इसापूर्व पाँचौँ–छैटौँ शताब्दीमा राजनीतिक, सामाजिक तथा दार्शनिक क्षेत्रमा एक प्रकारको क्रान्तिकारी लहर चलेको थियो । यसैताका ग्रिसमा सुकरात, चीनमा लाओत्से र कन्फुसियसको प्रादुर्भाव भयो । यता भारतवर्षमा यही अवधिमा महाजनपद र जैन, बुद्ध, आजीविक र चार्वाकजस्ता श्रमण धार्मिक अभियानको उदय भएको थियो । तिनले वैदिक कट्टरपन्थमाथि चुनौती दिए । बुद्धकालमा १६ महाजनपदको उपस्थिति थियो । त्यसताका संसार र मोक्षसम्बन्धी दुई किसिमको मत थियो– आत्मवादी र अर्को उच्छेदवादी । वैदिक धर्मावलम्बीहरू आत्मवादी थिए । आत्मा कहिल्यै मर्दैन, जीवन नित्य शाश्वत छ, पुनर्जन्म यसको नवीकरण हो र नयाँ रूप हो भन्थे । अर्को उच्छेदवादीहरू नस्तिक थिए, उनीहरूको मत थियो– संसारमा भएका सबै वस्तुको विनाश हुन्छ र मृत्युपछि केही पनि बाँकी रहँदैन । बुद्धले यी दुवै मतको खण्डन गर्नुभयो । आत्माको अमरत्व र ईश्वरीय सत्ताको खण्डन गर्नुभयो तर क्षणिकवादका आधारमा पुनर्जन्म स्वीकार गर्नुभयो । यो सर्वथा नयाँ विचार थियो । यही पृष्ठभूमि र वैचारिक परिवेशमा बौद्ध दर्शनको उत्पत्ति भयो ।
बुद्ध धर्मको मूल अवधारणा चार आर्यसत्य हुन् । यही नै बुद्धले बोधगयामा बोधिवृक्षको फेदमा एकाग्र चित्तले तप बस्दा बोध गर्नुभएको थियो । यो नै बनारसको ऋषिपत्तन मृगदावनमा पञ्चवर्गीय ब्राह्मण, देव, मार र ब्रह्माले नै चलाएका थिए । ती धर्मचक्र हुन्, चार आर्यसत्यको स्थापना गर्नु, प्रकाशमा ल्याउनु, बुझाइदिनु, किटेर देखाउनु, खुलस्त वर्णन गर्नु, व्याख्या गर्नु र वर्गीकृत गर्नु । यस्तै चार आर्यसत्यमा क्रमशः दुःख आर्यसत्य, दुःख समुदय आर्यसत्य, दुःख निरोध आर्यसत्य र दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य । यद्यपि दुःख र दुःखबाट मुक्ति यी दुई मुख्य कुरा नै बुद्धको सार हो । बुद्धले समस्या र समाधान दुवैको व्याख्या गरी सुझाए ।
माथि उल्लिखित बौद्ध दर्शनसहित आदिबुद्ध तथा शाक्यमुनि बुद्धसम्बन्धी तीर्थस्थल लगायतका विभिन्न जानकारीसहितको पुस्तक ‘बुद्ध–पथ’ बजारमा आएको छ । स्टेला तामाङ र परशुराम तामाङले बजारमा ल्याउनुभएको यो पुस्तकमा आदिबुद्ध र नेपाल खाल्डोमा सभ्यता, शाक्यमुनि बुद्धको जीवनी र बुद्धको दर्शनशास्त्र, शाक्यमुनि बुद्धले ४५ वर्षसम्म समाजको शान्तिपूर्ण रूपान्तरणका लागि चलाउनुभएको अभियान, पद्मसम्भव र बुद्धधर्मसम्बन्धी नेपाल, भारत, तिब्बत, भुटानका तीर्थस्थलबारे जानकारी समेटिएको छ । बौद्ध सम्प्रदायका सांस्कृतिक संहिता, प्रचलन र विम्बहरूसँग अपरिचित व्यक्तिहरूका लागि पुस्तकले सहज रूपमा जानकारी उपलब्ध गराएको छ । पाठकको सहजताका लागि पुस्तकलाई विभिन्न आठ अध्यायमा विभाजन गरी सामग्रीहरू प्रस्तुत गरिएको छ । पहिलो अध्यायमा आदिबुद्धहरू र नेपाल खाल्डोका बारेमा उल्लेख गरिएको छ भने दोस्रो अध्यायमा बुद्धको जीवनी उल्लेख छ । बुद्धको जीवनीअन्तर्गत प्राचीन कपिलवस्तु, शाक्य गणराज्य र शाक्यमुनिबुद्धका बारेमा प्रकाश पारिएको छ । यस्तै आधारभूत बौद्ध दर्शनमा बुद्ध धर्म, प्रतीत्य समुत्पाद र मुक्ति, मार्ग र अभ्यास, बौद्ध सङ्गायन र विभिन्न बौद्ध सम्प्रदायअन्तर्गत थेरवाद, महायान, बज्रयान र लामाबुद्ध धर्मको बारेमा उल्लेख गरिएको छ ।
लेखक तामाङ दम्पतीले शाक्यमुनि बुद्धसम्बन्धी विभिन्न तीर्थस्थल उल्लेख गर्दै भारत र नेपालमा रहेका तीर्थस्थलहरूको परिचय, ऐतिहासिकता र महìवबारे तस्बिरसहित प्रकाश पार्नुभएको छ । पुस्तकमा लामाबुद्ध धर्मको चर्चा गर्दै लामाबुद्धका भारत, पाकिस्तान, चीन, भुटान र नेपालमा रहेका विभिन्न तीर्थस्थलका बारेमा जानकारी दिनुभएको छ । पुस्तकमा विभिन्न प्राचीनतम् नक्सा र तस्बिर समावेश छ । महाघण्टा, महाचैत्य, बज्र लगायतका ८२ वटा तस्बिर पुस्तकमा समावेश छ भने विभिन्न तीर्थस्थलको तस्बिरसहित त्यसको महìव उल्लेख हुनाले बुद्धधर्मका अनुयायी, बुद्धधर्मप्रति चासो राख्ने व्यक्ति, अनुसन्धानकर्ता, पाठकका लागि उपयोगी छ । पुस्तकले बुद्धबारे जानकारी गराउनुका साथै बुद्धत्व प्राप्त गर्ने ज्ञानयात्रामा हिँडेका यात्रीका लागि बुद्धपथका बारेमा यथेष्ट जानकारी दिएको छ ।
कुमार विवेकानन्द मिश्र