प्रजित शाक्य
कहिलेकाहीँ जिन्दगीमा यस्ता दुर्घटना हुन्छन्, जसलाई एक्कासि आत्मसात् गर्न कठिन हुन्छ । यस्ता घटनाले हामी सोच्न बाध्य हुन्छौँ– यस्तो पनि हुनसक्छ र ? बास्केटबलका महान् खेलाडी कोबी ब्रायन्टको हेलिकप्टर दुर्घटनामा भएको निधन पनि यस्तै एउटा अकल्पनीय समाचार बनेर गएको हप्ता पैmलियो । अझ यस दुर्घटनामा कोबीकी १३ वर्षीया छोरी जियानाको पनि निधन भयो । जसले सबैलाई थप मर्माहत बनायो ।
सफल खेलाडीलाई प्रशंसकले भगवानको दर्जा दिएका हुन्छन् । करौडौँले आदर्श मान्छन् । उनीहरूकै अनुसरण गर्छन् । कोबी पनि विश्व खेलकुदका यस्तै हिरो हुनुहुन्छ । नेपालमा फुटबल र क्रिकेटको जस्तो क्रेज बास्केटबलको छैन । यद्यपि हाम्रो देशमा पनि कोबीका प्रशंसक थुप्रै छन् । कोबी विश्व खेलकुदमा निकै सम्मानित नाम हो । त्यसैले उहाँको निधनले अहिले विश्व खेलकुद स्तब्ध छ ।
कोबीका बुबा जो ब्रायन्ट एनबीएकै पूर्व खेलाडी हुनुहुन्थ्यो । एनबीए बास्केटबलको विश्वको सबभन्दा ठूलो र चर्चित लिग हो । सन् १९८४ मा एनबिए जीवनलाई तिलाञ्जलि दिएर जो ब्रायन्ट परिवारसहित इटालीमा बसाइँ सर्नुभयो । यो बेला कोबी छ वर्षको हुनुहुन्यो । त्यहाँ जो ब्रायन्टले इटालियन लिग खेल्नुभयो । कोबीका दुई बहिनी साया र सरियालाई एथलेटिक्समा लगाउनुभयो । कोबीको लगाव भने बास्केटबल र फुटबलमा देखियो । सात वर्ष इटालीमा बिताएपछि कोबीले आफ्नो हाइस्कुल टिमलाई चार वर्षसम्म बास्केटबलको स्टेट च्याम्पियन बनाउनुभयो । त्यहाँ गरिएको प्रदर्शनकै कारण कोबीले हाइस्कुल सकिनासाथ एनबीएमा मौका पाउनुभयो ।
कोबीले चाँडै आफ्नो छवि जादुगर बास्केटबलका खेलाडीको बनाउनुभयो । उहाँले एनबिए टिम लस एन्जल्स लेकर्ससँग २० वर्ष बिताउनुभयो । एक टिमसँग यति धेरै समय आबद्ध रहँदा उहाँको निष्ठा र इमानदारी झल्कन्छ तर पनि उहाँ लस एन्जल्समा मात्र होइन, विश्वकै प्रिय स्टार बन्नुभयो ।
लेकर्सका लागि उहाँले पाँच पटक एनबीएको उपाधि जित्नुभयो । सन् २००८ मा उहाँ ‘मस्ट भ्यालुएबल प्लेयर’ पनि बन्नुभयो । सन् १९९६ मा व्यावसायिक बास्केटबलमा पदार्पण गरेका कोबीले सन् २०१६ मा सन्न्यास लिनुभएको थियो । उहाँको नाममा दुई ओलम्पिक स्वर्णपदक पनि छ । उहाँलाई खेल जीवनका अन्तिम केही सत्रमा चोटले निकै सतायो । यद्यपि सन् २०१४ मा माइकल जोर्डनलाई पछाडि पार्दै उहाँ एनबीएमा तेस्रो सर्वाधिक स्कोररको रूपमा रहनुभयो । एनबीएमा उहाँले १,३४६ खेलमा ३३,६४३ स्कोर गर्नुभएको छ ।
लेकर्समा आबद्ध भएको दोस्रो सत्रमा नै कोबी ‘अलस्टार गेममा’ ‘स्टार्टर’ पनि चुनिनुभयो । त्यसबेला उहाँ १९ वर्षको हुनुहुन्थ्यो । अनि उहाँ एनबीएको इतिहासमै सर्वाधिक कम उमेरका ‘अलस्टार’ बन्नुभयो । त्यसपछि उहाँ १८ पटक एनबीए ‘अलस्टार’मा पर्नुभयो । उहाँ लेकर्समा पुग्दा अर्का सुपरस्टार सकिली ओ निल पनि सो टिममा हुनुहन्थ्यो । कोबी र ओ निलको जोडी निकै जम्यो । यी दुईले मिलेर लेकर्सलाई सन् २०००–२००२ सम्म लगातार तीन वर्ष एनबीए च्याम्पियन बनाउनुभयो । जसले २३ वर्ष लागेका कोबीले तीन एनबीए उपाधि जित्ने सर्वाधिक कम उमेरका खेलाडीको गौरव पनि हासिल गर्नुभयो । विश्व खेलकुदमा उहाँको उचाइ बढ्दै गएपछि एडिडास, स्प्राइटसँग अन्य ठूलाठूला कम्पनीले उहाँलाई आबद्ध गरे ।
यद्यपि यी सफलतासँगै लेकर्सको टिममा ग्रहण पनि लाग्यो । दुई सुपरस्टार कोबे र ओ निलबीच मतभेद देखिन थाल्यो । जुन झगडा बढेपछि ओ निलले लेकर्स छोड्नुभयो । जसले कोबेको खेल पनि प्रभावित भयो । हुन त कोबेको शानदार प्रदर्शनको गन्ती गर्न कठिन छ । तर सन् २००६ मा टोरेन्टो रेप्टर्सविरुद्ध उहाँ एक्लैले गरेको ८१ स्कोरको सम्झना अहिले पनि गरिन्छ । एक खेलमा एक खेलाडीले योभन्दा धेरै स्कोर विल्ट चेम्बरलेनले (१००) मात्र गर्नुभएको छ । सो कीर्तिमान पनि सन् १९७२ मा बनेको थियो । कोबीले आफ्नो अन्तिम खेलमा पनि ६० स्कोर गरेर सन्न्यासलाई अविस्मरणीय बनाउनुभएको थियो ।
सन् २०१५ नोभेम्बरमा कोबीले सन्न्यासको घोषणा एक निबन्ध लेखेर गर्नुभएको थियो । जसको शीर्षक थियो– ‘डियर बास्केटबल’ । ‘डियर बास्केटबल’ लाई ‘सर्ट फिल्म’ पनि बनाइएको थियो । यो चलचित्रलाई विश्वले रुचायो । यसमा कोबेको व्यक्तित्व उजागर भएको थियो । ओस्कार अवार्डमा यसले सर्वश्रेष्ठ एनिमेटेड सर्ट फिल्मको पुरस्कार पनि पायो ।
कोबी सर्वाधिक कमाउने खेलाडीका रूपमा पनि रहनुभयो । फोब्र्स पत्रिकाले सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची निकाल्दा उहाँको नाम उत्कृष्ट दशमा प्रायः छुट्दैनथ्यो । एनबीएमा २० वर्ष खेल्ने क्रममा कोबीले आठ हजार करोड रुपियाँभन्दा बढी कमाइ गरेको बताइएको छ । फोब्र्स पत्रिकाको रिपोर्टअनुसार कोबीले ३५०० करोड रुपियाँ तलबको रूपमा मात्र कमाउनुभयो । यसैगरी विज्ञापनलागयत विभिन्न प्रायोजनबाट करिब चार हजार करोड रुपियाँ आर्जन गर्नुभयो । कोबीले सन्न्यासपछि व्यवसायमा पनि हात हाल्नुभयो, सामाजिक सेवामा पनि लाग्नुभयो । ‘कोबी एन्ड भेनेसा ब्रायन्ट फेमिली फाउन्डेसन’बाट विभिन्न परोपकारी काम हुँदै आएका छन् ।
कोबीको खेलाडी जीवन सधैँ स्वच्छ भने भएन । सन् २००३ मा कोलोराडोको एक होटलमा काम गर्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप उहाँमाथि लाग्यो । गलत व्यवहार गरेको स्वीकारे पनि बलात्कारको मामिलामा आफू निर्दोष भएको बयान उहाँले दिनुभयो । पीडित भनिएकी किशोरीले पछि ‘मेडिकल टेस्ट’ गर्न नमानेपछि मुद्दा खारेज भयो । खेलाडी जीवनको यस कालो धब्बाले मानसिकरूपमा विक्षिप्त बने पनि कोबीले आफूलाई सम्हाल्नुभयो र बास्केटबलप्रति समर्पण गरेर विश्वकै आदर्श खेलाडीको रूपमा प्रस्तुत गर्नुभयो ।
कोबी अहिले यस संसारमा हुनुहुन्न । तर उहाँ खेलजीवनका लागि पथप्रदर्शक भएर सधँै रहिरहनुहुनेछ । बास्केटबलमा आदर्श खेलाडीको नाम लिँदा कोबीका नाम सधँै अगाडि आउनेछ ।