रयक खोल्ने काम पूरा हुनेछ । त्यसको एक वर्षभित्र ग्राभेल गर्ने काम सम्पन्न भएमा सदरमुकाम फुङलिङदेखि लेलेप, गोला हुँदै तिप्ता लासम्म सजिलै मोटर चल्ने छ ।
पर्यटनको दृष्टिले गोलाको भविष्य निकै उज्ज्वल छ । विशेषगरी प्राकृतिक, धार्मिक र साँस्कृतिक आकर्षणका लागि यहाँ विदेशी पर्यटक आकर्षित हुने प्रायः निश्चित छ । यहाँबाट नानगो ला (४७७६ मि) पार गरेर घुन्सा हुँदै कन्चनजङ्गाको आधार शिविरतर्फ जान सकिन्छ भने अर्कोतर्फ यसको उत्तर पश्चिम हँुदै लुम्बासुम्बा र याक खर्क हुँदै मकालु आधार शिविर र किमाथान्का पुग्न सकिन्छ । कुनै पनि देशका बौद्ध धर्माबलम्बीका लागि ४६८ वर्ष पुरानो गुम्बाको दर्शन गर्न पाउनु भनेको ठूलै सौभाग्यको विषय हो भने चिनियाँ पर्यटकहरूका लागि सबैभन्दा नजिकको रमणीय विदेशी स्थान यही हुन्छ ।
हाल प्रयोगमा रहेको पैदल बाटोमा रहेका जोखिमहरुलाई हटाई पदयात्रा मार्गको मान्यताअनुसार स्तरोन्नति गरेमा स्वदेश र विदेशका पदयात्रा प्रेमीहरुका लागि नयाँ आकर्षण थपिन जान्छ । वालुङ, शेर्पा, भोटे जातिको रहनसहन र सँस्कृति हेर्न बुझ्नका लागि गोला गाउँ एक उपयुक्त स्रोत केन्द्र बन्न सक्नेमा कुनै शङ्का छैन । तमोर नदीको अपार जलभण्डारको बहुआयामिक प्रयोग गर्न सकिन्छ । यसबाट सन् २०२२ को जुलाईसम्ममा ७३ मेगावाट जलविद्युत उत्पादन गर्न तमोर सानिमा इनर्जी प्रालिबाट काम भइरहेको छ । सिंचाइका लागि पनि ठूला योजना बनाउन सकिन्छ भने यसभेगमा पर्याप्त खानेपानी आपूर्ति गर्न तमोर नदी एउटा नै काफी हुन्छ । अग्ला डाँडाबाट झरेर तमोरमा मिसिने झरना र तमोरकै तीब्र जलप्रवाह आन्तरिक र बाह्य पर्यटकका लागि निकै लोभलाग्दा छन् ।
धार्मिक दृष्टिकोणले यो निकै महत्वपूर्ण क्षेत्र हो । विशेषगरी किराँत जातिका लागि धार्मिक आस्थाको केन्द्र रहेको फक्ताङलुङको बेग्लै महत्व छ । फक्ताङलुङको अर्थ कुम्भकर्ण हो । करिव ४ हजार ८ सय मिटरको उचाइमा कुम्भकर्ण हिमालको काखमा रहेको किराँती तीर्थधाममा कात्तिकको दोस्रो सातामा मनाइने साप्ताहिक पूजाआजामा भाग लिन विभिन्न क्षेत्रका किराँती वर्षेनी पुग्छन् ।
बौद्ध आध्यात्म गुरु पद्मसम्भव काठमाडौँको प्राचीन फर्पिङ गुम्बाबाट पैदल हिंडेर तमोरको किनारै किनार गोला पुगी तिप्ता ला भञ्ज्याङ पार गरी तिब्बत पुगेको इतिहास छ । यही इतिहासका आधारमा पद्मसम्भवले यात्रा गरेको मार्गलाई आध्यात्मिक पदमार्गका रूपमा विकसित गर्ने चर्चा पनि चल्न थालेको छ ।
दुई छिमेकी मुलुक भारत र चीनलाई नेपालका विभिन्न स्थानबाट १४ वटा सडक सञ्जालले जोड्ने नेपाल सरकारको दूरगामी महत्वको योजना अनुरुप उत्तर– दक्षिण लोकमार्ग अन्तर्गत गोलादेखि लेलेपसम्मको ट्रयक खोल्ने काम धमाधम भइरहेको छ । सदरमुकामबाट लेलेपको लुङ्गथुङ्गसम्म ट्रयक खोलिसकिएको छ । यहाँनिर उल्लेखनीय कुरा के छ भने चीनको सिमाना तिप्ता ला भञ्ज्याङबाट गोलासम्मको करिब २५ किलोमिटर बाटोको ट्रयक खोल्न गोलाका बासिन्दाले आर्थिक सहयोग गरेका थिए । दुई वर्षअघि नै यो ट्रयक खुलेपछि गोलादेखि सिमानासम्मको आवतजावत सहज भएको छ । तर बाटो कच्ची र जोखिमपूर्ण छ । नेपालसँग सोझो सडक सम्पर्कको महत्व बुझेर नै होला तिब्बतको डिङ्जे काउन्टी सरकारले तिप्ता लादेखि गोलासम्मको बाटोको स्तरोन्नति गर्न करिब ९६ करोड नेपाली रुपियाँ सहयोग गर्ने भनी हालैमात्र औपचारिक घोषणा गरेको छ, जसबाट यहाँका दुबैतर्फका सीमावर्ती बासिन्दा हर्षित भएका छन् । नेपाली भूभागबाट चीन र भारतको सीमा जोड्ने यो नै सबैभन्दा छोटो  सडक मार्ग हुनजान्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?