जयकृष्ण यादव
नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्र्ती क्षेत्र घोषणा गरिएका छन् । नेपालमा रहेका ११८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये हाल ८० किसिमका पारिस्थितिकीय प्रणाली यिनै संरक्षित क्षेत्रभित्र छन् । संरक्षित क्षेत्रले नेपालको कुल भू–भगको २३.३९ प्रतिशत अर्थात् ३४ हजार ४१९ वर्ग किमि क्षेत्र ओगटेको छ ।
सुनसरी र सप्तरी जिल्लाको सीमा भएर बग्ने सप्तकोशी नदीले बनाएको टापु र सिमसार क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्ष फैलिएको छ । २०३२ सालमा घोषणा भएको यो आरक्षले १७५ वर्ग किमि क्षेत्र ओगट्छ । यसको मध्यवर्ती क्षेत्र १७३ वर्ग किमि छ । नेपालमा अति दुर्लभ मानिएको अर्ना (जङ्गली भैँसी)को संरक्षण गर्ने उद्देश्यले यो आरक्षको घोषणा गरिएको हो । अहिले यहाँ साढे चार सयको हाराहारीमा अर्ना छन् । संरक्षित वन्यजन्तुमध्ये सालक, हुँडार, बाघ, अर्ना, जङ्गली हात्ती र सोँस (डल्फिन) जस्ता स्तनधारी, कालो गरुड, सेतो गरुड, ठूलो खर मयूर, सानो खर मयूरलगायत पक्षी तथा अजिङ्गर, घडियाल गोही, सुन गोहोरो जस्ता घस्रने जातका जन्तु कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् ।
तीन दशकअघि यो आरक्षलाई रामसार सूचीमा सूचीकृत गरियो । यो रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र हो । यहाँका सिमसार क्षेत्रमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक चराको वासस्थन भएकाले यसलाई रामसार सूचीमा सूचीकृत गरिएको हो ।
चराको स्वर्ग
कोशीटप्पु लाई चराको राजधानीका रूपमा पनि चिनिन्छ । देशभरमै पाइने ८८७ चराका प्रजातिमध्ये ५३० प्रजातिका चरा यहाँ पाइन्छन् । यहाँ नेपालमा लोपोन्मुख अवस्थामा रहेको गिद्धदेखि खरमयुर, सिमतित्रासम्म र बकुल्लादेखि गरुडसम्मका चरा पाइने गरेका छन् । स्वदेशी र विदेशी प्रजातिसमेत गरेर रैथाने, आगन्तु वा घुमन्ते चराको वासस्थान कोशीटप्पु हो । क्षेत्रफलका हिसाबले सानो भए पनि कोशी नदी र यसले बनाएको सिमसार क्षेत्र चराका लागि उत्तम आश्रय स्थल मानिन्छ । टाढाटाढाबाट आउने आगन्तुक चराले यहाँको शोभा र महìव बढाएका छन् । लोपोन्मुख क¥याङकुरुङ मङ्गोलिया, रुस र चीनदेखि यहाँ आउँछन् । साइबेरियादेखि यहाँ आइपुग्ने चरा पनि धेरै छन् । गिद्ध र चखेवा कोशीटप्पु का केही समयका पहुना हुन् । नदीका भँगालाहरूमा आइबिस चरा पनि कोशीटप्पुमा समेत बस्ने गरेको पाइन्छ । आइबिस चरालाई चराविज्ञले जलवायु परिवर्तनबारे अध्ययन गर्न सङ्केत प्रजातिका रूपमा लिने गरेको पाइन्छ । कोशीटप्पु मा आउने अर्काे महìवपूर्ण चरा साइक नाइटजार हो । यो चरा पाकिस्तान, भारत र चीनमा घुमेर नेपाल पस्ने र त्यसमा पनि कोशीटप्पुमै आउने गरेको जानकारहरू बताउँछन् ।
दैनिक तीन सय किलोमिटर दूरी पार गर्न सक्ने यी चरा कोशीटप्पुमा असोज अन्तिमदेखि कात्तिकसम्म आउने र माघ लागेपछि फर्किन्छन् । साइबेरियालगायत क्षेत्रबाट आउने चरा कोशीटप्पुमा करिब तीन महिना बिताउँछन् र आफ्नै ठाउँमा फर्कन्छन् । यही अवधिमा चराप्रेमी कोशीटप्पुमा ओइरिन्छन् । चराका जानकार, विद्यार्थी र अवलोकनकर्ता कोशीटप्पुमा आई अध्ययन, अनुसन्धान र संरक्षणका उपाय खोज्छन् ।
नयाँ प्रजातिका चरा
कोशीटप्पु वन्यजन्तु आरक्षमा समयसमयमा नयाँ प्रजातिका चरा फेला परिरहन्छन् । यस वर्ष विश्वमै दुर्लभ र सङ्कटापन्न मानिएको सेतोपेटे रानीचरी (नेपाली नामकरण) नाम दिइएको नयाँ प्रजातिको चरा फेला परेको छ । टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो रङ भएको यो चरा पहिलोपटक कोशीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरबान मन्सुरीले फेला पार्नुभएको हो । २०७३ सालमा सानो आकारको डुन्डुल नामक लाटोकोसेरोको नयाँ प्रजाति देखापरेको थियो । यस वर्ष भेटिएको नयाँ प्रजातिसँगै कोशीटप्पुमा पाइने चरा प्रजातिको सङ्ख्या ५३० पुगेको छ ।
चरा संरक्षणको चुनौती
क्षेत्रफलका हिसाबले सानो भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष जैविक विविधताको हिसाबले निकै धनी छ । प्राकृतिक, जैविक र पर्यावरणीय विविधता भएकै कारण यहाँ ५३० प्रजातिका चराका साथै अन्य धेरै प्रजातिका स्तनधारी, घस्रने र पानीमा बस्ने जीवजन्तुको प्राकृतिक वासस्थान भएको हो । कुनै समयमा फेलापरेका यी चराका प्रजातिमध्ये कति लोप भए वा आउन छोडे भन्ने यकिन विवरण छैन ।
कोशीटप्पु क्षेत्र चराका लागि उपयुक्त भए पनि यहाँ रैथाने र आगन्तुक चराको सङ्ख्या घटेको हुनसक्ने अनुमान चरा अध्ययनकर्ताको छ । जलवायु परिवर्तन, अतिक्रमणलगायतका कारणले आगन्तुक चरामध्ये केही लोप भइसकेका हुनसक्छन् । आरक्षमा मानव चहलपहल बढेको, सिमसार क्षेत्रको अतिक्रमण र अत्याधिक दोहन, २०६५ सालको कोसी कटान, प्रदूषण, कोशी नदीको बहाब फेरिरहने, चराको चोरी शिकारी हुनजस्ता कारणले चराको सङ्ख्या घटेको आशङ्का छ ।
कोशीटप्पुमा स्थायी रूपमा बस्ने र मौसमी विचरणमा आउने चरा यहाँका सम्पत्ति हुन् । प्राकृतिक, पर्यावरणीय मात्रै नभई आर्थिक रूपले पनि महìव धेरै छ । कोशीटप्पुमा चरा अवलोकन गर्न आउने स्वदेशी विदेशी पर्यटकको सङ्ख्या निकै ठूलो छ । त्यसैले चरा संरक्षणमा प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ । आरक्षको एक्लो प्रयासले मात्रै संरक्षण हुन नसक्ने बताउँदै कोशीटप्पु का संरक्षण अधिकृत रामदेव चौधरी खासगरी तीन तहकै सरकार र सबैभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले सक्रियता नदेखाएसम्म चराको संरक्षण हुन नसक्ने धारणा व्यक्त गर्नुहुन्छ ।