श्रीराम राई
धेरै समयपछिको भेटमा प्रमिलाले आँसु पुछ्दै भनिन्, ‘उर्वशी, मेरो एउटा सुन्दर घर थियो । त्यही घरमा एक छोरी र श्रीमान् हुनुहुन्थ्यो । अब त सम्झना मात्रै बाँकी छ ।’ म अचम्मित भएँ र सोधेँ– ‘के भयो र अहिले यसो भन्दैछ्यौ ?’
उनले निराश हुँदै भनिन्, ‘मन दुखाउने विगत कोट्याएर के काम र अब ?’
मैले सहानुभूति दर्साउँदै भनेँ, ‘भन न प्रमिला, तिमीलाई कति छटपटी होला ? भने दुःख आधा हुन्छ, नभने बाधा हुन्छ रे !’
उनले भक्कानिँदै भनिन्, ‘हुन त हो नि उर्वशी ! भनूँ आफ्नै बेइज्जत । नभनूँ छटपटी । श्रीमान्लाई हेप्दा अहिले यो हविगत भयो ।’ उनले थप भनिन्– ‘मैले सोझो श्रीमान्लाई नगर्नु गरेँछु । लात्तैलात्तले भकुरेँ । सासूलाई मनपरी भनेँ । त्यसको केही दिनमा सासू हृदयाघातले बित्नुभयो । आमाको शोकले उहाँ एकान्तमा रुनुहुन्थ्यो ।’
सहानुभूति दर्साउँदै मैले भनेँ– ‘उहाँको पनि कमजोरी थियो होला नि त ?’
‘के हुनु त्यस्तो ! जसरी पनि कमाउनुस् । गरिबीले कति पिल्सिनु भन्थेँ म । उहाँचाहिँ यस्तो काम पहिले पनि गरिनँ र अब पनि गर्दिनँ भन्नुहुन्थ्यो ।
यसरी कहिल्यै उँभो लागिन्न भनेर अर्कैसित हिँडेँ’, प्रमिलाले विगत कोट्याउँदै भनिन् ।
म झन् जिज्ञासु भएँ, ‘अनि के भयो त ?’‘अहिलेको श्रीमान्को बानी खराब रहेछ । म दिनैपिच्छे पिटिएको सुनेर पहिलेको श्रीमान्लाई टिठ लागेछ र मलाई लिन आउनुभयो । तर आफ्नै छोरीले बस्न दिइन’, प्रमिलाले रुँदै भनिन्– हजुरआमा बित्दा हामीलाई छोडेर जानुभएको होइन ? जन्माउँदैमा आफ्नो काख हुँदैन । अब त मलाई पराई काख ठान्नू भनेर छोरीले समेत वचन लगाई ।’