सुकृत नेपाल
‘पहिले दर्शकहरू चलचित्र निर्माता निर्देशकलाई ‘फ्रि’ मा गाली गर्थे, अहिले पैसा तिरेर गाली गर्छन्,’ नेपाली चलचित्रमा आएको परिवर्तनबारे एकजना निर्देशकको टिप्पणी हो यो । नेपाली चलचित्र भन्नेबित्तिकै नाक खुम्च्याउनेहरू अहिले केही बोल्न थालेका छन् । नकरात्मक नै सही बौद्धिकस्तरमा पनि नेपाली चलचित्रबारे बहस र चर्चा हुन थालेको छ ।
यो सबैलाई थाहा भएकै कुरा हो चलचित्र हेर्नका लागि दर्शक चाहिन्छ तर दर्शक कहाँबाट ल्याउने । यतिबेला नेपाली चलचित्रमा मन्दी छाएको छ, भन्दा खासै फरक नपर्ला । झन् त्यसमाथि पुस÷माघको महिना कुनै पनि निर्माता÷निर्देशक आफनो चलचित्र प्रदर्शन गर्नै चाहँदैनन् । यसको कारण हो जाडोको मौसम र बलिउड चलचित्र ।
यस्तो बेलामा भव्य प्रचारप्रसारसहित मैदानमा ओर्लिएका चलचित्र प्रदर्शनको मिति पछि सार्न बाध्य भएका छन् । निर्माता र वितरक पनि प्रदर्शन मिति तोक्न हिच्किचाइरहेका छन् । वरिष्ठ चलचित्रकर्मी यादव खरेल पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रमा अझै पनि त्यस्तो परिवर्तन नआएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पनि चलचित्रलाई आफ्नो लगानी उठाउन हम्मेहम्मे छ ।’ यहाँ खाली नयाँलाई आकर्षित गर्न मात्र चलचित्र बनाइन्छ, जसले कुनै फाइदा दिँदैन । चलचित्रमा नयाँ अनुहार आउनु राम्रो कुरा हो तर त्यसले आर्थिक हिसाब पनि राम्रो हुनुपर्छ ।
नेपाली चलचित्रमा नेपालीपन भिœयाएर ‘लुट’ सफल भएको हो भन्ने एक तप्काको मनोकाङ्क्षा पूरा गरेर ‘चपली हाइट’ ले हाइट लिएको थियो । यी दुवै चलचित्रमा खासै केही नभए पनि यसमा कथावाचनको मौलिक परिवर्तन थियो, जसले मनोरञ्जन पनि दिन्थ्यो तर अहिले आएर नेपाली चलचित्र पुरानै ढर्रामा फर्किन थालेको छ । अहिले चलचित्रको बजार एकदमै दयनीय भएको बताउनुहुन्छ, निर्देशक तथा निर्माता दीपेन्द्र के खनाल । चपली हाइट बनाएर ‘हाइट’ बनाएका निर्देशक खनाल भन्नुहुन्छ, यो वर्ष आशा गरिएका चलचित्र पनि खासै चलेनन् । ‘चलचित्र त बने तर सबै एकै धारका, कुनैमा नयाँपन देखिएन’, खनालले भन्नुभयो ।’
सत्यजित रेले भनेका छन्, ‘चलचित्र समाजको ऐना हो । यसमा समाजका उज्याला अनुहार मात्र होइन, घुर्मैला अनुहार पनि देखिनुपर्छ । एउटा अघाएको मान्छेको अट्टहास मात्र होइन, एउटा भोको मान्छेको एक चिम्टी खुशी पनि मिसिनुपर्छ । यसमा देखिने घुर्मैला अनुहार र भोका मान्छेका लागि अलिकति सन्देश तथा उज्याला अनुहार र अघाएका मान्छेका लागि अलिकति मनोरञ्जन, यही नै हाम्रो चलचित्र हुनुपर्छ ।’ नेपालका अधिकांश चलचित्रकर्मी विश्व चलचित्र इतिहासको वर्णमालाको अग्रभागमा रहेका यी व्यक्तित्व र उनको भनाइसँग अझै पनि परिचित छैनन् ।
घामपानी, गोपी र छ माया छपक्कै का निर्देशक दीपेन्द्र लामा पनि अहिले चलचित्रको अवस्थाले खासै खुशी देखिनुहुन्न । उहाँ भन्नुहुन्छ, अहिले चलचित्रको बजार एकदमै घटेको छ । ‘चलचित्रमा आँखा
चिम्लेर विश्वास गर्ने ठाउँ छैन ।’ दर्शकहरू अझै पनि बलिउड र हलिउड भन्दै हिँड्छन् तर नेपाली चलचित्रलाई अझ पनि विश्वास गर्दैनन् ।
चलचित्रसम्बन्धी अध्ययन पनि गरेका केही पछिल्लो पुस्ताका निर्देशकले नेपाली चलचित्र निर्माणको परम्परागत शैलीलाई परिवर्तन गर्न खोजेका छन् तर त्यो शैली पनि निश्चित वर्ग लक्षित भएको आरोप लाग्दै आएको छ ।
नेपाली चलचित्रकर्मीले फरकधार र मूलधार भनेर लबिङ गर्न थाले पनि अन्ततः दुवै ‘धार’ भुत्ते देखिएका छन् । नायिका करिश्मा मानन्धर भन्नुहुन्छ,
‘चलचित्र नचल्नुको मुख्य कारण त्यसको कथा हो । सधँै घिसिपिटी कथा राखेर दर्शकलाई मूर्ख बनाउन खोज्नु आफ्नै मूर्खता हो ।’
काठमाडौँमा अहिले विभिन्न नयाँ हल सञ्चालनमा आएका छन् तर त्यसमा दर्शक छैनन् । दर्शक नहुनुका कारण धेरै चलचित्रकर्मीका गुनासा यो पनि छन् कि हलहरूले नेपाली चलचित्रलाई ठाउँ नै दिँदैनन् । यसले पनि नेपाली चलचित्रमा दर्शकको कमी भएको चलचित्रकर्मीका गुनासा थिए । तर कमलादीस्थित क्युज सिनेमाजका प्रबन्ध निर्देशक राकेश श्रेष्ठ यी सबै आरोप गलत भएको बताउनुहुन्छ । चलचित्रको माग अनुसार हामीले हलमा चलचित्र चलाउने हो । कथा केही हुँदैन, अनि दर्शक नै एक दुईजना आएपछि हामीले कसरी चलचित्र चलाउने, उहाँको भनाइ थियो । अहिले नेपाली चलचित्रको बजार खासै छैन । हलवालाले नेपाली चलचित्र चलाएनन् भनेर गुनासो गर्नुभन्दा पनि राम्रो कथा र दमदार विषय लिएर चलचित्र बनाउनेतिर लाग्दा दुवैलाई फाइदा हुने, श्रेष्ठले बताउनुभयो ।
नेपाली सिनेमाका खाँटी दर्शक रहेका गाउँ र साना सहरका युवा जमात रोजगारीका लागि विदेश जानुले लक्षित दर्शक घट्न पुग्छन् । जसका कारण अपेक्षित लगानी उठ्न गाह्रो हुन्छ । यहाँका अधिकांश निर्माता हिन्दी चलचित्रको प्रभावबाट बाहिर निस्कन सकेका छैनन् । नेपाली समाज, यहाँको बदलिँदो सोच अनुरूप अर्गानिक विषयवस्तु दिनुपर्नेमा उनीहरू चुकिरहेका छन्, जसले गर्दा आरोप लाग्ने गरेको छ– नेपाली चलचित्र त हिन्दीबाटै ‘कपी’ गरिएको रहेछ ।
कलाकार दीपकराज गिरी भन्नुहुन्छ, अहिले चलचित्रको अवस्था एकदमै नाजुक छ । चलचित्र अहिले कामचलाउका लागी मात्र प्रदर्शन गरिएको हो कि जस्तो लाग्छ । अहिले पनि चलचित्र बनाउनका लागि खासै मेहनत गरेको देखिँदैन, गिरीले भन्नुभयो । चलचित्रको मेरुदण्ड नै कमजोर भयो भने चलचित्र कसरी चल्छ । त्यसैले चलचित्रको मेरुदण्ड कमजोर हुनुभएन, गिरीको भनाइ छ ।
यहाँका जनतामा विभिन्न राजनीतिक परिवर्तन या प्राकृतिक सङ्कट आइहाले पनि त्यसबाट चाँडै सामान्यीकरण हुने बानी परेको छ । तिनलाई मन भुलाउन साहित्य, सङ्गीतसँगै चलचित्र उपयुक्त विकल्प हो । उनीहरू कस्ता कथावस्तु वा विषय–सन्दर्भ बोकेको चलचित्र हेर्न उत्सुक छन् भनेर अनुसन्धान गरिनुपर्छ । बजार र दर्शक रुचिको अनुसन्धान हुन नसक्दा निर्माण भएका अधिकांश चलचित्र
‘फ्लप’ भइरहेका छन् ।
अहिले पनि कतिपय निर्मातामा चलचित्र ग्ल्यामरमा लोभिएर आउने एकखालको रोग लागेको छ । कतिलाई भने निर्देशकले आर्थिक फाइद(ाको लोभ देखाएर फसाउने गरेका छन् । भारतीय र हिन्दी चलचित्र हेर्ने ठूलो सङ्ख्याका दर्शकलाई हलसम्म तान्न नसक्दा पनि व्यापार प्रभावित भएको छ । पेसागत र व्यावसायिक रूपमा लगानी गर्नेहरू नआएकाले पनि चलचित्र क्षेत्र फस्टाउन सकेको छैन ।
कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली सिनेमा ओरालो लागेको छ । बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्नका लागि जति कथावस्तु र प्रस्तुतिले पेल्नुपथ्र्यो, त्यो भइरहेको छैन । उही पुरानै घिसीपिटी कथा या त हिन्दी चलचित्रको कपीले आक्रान्त छ, हाम्रो नेपाली चलचित्र । यसो हुनुको कारण या त निर्देशकले चलचित्र बनाउनै नजानेका हुन्, या आफ्नो नाम बिकाउनका लागि मात्र चलचित्र बनाएका हुन् । चलचित्र चलोस् नचलोस् तर चलचित्र बनाउन एकदमै तम्तयार हुन्छन्, हाम्रा निर्माता÷निर्देशकहरू । चलचित्रमा दर्शकलाई कस्तो कथा दिँदा हुन्छ र कस्तो खाले चलचित्र बनाउँदा दर्शक तान्न सकिन्छ भन्ने कुरालाई अहिले निर्देशकहरूले बिर्संदै
गएका छन् ।
वाह ! झिम्के मामा
‘झिम्के मामा’ चरित्रप्रधान नाटक हो, नाटकमा पात्रहरुको माध्यमबाट एउटा समाजको चित्रण गर्न खोजिएको छ । देउराली भन्ने काल्पनिक गाउँ छ । देउरालीको छेउछाउ सात गाउँसम्म फैलिएको बस्ती छ । त्यहाँ ब्राह्मण समुदायको बाहुल्य छ । पोखरेल टोल, खड्का टोल, कट्टेल टोल आदि र यी सबै गाउँको प्रमुख केन्द्रको रूपमा देउराली हुन्छ । नाटक यिनै परिवेशभित्र रुमल्लिएको छ ।
झिम्के मामा सामाजिक यथार्थवादी कथा हो । समाजमा जकडिएर रहेको जातीय विदेभले मानवतालाई कसरी पतन गरिरहेको छ भन्ने विम्ब नाटकमा पस्कन खोजिएको छ । एक व्यक्ति किन अर्को समुदायमा अटाउन सक्दैन भन्ने सामाजिक व्यङ्ग्य पनि नाटकमा गरिएको छ । सामाजिक संरचनाले सिर्जना गरेको विभेद र त्यसले समाजमा निम्त्याएको परिणामको झल्को हो, नाटक ‘झिम्के मामा’ ।
दलित समुदायलाई माया गरेपनि घृणाको दृष्टिले हेर्ने नेपाली समाजको सोच र परम्परासँगै दलितले बनाएको मूर्ति पूज्ने र सिलाएको कपडा लगाउने तर उनीहरूलाई सम्मान गर्न नसक्ने अवस्था नाटकमा देखाउन खोजिएको छ । सजन थापामगरले गरेको गाउँले परिवेशको सेट डिजाइनले नाटकलाई सुन्दर र मनमोहक बनाइदिएको छ । दुर्गाप्रसाद पाण्डेको कथामा आधारित यस नाटकको कथावस्तु नयाँ होइन यस विषयमा धेरै नाटक, कथा, उपन्यास बनेका छन् । यसअघि मञ्चन भएको नाटक ‘महाभोज’ पनि दलितलाई गरिने दुव्र्यवहारको कथामा थियो ।
राजधानीमा झिम्के जस्तै कैयौं व्यक्ति सरकारले दिएको कोटा प्राणालीबाट शिक्षा र रोजगारी लिने प्रयास गरिरहेका छन् । आफ्नो थर लुकाएर कोठा खोज्दैछन् । उनीहरू कुनै दिन दलित हो भन्ने खुलासा भयो भने झिम्केले जस्तै अपमान सहेर निस्कनुपर्छ । नाटक झिम्केको वरिपरि घुमेको छ । ऊ एक इमानदार र सोझो युवाको रूपमा समाजमा चिनिएको हुन्छ तर जब तल्लो जातको हो भनेर थाहा हुन्छ, त्यसपछि नाटकले नयाँ मोड लिन्छ ।
‘झिम्के मामा’ का लेखक तथा निर्देशक प्रदीप चौधरी भन्छन्, ‘कर्मले जितेको र जन्मले हारेकाको कथा हो ‘झिम्के मामा’ । कथाका परिकल्पनाकार दुर्गा पाण्डेलाई झिम्के पात्रले धेरै नै मनमा छोएको र त्यसबारे आफूलाई बताएपछि यसलाई नाटकमा उतारेको निर्देशक चौधरीले बताउनुभयो । दलित भएका कारण झिम्केले भोगेको कारुणिक कथा नाटकमा छ, जो हाम्रो समाजका लागि यथार्थ पनि हो । नाटकमा कलाकारको अभिनयमा एकरूपता नभएको अनुभूति हुन्छ ।
झिम्के मामाको भूमिकामा देखिएका अङ्कित खड्काको अभिनयमा खोट लगाउने ठाउँ छैन । उहाँले आफ्नो तर्फबाट नाटकमा खुब मिहिनेत गर्नुभएको छ । नाटकमा उहाँको आवाज, शारीरिक हाउभाउ, भेषभूषा धेरै राम्रो छ । उहाँ अघिल्ला नाटकमा भन्दा केही फरक पनि देखिनुभएको छ । यस्तै संयोग गुरागाईंलगायत कलाकारको काम सम्झन लायक छ । उहाँहरूले बोल्ने संवाद र व्यवहारले दर्शकलाई केही समय हँसाउँछ । झिम्केको दिदी–भिनाजु रीता श्रेष्ठ र अनुप न्यैपानेको अभिनयलाई पनि हामीले भुल्नहुन्न ।
माघ ४ गतेबाट माघ २६ गतेसम्म मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ । अङ्कित खड्का, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर कामी खाती, रीता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्य बराल, सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा र अरविन्द अमात्यको नाटकमा अभिनय छ ।