logo
२०८१ मंसिर ८ शनिवार



गहिरा गल्छीमा झोलुङ्गे पुल

शनिवार |


गहिरा गल्छीमा झोलुङ्गे पुल


गणेश पौडेल

मोदी र कालीगण्डकी नदीले बनाएका गहिरो गल्छीका कारण छिमेकी वडालाई सदरमुकाम कुस्माबजार आउजाउ गर्न कठिन थियो । अग्ला र कहालीलाग्दा झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज बन्यो । आधा घण्टादेखि एक घण्टाको दूरी पार गर्नुपर्ने खोँचमा पुल बनेसँगै पाँच मिनेटमा आउजाउ गर्न सकिने भयो ।
असम्भव मानिएका अग्ला र लामो दूरीका पुल निर्माणका लागि नेपालमै तयार भएका प्रविधिले काली र मोदीको खोँचमा आधा दर्जन पुल बनिसकेका छन् भने एउटा निर्माणको चरणमा छ । पर्यटकीय नगरी पोखरासँग नजिक भएर पनि पर्यटकीय गतिविधि शून्यजस्तै बनेको पर्वतमा पुलका कारण आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । अग्ला खोँचका झोलुङ्गे पुलबारे अध्ययन अवलोकनको गन्तव्यसमेत पर्वत बनेको छ ।
पर्वतको सदरमुकाम कुस्मा बजारसँग कटुवाचौपारी जोड्ने मोदीखोलाको खोँचमा बनेको कुस्मा–ज्ञादी झोलुङ्गे पुल निर्माण भएको एक दशकमा जिल्ला नै अग्लो पुलको बनेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको छिमेकी जिल्ला बागलुङलाई पछ्याउँदै पर्वतले एकपछि अर्को गर्दै अग्लो पुलको इतिहास रच्दै गएको छ । साथै अग्ला, लामा पुलका कारण पुलैपुलको जिल्लासमेत बन्दै गएको छ भने स्थानीय उत्पादनको बजारीकरणमा समेत सहज भएको छ ।

कुस्मा–ज्ञादी झोलुङ्गे पुल
कुस्मा–ज्ञादी झोलुङ्गे पुलको लम्बाइ ३४४ मिटर र उचाइ १३५ मिटर छ । दुई करोड रुपियाँको लागतमा निर्माण भएको यो पुलले कुस्मामा पर्यटकीय गतिविधि बढाएको छ । पुलले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । बिदा मनाउन आउनेदेखि विद्यालयको शैक्षिक भ्रमणको केन्द्रसमेत यो ठाउँ बनेको छ । पुलका कारण आर्थिक तथा पर्यटकीय चहलपहल बढेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा बताउनुहुन्छ । २०६४ सालमा मोदीखोलाको खोँचमा यो पुल निर्माण भएसँगै अग्लो स्थानमा पुल बनाउने कार्य सुरु भएको हो ।

कुस्मा–बलेवा झोलुङ्गे पुल
कुस्मा–ज्ञादी पुल निर्माणपछि कालीगण्डकीको खोँचमा कुस्माको बडागाउँदेखि बागलुङको बलेवा (कैया)सम्म जोड्ने नेपालकै अग्लो र लामो पुल निर्माण सम्पन्न भयो । यो पुलको लम्बाइ ३४७ मिटर छ । पुल मोटर साइकलसमेत चलाउन सकिने गरी निर्माण गरिएको छ । नदी सतहदेखि १५४ मिटरको उचाइमा पुल छ । पुल निर्माण गर्न दुई करोड रुपियाँ लागेको छ ।

कुस्मा–मुडिकुवा फलेवास झोलुङ्गे पुल
कुस्मा बजारलाई दक्षिणी क्षेत्र जोड्ने गरी कुस्मा–मुडिकुवा (फलेवास) झोलुङ्गे पुल निर्माण भएको छ । यो पुल ३५९ मिटर लामो र १५७ मिटर उचाइको छ । दक्षिणी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउन यो पुलले एक घण्टा छिटो बनाइदिएको छ । एक करोड ७६ लाख रुपियाँमा पुल बनेको हो ।
कुस्मा–ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल
सदरमुकाम कुस्मा बजारलाई ज्ञादी जोड्ने गरी कुस्मा–ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल बनेको छ । यो पुल पनि ३५० मिटर लामो र १५० मिटर उचाइको छ । छिमेकी दुई दर्जन वडालाई यो पुलले प्रत्यक्ष फाइदा पु¥याएको छ । दुई करोड २० लाख रुपियाँमा पुल निर्माण भएको हो ।

पाङ–बागलुङ झोलुङ्गे पुल
कुस्मा नगरपालिका–१, पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१, रामरेखा जोड्ने गरी पाङ–बागलुङ झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । यो पुल ५६७ मिटर लामो र १६० मिटर अग्लो हुनेछ । पुल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुल निर्माणका लागि करिब १० करोड रुपियाँ खर्च हुने इन्जिनियर वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । यो पुल अहिलेसम्मकै सबभन्दा लामो हुनेछ ।

केबलकार मोडेलको यान्त्रिक पुल
निजी क्षेत्रको लगानीमा केबलकार मोडेलको यान्त्रिक पुल पनि यहाँ निर्माण भएको छ । यो पुलले कुस्मा–बलेवा जोड्छ । यान्त्रिक पुलको व्यावसायिक सञ्चालनले कुस्मालाई छिमेकी बागलुङका १७ भन्दा बढी साविकका गाविसलाई सहज बनाएको छ । दुई घण्टाको पैदल यात्रालाई केबलकार मोडेलको यो यान्त्रिक पुलले चार मिनेटमै झारिदिएको छ । दैनिक सयौँ यात्रु यस पुलबाट ओहोरदोहोर गर्छन् । आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि यो आकर्षणको केन्द्र पनि बनेको छ ।
पर्वतकै दक्षिणी क्षेत्र जोड्ने गरी फलेवासदेखि कुर्घाको खोँचमा निर्माण भएको पुल पनि अग्लो पुलको कोटीमा पर्छ । स्थानीय लमाय खोलाको खोँचमा रहेको यो पुलको लम्बाइ २८६ मिटर छ भने खोलादेखि पुलसम्मको उचाइ ११६ मिटर छ । सडक पु¥याउन गाह्रो र धेरै लागत लाग्ने ठाउँमा यस्ता आकासे पुल निर्माण गर्न सकिएमा आर्थिक, सामाजिक तथा भौतिक परिवर्तन गर्नसमेत सकिने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माको भनाइ छ ।

बन्जी पुल
साहसिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा बन्जी जम्प सञ्चालन गरिएको छ । पर्वतको सदरमुकाम कुस्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गरिएको हो । कुस्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको खोँचमा पुल निर्माण गरिएको छ । यही पुलमा बन्जी जम्प सञ्चालन गरिएको छ । पुल १२ करोड रुपियाँको लागतमा बनेको हो । पुलको लम्बाइ ५३५ मिटर र २२५ मिटर उचाइ रहेको छ ।

व्यवसाय बढ्यो
पुल निर्माणसँगै मध्य पर्वतका एक दर्जनभन्दा बढी वडालाई सदरमुकामसँग जोडेको छ । कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाएको छ । तरकारी, फलफूल तथा दुग्धजन्य उत्पादनको बजारीकरणले स्थानीयवासीको क्रयक्षमता बढेर गएको छ । आर्थिक पाटोका साथै गाउँ र सहरलाई नजिक बनाउन पनि यी पुलले ठूलो योगदान पु¥याएका छन् ।

अध्ययन र मनोरञ्जनका पुल
नेपालकै अग्ला, लामा, केबुलकार र बन्जी मोडेलका पुल निर्माण भएका कारण कुस्मा बजार आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । पर्यटकीय सहर पोखरा नजिक हुनुका साथै मुस्ताङ जाने–आउने बाटो परेका कारण पनि अध्ययन, अवलोकन र मनोरञ्जनका लागि अधिकांश पर्यटक कुस्मा आउने गरेका छन् । यतिखेर दैनिक सयभन्दा बढी मोटरसाइकलमा र ५० भन्दा बढी साना सवारीसाधनमा पुल अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी बताउँछन् । साथै वनभोज र विद्यार्थीको अवलोकन भ्रमणका दुई दर्जनभन्दा बढी बस आउने गरेका छन् ।

धार्मिक पर्यटक
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, मोदीवेणी, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट लगायतका स्थानमा आउने धार्मिक पर्यटकसमेत पुल अवलोकन गर्न कुस्मा जाने गरेका छन् । यसले धार्मिक पर्यटकलाई समेत कुस्मामा बस्ने वातावरण बनाएको छ । धार्मिक पर्यटकको आगमनसँगै कुस्माका विभिन्न सङ्घसंस्थाले धर्मशालासमेत निर्माण गरेका छन् ।

साहसिक पर्यटक
पछिल्लो समय कुस्मामा निर्माण सम्पन्न भई सुरुवाती चरणमा रहेको बन्जी जम्पको थप आकर्षण हुने विश्वास गरिएको छ । विश्वकै अग्लो कोटीमा दोस्रो रहेको भनिएको यस बन्जी जम्पले विदेशीलाई पनि आकर्षित गर्ने सञ्चालकहरू बताउँछन् । विश्वकै अग्लो दाबी गरिएको स्काई साइक्लिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङ, बन्जी र स्विङका लागि आउने साहसिक पर्यटकले कुस्माको पर्यटनमा टेवा पुग्ने बताइएको छ ।
यस्ता पुलका कारण कुस्मा बजार ‘ब्रिज सिटी’को नामले चिनिन थालेको छ । पछिल्लो समय पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले ‘पर्वतको चिनो’मा समेत अग्ला र यान्त्रिक पुलको तस्बिर राख्ने चलन बढ्दो छ । पर्वत जाऊँ, अग्ला पुल अवलोकन गर्दै रमाऔँ भन्ने नारा राखेर पर्यटन प्रवद्र्धन गर्न प्रचारप्रसार सुरु गरिएको छ । यी पुलको प्रचारले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सघाउ पुग्नुका साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?