लक्ष्मीप्रसाद उपाध्याय
नेपालका सिमसार क्षेत्रको अवस्थाबारे शोध अध्ययन गरेका बेलायती नागरिक डा. फिलिप विलियमले आफ्नो लेखमा लेखेका छन्, पानी दलदल हुने जग्गालाई खासै महत्त्व नदिइएको पुरानो भूमि नीतिलाई नेपालले अझै पनि व्यवहारमा लागू गरिरहेको छ । प्राकृतिक मिर्गौलाका रूपमा परिचित सिमसार क्षेत्र बिग्रँदै गएका छन्, मासिँदै गएका छन् । जबसम्म यसको महत्त्व नीति निर्माण तहमा बस्नेले चिन्न सक्दैनन्, तबसम्म नेपालका सिमसार क्षेत्र माथिको खतरा कायमै रहन्छ ।
पटक/पटक गरेर झण्डै आठ वर्ष नेपालमा बिताएका उहाँले नेपालको भूउपयोगबारे गरेको यो छोटो टिप्पणीले के सङ्केत गरेको छ भने नेपालमा दलदले जमिन (जसलाई सिमसार क्षेत्र भनिन्छ) प्रशस्त छन् । तर यसको महत्त्व बुझ्न नसक्दा प्रकृतिले दिएको चिजबाट नेपालले फाइदा लिन सकिरहेको छैन । बरु विनाशको खतरा झनै बढ्दै गइरहेको छ ।
राणाकालीन भूमि प्रशासनले जग्गाको उपयोगलाई हेरेर चार भागमा वर्गीकरण गरेको पुरानो भूमि नीति नेपालमा अहिले पनि व्यवहारमा लागू गरिँदै आइएको छ । जग्गाको उब्जाउका आधारमा अब्बल, दोयम, सिम र चाहार गरी चार वर्गमा जग्गाको विभाजन गरिएको राणाकालीन भूमि प्रशासन प्रभावकारी भइरहँदा अहिले पनि तेस्रो दर्जाको जग्गाको रूपमा सिम अर्थात् सिमसार क्षेत्र पर्ने गरेका छन् । वैदिककालदेखि २१औँ शताब्दीसम्म आइपुग्दा सिमसार क्षेत्रको महìव मानवजीवनसँग अन्योन्याश्रित रहँदै आए पनि नेपालमा भने सिमक्षेत्रलाई तेस्रो दर्जाको भूमिका रूपमा चित्रण गरिँदै आएको छ ।
के हो सिमसार ?
पानी नसुक्ने, जमिन नलुक्ने क्षेत्रलाई सिमसार क्षेत्र भनिन्छ । पानी बाह्रमासै जमिरहने तर पानीको गहिराइ धेरै नभएको र जमिन कुनै न कुनै रूपमा देखापर्ने क्षेत्र सिमसार क्षेत्र भएकाले नेपालमा अन्नबाली उब्जनीको दृष्टिले खासै राम्रो जग्गाको रूपमा नलिइएको हो । पानी दलदल भएको क्षेत्र तालतलैया, पोखरी, नदी किनारलगायतका क्षेत्र सिमसार क्षेत्र भित्र पर्छन् ।
महत्त्व के छ ?
मानिसको मिर्गौलाले जसरी शरीरलाई स्वस्थ राख्न, दैनिक पाचन प्रणालीलगायतका मानिसको समग्र शारीरिक प्रणालीलाई व्यवस्थित बनाउन भूमिका खेलेको हुन्छ, त्यसैगरी प्राकृतिक प्रणाली सञ्चालन हुनलाई सिमसार क्षेत्रले ‘मिर्गौला’को काम गरेको हुन्छ । सीमसार क्षेत्रले पानीको सञ्चय गर्दै जमिनभित्र पठाउने (रिचार्ज गर्ने), पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्ने भएकाले ‘मिर्गाैला’ भनिएको हो । थुप्रिएको फोहोरलाई मानिसले सहजै व्यवस्थापन गर्न सक्ने भएकाले वातावरणीय प्रदूषण नियन्त्रणका लागि पनि यसको महत्त्व छ ।
चराचरको जीवनचक्र
पृथ्वीमा सबैभन्दा महìवपूर्ण कुरा चराचर हुन् । जसको प्राण छ । प्राण पानीमा आश्रित छ । पानीविना न जीवजन्तु न वनस्पति न मानवको अस्तित्व रहन्छ । त्यसैले सबैभन्दा ठूलो कुरा मानिसलाई चाहिने स्वस्थ्य र स्वच्छ पानीलाई फिल्टर गरेर जमिनमुनि पठाई मूलका रूपमा वा भूमिगत जलस्रोतका रूपमा पानी आपूर्ति गर्ने काम यिनै सिमसार क्षेत्रले गर्ने गर्छन् । त्यसैले सिमसार क्षेत्र यस धर्तीका जीवित प्राणी तथा वनस्पतिको जीवनचक्रका लागि अभिन्न अङ्ग हुन् ।
वासस्थान र प्रजनन प्रणाली
माछा, भ्यागुता, डल्फिन, कछुवा, गोहीलगागयत पानीमा बस्ने प्राणीको संसार नै सिमसार क्षेत्र हुन । पृथ्वीमा जमिन पनि छ तर जमिनभन्दा पानीको आश्रयबिना जीवन अस्तित्व नै सङ्कट पर्ने जीवजन्तुका लागि आहार तथा वासस्थानको स्रोत सिमसार मानिन्छन् । यी केही जीवजन्तुको प्रजनन प्रणाली नै सिमसार क्षेत्रमा हुने गर्छ । अण्डा पार्ने, बच्चा कोरल्ने र बच्चा हुर्काउनेलगायत सम्पूर्ण जीवन प्रणाली नै पानीसँग जोडिएको हुन्छ ।
पक्षीको संसार
संसारमा केही यस्ता चराका प्रजाति छन् । ती पक्षी आकाशमा उड्छ्न, पानीको छेउमा विचरण गर्छन्, नजिकै गुँड लगाउँछन्, अनि पानीको उत्पादन भएको खानेकुरा खाएर जीवन चक्र चलाउँछन् । यस्ता जलपक्षीको संसार सिमसार क्षेत्र हुन् । सिमसारबिना त्यस्ता जलपक्षीको अस्तित्व कल्पना पनि गर्न सकिँदैन ।
वन्यजन्तुको क्रीडास्थल
वन्यजन्तु पानीका लागि सहरी क्षेत्रमा आउन सक्दैनन् । वन्यजन्तुका लागि चाहिने पानी व्यवस्थापन धारा, कुवा, इनारबाट गर्न सकिँदैन । त्यसैले वन्यजन्तुको पानीको स्रोतको रूपमा सिमसार क्षेत्र हुन् भने गैँडा, बाघ तथा हात्ती जस्ता विश्वमा दुर्लभ मानिएका वन्यजन्तु सिमसार क्षेत्रलाई क्रीडास्थल बनाएर बाँचेका हुन्छन् ।
धार्मिक धरोहर
सिमसार क्षेत्र नजिक निर्माण भएका मठ, मन्दिर, गुम्बा, मस्जिद तथा चर्चले ती स्थानको महìव झन् बढाएको हुन्छ । बाग्मती नदी छेउको पशुपतिनाथ, दर्जनाँै जलाशय छेउमा रहेको रामजानकी भूमि, पाशुपत क्षेत्र, हरिद्वार, गङ्गायमुना, कैलाशमानसरोवर, देवघाट, रुरु, रिडी, चतराधाम, गोसाइँकुण्ड, केदारनाथलगायत धार्मिक स्थल नदीनाला तथा तालतलैया जस्ता सिमसार क्षेत्र नजिकै छन् । त्यति मात्र नभई सत्य, द्वापर तथा त्रेतायुगका ऋषिमुनिले तपस्या गर्ने र ज्ञान प्राप्त गरेको स्थान पनि नदी किनार तथा तालतलैयाको छेउछाउ भएको कथा पुराणहरूमा उल्लेख गरेको पाइन्छ ।
सभ्यताको जननी
मानव सभ्यताको विकासको इतिहास हेर्दा सिमसार क्षेत्र नै उद्गमस्थल भएको पाइन्छ । नाइल नदीको सभ्यता होस् वा सिन्ध नदीको मानव सभ्यता । बागमती सभ्यता होस् वा गङ्गा बह्मपुत्र नदी किनारको मानव सभ्यता । यी सबै सभ्यताको जननी सिमसार क्षेत्र नै मानिन्छन् । मानव जातिले आफ्ना धर्म, संस्कार, शैली, आनीबानीको विकास यिनै सिमसार क्षेत्रको सेरोफेरो अनि संरक्षणमा गरेको पाइन्छ ।
पर्यटकीय गन्तव्य
संसारमा हेर्न, वर्णन गर्न लायक अधिकांश सुन्दर पर्यटकीय ठाउँ कि त तालतलैयाको किनारमा छन् कि त नदी तटीय क्षेत्रमा छन् । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य ताल, सागर, नदी किनारमा रहेकाले सिमसारको महìव बढ्न गएको हो । नेपालका रारा, फेवातालदेखि लिएर विश्वमै निकै लोकप्रिय मानिएका डेड सि, एलो रिभर, भिक्टोरिया लेक, मेकोङ लेक, मिसिसिपीसम्मका क्षेत्र पनि सिमसार क्षेत्रमा पर्छन् ।
कृषि क्षेत्रका प्रमुख आधार
विश्वका आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अझै पनि कृषिप्रणाली मानिन्छ । औद्योगिक प्रगति जति गरे पनि अन्न, फलफूल तथा कृषि उत्पादनविना मानव जीवन सम्भव नभएकाले कृषि उत्पादनका लागि पानीको आपूर्ति गर्न सिमसार क्षेत्रको शतप्रतिशत भूमिका छ ।
आर्थिक समृद्धिको आधार
सिमसारसम्बन्धी भएको एक अध्ययन अनुसार वार्षिक रूपमा सिमसार क्षेत्रको योगदान विश्वको कुल अर्थतन्त्रमा १५० खर्बभन्दा बढी देखिएको छ । नेपालका सन्दर्भमा कुरा गर्दा आदिवासी जनजातिको (जुन प्राकृतिक स्रोतमा आधारित जीवन प्रणालीमा छन्) जीवनमा कम्तीमा ६० प्रतिशत योगदान सिमसार क्षेत्रको पाइएको छ ।
नेपालका अवस्था
नेपालका सबै सिमसार क्षेत्र स्वच्छ पानीको सिमसार हुन् । उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता जति फरक छ, त्यति नै चुुनौतीको पनि थपिँदै गएका छन् । नेपालमा साना ठूला गरी छ हजार नदीनाला छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालका तालको टोपो नक्साको अध्ययन गर्दा कुल ५,३५८ प्राकृतिक ताल रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी साना ठूला गरी तीन हजार २५२ हिमताल छन् । तराईमा मात्र १६३ वटा सिमसार छन् । जलविद्युत् उत्पादन तथा माछा पालनका लागि १० वटा ठूला जलाशय निर्माण गरिएका छन् । तराई क्षेत्रमा पोखरीको सङ्ख्या मात्र दुई हजार तीन सयभन्दा बढी छन् ।
नेपालको रामसारमा प्रवेश
अन्तर्राष्ट्रिय महìव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न इराकको रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको छ । सो महासन्धिको नेपाल पक्ष राष्ट्र हो । महासन्धि सन् १९७१ मा भएको हो भने सन् १९८८ देखि नेपालले कोशी टप्पुलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भई महासन्धिको पक्ष राष्ट्र भएको हो । कोशीटप्पुदेखि विभिन्न १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराउन सफल नेपालले कास्की पोखरा उपत्यकाका सबै ताल क्लस्टरलाई सबैभन्दा पछिल्लोपटक सन् २०१६ मा रामसार सूचीमा सूचीकृत गराएको छ । आगामी दिनमा थप चारवटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत गराउनका लागि नेपालले प्रयास गरिरहेको छ । नेपालको कुल क्षेत्रफलको ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
चुनौतीका चाङ
विश्वका सिमसारको अवस्था हेर्दा करिब ८० प्रतिशत फोहोर तथा विषादीयुक्त पानी प्रत्यक्ष रूपमा सिमसार क्षेत्रमा फाल्ने गरिन्छ । यसले मानव समाजमा पानी शुद्धीकरण गर्ने फाइदा त पुगेको छ तर अर्काेतर्फ सिमसारमा आश्रित चराचर त्यसको प्रत्यक्ष मारमा पर्ने गरेका छन् । सिमसारमा आश्रित कतिपय जलचरको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा सिमसार मासेर खेतीपाती गर्ने, बस्ती बसाल्ने, औद्योगिक क्षेत्र स्थापना गर्ने, खेल मैदान निर्माण गर्ने जस्ता कार्य भइरहेका छन् । काठमाडौँ उपत्यकामा दर्जनौँ ताल र पोखरी मासेर बस्ती विकास भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका तीन दर्जनभन्दा बढी पोखरी पुरेर खेलमैदान, विद्यालय भवन, व्यक्तिगत भवन तथा सरकारी भवन निर्माण गरिएका छन् । उपत्यका बाहिरको अवस्था हेर्दा सिमसार क्षेत्र पुरेर खेतीपाती गर्ने र ताल व्यक्तिगत बनाउने प्रचलन कायमै छ । रामसार सूचीमा सूचीकृत भएका कोशीटप्पुदेखि घोडाघोडी ताल क्षेत्रसम्म अतिक्रमणको चपेटमा पर्दै आएका छन् । सिमसार क्षेत्रमा भएका माछा, पानी, सागपात, जडीबुटी, पटेर, घाँसको एकोहोरो दोहन मात्र हुने गरेको छ तर संरक्षणमा खासै ध्यान दिइएको देखिँदैन । सिमसार क्षेत्र मिचाहा प्रजातिका झारले पनि आक्रान्त छन् । विकासका नाउँमा भइरहेको डोजर आतङ्कले सिमसार क्षेत्रमा भूक्षय हुँदा दिनप्रतिदिन पुरिँदै गएका छन् ।
नेपालको सिमसार क्षेत्रबारे अध्ययन गर्नुभएका प्रा.डा.नाकामुराका अनुसार प्राकृतिक सिमसार क्षेत्र दिनप्रतिदिन नासिँदै गएका छन् भने कृत्रिम तालतलैयाको सङ्ख्या बिस्तारै बढ्न थालेको छ ।
पछिल्लो समयमा जलवायु परिवर्तनको असरले नेपाली समाजको जनजीवन पनि प्रभावित हुन थालेपछि कृत्रिम पोखरी निर्माणको क्रम बढेको हो । धमाधम पानीका मूल सुक्न थाल्दा स्थानीय तहदेखि केन्द्रीय सरकारले पानीको सम्भाव्यता हेरेर पोखरी संरक्षण अभियानलाई सञ्चालन गरिरहेको छ ।
कानुनी व्यवस्था
नेपालको संविधानले सिमसारको संरक्षण गर्ने अधिकार सङ्घीय सरकारलाई दिए पनि पर्यापर्यटनका लागि आकर्षक केन्द्र, जैविक विविधता तथा वन्यजन्तुको आहारविहारका लागि सिमसार क्षेत्र निकै धनी मानिने भएकाले सिमसारमा आधारित पर्यापर्यटन प्रवद्र्धन गर्न तीनै तहका सरकारले साझा एजेण्डा बनाएर संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय वन नीति, राष्ट्रिय सिमसार नीति, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना, राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना निर्माण गरी नेपालले सिमसारको व्यवस्थापन, सदुपयोग गर्ने काम गरिरहेको छ ।