logo
२०८१ मंसिर ८ शनिवार



बहुरङ्गी कुपिन्डे

शनिवार |


बहुरङ्गी कुपिन्डे


 

प्रतीक इच्छुक शर्मा

सल्यान जिल्लाको पर्यटकीय स्थलको नाम लिनुपर्दा सबैभन्दा पहिले आउँछ– कुपिन्डे ताल । जिल्लाको महŒवपूर्ण पर्यटकीय सम्पदाका रूपमा रहेको कुपिन्डे ताल वनगाड कुपिन्डे नगरपालिकाको–८, कुपिन्डेमा पर्दछ । अग्ला–अग्ला पहाड, हरियाली वन र बीचमा रहेको कुपिन्डे ताल नेपालकै आकर्षण हो । समुन्द्री सतहदेखि एक हजार १२० मिटर उचाइमा रहेको कुपिन्डे दह २३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ३४ मिटर गहिराइ र ८३४ मिटर लम्बाइ भएको तालमा पानीको मात्रा ५४ लाख ८२ हजार ५७४ घनमिटर रहेको अनुमान गरिएको छ । तालले ऋतुअनुसार आफ्नो रङ फेर्ने गर्दछ । यतिमात्रै होइन, तालमा पातपतिङ्गर खसेपछि पानीको बहावले पातपतिङ्गरलाई किनारा लगाउँछ ।

आन्तरिक गन्तव्य बन्दै
नेपाल सरकारको एक सय पर्यटकीय स्थलमा कुपिन्डे ताल सूचीकृत छ । यहाँ डुङ्गा सयर गरेर पर्यटकहरू प्रकृतिको मनोरम आनन्द लिन्छन्् । पछिल्लो समय कुपिन्डे ताल क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै छ । तालमा सयर गर्नुका साथै प्राकृतिक, धार्मिक महŒवको अध्ययन अवलोकन गर्न पाइन्छ । ताल आसपास क्षेत्र शैक्षिक भ्रमण तथा वनभोज स्थलको आकर्षण पनि बढ्दैै छ । कुपिन्डेको सौन्दर्यमा रमाउन पुग्नेको सङ्ख्या दिनप्रति दिन बढ्दै छ । कुपिन्डे तालछेउ भएर सल्यान खलङ्गा–बालुवासङ्ग्रही सडक सञ्चालनमा आएसँगै कुपिन्डे पुग्न सहज भएको छ । ताल उत्तर–दक्षिण फैलिएको छ । यहाँ भित्रीखोला, मझखोला, सेमिलेनी खोलालगायत स–साना पानीका स्रोत छन् । वन्यजन्तु र चराचुरुङ्गीको वासस्थान रहेको कुपिन्डे वन क्षेत्रमा घोरल, रतुवा, कालिज, परेवा र तलाउमा हाँस पाइन्छ ।

 

धार्मिक किंवदन्ती
तालकै छेउमा कैलुवराहको मन्दिर छ । यस मन्दिरमा कुपिन्डे गाउँनिवासी महन्त गोसाईहरूले पुजारीका रूपमा काम गर्छन् । यहाँ पूजाआजा गर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै छ । सन्तान प्राप्तिका लागि कैलुवराहको पूजाअर्चना र भाकल पनि गर्ने गरिन्छ । मन्दिरमा मार्ग शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिममा ठूलो मेला लाग्छ । यहाँ भेँडा, कुखुराको बलि दिने परम्परा छ ।
कुपिन्डे ताल (दह) उत्पत्तिको सन्दर्भमा एक रोचक किंवदन्ती छ । किंवदन्तीअनुसार द्वापरयुगको अन्त्यतिर हाल दह रहेको ठाउँमा गाउँ थियो । त्यो गाउँमा कुनै एकजना साधु बास बस्न आए । घर–घर चहारेर बास मागे पनि उनले कतै बास पाउन सकेनन् । त्यसबीचमा एकजना वृद्वाले बल्लतल्ल बास दिइन् तर ती वृद्वाको घरमा अन्नको एकदाना पनि थिएन । छिमेकीको घरबाट मागेर ल्याएको ढुटोको रोटी र कर्कलोको तरकारीसँग खान दिइन् । अत्यन्तै मीठो मानेर ढुटोको रोटी खाई सन्न्यासी सुते । बिहान भाले बास्नेबित्तिकै सन्न्यासीले वृद्धालाई व्युँझाएर भने, ‘हे बूढीआमा, म कैलुवराह हुँ, अरूलाई बास बस्न नदिने पापिष्टहरूको गाउँ छिनभरमा डुबाइदिँदै छु, तपाईं कुपिन्डेको लेकतिर जानुहोस् । साधुको सल्लाहबमोजिम ती वृद्धा लेकतिर लागिन् । यता छिनभरमै मुसलधारे पानी प¥यो र गाउँ जलमग्न भयो । त्यो जलाशयभित्र हज्जारौँ वर्षपछिसम्म पनि घरका आकृति देखिन्थे, कुकुर भुक्थे, कुखुराका भाले बास्थे, ढिकीजाँतो चलेको आवाज आउने गथ्र्याे । त्यतिमात्र होइन, दहको किनारमा लुगा धुन आउनेहरूका लागि मागेजति भाँडाहरू आफैँ निस्केर आउँथे । लुगा धोइसकेपछि आफँै पानीभित्र डुब्थे । एक दिन एउटी महिलाले लोभ गरी ताउलो घरमा लैजाने प्रयत्न गरिन् । त्यसपछि ताउला बाहिर आउन छाडे भनिन्छ ।

कसरी पुग्ने कुपिन्डे ?
कुपिन्डे ताल पुग्न दुई बाटो भएर जान सकिन्छ । एउटा राप्ती लोक मार्गको दाङ तुलसीपुर–सल्यान सदरमुकाम खलङ्गाबाट पश्चिम जानुपर्दछ । सल्यान सदरमुकाम खलङ्गाबाट २२ किलोमिटर दूरीमा रहेको कुपिन्डे पुग्न यातायातको माध्यम प्रयोग गर्नुपर्दछ । खलङ्गा कुपिन्डे बालुवासङ्ग्रही गाब्रेल सडक निर्माण भएको छ । यसैगरी अर्को बाटो पुग्न नेपालगन्ज–सुर्खेत–जाजरकोट सडक खण्डको सल्यान बालुवासङ्ग्रहीवाट ११ किलोमिटर पूर्व जानुपर्छ ।
कुपिन्डे तालनजिकै रहेको बाबियाचौरमा सानो बजार छ । यहाँ उचित खाना पाइन्छ । बस्नका लागि करिब २० मिनेटको दूरीमा जयतपानीमा व्यवस्था गरिएको छ । यहाँबाट उत्तरी हिमशृङ्खलाको अवलोकन पनि गर्न सकिन्छ । दाङ भएर आएमा सल्यान खलङ्गामा उचित बसोवासको व्यवस्था छ भने नेपालगन्ज सुर्खेत भएर आउँदा बालुवासङ्ग्रही वा सल्लीबजारमा बस्न सकिन्छ ।
सल्यानका पर्यटकीय क्षेत्रहरूको साथै साबिक राप्तीका दाङ, रुकुम, प्युठान र रोल्पा तथा साबिक भेरीका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र डोल्पाका पर्यटकीय क्षेत्रसँग जोड्ने प्याकेज तयार गर्न सके कुपिन्डे ताल पर्यटनको केन्द्र बन्ने यसका जानकार बताउँछन् । कुपिन्डे ताल संरक्षण समितिले डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ, जसबाट आर्थिक उपार्जनसमेत हुने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?